Wednesday, June 8, 2016

बढ्दो बलात्कारका घटनाले असुरक्षित हुँदैछन् महिला

अजय अनुरागी
जनकपुरधाम............
एक जना महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन् भने ती घटनामा संलग्न रहेको भनिएको अन्य ३÷४ जना व्यक्तिहरुको खोजतलास गरिरहेको छ ।
१० जेष्ठ २०७३का दिन अन्दाजी राति ७ः३० बजेको समयमा जनकपुर उपमहानगरपालिका २३ स्थित बेलाकुट्टीको पर्ती जग्गामा करिब ६÷७ जनाको समुहमा रहेका मानिसहरुले एक जना आईमाईलाई सामुहिक रुपमै जबरजस्ती करणी गरेको जाहेरी दर्ता भएपछि धनुषा प्रहरीले उक्त आरोपमा संलग्न रहेको अभियोगमा महोत्तरी गौशाला ७ का २० बर्षिय राजेश साह, धनुषाको जनकपुर उपमहानगरपालिका २३ स्थित लादोबेलाका १८ बर्षिय फिरोज राईन, लादोबेलाकै २० बर्षिय अमर कुमार साह र जनकपुर उपमहानगरपालिका ९ बस्ने १९ बर्षिय आकाश सहनीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको तथा अन्य नचिनेका भनिएका ३÷४ जनालाई समेत खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेको प्रहरी नायव उपरीक्षक नकुल पोखरेलले बताएका छन् ।
 घरेलु काम काज खोज्नका लागि जनकपुरको शिव चौकबाट घर तर्फ फर्किरहेको बेला जनकपुर ७ स्थित पुग्दा बाटोमा विपक्षी राजेश साह समेतले पछाडीबाट चयाप्प समाती बारदात स्थलको प्रति जग्गामा लगी मुख थुनी हात समाती सामुहिक रुपमा पालैपालो जवरजस्ती करणी गर्दै गरेको अवस्था रोईकराई गुहार मागेपछि स्थानीय मानिसहरुले हो हल्ला सुनेपछि तत्कालै सो स्थानमा आई राजेश साह र फिरोज राईन समेतलाई पक्राउ गरी प्रहरीमा बुझाइएको तथा अन्य प्रतिवादी फरार रहेको भन्दै उक्त महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिईन । तत्कालै ती महिलाको जनकपुर अञ्चल अस्पतालमा लगि धनुषा प्रहरीले स्वास्थ्य परीक्षण गराएको थियो ।
पीडित भनिएका ती महिलाको ५ वटा छोरी र एउटा छोरा समेत रहेका छन् । करिब ४ बर्ष पहिले ती महिलाको पतिको मानशिक सन्तुलन विग्रेपछि घरबाट निस्केर भागेपछि बताइएको छ । घटना बारदात हुन भन्दा ५ दिन अघिसम्म ती पीडित भनिने महिला जनकपुरकै एउटा संस्थागत विद्यालयमा काम गर्दै आएकी थिईन ।
ती पीडित महिलाले गरेको उजुरी तथा जाहेरीको आधारमा ती महिला माथि अत्यन्तै अन्याय भएको देखिन्छ । ती महिलालाई सामुहिक बलात्कार गर्नेहरुलाई साँच्चै कडा भन्दा कडा कारवाही गरिनुपर्दछ । तर, घटनाको बास्तविक्ता भने अर्कै रहेको पाइएको छ । प्रहरी स्रोतका अनुसार धनुषा प्रहरीले गरेको अनुसन्धानको आधारमा के देखिएको छ भने त्यो सामुहिक बलात्कारको घटना होइन । पक्राउ परेका ती प्रतिवादीहरुसँग गरिएको अनुसन्धानबाट खुलेको तथ्य अनुसार ती महिलाको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको, श्रीमान घरबाट बाहिर हिँडेको र चार छोरी र एक छोरा गरी पाँचवटा सन्तानहरुको पालन पोषण गर्नमा मुस्किल परेपछि ती महिलाले आफ्नो र आफ्नो परिवारको गुजारा चलाउनका लागि यौन व्यवसाय पेशा नै अन्गालेको देखिन्छ । घटना भएको दिन समेत पाँच हजार रुपैयाँमा आपसी सहमतिमै ती ६ जनाले ती महिलालाई पालैपालो करणी गरेको भन्ने कुरा पनि सत्य नै हो । तर पछि हल्ला हुँदा स्थानीय मानिसहरुले घटना बुझ्न खोज्दा आफु जोगिनका लागि र समाजमा बदनामी हुने डरबाट बच्नका लागि ती महिलाले सामुहिक बलात्कारको घटना सम्बन्धमा जाहेरी दिएको प्रहरी स्रोतको दावी छ ।
