Tuesday, November 1, 2016

जानकी मन्दिरका महन्थ रामतपेश्वर कसुरवार ठहर रामतपेश्वरले अब महन्थाई छोड्नुपर्छ, नयाँ नियूक्त हुनुपर्छ ः बैकुण्ठ दास वैष्णव

जानकी मन्दिरका महन्थ
रामतपेश्वर दास वैष्णव ।
अजय अनुरागी
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जी १९ कार्तिकमा जनकपुर आई जानकी मन्दिरको पूज ागर्ने कार्यक्रम तय भएको बेला उनको लागि विशेष पूजा तथा सम्मानको तयारीमा जुटेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई भने धनुषा जिल्ला अदालतले ठुलो झट्का दिएको छ । धनुषा जिल्ला अदालतले जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णवलाई तत्कालिन गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिपक पाण्डेलाई कालो मसो दलि गाली बेइज्जती गरेको कसुरमा जरिवाना तथा पीडितलाई क्षतिपुर्ती भराई दिन फैसला गरेको छ ।
११ कार्तिक २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश केशव प्रसाद अधिकारीको इजलासबाट गरिएको फैसलामा राम तपेश्वर दास वैष्णवलाई ५ हजार रुपैयाँ जरिवाना र पीडित दिपक पाण्डेलाई २५ हजार रुपैयाँ क्षतिपुर्ती भर्न फैसला गरेको हो । त्यसैगरी अन्य प्रतिवादीहरु जनकपुर उपमहानगरपालिका १० स्थित जानकी मन्दिरमा बस्ने शशीनाथ मिश्रको छोरा बर्ष ३६ का शम्भु मिश्र, जानकी मन्दिरमा बस्ने बर्ष ४१ का राजु साह, महोत्तरी पिपरा गाविसमा साविक घर भई विश्व हिन्दु संघसँग आवद्ध रामपद किडकर मिश्रको छोरा बर्ष ५८ का रामभुषण मिश्र, जनकपुर नगरपालिका उद्योग बाणिज्य संघका उपाध्यक्ष बर्ष ३८ का ललित साह, जनकपुर नगरपालिका ५ बस्ने रामबाबु साहको छोरा बर्ष ३२ का शंकर साह, जनकपुर उपमहानगरपालिका १४ रजौल बस्ने सरजु पासवानका छोरा बर्ष ५१ को राम बरण पासवान र धनुषा ठाढी झिझा साविक घर भई हाल जनकपुर १० जानकी मन्दिरमा बस्ने देवनाथ झाको छोरा बर्ष ४० को मनोज झा गरी सबै प्रतिवादीहरु माथि लगाइएको कसुरलाई समेत अदालतले ठहर गर्दै जनही ५ हजारका दरले जरिवाना र ३५ हजार रुपैयाँका दरले जनही पीडित पाण्डेलाई क्षतिपुर्तिको रुपमा भर्नका लागि फैसला गरेको छ ।
फैसला आए लगत्तै जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवका दुश्मनका रुपमा चिनिएका रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव भन्छन,“फौजदारी अभियोगमा अदालतद्वारा दण्ड सजाय पाईसकेका व्यक्तिलाई सार्वजनिक पदमा रहिरहन नेपालको कानुनले निषेध गरेको छ । त्यसैले अब जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले नैतिकताका आधारमा पनि महन्थ पदबाट राजिनामा गर्नुपर्छ । नत्र भने अदालतको फैसला कार्यान्वयनका क्रममा उनको पद स्वतः पनि खोसिने छ ।”
के हो घटना र अभियोग ?
