Sunday, December 4, 2016

सिंघानिया हत्या प्रकरण संजय साहलाई थुनामा राख्न अदालतको आदेश

अजय अनुरागी
जनकपुरधाम............
संचार उद्यमि तथा व्यापारी अरुण कुमार सिंघानियाको हत्याका प्रमुख योजनाकारको रुपमा प्रतिवादी बनाइएका संजय कुमार साहलाई धनुषा जिल्ला अदालतले तत्काल कारागारमा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको छ । १६ मंसिर २०७३ मा धनुषा जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश दिपक कुमार दाहालको इजलासबाट उक्त आदेश गरिएको हो । न्यायाधीश दाहालको इजलासबाट गरिएको आदेशमा “ प्रतिवादी संजय कुमार साहलाई हालसम्म संकलित प्रमाणहरुले निर्दोष भन्ने पुष्टि गरिनसकेको अवस्था हुँदा प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम निर्णय हुने नै हुँदा र निज हाल अन्य मुद्दाको पुर्पक्षको सिलसिलामा थुनामा  नै रहेको देखिँदा यस मुद्दाको हकमा पनि मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ११८ नं. को देहाय (२) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा नै राख्न सम्बन्धित कारागार शाखालाई लेखी पठाउनु ”, उल्लेख छ ।
अति नै विश्वस्त देखिएका संजय साहलाई अदालतको उक्त आदेशले ठुलो झट्का दिएको छ । द एक्सक्लुसिभसँग प्रतिकृया दिँदा प्रतिवादी साहले जिल्ला अदालतको उक्त आदेश विरुद्ध भने पुनरावेदन गर्न उच्च अदालत जनकपुर नजाने बताएका छन् । तत्काल आफुलाई अदालतले न्याय नदिएको भएपनि पुनरावेदन गर्न उच्च अदालत जानु भन्दा आफ्नो प्राथमिकता भनेको जिल्ला अदालतले नै चाँडो भन्दा चाँडो फैसला गरोस्, आरोपित साहले द एक्सक्लुसिभलाई प्रतिक्रिया दिएका छन् ।
हुन त संजय साहले धनुषा जिल्ला अदालतमा बयानका लागि १ मंसिर २०७३ देखि १२ मंसिर २०७३ सम्म १६ वटा सवालहरुको ३२ पानामा जवाफ दिएका थिए । अन्य कुनै आपराधिक मुद्दाहरुमा प्रतिवादी संग अदालतमा लिइएको बयानका लागि सम्भवतः यो पहिलो घटना हो जसमा यति लामो समय लागेको थियो । अदालतमा उनीसँग गरिएको सवाल जवाफमा छोटो उत्तर दिनुको साटो एउटा कानुन व्यवसायीले बहस गरेझैं लामो उत्तर दिएर उक्त अपराधमा आफु संलग्न नभएको भन्ने कुराको पुष्टि दिन खोजेको बयानका जवाफहरु हेर्दा देखिन्छ । कानुन व्यवसायीहरुले बहस सुनुवाईका क्रममा गर्ने कुराहरु तपाई आफैले एउटा कानुन व्यवसायी सरह किन बयान गर्नु भयो भन्ने सवालमा साह भन्छन,“ कानुन व्यवसायीहरु विशुद्ध रुपमा व्यवसायी हुन । एक दिनमा वहाँहरुको थुप्रै मुद्दाहरु हुन्छन् । जसले गर्दा कुनै पनि मिसिलको गहन अध्ययन गर्ने कानुन व्यवसायीहरुसँग समय हुँदैन । त्यसकारण आफुले आफ्नो बचाउमा भ्याएसम्मको तथ्य र प्रमाणहरु सहित अदालतमा बयान गरेको हुँ ।”
१७ फागुन २०६६ मा अरुण कुमार सिंघानियालाई जनकपुरको शिव चौकमा गोली हानी हत्या गरिएको थियो । होली पर्वको अवसर छोपेर उनको हत्या गरिएको थियो । उक्त हत्यामा निलम्बित सांसद संजय कुमार साह सँगसँगै रामविनोद यादव, चनरदिप यादव, ओमप्रकाश यादव, अंशी राइन, एकलाल सहनी, मनक लामा, मुकेश चौधरी लगायतलाई प्रतिवादी बनाइएको छ । ती मध्ये अधिकांश प्रतिवादीहरुलाई यस अघि नै जिल्ला अदालतले कारागारमा राखि मुद्दाको पुर्पक्ष गर्ने र केहीलाई धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्ने आदेश गरिसकेको छ ।
धनुषा जिल्ला अदालतले गरेको आदेशको पुर्ण पाठ
नियम बमोजिम दर्ता भै पेश भएको यस मुद्दामा बयान कार्य बाँकी भएका प्रतिवादी संजय कुमार साहको वयान कार्य सम्पन्न भई थुनछेक प्रयोगको लागि वादी नेपाल सरकारको तर्फबाट विद्वान सहायक जिल्ला न्यायाधिवक्ता अजित कुमार लाल कर्णको बहस, जाहेरवालाका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु हेमबहादुर कार्की र विपिन कुमार झाको तथा प्रतिवादी तर्फबाट विद्वान अधिवक्ताहरु प्रकाश कुमार घिमिरे, दिपनारायण साह मनसुर राईन,  श्याम कुमार मिश्रको बहस सुनी थुनछेक सम्बन्धमा आदेश गर्नुपर्ने भएको यस मुद्दामा त्यसतर्फ विचार गर्दा,
