Tuesday, November 1, 2016

मुखर्जीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जीलाई जनकपुरमा भव्य स्वागत गर्न तयारी तिव्र पारिएको छ । अहिले जनपकुरमा सरसफाईसंगै सडक मर्ममत र मञ्च निर्माणको  काम धमाधम भइरहेको छ । आगामी कार्तिक १९ गते हुने हुने भ्रमणको क्रममा राष्टूपति मुखर्जीले जनकपुरको जानकी मन्दिरमा २० मिनेट दर्शन र पूजाआजाको कार्यक्रम तय गरिएको हो । त्यस पश्चात जनकपुरको तिरहुतियागाछीमा राष्टूपति मुखर्जीको भव्य समारोहबीच नागरिक अभिन्नदनको कार्यक्रम समेत तय भएको जनकपुर उपमहानगरपालिका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेलले जानकारी दिएका छन् ।
नगरप्रमुख लुईटेलका अनुसार जनकपुर विमानस्थलामा अवतरण पश्चात राष्टूपति मुखर्जीको सिधा जानकी मन्दिरको दर्शन एवं पूजाआजाको कार्यक्रम रहेकोले विमानस्थलदेखि  जानकी मन्दिरसम्म प्रत्येक ७५ मिटरको दुरीमा स्वागतद्वार बनाईदैछ ।  प्रत्येक गेटलाई राम्ररी सजाएर नेपाल भारतको झण्डा समेत लगाईने छ ।
जानकी मन्दिरमा दर्शन र पूजा गरिसके पश्चात तिरहुतियागाछीमा २५ मिनेट जति राष्टूपति मुखर्जीको भव्य समारोहबीच नागरिक अभिनन्दको कार्यक्रम रहेको छ । तिरहुतिया गाछीमा मञ्च निर्माण र स्वागतद्वार निर्माणको कार्य जारी रहेको छ । यस अघि जानकी मन्दिरकै प्रांगणमा राष्टूपति मुखर्जीको नागरिक अभिनन्दको कार्यक्रम हुने सरकारी निकायले तय गरेको थियो । तर, नेपाल र भारतका सूरक्षा निकायको बैठले अभिनन्दनको कार्यक्रम तिरहुतियागाछी नै उचित स्थल भएको भन्दै निर्णय गरेपछि तिरहुतियागाछी मैदानमा अभिनन्दको कार्यक्रम तय भएको कार्यकारी प्रमुख लुईटेलले बताएका छन् । हुन त यस अघि पनि भारतका राष्टूपतिद्वय निलम संजिवा रेड्डी र ज्ञानी जैल सिंह नेपाल भ्रमणको क्रममा जनकपुरको जानकी मन्दिरमा जानकीको दर्शन गर्ने बेलामा उहाँहरुलाई जानकी मन्दिरमै नागरिक अभिनन्दन गरिएको थियो ।
तर, पछिल्लो समयमा दुई बर्ष अघि राम जानकी विवाह पञ्चमी महोत्सवका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भनिएपछि सरकारले उनको पनि नागरिक अभिनन्दन जनकपुरको जानकी मन्दिरमै गर्ने तय गरेपछि स्थानीय नागरिकहरुले त्यसको विरोध गरेको थियो । भारतका प्रधानमन्त्री मोदी जस्तो व्यक्तित्व जनकपुर आउँदा जानकी मन्दिरको सिमित घेरा भित्र केही विशिष्ट व्यक्तिहरुको मात्र प्रवेश हुने र आम सर्वसाधारणहरुले उनको अभिनन्दन कार्यक्रममा सहभागी हुन नपाउने भन्दै उनको नागरिक अभिनन्दन जनकपुरको ऐतिहासिक रंगभुमि मैदान बारह विघामा हुनुपर्ने अडान राखेपछि सरकारले उनको नागरिक अभिनन्दनका लागि पछि गएर बारह विघा मैदानमा मञ्च निर्माणको कार्य सुरु गरेको थियो । तर, पछि विभिन्न कारणहरु देखाउँदै मोदीको जनकपुर भ्रमण रद्द