दिपक पाण्डे गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौमा घटना भएको दिनभन्दा १५ बर्ष अगावै देखि नियूक्त भई काम काज गरी आईरहेको थियो । गुठी संस्थान केन्द्रिय कार्यालयले उनलाई जनकपुरको शाखा कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो । राम तपेश्वर दास वैष्णवलाई गुठी संस्थान केन्द्रिय कार्यालयले जानकी मन्दिरको महन्थ पदमा २७ साउन २०५३ मा नियूक्त गरेको रहेछ । दिपक पाण्डेले महन्थ राम तपेश्वर विरुद्ध लगाएको अभियोग अनुसार उनी जानकी मन्दिरको महन्थ पदमा नियूक्त भएपछि जानकी मन्दिरको संरक्षण तथा संवद्र्धन गर्नुको साटो आफु खुशी मन्दिरको सम्पति हिनामिना गर्नुका साथै गुठी संस्थान केन्द्रिय कार्यालयले अराएको खटाएको काम काज पनि नगरेको पाइएको छ । यसरी एक पवित्र मन्दिरमा बसेर मन्दिरको हित विपरित विपक्षीले क्रियाकलाप गरेको हुँदा निजलाई गुठी संस्थान केन्द्रिय कार्यालयले जानकी मन्दिरको महन्थ पदबाट हटाई उक्त ठाउँमा १७ फागुन २०७० मा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने जगदीश दास वैष्णवलाई महन्थ पदमा नियूक्त गरेको हो ।
गुठी संस्थान केन्द्रिय कार्यालयले अराए, खटाएको काम गर्ने आफु एक जना सामान्य कर्मचारी भएको हुँदा गुठी संस्थान केन्द्रिय कार्यालय काठमाण्डौले कहिले कसका विरुद्धमा के के निर्णय गर्दछ सो को जानकारी आफुलाई हुँदैन भन्दै दिपक पाण्डेले उल्लेख गरेका छन् । २६ माघ २०७० का दिन म फिरादी दिपक पाण्डे आफ्नै गुठी संस्थान शाखा कार्यालय जनकपुरको भवनमा बसिरहेको अवस्थामा विपक्षी रामतपेश्वर दासले १५÷२० जनाको हुलहुज्जत लिई म बसिरहेको ठाउँमा आई मलाई जानकी मन्दिरको महन्थ पदबाट किन हटाएको भनि ठाडो भाषामा सोधेकोमा आफु गुठी संस्थानको सामान्य एक कर्मचारी हुँ, म सँग कुनै पनि मठ मन्दिरको महन्थ हटाउने र राख्ने अधिकार हुँदैन, महन्थ हटाउने वा राख्ने अधिकार त गठी संस्थान केन्द्रिय कार्यालयको संचालक समितिको बोर्डले गर्ने हो, उक्त बोर्डको म सदस्य पनि होइन, त्यसकारण तपाईलाई जानकी मन्दिरको महन्थ पदबाट हटाउने काम गुठी संस्थान केन्द्रिय कार्यालयले गरेको हो भनि शिष्ट भद्र भाषामा विनम्रतापुर्वक विपक्षीलाई भन्दा,“ तँ पहाडी हाकिम भएर यहाँ दादागिरी जमाउन खोज्दछस, सबै काम तैंले नै गरेको हो” भनि मलाई तथानाम गाली गरिसके पश्चात यसलाई गाली गरेर मात्र पुग्दैन, आज मलाई जानकी मन्दिरको महन्थ पदबाट हटाएर जसरी बेइज्जत गरेको छ, त्यसरी नै बेइज्जत गर्नुपर्छ भनि आफुसँग लगेका मैले नचिनेका अन्य १५÷२० मानिसहरुलाई अराई यसलाई मुखभरी कालो मसो दल भनि बचन दिए पश्चात निजसँग गएका अन्य निजको मानिसहरुले मेरो मुखमा कालो मसो दलि मेरो बेइज्जती गरेको हुँदा न्यायको मन्दिर समक्ष बाध्य भएर आएको छु, भन्दै दिपक पाण्डेले ३० बैशाख २०७१ मा अदालतमा दर्ता गराएको अभियोग पत्रमा उल्लेख छ ।