प्रतिवादी संजय कुमार साहले अरुण सिंघानियालाई मारेमा रु. १० लाख दिने भने बमोजिम प्रतिवादी चन्द्रदीप र राम विनोद यादवले सोही अनुसार सहमति जनाई चन्द्रदीपले सुटरहरु खोजी ल्याई चन्द्रदीप र राम विनोदको सुटरहरुलाई रामा होटलको कोठा नं. २१० मा राखी संजय साहबाट नलकटुवा र पेस्तोल सहितको झोला लगि राम विनोद यादवले सुटरहरुलाई दिई सोही बखत संजय साहले पठाएको भनी ओमप्रकाश यादवले रु. ३० हजार लगि चनरदिप यादवलाई दिई सो पैसाले होलीका डेूस किनी रंग लगाई  राम विनोदले चनरदिप र चनरदिपले सुटरहरुलाई चिनाई हत्या हुँदा चनरदिप शिव चौकमा राम विनोद शिव चौक अगाडी जनक चोकमा रेकी गरी अरुण सिंघानियाको हत्या नगरेको भन्ने समेत अभियोग लगाई प्रतिवादीहरु राम विनोद यादव, चनरदिप यादव सहित प्रतिवादी संजय कुमार साहको उक्त कार्य मुुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३ (४) नं. अनुसारको कसुर अपराध भएको भन्दै प्रतिवादीहरु संजय कुमार साह, राम विनोद यादव र चनरदिप यादवको हकमा सोही ऐन र महलको १३(४) नं. बमोजिम सजाय गर्न माग गरी अभियोग पत्र दर्ता भएको देखिन्छ । मृतक अरुण सिंघानियाको मृत्यु गोली प्रहारबाट भएको भन्ने तथ्यमा विवाद छैन ।
यस मुद्दामा प्रतिवादी संजय कुमार साह वारदात हुँदाको अवस्थामा राज्यको प्रतिष्ठित पदमा रहेको र प्रतिष्ठित व्यक्ति उपर अभियोग लागेको अवस्था हुँदा अदालतले संवेदनशील भएर विद्यमान कानुनी व्यवस्था, न्यायिक पद्धति र प्रणाली तथा संकलन गरिएका प्रमाणहरुलाई गहन रुपमा हेर्नुपर्ने भएको छ । प्रस्तुत मुद्दाको तथ्यलाई हेर्दा, मिति १७ फागुन २०६६ को फागु पुर्णिमाको दिन बेलुका अरुण सिंघानियालाई गोली हानी हत्या गरिएको भन्ने देखिएको र तत्काल वारदात घटाउने व्यक्तिहरुको पहिचान खुल्न नसकेको र यो यसले गोली हानी हत्या गरेको देखेको भनी गोली हान्ने व्यक्तिको पहिचान गर्ने प्रत्यक्ष प्रमाणको पनि अभाव भएको कारण अनुसन्धानले बर्षौं लिएको द ेखिन्छ । मुलुकी ऐन, ज्यान सम्बन्धी महलको २० नं. मा “कर्तव्य परी ज्यान मारेको म ुद्दामा कसुरदार आफैं सावित भै पोलेकोमा बाहेक कर्तव्यको उजुर परेकोमा तहकिकातबाट कर्तव्यवाला यही हो भन्ने पत्ता नलागेकोमा बिस बर्षपछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई बर्ष पछि कसै उपर मुद्दा चल्न सक्दैन” भन्ने कानुनी व्यवस्थाले  कसुरदार पत्ता नलागेको अवस्थामा अनुसन्धानले समय लिन सक्ने नै देखिन्छ । योजनाबद्ध  रुपमा र पुर्व तयारीका साथ गरिने अपराधहरुमा अपराधलाई अन्तिम परिणाम दिन अनुकुल बातावरण र परिस्थितिलाई रोज्ने र खोज्ने कुरालाई इन्कार गर्न नसकिने हुँदा तत्काल कसुरदार पत्ता लाग्न नसक्ने अवस्था पनि पर्न जाने हुँदा अपराधको अनुसन्धानको दायरा फराकिलो हुनजाने र अनुसन्धानको दायरामा विभिन्न व्यक्तिहरु पर्न आउन सक्ने कुरालाई इन्कार गर्न सकिने हुँदैन । यस्तो अवस्थामा वास्तविक कसुरदारको पहिचान होसियारीका साथ र अनुसन्धानको गहिराईमा पुगेर गर्नुपर्ने हुँदा अनुसन्धानको प्रक्रियाले लामो समय लिन सक्छ । यस्तो अवस्थामा अर्कोतर्फ परिस्थितिको आंकलन गरी इवि र प्रतिशोध साधन गर्न प्रतिशोधकले पनि मौका छोप्न सक्ने र सोही अनुरुप प्रमाण देखाउन र सिर्जन ागर्न सक्ने कुरालाई पनि न्यायको सन्दर्भमा गहनताका साथ हेरिनु पर्ने हुन्छ । यसतर्फ अनुसन्धानकर्ता पनि सचेत हुनैपर्ने हुन्छ ।
