Tuesday, September 20, 2016

जघन्य अपराधका अभियूक्तको मुद्दा फिर्ताका लागि संघीय गठबन्धन धनुषाद्वारा सिफारिस


मुद्दा फिर्ता लिन सिफारिस गरिएका व्यक्तिहरु क्रमशः 
रामविनोद यादव, चनरदिप यादव र कल्याणी देवी यादव ।
अजय अनुरागी
जनकपुरधाम............
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धन धनुषाले मधेस आन्दोलनको क्रममा नभएर विगतकै समयमा जघन्य अपराधका अभियूक्तहरुको मुद्दा फिर्ताका लागि सिफारिस गरेको पाइएको छ । दुई छुट्टा छुट्टै मितिमा संघीय गठबन्धन धनुषाका संयोजक देवकृष्ण मण्डलले मधेस आन्दोलनको क्रममा नभएर अलग्गै समयमा भएको विभिन्न आपराधिक घटनाहरुको अभियुक्तको रुपमा धनुषा जिल्ला अदालतद्वारा पुर्पक्षको लागि कारागार चलान गरिएका ८ जनाको मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा सिफारिस गरिदिन भन्दै संघीय गठबन्धन केन्द्रिय कार्यालयलाई सिफारिस गरेको हो ।

१६ भदौ २०७३ मा गठबन्धन धनुषाका संयोजक मण्डलले केन्द्रिय गठबन्धनलाई गरेको सिफारिसमा कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना, संगठित अपराध लगायतका मुद्दाहरुमा कारागारमा थुनामा रहेका धनुषा चारनाथ नगरपालिका २ का चनरदिप यादव, जोगेन्द्रर महतो कोइरी, शुभनारायण यादव, नागेश्वर साह, रामसुन्दर यादव, चारनाथ ८ का प्रमोद कुमार पुर्वे र धनुषा बालाबाखरकी कल्याणी देवी यादवको मुद्दा फिर्ताका लागि अनुरोध गरिएको छ । १६ भदौमा संघीय गठबन्धन धनुषाको बैठकबाट मधेस आन्दोलनका क्रममा ती व्यक्तिहरुमाथि लगाइएका मुद्दाहरु सिफारिस गर्न अनुरोध गरिएको छ ।
चनरदिप यादव संगसँगै ती ७ जना व्यक्तिहरु पछिल्लो मधेस आन्दोलनका दौरान भुमिगत सशस्त्र समुह गठन गरी आपराधिक घटनाहरु गर्दै धनुषाको बालाबाखरमा नेपाली कांग्रेसका एक जना कार्यकर्ताको गोली हानी हत्या तथा विभिन्न व्यक्तिहरुलाई धाक धम्की दिँदै जवरजस्ती चन्दा असुली देखि अन्य व्यक्तिहरुको ज्यान मार्ने प्रयास गरेको आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
भुमिगत संगठन जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंह भनिने चनरदिप यादवलाई धनुषा प्रहरीले पक्राउ गरी विभिन्न अपराधमा मुद्दा चलाएको पाइन्छ । २०६६ साल फागुन १७ गते होली पर्वका दिन संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्याको योजनाकार, २०६७ साल असोज २४ गते भरतपुर गाविसका विनोद गोइतमानको हत्या घटनामा मुख्य योजनाकारको रुपमा धनुषा प्रहरीले चनरदिपलाई अभियूक्त बनाएको छ । ती दुई घटना पछि फरार रहेर भारतको विहारका विभिन्न स्थानहरुमा लुकिछिपी बस्दै आएका चनरदिपले २० कार्तिक २०७२ मा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ विरेन्द्र बजार स्थित बुद्ध सिद्धार्थ बोडिङ्ग स्कुलको बसमा आगजनी गरी चनरदिप यादवले उक्त समुहको नाउँमा घटनाको जिम्मा लिएका थिए । त्यसैगरी २८ पुष २०७२ मा सिरहा स्थित गोपाल पेटूोल पम्पमा बम विस्फोट गराएका थिए । २२ माघ २०७२ मा बालाबाखर ४ स्थित राजेन्द्र यादवलाई गोली हानी हत्या गरेको भोली पल्टै २३ माघमा विरेन्द्र बजारमा नसिम राइन र पोर्ताहामा रामसागर महत्तोलाई गोली हानी घाइते बनाएका थिए ।