गरिएको थियो । सायद, त्यो कुरालाई पनि ख्याल राख्दै नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यसपटक मुखर्जीको नागरिक अभिनन्दन जिल्ला प्रहरी कार्यालय धनुषाको सामुन्नेमै रहेको तिरहुतिया गाछीलाई रोजेको हुनसक्ने स्थानीयवासीहरु बताउँछन् । मोदी भ्रमण हुने बेला सवारी मन्त्रीको रुपमा जनकपुरवासी समेत रहेका तत्कालिन भौतिक पुर्वाधार योजना तथा यातायात मन्त्री विमलेन्द्र निधिलाई जिम्मेवारी नेपाल सरकारले दिएको थियो । पछि गएर तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला नै निधिको स्वागतका लागि जनकपुर आउने भनिएको भएपनि अन्ततः मोदीको भ्रमण रद्द भएको थियो । तिरहुतिया गाछीमा भारतीय राष्टूपति मुखर्जीको नागरिक अभिनन्दन हुने कार्यक्रम तय भएपछि स्थानीय नगरवासी पनि अत्यधिक खुशि भएका छन् । जनकपुर नगरपालिकाका कार्यकारी अधिकृत लुईटेलका अुनसार उक्त नागरिक अभिनन्दनमा सहभागिताका लागि जनकपुरका सम्पुर्ण सांसदहरु, उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, धनुषाका जिल्ला स्तरीय र नगर स्तरीय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, यूवा क्लव तथा संघ संस्थाका प्रतिनिधिहरु र बुद्धिजिवी, समाजसेवी र नागरिक समाजलाई समेत उपमहानगरपालिकाको कार्यालयले आमन्त्रणा पत्र पठाएको छ । लुईटेलका अनुसार तिरहुतिया गाछीमा भिआईपीका अतिरिक्त सर्वसाधारणहरुलाई समेत प्रवेश दिइनेछ । राष्टूपति मुखर्जीको सवारी मन्त्रीको रुपमा नेपाल सरकारको पर्यटन मन्त्री जनकपुर आउने छन् ।
उनलाई नागरिक अभिनन्दनको रुपमा प्रदान गरिने अभिनन्दन पत्र नेपाली र मैथिली भाषामा लेखिएको छ । जनकपुरका बरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलले तयार पारेको उक्त अभिनन्दन पत्रमा जनकपुर र अयोध्याको सम्बन्ध, राम र जानकी बिचको वैवाहिक सम्बन्ध, मिथिला र अवध बीचको सम्बन्ध, दुवै देशको भाषा संस्कृति लगायत नेपाल र भारत बीचको सम्बन्धलाई समेत बर्णन गरिएको लुईटेलले बताएका छन् । अभिनन्दन गर्दा काठमाण्डौमा काठमाण्डौ महानगरपालिकाले गर्ने झैं जनकपुरमा पनि उनलाई नगरको साँचो प्रदान गरिने कार्यक्रम तय भएको उनले बताए ।
जानकी मन्दिरमासमेत सरसफाई र मर्मत सम्भारको साथै रंगरोगन र सजाबटको कार्य भइरहेको जानकी मन्दिरका महन्थ रामतपेश्वरदास बैष्णवले बताएका छन् । तर जानकी मन्दिरलाई फुलले सजाइने हुँदा त्यो कार्य १७ र १८ गते विशेष रुपले हुने महन्थ बैष्णवको भनाई छ ।
तयारीको सरकारी अवलोकन
भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणको औपचारिक घोषणा भए लगत्तै स्थानीय स्तरमा भएको तयारीको अवस्थालाई अवलोकन तथा निरीक्षण गर्नका लागि नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा उच्च स्तरीय सरकारी टोली  १३ कार्तिकमा जनकपुर आई अवलोकन गरेको छ । हेलिकप्टरबाट आएको उक्त टोलीमा स्थानीय विकास मन्त्री हितराज शर्मा, मुख्य सचिव सोमलाल सुवेदी, नेपाली सेनाका रथी बलदेवराज महत, सशस्त्र प्रहरीका महानिरीक्षक दुर्जकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्र कान्त अर्याल लगायतले जानकी मन्दिर र तिरहुतिया गाछीमा पुगेर निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा जनकपुरवासी समेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संचारकर्मीहरुसँग कुराकानी गर्दै भारतीय राष्टूपति मुखर्जीको जनकपुर भ्रमणले नेपाल र भारत बीच रहेको सांस्कृतिक, भौगोलिक, भाषिक, धार्मिक आदिको जनस्तरको सम्बन्धलाई समेत बल पुग्ने हुनाले मिथिला संस्कृतिमा अतिथि देवो भवः भनिए झैं भारतीय राष्टूपति मुखर्जीलाई जनकपुरवासीले भव्य स्वागत गर्नुपर्ने बताएका छन् ।
सहिदपथको सिलान्यास नहुने
भारतीय राष्ट्रपति मुखर्जी जनकपुर आउँदा हुलाकी सडक अन्तरगतको शिवपथ मार्गको सिलान्यासको कार्यक्रम समेत तय भएको नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बताएका थिए । तर, अहिले अन्तिम चरणमा आएर उक्त कार्यक्रम रद्द गरिएको छ । जनकपुर देखि यदुकुहा सडक खण्डको निर्माण कार्यका लागि जनकपुरका पुल चौक स्थित सडकको मुखर्जीले सिलान्यास गर्ने भनिएपछि उक्त क्षेत्रको जिर्ण सडकलाई समेत स्थानीय प्रशासनले मर्मत तथा संभार गर्न लगाएका थिए । तर, त्यसतर्फ जाँदा सडकको अवस्था राम्रो नरहेको र सुरक्षालाई पनि ध्यान राख्दै सडक सिलान्यासको कार्यक्रम स्थगित गरिएको सुत्रको दावी छ ।
गुणस्तरहीन विकास निर्माण कार्य हुँदै
भारतीय राष्टूपति प्रणव मुखर्जीको जनकपुर भ्रमणको नाममा धमाधम हुन लागेको विकास निर्माणको काम गुणस्तरहीन भइरहेको छ । आगामी कातिक १९ गते राष्टूपति मुखर्जी जनकपुर आउन लागेकोमा उनलाई भव्य स्वागत गर्न  सरकारी निकायबाट जनकपुरको सडक नाला निर्माण एवं मर्मतको काम हुन लागेको हो । तर उनको आगमनको नाममा हुन लागेको तिव्र विकास निर्माणको काममा कमसल सामग्रीको प्रयोग भइरहेको सर्वसाधारणहरुको गुनासो छ । जनकपुरको मुरली चोक हुँदै राम चोक(जनक चोक(जानकी मन्दिर सडकखण्ड र तिरुहुतीया गाछि सडक खण्डमा धमाधम टालटुलको रुपमा निर्माण शुरु गरिएको  हो । जीर्ण सडक तथा नालाका कारण विकासको गतिमा ज्यादै न्यून देखिएको जनकपुरमा भारतीय राष्टूपति मुखर्जी आउन लागेपछि सम्बन्धित पक्षले सडकमा मर्मत गुणस्तरहीन र कमसल सामग्रको प्रयोग भएको  स्थानीय राजकुमार मुखियाले गुनासो गरे । यसरी मौकामा चौका हान्ने दाउमा स्थानीय अधिकारीहरु भ्रष्टाचार गर्ने मौका खोजिरहने गरेको स्थानीयवासीहरु आरोप लगाउँछन् ।

 २०७३ कार्तिक १४ गते आईतबार

No comments:

Post a Comment