यस मुद्दामा प्रस्तुत थुनछेक आदेशसँग सम्बन्धित प्रतिवादीउपर तत्काल जाहेरी परेको देखिँदैन र दोस्रो जाहेरीमा पनि प्रतिवादीको नाम जोडिएर आएको छैन । प्रतिवादीले अधिकारप्राप्त अधिकारी समक्ष आफ्ना कानुन व्यवसायीको रोहवरमा आफैले वयान लेख्दा घटनाको दिन आफु जनकपुरमा नभई ललितपुरस्थित निवासमा रहेको, सह अभियूक्तहरु कसैलाई चिन्दिन, कसैले संचालन गरेको मलाई थाहा छैन । (स.ज.११) काठमाण्डौ आउँदा जाँदा हवाई जहाजबाट आउने गरेको थिएँ (स.ज.१३) सह अभियूक्त चन्ददीप भन्ने चनरदिप यादव, मुकेश चौधरी र ओमप्रकाश यादवलाई उभ्याई देखाउँदा दुई जनालाई चिनिएर ओम प्रकाश यादवलाई साधारण रुपले चिनें (स.ज.२१), चनरदिप यादवको भाई मोटरसाइकल दुर्घटना हुँदा सहयोग गरेको भन्ने कुरा कपालकल्पित कथाका यी सम्पुर्ण कुरा झुठा हुन (स.ज.२७), मेरो आफ्नो निर्वाचन क्षेत्रमा घटेको घटना पश्चात घटनाको झोलीपल्ट काठमाण्डौबाट आई समवेदना व्यक्त गरेको छु (स.ज.३४) भन्दै कसुरमा इन्कार भएको देखिन्छ । अदालतमा बयान गर्दा अधिकार प्राप्त अधिकारी समक्ष वयानको क्रममा ५÷७ जना मानिसलाई चिन्हाउँदा अनुहार हेरेपछि प्रतिवादी ओमप्रकाश यादवलाई चिन्हेको छु, प्रतिवादी राम विनोद अदालतमा उपस्थित भएपश्चात गाउँघरको इष्टमित्र मसँग कारागारमा भेट्न आई स्मरण गराएपछि मैले चिन्हेको छु, मलगायत अन्य प्रतिवादीहरुको पोलिग्राफ जाँच गर्न खटाइएको भएपनि प्रहरीले बद्नियतपुर्वक मलाई पोल गर्ने सह अभियूक्त चन्द्रदीपको पोलिग्राफ जाँच गरेन (स.ज.२) २०६६ साल फागुन ९ गते देखि १९ गते सम्मको प्रधानमन्त्रीबाट भ्रमणको स्वीकृति लिई बारा देखि सप्तरी जिल्लासम्मको विकास निर्माणको परीक्षण तथा पार्टी कार्यक्रममा भाग लिई गएकोमा महोत्तरी र धनुषाको कार्यक्रम मिथिला परिक्रमा तथा होली पर्वको कारण हुन नसकेकोले २०६६ साल फागुन १६ गते काठमाण्डौ फिर्ता भई १७ गते ललितपुर स्थित निवासमा होली मनाई बसेकोमा १७ गते राती जनकपुरधाममा अरुण सिंघानियाको हत्या भएकोमा संवेदना व्यक्त गर्न तथा अन्य कार्यक्रममा भाग लिई फागुन १८ गते जनकपुर आएको (स.ज.६) प्रतिवादी चन्द्रदीप यादवलाई नचिन्हेको (स.ज.७) प्र.रामविनोद यादव उक्त मिति समयतिर मेरो पार्टीको कार्यकर्ता रहेको हुनुपर्ने हो घटना पुरानो भैसकेकोले यकिन यादव रहेको छैन, प्र.चन्द्रदीप यादवको बारेमा खुलाउन सक्तिन निजलाई मैले चिनेको छैन, जनकपुर ४ मा मेरो कुनै काउन्टर कार्यालय रहेको छैन (स.ज.६५), अभियोजन पक्षले हत्याको कारण जुन जनकपुर टुडेको समाचारलाई देखाएको छ त्यस समाचारमा म विरुद्ध केही लेखिएको समेत देखिँदैन (स.ज.८), २०६९ साल श्रावण  अन्तिम सातामा जिल्ला विकास समिति धनुषामा कारवाही भई जिवनाथ चौधरी लगायत १८ जना कर्मचारी निलम्बित हुनुको साथै मतियारहरु गरी ८७ जना व्यक्तिहरु कारवाहीमा परी सकेपश्चात सो कारवाही मैले गराई दिएको हो भनी प्रतिशोध राखी केही प्रहरी अधिकारीहरुलाई ठुलो  रकम दिई तथा जि.वि.स.मा हुने गरेको बर्षको करोडौं रकमको बाँडफाँड खाने केही प्रहरी अधिकारीहरुको प्रशासन साँठगाँठमा मलाई फसाइएको हो (सि.ज.८.४), भ्रष्टाचारीहरुको संगठित समुहले प्रहरी तथा केही मिडियाकर्मीहरु समेतलाई प्रयोग गरी मेरो विरुद्ध षड्यन्त्र गरी केही पत्र पत्रिकाहरुमा झुठा समाचार लेख्न लगाउने तथा मुद्दा मामलामा फसाउने प्रयास गरेका हुन(स.ज.१०) प्रहरीले आफ्नो फेस सेभिङ्ग गर्न मनकलाल थोकरलाई यस्तो वयान गर्नु एक पटकको लागि तिमीले माफी पाउँछौं भनी सम्झाई बुझाई तथा दवावमा निजबाट अदालतमा बयान गराएको हुनुपर्छ (स.ज.१२), व्यक्तिगत सुरक्षाको लागि खटाइएका सुरक्षा टोली प्रमुख र अन्य सुरक्षाकर्मीको नाम घटना वारदात पुरानो भैसकेकोले खुलाउन सक्तिन (स.ज.१४) मलाई प्रतिवादी बनाएको झुठा काल्पनिक सिद्ध भैसकेकोले मेरो हकमा आजैको मितिबाट मुद्दाको अभियोग पत्रबाट नाम हटाई पाऊँ भन्दै विस्तृत रुपमा विवेचनात्मक वयान गर्दै कसुरमा इन्कार रही वयान गरेको पाइन्छ ।