अतः विपक्षी रामतपेश्वर दास वैष्णवले म एक निर्दोष कर्मचारीलाई बेइज्जती गर्ने मनसायले गाली गलौज गरी कालो मसो समेत दल्ने काम पनि गरेको हुँदा विपक्षीलाई गाली र बेइज्जती ऐन २०१६ को दफा ५ बमोजिम हदैसम्म सजाय गरी म फिरादीलाई विपक्षीबाट क्षतिपुर्ति र प्रस्तुत मुद्दा दर्ता गरेको अवस्थामा लागेको सम्पुर्ण खर्च समेत दिलाई भराई पाऊ भन्दै गुठी संस्थान शाखा कार्यालय जनकपुरका कार्यालय प्रमुख दिपक पाण्डेले जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई विपक्षी बनाई गाली बेइज्जती मुद्दा अदालतमा दर्ता गरेको थियो । त्यसैगरी जानकी मन्दिरमा बस्ने शम्भू मिश्र, राजु साह, मनोज झा, पिपराका रामभुषण मिश्र, जनकपुर उद्योग बाणिज्य संघका ललित साह, जनकपुर ५ का शंकर साह र जनकपुर १४ रजौलका रामबरण पासवान विरुद्ध पनि सोही मुद्दा दर्ता गरिएको थियो ।
जानकी मन्दिरका महन्थको प्रतिउत्तर
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले अदालतमा चढाएको प्रतिउत्तरमा दिपक पाण्डेको बादीदावी पुर्ण रुपले झुठा रहेको, गाली बेइज्जती हुने कुनै कार्य नगरेको, नगराएको तथा गलत मनसाय राखी मेरो कार्य व्यवहार एवम जिम्मेवारी प्रति गलत प्रचारबाजीको रुपमा मात्र फिराद पत्र दर्ता भएको उल्लेख छ । विपक्षी वादीले आफ्नो फिराद पत्रमा गाली बेइज्जती भयो भन्ने विषयको व्यहोरा भन्दा मेरो महन्थाई पद अनुसारको आचरण गरेनन भन्ने व्यहोरालाई प्राथमिकता दिई फिराद दायर गरेको हुनाले वादीको झुठा तथा गैरकानुनी फिराद दावीबाट उन्मुक्ति दिलाई पाऊ भनि महन्थ राम तपेश्वरले प्रतिउत्तर दिएको पाइन्छ ।
आफुले जानकी मन्दिरको कुनै सम्पति हिनामिना गरेगराएको छैन, मेरो विरुद्ध गुठीले गरेको गैरकानुनी निर्णय उपर सर्बोच्च अदालतमा मुद्दा दायर गरी अन्तरिम आदेश जारी हाल कारवाहीयूक्त आवस्थामा रहेको छ । तसर्थ मैले दायर गरेको विषय गौण गरी गलत विषयलाई जोड दिनुबाट विपक्षीको मनसाय गलत रहेको प्रष्ट हुन्छ, भनि महन्थ राम तपेश्वरले प्रतिउत्तर दिएको पाइन्छ ।
त्यतिबेला बास्तवमा भएको के थियो ?
गुठी संस्थान केन्द्रिय कार्यालयले जनकपुरको जानकी मन्दिरमा नयाँ महन्तको रुपमा जगदिश दास वैष्णवलाई नियूक्ति गरे संगै त्यसको विरोध र समर्थनमा उत्रेका जनकपुरका साधु महन्तहरुबीच टकरावको अवस्था उत्पन्न भएको थियो । गुठीका प्रसाशक तथा संस्थानका अध्यक्ष पंचलाल महर्जनले मोटो रकम लिई गुरु शिष्यको परम्पराको बरखिलाफ गैर कानुनी ढंगले नयाँ महन्त नियूक्त गरेको भन्दै विरोधमा जानकी मन्दिरका कार्यरत महन्त राम तपेश्वर दासका समर्थकहरुले संस्थानको शाखा कार्यालय जनकपुरमा अनिश्चित कालिन ताला बन्दी गरेका थिए । जनकपुरका कार्यालय प्रमुख दिपक पाण्डेलाई तिनका समर्थकहरुले कालो मोसो दलेर दुवर््यवहार गर्नुका साथै गुठी संस्थानको बोर्ड मिल्काएर त्यहाँ मठ मन्दिर र मुर्ति विक्री गर्ने रत्नसागर मन्दिरका महन्त वैकुण्ठ दास वैष्णव, संस्थानका प्रशासक पंचलाल महर्जनलाई कारवाही गर्नुपर्ने माग सहितका व्यानर झुन्ड्याएका थिए । रामतपेश्वर दासको समर्थनमा विश्व हिन्दु परिषद, विश्व हिन्दु महासंघ नेपाल, राष्टिूय तथा अन्तराष्टिूय हिन्दु जनजागरण गौ संरक्षण अभियान नेपाल, मटिहानी मठका मान महन्त जगरनाथ दास लगायत विभिन्न राजनीतिक दल, संघसंस्थाहरुको ऐक्यवद्धतामा जानकी मन्दिरको प्राङगणमा धर्ना समेत दिएका थिए ।