त्यसैगरी २२ भदौमा गठबन्धन धनुषाका संयोजक मण्डलले गरेको अर्को सिफारिसमा जनकपुरका संचार उद्यमि तथा व्यवसायी अरुण कुमार सिंघानिया हत्याको अभियोगमा अदालतद्वारा पुर्पक्षका लागि कारागार पठाइएका अभियूक्त रामविनोद यादवको मुद्दा फिर्ताका लागि केन्द्रिय गठबन्धनलाई सिफारिस गरिएको छ ।  केन्द्रिय संघीय गठबन्धनलाई गरिएको उक्त सिफारिस पत्रमा के भनिएको छ भने २२ भदौको संघीय गठबन्धन धनुषाको निर्णयानुसार २०६२÷०६३ को मधेस आन्दोलन र २०७२÷०७३ को मधेस आन्दोलनमा संक्रिय भुमिका निर्वाह गरी मधेसको राजनीति गर्दै आईरहेकोमा राज्य पक्षद्वारा धनुषा कनकपट्टी १ तथा हाल जनकपुर उपमहानगरपालिका २७ का तिलेश्वर यादवका छोरा रामविनोद यादवलाई राज्य पक्षद्वारा झुठा मुद्दा लगाई बन्दी राखेकोले अबिलम्ब झुठा मुद्दा खारेजी गरी बन्दी रिहा गराईदिन अनुरोध गरिन्छ । धनुषा जिल्ला अदालतमा ३२ साउन २०७३ मा धनुषा जिल्ला अदालतमा हाजिर भएका रामविनोद यादवलाई धनुषा जिल्ला अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डको अभियोगमा पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । रामविनोद यादव अहिले कारागारमा थुनामा छन् । अदालतमा हाजिर हुनु अघिसम्म उनी प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए ।
 केन्द्रिय गठबन्धनबाट सिफारिस अस्विकृत
संघीय गठबन्धन धनुषाका संयोजक तथा राष्टिूय मधेस समाजवादी पार्टीका अध्यक्ष समेत रहेका देवकृष्ण मण्डलले ती ८ जना व्यक्तिहरुको मुद्दा फिर्ता लिनका लागि गरेको सिफारिसलाई इन्कार गरेको छ । गठबन्धन तथा मोर्चाको सचिवालयको बैठकमा उक्त प्रस्ताव गएपछि मोर्चाका केन्द्रिय स्तरका नेताले उक्त सिफारिस पत्र हेरेपछि झस्किएका थिए । मधेस आन्दोलनका क्रममा लगाइएको झुठा मुद्दा नभएर अलग्गै आपराधिक घटना क्रममा प्रहरीले पक्राउ गरी वा अनुसन्धान गरी अभियोजन गरेको मुद्दामा परेका व्यक्तिहरुको मुद्दा फिर्ताका लागि जिल्लाबाट आएको सिफारिस अत्यन्तै दुर्भाग्यपुर्ण र गैरजिम्मेवार भएको हुनाले ती सिफारिसलाई मोर्चाले अस्विकार गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेशचन्द्र लालले द एक्सक्लुसिभलाई बताएका छन् । हो, जनकपुरमै विवाह पञ्चमीका दिन राष्टूपति विद्यादेवी भण्डारी जानकी मन्दिर दर्शन गर्न आएका दिन लगाइएका झुठा मुद्दाहरु, महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका असई थमन विकको हत्याको अभियोगमा लगाइएका मुद्दाहरु तथा अन्य ठाउँमा लगाइएका मुद्दाहरु फिर्ता गर्नका लागि मधेसका विभिन्न जिल्लाहरुबाट आएको सिफारिसलाई मोर्चा तथा गठबन्धनको केन्द्रिय स्तरबाट स्वागत गरेर मुद्दा फिर्ता लिन गृहमन्त्रालयलाई सिफारिस पनि गरिसकिएको छ । तर, जसरी पछिल्लो समयमा धनुषाबाट ती ८ जना व्यक्तिहरुको मुद्दा फिर्ता लिन गरिएको सिफारिसले पक्कै पनि स्थानीय स्तरमा केही ठुलै चलखेल भएको हुन सक्ने तमलोपा उपाध्यक्ष लाल बताउँछन् ।
किन गरियो सिफारिस ?
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धन धनुषाको बैठकमा ती व्यक्तिहरुको मुद्दा फिर्ता लिन सिफारिस गरिदिन भन्दै २२ भदौमा राम विनोद यादवका बुवा तिलेश्वर यादव तथा उनका आफ्न्त र मधेस क्रान्ति संघर्ष समितिका संयोजक नविन यादव समेतको टोली आएर प्रस्ताव गरेपछि मोर्चाका नेताहरु उपस्थित रहेको उक्त बैठकमा रामविनोद यादवको मुद्दा फिर्ता लिन सिफारिस गर्ने निर्णय गरिएपछि मात्र केन्द्रिय गठबन्धनलाई सिफारिस गरिएको तत्कालिन गठबन्धनका संयोजक देवकृष्ण मण्डल बताउँछन् । उक्त बैठकमा तमलोपाका अध्यक्ष परमेश्वर साह काठमाण्डौ रहेको बेला काठमाण्डौमै हस्ताक्षर गरिदिने भनेर टेलिफोन बार्तालापमा परमेश्वर साहले प्रतिबद्धता जनाएको मोर्चाका अन्य प्रतिनिधिहरुले हस्ताक्षर गरेको मण्डल दावी गर्छन् । रामविनोद यादव प्रथम मधेस आन्दोलनमा सक्रिय रहेको र मधेसको राजनीति गरिरहेको हुनाले