अदालत स्वतन्त्र न्यायिक निकाय भएपनि कानुन लागु गर्ने कानुनी निकाय पनि भएको कारण विद्यमान कानुनी प्रक्रिया र पद्धतिलाई अनुशरण गर्नुपर्ने नै हुन्छ । कानुनी प्रक्रिया र पद्धतिलाई पन्छाएर प्रमाणको परीक्षण नै नगरी अभियोजन पक्षले अभियोग लगाएकै भरमा प्रतिवादी कसुरदार ठहर हुने र प्रतिवादीले इन्कारी वयान गर्दैमा निर्दोष ठहर हुने होइन । अदालतमा दायर हुने खासगरी सरकारवादी फौजदारी मुद्दाहरुमा मुद्दा पुर्पक्षको सन्दर्भमा प्रतिवादीको बयान सम्पन्न भएपछि गरिने थुनछेक आदेश मुद्दाको अन्तिम न्यायिक निर्णय नभएको हुँदा थुनछेक आदेश गर्दा मुलभुत रुपमा मुल्याङ्कन गरिने प्रमाणहरु भनेको अनुसन्धानको क्रममा संकलन गरिएका प्रमाणहरु नै हुन । प्रमाण ऐन, २०३१ को दफा १८(ख) मा “मुद्दाको पुर्पक्ष गर्दा अभियूक्तलाई थुनछेक गर्ने प्रयोजनको लागि अधिकार प्राप्त अधिकारीले गराएको लास जाँच मुचुल्का र मौका तहकिकात सरजमिन मुचुल्का सो मुचुल्कामा उल्लेख भएका कुराहरु व्यक्त गर्ने व्यक्तिहरु साक्षीको रुपमा अदालतमा उपस्थित भई बयान नगरे पनि थुनछेकको लागि प्रमाणमा लिन हुन्छ” भन्ने व्यवस्था भएबाट उक्त कुराको पुष्टि हुन्छ । यद्यपि अदालतले प्रमाणहरु बुझिसके्पछि फरार प्रतिवादी अदालतमा उपस्थित भए वा पक्राउ परी अदालतमा उपस्थित गराइएका बुझिएका र परीक्षण गरिएका प्रमाणहरुलाई पनि मुद्दा पुर्पक्षको आदेशको सन्दर्भमा मुल्याङ्कन गरिने नै हुन्छ । हालको अवस्थामा प्रतिवादी उपर लगाइएको अभियोगको सन्दर्भमा वादी पक्षले देखाएका प्रमाणहरुको तथा प्रतिवादीले वयानमा उल्लेख गरेका र प्रस्तुत तर्फका विद्वान अधिवक्त मन्सुर राइनले बहसमा जिकिर लिनु भए जस्तो थुनछेक आदेश गर्नुपुर्व प्रमाण बुझेर प्रतिवादी संजय कुमार साहको नाम प्रतिवादीको महलबाट हटाउन यस अदालतलाई कानुनले अधिकार दिएको देखिँदैन र विद्वान अधिवक्ताले यो यस्तो कानुनले अदालतलाई सो अधिकार दिएको छ भनी देखाउनु भएको पनि छैन । थुनछेक आदेश हुँदा प्रतिवादी विरुद्धको अभियोगको सन्दर्भमा तत्काल प्राप्त प्रमाणहरुको नै मुल्याङ्कन गर्नुपर्ने अवस्था रहेको मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ११८ नं. को देहाय (२) ले नेपाल सरकार वादी भै चलेको तीन बर्ष वा सो भन्दा वढी कैदको सजाय  हुन सक्ने अपराधमा तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा त्यस्तो प्रमाणबाट कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिव आधार भएमा अन्यथा प्रमाणित नभएसम्म अभियूक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भनी निर्देश गरेको पाइन्छ ।
प्रस्तुत मुद्दामा प्रत्यक्ष प्रमाण रहे भएको देखिएको छैन । तत्काल पक्राउ परेका अन्य प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा प्रतिवादी संजय कुमार साहलाई कसरी वारदातमा जोडेका छन् वा छैनन् भन्ने तर्फ निचोडमा हेर्दा,  
चन्द्रदीप भन्ने चनरदीप यादवले अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा २०६६ साल फागुन महिनाको पहिलो हप्तातिर फोरम नेपाल पार्टीको जिल्ला कार्य समितिको वैठक संजय टकला भन्ने संजय साहको जनकपुर उपमहानगरपालिका वडा नं. २ स्थित घरमा बसेको, सो वैठकमा म पनि उपस्थित भएको वैठक चली अध्यक्षमा संजय टकला भन्ने संजय साह,उपाध्यक्षमा जनकपुर बस्ने शेषनारायण यादव, सचिवमा पवन झा, सह सचिवमा शैलेन्द्र मिश्र, कोषाध्यक्षमा उमाशंंकर अरगरिया, सदस्यमा म, विजय मस्त, रामशंकर पासवान लगायत ४२ जनाको कार्य समिति गठन भएको, त्यसपछि अर्को ठाउँमा कार्यक्रममा जानु भन्दा अगाडी मलाई र तिलेश्वर यादवको छोरा राम विनोद यादवलाई संजय टकला भन्ने संजय साहले तपाईहरुसँग गोप्य कुरा छ, छतमा जाऔं भनेपछि संजय साह, रामविनोद यादव र म छतमा गएको, जिवनाथ चौधरीको घरमा डाका मैले नै डाका लगाई दिएको भनी जनकपुर टुडे पत्रिकाका पटक पटक छापेको र प्रकाशक अरुण सिंघानियालाई बोलाई नछाप्न भन्दा समेत नमानी मेरो प्रतिष्ठा बदनाम गरेकोले निज अरुण सिंघानियालाई हत्या गर्नु पर्नेछ, सो हत्या गरेवापत दश लाख खर्च गर्छु भनेर मलाई र रामविनोद यादवलाई भनेको भन्दै सोही मुताविक योजना बनाई सुटर खोजेको, हतियार पनि उपलब्ध गराएको भन्दै सिलसिलागत रुपमा हत्या गर्नुपर्ने कारण समेत खुलाउँदै वयान गरेको पाइन्छ । निजले प्रतिवादी संजय कुमार साहलाई चिनी २३ चैत्र २०७२ मा सनाखत गरेको समेत पाइन्छ ।