सर्वोच्चद्वारा अन्तरिम आदेश
महन्त नियुक्तीको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले  अन्तरिम आदेश जारी गरे पछि  विवाद तत्कालका लागि साम्य भएको थियो ।
सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा न्यायधिश तर्क राज भट्टको एकल इजलासले गुठी संस्थानले महन्त नियुक्त गर्न गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो । सर्वोच्च अदालतले अर्काे आदेश नभएसम्मका लागि पहिलैकै महन्तद्वारा पूजा पाठ सञ्चालन गर्नपनि आदेश दिएको थियो । सर्वाेच्चको अन्तरिम आदेश पछि जानकी मन्दिरमा महन्त रामतपेश्वर दास वैष्णव र उनका समर्थकहरुले एकअर्कालाई रंगअबिर लगाई खुसीयाली मनाएका थिए ।
जिल्ला प्रशासनमा ज्ञापन
नागरिक समाज, साधुसन्त तथा गौ संरक्षण अभियानकै अगुवाईमा पुगेका सर्वसाधारणहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले गुठी संस्थानले गरेको निर्णय तत्कालै फिर्ता लिनुपर्ने, संस्थानका अध्यक्ष महर्जनलाई कारबाही गर्नुपर्ने, रत्नसागरका महन्थ बैकुण्ठ दास बैष्णवलाई नागरिकता खारिज गर्नुपर्ने तथा महन्त पदबाट हटाइनु पर्ने लगायतका नाराबाजी समेत गरेका थिए ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दासले सहायक प्रमुख जिल्ला अधिकारीद्वय प्रल्हाद पोखरेल तथा हरि प्रसाद बास्तोलालाई ध्यानाकर्षण पत्र बुझाउदै २४ घण्टा भित्र माग पुरा नभए शसक्त आन्दोलनमा जाने चेतावनी दिएका थिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारीद्वयका साथै वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, प्रहरी उपरिक्षक उत्तमराज सुवेदी, टूाफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक राजन भेटवाल लगायतको उपस्थिति थियो ।
अर्कोतर्फ गुठी संस्थान प्रमुख पाण्डेले न्यायका लागि पहल गरिदिन स्थानिय निकायसंग माग गरेका थिए । स्थानिय नागरिक समाज तथा साधुसन्तले अभद्र व्यवहार गर्नुका साथै मानवेइज्जत गरेको भन्दै उनले न्याय दिलाउन माग गरे पछि सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला प्रहरीले घटनाबारे जानकारी लिएका थिए ।
मठमन्दिरहरुको चलन अनुसार गुठीले एक पटक नियुक्ती दिएपछि ठूला मन्दिरहरुमा महन्त फेरिएको छैन । एक पटक नियुक्ती पाएपछि उनले आफ्ना शिष्यलाई नै महन्त छान्ने र गुठीले उनलाई नियुक्ती दिने प्रावधान रहिआएकोछ । गुठी संस्थानले जानकी मन्दिरलाई बिबादमा तान्ने प्रयास गरेकोछ । जनकपुरमा बिभिन्न मठमन्दिरहरुको जग्गा बेचबिखन गर्ने काम गुठीको मिलोमतोमा हुँदै आएको र महन्तहरुबीच बिबाद गराई गुठी प्रशासकहरुले मोटो रकम कुमल्याउँदै आएकाछन् ।
जनकपुरका तीन प्रमुख मठ जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव, मटिहानी स्थानका महन्त जगरनाथ दास वैष्णव र रतनसागर मठका महन्थ बैकुण्ठ दास वैष्णवबीच केहि समयदेखि गंभीर बिबाद चलिरहेकोछ । जानकारहरु अनुसार मठका महन्तहरुबीचको बिबाद जग्गा बेचबिखनका लागि मात्र हो ।
महन्त नियुक्तको राजनीतिक दलद्धारा विरोध