यसरी हेर्ने हो भने सबै बलात्कारका मुद्दाहरुमा जवरजस्ती करणी गरेको हुँदैन । आफ्नो नाउँ बदनाम हुने डरले आपसी सहमतिमै गरिएको करणीलाई पनि महिलाहरुले पुरुषहरुलाई बलात्कारको मुद्दालाई हतियारको रुपमा प्रयोग गरी फसाउने काम समेत गर्ने गरिएको पाइएको छ । यसको अर्थ यो पनि होइन कि हरेक बलात्कारका घटनाहरुमा आपसी सहमति नै हुन्छन् । प्रायः जसो घटनाहरुमा विभिन्न प्रलोभनमा पारी जवरजस्ती करणी गर्ने गरेको पाइएको छ ।
बढ्दो बलात्कारका घटना
मध्य तथा पुर्वी तराई मधेसका जिल्लाहरुमा महिलाहरु प्रायः असुरक्षित देखिन्छन् । विहान बेलुका महिलाहरु एक्लै हिँड्न नसक्ने अवस्था छ । घरबाट हिँडेकी महिलाहरु सुरक्षित आफ्नो घरमा फर्किने हो कि होइन भन्ने चिन्ता र आशंका घरमा सहि सलामत नफर्किन्जेलसम्म रहिरहन्छ । किनभने महिलाहरुको अस्मिता नै खतरामा रहेको हुन्छ । धनुषामा महिलाहरु बलात्कृत हुने घटना बढ्दै गएको पाइन्छ ।
३ साउन २०७२ मा धनुषाको उमाप्रेमपुर ९ हाल धनुषाधाम ५ स्थित सोही गाउँका प्रगास भन्ने ५५ बर्षिय प्रकाश मण्डलले आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै ती पीडित १३ बर्षिय बालिकाले जवरजस्ती करणीको मुद्दा ३१ साउन २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरेको पाइन्छ । ती प्रतिवादी सुरुमा फरार रहेपनि पछि पक्राउ परेको बताइएको छ ।
१४ भदौ २०७२ मा जनकपुर २२ बस्ने ३० बर्षिय राम अशिष मुखियाले विहान ६ बजेको समयमा एक जना २३ बर्षिय महिलालाई बलात्कार गरेको भन्दै २२ भदौ २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरिएको छ ।
१४ माघ २०७२ मा धनुषाको नौवाखोर परसाही ४ का २४ बर्षिय दिपक कुमार साहले सोही गाउँका एक जना ३ बर्षिय बालिकालाई चकलेट खुवाई प्रलोभनमा पारी प्रतिवादी दिपकले ती बालिकालाई आफ्नो घरमा लगि ढोका बन्द गरी जवरजस्ती करणी गर्न खोजेको बेला ती बालिकाकी जेठी दिदीले थाहा पाई समाजले समेत देखेपछि फरार भएको भन्दै २० माघ २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरेको छ ।
२१ माघ २०७२ का दिन धनुषाको सिनुरजोडा ८ स्थित पीडितको घरमा अन्दाजी २ बजेको समयमा सोही गाउँका १९ बर्षिय प्रतोस कुमार साहले ती पीडित महिला घरमा एक्लै भएको अवस्थामा पीडितलाई घर भित्र ढोका लगाई जवरजस्ती करणी गरेको भन्दै २१ माघ २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गरिएको छ । ७ बर्षिय नाबालिक महिलालाई जवरजस्ती करणी गरेको अभियोग अन्तरगत धनुषा जिल्ला अदालतले मुद्दा पुर्पक्षको क्रममा जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको अनुसन्धान गर्न भनि १८ फागुन २०७२ मा आदेश गरेको छ ।