 प्रतिवादी अर्जुन सिंह भन्ने मुकेश चौधरीले आफु भारतमा रहेको बखत राम विनोद यादवले शुरुमा मसँग अरुण सिंघानियाको हत्याको जिम्मा तपाईको संगठनले लिनु भनेको र लगातार सोही मोवाइलबाट समेत संजय टकला भन्ने संजय साहले पनि मसँग कुरा गर्दै अरुण सिंघानियाको हत्याको जिम्मा लिई हाल्नु भनेर निजले आफ्नो फोन काटेको, त्यसको लगत्तै जनकपुरको मिडिया पत्रकारहरुसँग मैले फोन गरी अरुण सिंघानियालाई हत्या गरेको जिम्मा मेरो संगठनले लिएको हो । त्यसको एक घण्टापछि फेरी संजय कुमार साहले फोन गरी जिम्मा फिर्ता लिन भनेको पछि मैले हुन्छ भनें तर फिर्ता लिइन, अरुण सिंघानियाको हत्यामा म संलग्न छैन, मेरो कुनै पनि कार्यकर्ता संलग्न थिएन भन्ने समेत उल्लेख गरेको पाइन्छ । प्रतिवादी एकलाल भन्ने योगेन्द्र सहनीले घटना वारदातको योजना, तयारी र आफ्नो संलग्नताको कारण समेत बताउँदै घटना वारदात हुनुभन्दा २० दिन पहिलेतिर चन्द्रदीपले कोही ठुलो मानिसको हत्या गर्नको लागि सुटर चाहिएको, एक जना मानिस व्यवस्था गरिदिनुहोस भनेको, सोको भोलीपल्ट विजय कुसेत र चन्द्रदीप यादवसँग म र मनकले भेटी कुरा हुँदै मनकले रु.१ लाख ५० हजारमा हत्या गर्ने कुरा सहमति भएको, फागु पुर्णिमाको दिन हत्या गर्ने आदेश रामविनोदबाट भएको छ, हत्या गरेपश्चात रामविनोदले रु. १० लाख दिन्छ भनी चन्द्रदीप यादवले म र मनक लामालाई समेत भनी राम्रो व्यवस्था हुन्छ भनी विश्वासमा पारेको, रामविनोदले ठुलो मानिसको आदेश हो राम्रोसँग काम गर्नुपर्छ भनी आदेश दिएको थियो, घटनापश्चात प्रतिवादी संजय कुमार साहको पार्टी अफिसमा गई म र मनक सोही अफिसमा रात बसेको, हत्या पश्चात रकम माग गर्दा चन्द्रदीपले ठुलो मानिसको आदेश भन्दै धम्क्याएको र पछि मनक लामा मार्फत रु. २५ हजार प्राप्त गरेको, के कुन कारणले हत्या गरेको एकिन थाहा छैन, हत्या गर्नुपर्ने कारण विनोद र चन्द्रदीप यादव एवम निजलाई परिचालन गर्ने व्यक्तिहरुलाई थाहा होला भन्दै कसुर स्वीकार गरेको पाइन्छ । निजले ततिम्बा बयान गर्दा मलाई रामा होटलको कोठाभित्र हतियार राखेको झोला ल्याएर चन्द्रदीप यादवले दियो, सो हतियार को कसलाई दिएँ याद भएन भन्ने उल्लेख गरेको देखिन्छ ।
प्रतिवादी अंशी राइनले पनि घटनाको पुष्ठिभुमि, योजना र तयारी बताउँदै अरुण सिंघानियाको हत्या हो । अन्य साथीहरुमध्ये मनक लामा र एकलाल सहनी कदम चौकतर्फ फरार भई चन्द्रदीपको आफन्तको घरमा बसी भोलीपल्ट भरतपुरतर्फ लागेको, मनक र एकलाल भन्ने योगेन्द्र प्रसाद सहनी कदम चौक स्थित संजय साहको पार्टी अफिसमा बसेको, अन्य चन्द्रदीप र विजय कुसैत पनि हामीहरुसँग बसेको, प्रतिवादी रामविनोदले हत्या गर्न रु. १० लाख आएको भनी बताएको भन्दै कसुर स्वीकार गरेको पाइन्छ ।
प्रतिवादी रामकरण यादवले भने अरुण सिंघानियालाई गोली प्रहार गरी हत्या गरेको घटना थाहा भएको सो सम्बन्धमा अन्य केही थाहा नभएको भन्दै कसुरमा आफ्नो संलग्नता नरहेको भनेको पाइन्छ ।
प्रतिवादी ओमप्रंकाश यादवले संजय साहसँग सन् २००५ देखि आफुले ठेक्कापट्टा एवम मनि टूान्सफरको काम हेर्ने गरेको, पछि निर्माण तर्फको काम हेर्न लागेको आफ्नो समेतको शेयर लगानीमा सारस मनि टूान्सफर संचालन भएकोमा हाल सो खारेज भैसकेको, अरुण सिंघानियाको गोली हानी हत्या भएको घटना अगाडी रामा होटलमा रु. ३ हजार चनरदीप यादवलाई पु¥याई दिएको र घटना पछि सारस काउन्टरमा रु.५ लाख ल्याई चनरदिप यादवलाई दिएको भन्ने चनरदिप यादवले दिएको वयान सम्बन्धमा म भन्न चाहन्न, मलाई थाहा भएन, अरुण सिंघानियाको हत्यामा को कसको संलग्नता छ भन्ने बारेमा चन्द्रदीप भन्ने चनरदिप यादव र रामविनोद यादवलाई थाहा होला भन्ने  समेत उल्लेख  गरेको पाइन्छ ।