जानकी मन्दिरको महन्त रामतपेश्वर दास ‘वैष्णव’ लाई हटाई जगदिश दास ‘वैष्णव’ लाई नियुक्त गरेको निर्णयको राजनीतिक दलहरुले पनि विरोध गरेको थियो । राजनीतिक दलहरुले  संयुक्त विज्ञप्ति जारी गरी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा चल्दै आएको गुरु शिष्यको परम्परा विपरित गुठी संस्थानले आर्थकि प्रलोभनमा परि गरेको निर्णय अविलम्ब फिर्ता लिन मांग गरेको थियो । महन्त नियुक्तको निर्णय गुठी संस्थानले फिर्ता नलिए आपूmहरु कडा संघर्षमा उत्रिने चेतावनी राजनीतिक दलले दिएका थिए । नेपाली कांग्रेसका नगर सभापति धिरेन्द्र मोहन झा, राष्टिूय मधेश समाजवादी पार्टीका महाशंकर ठाकुर, राप्रपा नेपालका रामनरेश यादव, नेकपा मालेका रामनाथ साह, राप्रपाका कमलेश मण्डल, तमलोपाका धिरेन्द्र सिंह, नेपाली जनता दलका राज कुमार साह, नेकपा माले समाजवादीका कौशलेन्द्र मिश्र, नेपाल परिवार दलका अब्दुल कैयुम शाह, समाजवादी महिला संघकी मुन्नी दास लगायतले संयुक्त विज्ञप्ति जारी गरी निर्णयप्रति विरोध जनाएका थिए ।
निर्णय फिर्ता गराउन हस्ताक्षर अभियान
जानकी मन्दिरका महन्त नियुक्त गरेको निर्णय फिर्ताको मांग गर्दै हस्ताक्षर अभियान समेत थालेको थियो । नागरिक समाजको अगुवाईमा चलाइएको हस्ताक्षर अभियानमा जानकी मन्दिरको नयाँ महन्त जगदिश दास बैष्णवको नियुक्ती फिर्ताको मांग गरिएको थियो । धार्मिक परम्परा अनुसार रहेको महन्त रामतपेश्वर दास वैष्णवलाई हटाई गुठी संस्थानले जगदिश दासलाई महन्त नियुक्त गरेपछि जनकपुरका साधु सन्त विरोध गरिरहेका छन् । बुधबार जानकी मन्दिर परिसरमा हस्ताक्षर अभियान चलाइएको थियो ।
सन्तमहन्तहरु संघर्षमा
राष्टिूय तथा अन्तराष्टिूय हिन्दू जन(जागरण गौ रक्षा अभियान नेपाल पनि जानकी मन्दिरका महन्त रामतपेश्वर दास ‘वैष्णव’ समर्थनमा अघि आएको थियो । जानकी मन्दिरको महन्थ राम तपेश्वर दास ‘वैष्णव’ लाई हटाएपछि स्थानीय नागरिक समाज, युवा क्लब, सन्तमहन्तहरु संघर्षमा उत्रेका थिए । राष्टिूय तथा अन्तराष्टिूय हिन्दु जन जागरण गौ रक्षा अभियान नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महन्थ नियुक्तको निर्णय फिर्ता नलिए भारतबाट हजारौको संख्यामा नागा बाबा जनकपुरमा उतार्ने चेतावनी दिएका थिए ।
जानकी मन्दिरका महन्थ राम तपेश्वर दास ‘वैष्णव’ ले आफ्नो विरुद्ध विदेशी षडयन्त्र भएको दावी गरेका थिए । गुठीका हाकिमले मागेको ५० लाख रुपैयाँ दिन अस्विकार गरेको बताउदै उनले जग्गा विक्रि गर्न नदिनको लागि उक्त रकम मागेको दावी गरेका थिए । पंचलाल महर्जनले सो रकम मागेको आरोप महन्त रामतपेश्वर दासले लगाए । आपूm तीर्थ यात्राको क्रममा भारतमा छँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी वेद बहादुर कार्की, बलिराम साह र पंचलाल महर्जनले लाखौ रुपैया लिएर जग्गा बेचबिखन गर्न सहयोग पुर्याएको दावी उनले गरेका थिए । पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुर आएको ताका आपूmले राजतन्त्र र हिन्दू राष्टू पुर्नस्थापनाको समर्थन गरेको कारण आपूmलाई महन्तबाट हटाउने निर्णय गरेको उनको भनाई थियो ।
गुठी संस्थानको निर्णयमा के थियो ?