१६ फागुन २०७२ मा धनुषाको माची झिट्कैया ६ लगमा गाउँमा लगमा ६ बस्ने एक जना १६ बर्षकी बालिकालाई सोही गाउँका माची झिट्कैया ७ बस्ने १८ बर्षका सरोज कुमार नुनियाले पीडित बालिका आफ्नो घर आँगनमा भाडा धोईरहेको अवस्थामा विभिन्न किसिमको प्रलोभन देखाई ती बालिकालाई उचाली पीडितको आफ्नो घरको पछाडी लगी जवरजस्ती करणी गरेको भन्दै २२ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको पाइन्छ । उक्त घटनामा धनुषा जिल्ला अदालतले २१ बैशाख २०७३ मा थुनछेक मुद्दाको क्रममा प्रतिवादी सरोज कुमार नुनियालाई जलेश्वर कारागार चलान गरिएको छ ।
५ चैत्र २०७२ मा धनुषाको फुलगामा ७ बस्ने बर्ष २५ का अमर महतो र नाम थाहा नभएका एक जनाले धनुषाको बौहर्वा ६ स्थित एक जना १५ बर्षिय बालिकालाई फोन गरी बोलाई रातभरी जवरजस्ती करणी गरी फरार भएको भन्दै १९ चैत्र २०७२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गरिएको बलात्कार मुद्दाको तथ्याङ्क हेर्ने हो भने प्रत्येक बर्ष जवरजस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्दाहरु वृद्धि भएको पाइन्छ । आर्थिक बर्ष २०६९÷०७० मा ६ थान, आर्थिक बर्ष २०७०÷०७१ मा १२ थान, आर्थिक बर्ष २०७१÷०७२ मा २० थान र चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा १४ थान गरी कुल ५२ थान जवरजस्ती करणीका मुद्दाहरु दर्ता भएका छन् ।
ठीक त्यसैगरी आर्थिक बर्ष २०६९÷०७० मा ४ थान, आर्थिक बर्ष २०७०÷०७१ मा ७ थान, आर्थिक बर्ष २०७१÷०७२ मा ८ थान र चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख महिनासम्ममा ३ थान गरी कुल २२ थान जवरजस्ती करणी उद्योगका मुद्दाहरु दर्ता भएको पाइन्छ । यसरी हेर्ने हो भने महिलाको अस्मिता लुटिएको र  लुटिने प्रयास भएको घटनाहरु प्रत्येक बर्ष बढ्दै गएको पाइन्छ ।
अदालतबाट प्रायः थुनिने गरिन्छ
जवरजस्ती करणी अन्तरगत धनुषा जिल्ला अदालतमा पुगेको प्रायः मुद्दाहरु मध्ये अधिकांश आरोपितहरुको कसुर ठहर गरी कैद सजाय हुने गरेको पाइएको छ । २३ माघ २०७१ मा धनुषा जिल्ला अदालतमा बलात्कार सम्बन्धि दर्ता भएको एउटा मुद्दाको फैसलामा प्रतिवादी बलराम महतोले ३० पुष २०७१ का दिन उपचार गराउने सन्दर्भमा एक जना महिला प्रतिवादी महतोको क्लिनिकमा आफ्नो लोग्ने सहित आएकी पीडितलाई जवरजस्ती करणी गर्ने उद्देश्यले निजको लोग्नेलाई औषधि (इन्जेक्सन) ल्याउने बहानामा प्रतिवादीले बाहिर पठाई आफ्नो क्लिनिक भित्र जवरजस्ती करणी गर्न खोज्दा निज पीडितले कराई आफनो बल लगाई प्रतिवादीले क्लिनिकबाट बाहिर निस्किएको प्रष्ट देखिँदा निज प्रतिवादी बलराम महतोलाई जवरजस्ती करणी कसुरको उद्योग गरेको देखिँदा तीन बर्ष कैद हुने ठहर्छ भन्दै धनुषा जिल्ला अदालतले १२ फागुन २०७२ मा फैसला गरेको पाइन्छ ।