अनुसन्धानको क्रममा कागज गर्ने व्यक्तिहरुको भनाई निचोड हेर्दा, विपीन पाठकले घटनाको ४÷५ दिनपश्चात उक्त घटनामा रामविनोद यादवसमेतको संलग्नता रहेको भन्ने खासखुस सुनिन आएको अवस्था थियो, निज रामविनोद यादव संजयकुमार साहको मानिस भएकोले निज विरुद्धमा बोल्न कोही कसैले हैसियत भएन भनेको पाइन्छ । श्याम डोकानिया भन्ने श्यामसुन्दर अग्रवालले मृतकको अन्य व्यक्तिसँगको सम्बन्ध र व्यवहारलाई बताउँदै अरुण सिंघानियाको मृत्यु भएको घटनास्थलमा रंग खेलेका १५÷२० जना मानिसहरुमा रामविनोद यादव र चन्द्रदीप यादव समेतलाई देखेको, गोली प्रहार गर्ने व्यक्तिहरु मोटरसाइकलमा चढी गंगा सागरको बाटो हुँदै पुर्वतर्फ लागेको भन्दै घटनास्थलमा रामविनोद यादव र चन्द्रदीप यादवको उपस्थिति देखाएको् पाइन्छ । अनुगार गिरीले अरुणजीलाई गोली लागि अस्पतालमा ल्याएको भनि खबर थाहा भएपछि अस्पतालमा पुग्दा अरुण सिंघानियाको मृत्यु भईसकेको रहेछ, अस्पतालमा १५०÷२०० जना भिड रहेको थियो, संजय साह पनि आएका थिए, निजको साथमा रामविनोद यादव समेत थियो, अन्य को को व्यक्तिहरु थिए एकिन भएन भन्दै घटनाको दिन प्रतिवादी संजय कुमार साहको जनकपुरमा उपस्थिति रहेको उल्लेख गरेको पाइन्छ ।
विजय कुमार झा (मस्त)ले २०६६ सालको फागुन महिनाको पहिलो हप्तातिर संजय कुमार साह आफ्नो घरमा आएको बखत जिल्ला कार्य समिति चयनको लागि निज संजय कुमार साहको घरमा भेला जम्मा हुँदा कर्यकर्ताहरुको पदीय चयन भई सकेपछि सोही दिन चनरदिप यादव र रामविनोद यादवलाई निज संजय कुमार साहले सो घरको छतमा गई छुट्टै भेटघाट गरेका भनी संजय कुमार साह, रामविनोद र चन्द्रदीपको साँठगाँठ रहेको उल्लेख गरेको देखिन्छ । निजले पुनः २५ चैत्र २०७२ मा कागज गर्दा मेधसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक (विजय गच्छदार) पार्टीमा संजय टकला भन्ने संजय साह केन्द्रिय सदस्य, रामविनोद यादव जिल्ला वरिष्ठ नेता, चनरदिप  जिल्ला सदस्य र म समेत जिल्ला सदस्य नै थिएँ, संजय साह, रामविनोद यादव, चनरदिप प्रायः सँगसँगै हिँडने गर्दथे, जनकपुर वडा नं. २ स्थित कदम चौक नजिकमा सारस काउन्टर तथा मिथिला मनि टूान्सर्फर एउटै कार्यालय रहेको थियो । सो सारस काउन्टर तथा मिथिला मनि टूान्सफर संजय कुमार साहले संचालन गरेका थिए भनेको पाइन्छ ।
उमाशंकर अरगरियाले १७ फागुन २०६६ होलीको दिन विहान अं. ८÷९ बजेको समयमा संजय कुमार साहले फोन गरी निजको कदम चौक नजिक स्थित घरमा बोलाएपछि निजको घरमा जाँदा एस.पि., एस.एस.पी, सि.डि.ओ. समेत फलफुल तथा मालपुवा खाँदै गरेको, मलाई पनि फलफुल र मालपुवा ल्याएर दिएको भन्दै घटना घटेको दिन प्रतिवादी जनकपुरमै रहेको उल्लेख गरी जनकपुर उपमहानगरपालिका वडा नं. २ मा रहेको सारस काउन्टर तथा मिथिला मनि टूान्सफर कानुनी रुपमा कसको हो, थाहा भएन, तर सो को संचालक संजय कुमार साह हो भन्ने थाहा पाएको छु भन्दै सारस काउन्टर तथा मिथिला मनि टूान्सफरसँग निजको संलग्नता देखाएको पाइन्छ ।
राममिलन राउतले ः म संजय कुमार साहको टेन्डर ठेक्का लिएको ठाउँमा काम गर्ने गर्दथे, संजय कुमार साह, रामविनोद यादव पहिले देखि नै एक आपसमा मिलेर बस्दथे, संजय कुमार साहले सारस मनि चेन्जर र मिथिला मनि चेन्जर संचालन गर्दै आएको थिए, टेन्डरको काम ओमप्रकाश यादवले समेत गर्ने गर्दथे  भन्दै प्रतिवादी संजय कुमार साहलाई सारस मनि चेन्जर र मिथिला मनि चेन्जरसँगको संलग्नता र प्रतिवादी रामविनोद यादव र ओमप्रकाशसँगको संलग्नतालाई देखाएको पाइन्छ ।
रामकुमार पुर्वेले ः संजय कुमार साहले खोलेको धु्रव तारा कन्सटूक्सनमा मिलि ठुलाठुला ठेक्का लिन थाले,         निजले मलाई तलव जस्तो हिसावले पैसा दिन्थे निजको कम्पनी कार्यालय कदम चौक नजिक सारस काउन्टरमा थियो, ओमप्रकाश यादव र रामविनोद यादवसमेत   संजय साहको सारस काउन्टरमा बसी कामकाज गर्दथे भन्दै निजले पनि प्रतिवादी संजय कुमार साहलाई सारस काउन्टरसँगको संलग्नतालाई    देखाएको पाइन्छ ।
इन्द्रेश कुमार झाले ः संजय साह ठेक्काको काम गर्ने गरेकोमा निजसँग काम माग्दा निजको सारस टूाभल्स जनकपुर(काठमाण्डौ चल्ने वसमा दैनिक रु. ३ सय भत्तामा सारस वसको कन्टेक्टरमा काम दिएको भन्नेसमेत उल्लेख गरेको पाइन्छ ।