गुठी संस्थान संचालक समितिको १७ माघ २०७० को वैठकबाट जानकी मन्दिरको रिक्त महन्त पदमा जगदिश दास वैष्णवलाई नियूक्त गरेको थियो । गुठी संस्थान प्रधान कार्यालयका अध्यक्ष एवम प्रशासक पंचलाल महर्जनद्वारा शाखा कार्यालय जनकपुरलाई गरिएको परिपत्र र जिल्ला प्रशासन कार्यालय धनुषा, गुठी संस्थान, केन्द्रिय लगत तथा अभिलेख शाखा कार्यालय र जगदिश दास वैष्णवलाई गरिएको बोदार्थमा उक्त कुरा उल्लेख गरिएको थियो ।
राज गुठीमा परिणत भएका छुट गुठीको हकमा संस्थानले त्यस्ता गुठीको दान पत्र, लिखत र परम्परा बमोजिम पर्व पुजा इत्यादी गर्नु पर्ने काम नरोकिने र धर्म लोप नहुने गरी संस्थानले आफै रेखदेख, नियन्त्रण र निर्देशनमा वढीमा पाँच वर्षको अवधि तोकि त्यस्तो गुठीको बन्दोवस्त र संचालन गर्न सुम्पन सक्ने छ  भन्ने व्यवस्था अनुसार गुठी संस्थान केन्द्रिय कार्यालयको २७ साउन २०५३ को निर्णय अनुसार जानकी मन्दिरको महन्त पदमा राम तपेश्वर दास वैष्णवलाई नियूक्त गरिएकोमा ऐनको उक्त व्यवस्था बमोजिम पाँच वर्ष अवधि समाप्त भएपछि पुनः नियुक्ती भएको वा सुम्पेको नदेखिएको भन्दै नयाँ महन्त नियुक्त गरिएको जनाइएको थियो ।
जानकी मन्दिरका यस अघिका महन्त रामतपेश्वर दास वैष्णवले गुठी जग्गा अतिक्रमण गरे गराएको, मन्दिर देखि पश्चिम तर्फको जग्गामा घर बनाउन लगाएको, गुठी संस्थानले पटक पटक रोक्न निर्देशन दिँदा समेत अटेर गरेको, नियूक्तीको सर्त बमोजिम आम्दानी खर्चको विवरण दाखिला नगरेको कारण तपेश्वर दास वैष्णवको कानुन बमोजिम अधिकार समाप्त भईसकेको निर्णयमा उल्लेख गरिएको छ । जानकी मन्दिर गुठीको रिक्त महन्त पदमा गुठीको दान पत्र, लिखत परम्परा बमोजिम पूजा आजाको व्यवस्थापन पर्ने, गुठीका गुठी तैनाथी जग्गा अतिक्रमण हुन नदिने, कसैले अतिक्रमण गरेमा तुरुन्त हटाउने, जानकी मन्दिरका सबै किसिमको आम्दानी सोही मन्दिरको नाममा खाता खोली खातामा जम्मा गर्ने, खर्च गर्नु पर्दा सोही खाताबाट गर्ने, आय व्यय सबै देखिने गरी लेखा राखी आम्दानी खर्चको मासिक विवरण गुठी संस्थान शाखा कार्यालयमा बुझाउने गरी गुठी संस्थान ऐन २०३३ को दफा १६ को उपदफा (२) दुई बमोजिम एक वर्षे परिक्षण कालमा रहने गरी जगदिश दास वैष्णवलाई जानकी मन्दिरको महन्त पदमा गुठी संस्थान संचालक समितिको वैठकबाट निर्णय भई समितिको निर्णय कार्यान्वयनका लागि गुठी संस्थान शाखा कार्यालयलाई निर्देशन दिईएको थियो ।
उक्त ऐन बमोजिम रिक्त पदमा नियूक्ती पाउ भने साविक धनुषा कुर्था ४ र हाल जनकपुर ६ वस्ने जगदिश दास वैष्णवको निवेदन र गुठी संस्थान शाखा कार्यालय जनकपुरको ८ पुष २०७० को टिप्पणी राय सहितको कारवाही फाइल अनुसार निजलाई एक वर्षे परिक्षण कालमा रहने गरी ५ वर्षका लागि नियुक्ती दिने र मन्दिरका गर गहणा, देव मुर्ति, नगदी, जिन्सी सबै प्रकारको सम्पतिको सुरक्षा हुने गरी बर बुझारथको व्यवस्था समेत गर्न संस्थानको शाखा कार्यालय जनकपुरलाई निर्देशन दिइएको थियो ।
अब के हुन्छ ?