राज्य पक्षले झुठा मुद्दामा फसाएको हुनाले रिहा गरिनुपर्ने गठबन्धनले निर्णय गरेर सिफारिस गरेको भन्दै मण्डल भन्छन,“ विगतका सशस्त्र द्वन्द्व कालमा माओवादी नेताहरुले धेरै मानिसहरुको हत्या, बलात्कार, अपहरण, ज्यान मार्ने प्रयास, डाका लगायतका जघन्य अपराधमा सहभागी भएकाहरु अहिले सरकारसम्म पुगेका छन्, अदालतले दोषी ठहर गरिसकेका व्यक्तिहरु समेत खुलेआम घुमिरहेका छन् भने रामविनोद र चनरदिप जस्ता व्यक्तिहरु पनि रिहा हुनुपर्दछ । तिनीहरु माथि लगाइएको मुद्दा फिर्ता हुनुपर्छ ।”
 मण्डलको एकलौटी सिफारिस
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चामा सहभागी रहेका अन्य दलका प्रतिनिधिहरु भने ती ८ जना व्यक्तिहरुको मुद्दा फिर्ता सम्बन्धि मोर्चा र संघीय गठबन्धनको बैठकमा निर्णय नै नभएको तथा मण्डलले एक्लौटी सिफारिस गरेको दावी गरेका छन् । २२ भदौको संघीय गठबन्धनमा सहभागी भएका सदभावनाका उपाध्यक्ष डा.रामचन्द्र चौैधरीका अनुसार बैठकमा रामविनोद यादवको मुद्दा फिर्ता लिने सन्दर्भमा गठबन्धनका संयोजक देवकृष्ण मण्डलले प्रस्ताव ल्याएको भएपनि निर्णय भने गरिएको थिएन ।
    सदभावनाका अध्यक्ष संजय सिंह, तमलोपाका अध्यक्ष परमेश्वर साह र संघीय समाजवादी फोरमका अध्यक्ष शेषनारायण यादव उक्त बैठकमा अनुपस्थित भएका कारण उक्त मुद्दा फिर्ता लिने वा नलिने भन्ने सिफारिस अध्यक्षहरुको बैठकबाटै गर्नुपर्ने छलफल मात्र भएको तर त्यस सम्बन्धि कुनै निर्णय नभएको तथा २५ गते जनकपुरमा श्रद्धाञ्जली सभा आयोजन गर्ने एउटा मात्र निर्णय भएको सदभावना उपाध्यक्ष चौधरी बताउँछन् । त्यसैगरी सोही बैठकमा उपस्थित रहेका तमलोपाका प्रतिनिधि धिरेन्द्र बहादुर सिंहका अनुसार पनि बैठकमा त्यस्तो निर्णय नै नभएको र गठबन्धनका संयोजक समेत रहेका रामसपाका अध्यक्ष मण्डलले एक्लौटी ढंगले सिफारिस गरेको हो । त्यो दुर्भाग्य पुर्ण पनि हो भन्दै धिरेन्द्र बहादुर सिंह भन्छन,“ मण्डलले आफु खुशी गरेको सिफारिसबाट मधेस आन्दोलन र मधेसी मोर्चा समेत बदनाम भएको छ । त्यो सिफारिस अत्यन्तै गैरजिम्मेवारीपुर्ण तरिकाले गरिएको छ ।”
जनतामा तिब्र आक्रोश
संघीय गठबन्धन धनुषाले गरेको उक्त सिफारिस पछि धनुषाका जनतामा तिब्र आक्रोश देखिएको छ । गठबन्धनको उक्त सिफारिसका कारण मधेसलाई ठुलै कलंक लागेको तथा बास्तविक निर्दोषहरुको मुद्दा फिर्तामा समेत कठिनाई हुन सक्ने हुनाले सिफारिस गर्ने गठबन्धनका तत्कालिन संयोजक तथा रामसपा धनुषाका अध्यक्ष देवकृष्ण मण्डलले मधेसी जनताको भावना सँग खिलवाड गर्नुका साथै मधेस आन्दोलनलाई बदनाम गरी विशुद्ध रुपले कुख्यात अपराधिहरुलाई रिहा गराउन सिफारिस गर्नु भनेको मधेस द्रोही काम गरेको हुनाले मण्डललाई अबिलम्ब सम्बद्ध पार्टीहरुले कारवाही गर्नुपर्ने स्थानीयवासीहरुले माग गरेका छन् ।


मुद्दा फिर्ताका लागि सिफारिस गरिएका व्यक्तिहरु ।
                                           १. रामविनोद यादव
                                २. चनरदिप यादव
                           ३. जोगेन्द्र महतो कोइरी                                             
                              ४. शुभनारायण यादव                                           
                                 ५. रामसुन्दर यादव
                                ६. नागेश्वर साह
                               ७. प्रमोद कुमार पुर्वे
                              ८. कल्याणी देवी यादव




२०७३ आश्विन ०२ गते आईतबार

No comments:

Post a Comment