राजेश अग्रवालले ः घटनासम्बन्धमा पछि रामविनोद यादवको नाम आएको, अरुण जी घटनास्थलमा आउनु भन्दा पहिले निज घटनास्थलमा रहेको, सोधपुछ गर्दा एक जना मानिस कुरेर बसेको अवस्था हो भनी भनेका थिए, घटना पश्चात कता गए एकिन भएन भन्ने उल्लेख गरेको पाइन्छ ।
महाविर सुल्तानियाले ः घटनास्थलमा रामविनोद यादवसमेतका व्यक्तिहरु थिए, हाल मिसिलमा संलग्न रहेका फोटोमा उल्लेख भएका मध्ये चन्द्रदीप यादव समेत थिए, अन्य व्यक्ति एकिन भएन भन्दै घटनास्थलमा रामविनोद र चन्द्रदीप उपस्थित देखिएको पाइन्छ ।
अजय कुमार मिश्र (अनुरागी)ले ः १७ फागुन २०६६ गते होली पर्वको दिन अं. १९ः०० बजेको समयतिर भारतीय सिमाबाट मेरो मोवाइलमा अर्जुन सिंह भन्ने मुकेश चौधरीले फोन गरी अरुण सिंघानियालाई गोली हानी हत्या गरेका भन्दै जिम्मेवारी लिएका थिए, उक्त जिम्मेवारी लिएको समाचार मैले काम गरेको संचार गृह मिथिलाञ्चल एफ.एम. १०५ मेगाहर्जमा प्रशारण भएको थियो भन्ने समेत उल्लेख गरेको पाइन्छ ।
वृजकुमार यादव र जिवनाथ चौधरीले ः जिवनाथ चौधरीको घरमा डाका भएको सम्बन्धमा जनकपुर टुडे पत्रिका र एफ.एम.बाट समाचार प्रशारण भएको विषयलाई जोडी सो घटनालाई अनावश्यक रुपमा पत्रिकामा नछाप्न र रेडियोमा प्रशारण नगर्न धम्की दिएको, रेडियो टुडे एफ.एम.मा संजय साहको अगाडी पछाडी हिँड्ने ५÷७ जना व्यक्तिहरु आई कार्यालयको टेबुल कुर्सी पल्टाई दुव्र्यवहार गरी ज्यान मार्ने धम्की दिई गएका हुन भन्ने उल्लेख गरेको देखिन्छ ।
नारायण प्रसाद साहले ः घटना बारदातको दिन संजय कुमार साहलाई जनकपुरमा देखेको हो । म होली खेल्दै शिव चौकमा शिव मन्दिर तर्फ थिएँ । सो मन्दिरको पुर्वतर्फ प्रतिवादी चनरदिप यादवलाई देखेको थिएँ भन्ने उल्लेख गरेको पाइन्छ ।
दिशम्वर पाठकले ः वारदातको दिन संजय साहलाई जनकपुरमै देखेको हो । म होली खेल्दै जनक चौक बाटोमा रामविनोद यादवलाई देखेको हो भन्ने उल्लेख गरेको अवस्था छ ।
प्रवल गिरीले ः १७ फागुन २०६६ को विहानको समयमा रामविनोद यादव समेतका व्यक्तिहरु आई कोठा नं. २१० मा बसेको कुरा साथी अरुण कुमार चौधरीले बताएको थियो । अं. ११ः३० बजेको समयमा अनुहारमा नचिनिने गरी सबै जनाले पेन्ट दली निस्केका थिए, निजहरुलाई हेर्दा स्पष्ट रुपमा नचिनिने गरी फागु दलेको अवस्था थियो, निजहरु कोठामा गई चेक गर्न गएको अवस्था रामविनोद यादव, विजय कुसेत, चन्द्रदीप, मनक लामा, योगेन्द्र सहनी, पवन लामा समेतका व्यक्तिहरु थिए भन्ने उल्लेख गरेको पाइन्छ ।
अरुण कुमार चौधरीले ः विगत २०÷२२ गते देखि रामा होटलमा काम गर्दै आएको छु, १७ फागुन २०६६ गते विहानको डिउटी रहेको अवस्थामा रामविनोद यादव समेतका व्यक्तिहरु होली खेल्ने डेूसमा थिए । निजहरु अं ६.३० बजे विहानतिर होटलमा प्रवेश गरी गार्डेनमा बसी केही समय पछि रामविनोदले रक्सी माग गरेका थिए, सोही क्रममा कोठाको चावी मागेकाले कोठा नं. २१० को चावी दिएको थिएँ । उक्त कोठामा पुगेपछि ६÷८ बोतल वियर कोठामा पु¥याई दिएको थिएँ भन्ने समेत उल्लेख गरेको पाइन्छ । उल्लिखित व्यक्तिहरुको अलावा अनुसन्धानको क्रममा अशेश्वर मण्डल, अमिरी महरा, नवल मुरारका, रेणुकुमारी (चौधरी) सिंघानिया, मुन्ना सराफ, यादवबहादुर लायो मगर, विरेन्द्र यादव, विमलेश कुमार सिंह, विजय झुनझुनवाला, अशोक बर्मा, अनिल कुमार अग्रवाल समेतका व्यक्तिहरुलाई बुझिएको पाइन्छ ।
अभियोग पत्र दर्ता भैसकेपछि प्रतिवादी मनक लामा पक्राउ परी आएको देखिएको र निजले अदालतमा वयान दर्ता हत्या गर्नुपुर्व संजय साहको पार्टी कार्यालयमा गएको, त्यहाँ गएपछि फेरी हामी सबैजना मिलि रक्सी खाएको प्रतिवादी चन्द्रदीप यादव र एकलाल सहनीले संजय साहको काम हो, चिन्ता गर्नु पर्दैन भनी विश्वास दिलाएको, एकलालले रामविनोदलाई संजय दाईको दाहिने हात हो भनेको, रामविनोदले नै हतियार दिएको आफुले संजयलाई नचिनेको नदेखेको भन्दै अरुण सिंघानियालाई गोली हानेको तथ्यलाई स्वीकार गर्दै आफु वारदातमा संलग्न हुनुपर्ने कारण समेत उल्लेख गरेको पाइन्छ ।