गुठी संस्थान केन्द्रिय कार्यालयले जगदीश दास वैष्णवलाई महन्थको रुपमा नियूक्ती गरेको विषयमा सर्बोच्च अदालतले तत्काल अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि विवाद शान्त भएको थियो । तर, सर्बोच्च अदालतले गरेको अन्तिम फैसलामा प्रक्रिया पुर्याएर महन्थ जगदीश दासलाई जानकी मन्दिरको महन्थको रुपमा नियूक्ति गर्न भन्दै २०७२ साउनमा सर्बोच्च अदालतले गुठी संस्थान केन्द्रिय कार्यालयको नाउँमा परमादेशको आदेश जारी गरेको थियो । रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवका अनुसार सर्बोच्चले उक्त परमादेशको आदेश जारी गरेको भएपनि पावर र पैसाको चलखेलबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले गुठी संस्थानलाई आफ्नो पक्षमा पारेर अल्झाईरहेको छ । नियमले त जगदीश दास वैष्णव नै जानकी मन्दिरका आधिकारिक महन्थ हुन । तर, गुठी संस्थानले प्रक्रिया अगाडी वढाउन आलटाल गरिरहेकाले जगदीश दास वैष्णवले पुनः ३÷४ महिना अघि सर्बोच्च अदालतको परमादेशको आदेशलाई गुठी संस्थानले कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको तथा आफुलाई जानकी मन्दिरको महन्थमा नियूक्त गरी अबिलम्ब फैसलाको कार्यान्वयन होस भन्दै पुनः सर्बोच्चमा मुद्दा गरेका छन् । हुन त प्रक्रिया मिलाईरहेको र चाँडै नयाँ महन्थको जानकी मन्दिरमा जगदीश दास वैष्णवलाई नियूक्त गर्ने भनेर गुठी संस्थानले सर्बोच्च अदालतलाई जवाफ फर्काएको बैकुण्ठ दासले बताए ।
बैकुण्ठ दासका अनुसार जानकी मन्दिरमा रामतपेश्वर दास गैरकानुनी तरिकाले महन्थको रुपमा बसेका छन् । आफुहरुले बलपेली गरेर दुई दिनमा उनलाई त्यहाँबाट खाली गराउन सक्छौं,तर आफुहरु कानुनमा विश्वास गर्ने हुनाले अदालतको फैसला अनुसार गुठीले केही दिनमै उनलाई त्यहाँबाट खाली गराएर जगदीश दासलाई नयाँ महन्थको रुपमा नियूक्त गर्ने आशामा पर्खिरहेका छौं । महन्थ बैकुण्ठका अनुसार अब ढिलो चाँडो भएपनि उक्त मन्दिरमा राम तपेश्वर दास वैष्णव महन्थको रुपमा रहन नसक्ने भने ग्यारेन्टी छ ।



२०७३ कार्तिक १४ गते आईतबार

No comments:

Post a Comment