मिसिल संलग्न तथ्य र तत्काल प्राप्त प्रमाणलाई हेर्दा, प्रतिवादी संजय कुमार साहले आफु बारदातको दिन जनकपुरमा नरहेको जिकीर लिएको भएपनि प्रतिवादी चन्द्रदीप यादवको वयान अनुसार गिरीको कागज, दिशम्बर पाठक, नारायण प्रसाद साह, उमाशंकर अरगरियाको बागजबाट निज वारदातको दिन जनकपुरमै रहेको भन्ने देखाएको छ । प्रतिवादीले वयानमा २०६६ साल फागुन ९ गते देखि १९ गतेसम्मको प्रधानमन्त्रीबाट भ्रमणको स्वीकृति लिई बारा देखि सप्तरी जिल्लासम्मको विकास निर्माणको निरीक्षण तथा पार्टी कार्यक्रममा भाग लिन गएको तथ्यलाई स्वीकार गरेको तर फागुन १६ गते काठमाण्डौ फिर्ता भई १७ गते ललितपुर स्थित निवासमा होली मनाई फागुन १८ गते जनकपुर आएको भन्दै प्रमाणको रुपमा पत्रिका पेश गरेको भएपनि तत्सम्बन्धमा प्रमाण बुझिने नै छ । निजीस्तरमा छापिने र प्रकाशित हुने पत्रपत्रिकामा उल्लेख भएका कुराहरु कतिपय सत्यतथ्यमा पनि आधारित हुन सक्छन भने कतिपय प्रायोजित रुपमा बुढाईचढाई पनि प्रकाशित गर्न सकिने हुँदा न्यायिक कारवाहीको सम्बन्धमा प्रमाणित मुल्याङ्कनको दृष्टिले पत्रिकामा छापिएका कुराहरुलाई उच्च प्राथमिकतामा राख्न सकिने हुँदैन । स्वयम प्रतिवादीले नै वयानमा पत्रिकामा झुठो उल्लेख हुन सक्ने तर्फ इगित गरेको नै देखिन्छ । प्रतिवादी अन्य प्रतिवादी चन्द्रदीप यादवलाई नचिन्हेको भने पनि प्रतिवादी चन्द्रदीप यादवको बयान, विजय कुमार झा कागजसमेतले हाल सो तथ्य समर्थित भएको पाइएन । अन्य प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयान अनुसन्धानको क्रममा बुझिएका माथि उल्लिखित केही मानिसहरुको कागज समेतबाट प्रतिवादी संजय कुमार साह र प्रतिवादी रामविनोद यादवको सामिप्यता रहेको भन्ने देखिएको र प्रस्तुत घटना बारदातमा निजमार्फत नै अन्य प्रतिवादीहरु परिचालन भएको भन्ने तथ्य देखिन आएको छ ।
योजना मुताविक पुर्व तयारीका साथ मुख्य कर्ताको आदेश र निर्देशनमा गरिने अपराधहरुमा प्रमुख व्यक्ति घटनास्थलमा नै हुनुपर्ने आवश्यकता रहँदैन । अन्य सहपाठीहरु मार्फत ज्यालामा वा भाडामा अन्य अपराध कर्ममा लागेका व्यक्तिहरु परिचालन गरेर पनि अपराध घटाउन सकिने हुन्छ । त्यस्तै अपराधमा प्रत्यक्ष संलग्न हुनेले मुख्य व्यक्तिलाई चिन्न र मुख्यले पनि अपराधलाई परिणाम दिने कार्यमा प्रत्यक्ष खटिने व्यक्तिलाई नचिन्ने अवस्था पनि उत्तिकै हुन सक्ने तथ्यलाई नकार्न सकिँदैन । प्रतिवादीले राजनीति गर्ने व्यक्ति रहेको भनी स्वीकार गरेको पाइन्छ भने अधिकार प्राप्त अधिकारी समक्ष कसुर स्वीकार गर्ने प्रतिवादीहरुले बारदातको अघि निजकै पार्टी कार्यालयमा भेला जम्मा भएको र वारदातपछि केही प्रतिवादीहरु सोही पार्टी कार्यालयमा रात विताएको भनेको पनि पाइन्छ । प्रतिवादीले आफ्नो कुनै काउन्टर नरहेको भन्ने जिकीर लिएको अवस्था भएपनि प्रतिवादी चन्द्रदीप यादव, ओम प्रकाश यादव समेतका प्रतिवादीहरुको बयान तथा राममिलन राउत, विजय कुमार पुर्वे, विजय कुमार झा, उमाशंकर अरगरिया, इन्द्रेशकुमार झा समेतको कागजले प्रतिवादीको जिकिरलाई समर्थन गरेको नदेखिएको र प्रस्तुत मुद्दाको घटनासँग जोडिएको हुँदा तत्सम्बन्धमा प्रमाण बुझिने नै छ ।
यसरी माथि विवेचना गरिए बमोजिम प्रतिवादी संजय कुमार साहलाई हालसम्म संकलित प्रमाणहरुले निर्दोष भन्ने पुष्टि गरिनसकेको अवस्था हुँदा प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम निर्णय हुने नै हुँदा र निज हाल अन्य मुद्दाको पुर्पक्षको सिलसिलामा थुनामा  नै रहेको देखिँदा यस मुद्दाको हकमा पनि मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको ११८ नं. को देहाय (२) बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा नै राख्न सम्बन्धित कारागार शाखालाई लेखी पठाउनु । प्रतिवादीलाई पनि थुनुवा पूर्जीको साथै यो आदेशको जानकारी समेत दिनु ।


२०७३ मंसिर १९ गते आईतबार

No comments:

Post a Comment