त्यस्तै अर्को एउटा बलात्कार सम्बन्धि मुद्दाको फैसलामा ८ बैशाख २०७१ का दिन राति ७ बजेको समयमा प्रतिवादी राम श्रेष्ठ ठाकुर मेरो कोठामा आई मलाई समाती मेरो मुख थुनि घरबाट जवरजस्ती बोकी घर नजिकको कोल्ड स्टोर्समा लगि जवरजस्ती करणी गर्न खोजेको र मेरो गालामा थिचोडी दिएकोले म त्यो ठाउँबाट भाग्न सफल भई आफ्नो आमालाई सबै कुरा बताएपछि किटानी जाहेरी गरेको भन्दै बलात्कृत उक्त १२ बर्षिय पीडितको मुद्दामा धनुषा जिल्ला अदालतले प्रतिवादी ठाकुरलाई ४ बर्ष कैद सजाय गरेको छ ।
१३ फागुन २०७२ मा धनुषा जिल्ला अदालतले गरेको फैसलामा समेत बलात्कारीलाई दण्ड सजाय गरेको पाइन्छ । प्रतिवादी संजीव भनिने संजय कुमार मण्डलले जवरजस्ती करणी गरेको साथै अप्राकृतिक मैथुन समेत गरेको हुनाले पीडितको उमेर र वारदातको अवस्था समेतलाई विचार गर्दा ११ बर्ष कैद र थप एक बर्ष कैद गरी कुल १२ बर्ष कैद सजायका साथ साथै पीडितको उमेर र निजलाई पर्न गएको मर्का समेतलाई विचार गर्दा पीडितलाई प्रतिवादीबाट रु. २५ हजार क्षतिपुर्ती समेत भराई दिन अदालतले फैसला गरेको पाइन्छ ।
एक्कादुक्कालाई मात्र सफाई
१५ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतले गरेको एउटा फैसलामा प्रतिवादीलाई सफाई दिएको पाइन्छ । प्रतिवादी विक्रम यादवले पीडितलाई जनकपुर लान्छु, फकाई जनकपुर नलगि ढल्केवर स्थित श्रीराम गेष्ट हाउसमा लगि सोही गेस्ट हाउसको कोठा नम्बर १०२ को कोठामा ज्यान मार्ने धम्की समेत दिई डर त्रास देखाई पीडित १३ बर्षकी नवालिकाको संवेदनशिल अंग समेत चलाई जवरजस्ती बेडमा लगि करणी गरेको भन्दै पीडितले अदालतमा मुद्दा दर्ता गरेको थियो ।
मिसिलमा संलग्न तथ्य स्वयम प्रमाणलाई हेर्दा पीडितको शारिरीक परीक्षण अनुसन्धानको चरणमा बुझिएका व्यक्तिको बक पत्र, पीडित तथा जाहेरबाला समेतको बक पत्र, समेत प्रमाणहरुबाट अभियोग दावी बमोजिमको कसुर नै स्थापित भएको नदेखिएकोले यी प्रतिवादीले जवरजस्ती करणीको कसुर गरेको भन्ने अभियोग दावी नपुग्ने ठहर्छ , तसर्थ प्रतिवादी विक्रम यादवले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्दै अदालतले फैसला गरेको पाइन्छ ।
घटनापछि जोगाउनुपर्ने प्रमाण
बलात्कार भएपनि प्रमाण अभावका कारण कतिपय बलात्कारका मुद्दाहरुमा पीडकहरुले सजाय पाउनुको साटो सफाई पाएका हुन्छन् । त्यसैले घटनापछि जोगाउनुपर्ने प्रमाणहरुका विषयमा पीडितहरु सचेत हुनु जरुरी हुन्छ । प्रहरी पुगुन्जेल घटनास्थल जोगाउने, प्रमाणहरू नष्ट हुन नदिने, संघर्षका क्रममा शरीरमा लागेका चोट, रौं, रगत, वीर्य नपखाली स्वास्थ्य परीक्षण गराउने, प्रहरीमा तत्काल उजुरी गर्ने, प्रहरीलाई स्वतन्त्रपूर्वक अनुसन्धान गर्न दिने र प्रहरीले प्रमाण जस्ताको तस्तै अदालतसमक्ष पुर्याउने ।
 कानुनी व्यवस्था
नेपालको बर्तमान कानुनमा बलात्कारलाई जघन्य अपराधको रुपमा लिइएको छ । १० बर्ष उमेर भन्दा मुनिका बालिकालाई जबरजस्ती करणी गरेको खण्डमा १० देखि १५ बर्षसम्म कैद सजाय, १० देखि १४ बर्षको बालिकालाई जवरजस्ती करणी गरेको खण्डमा ८ देखि १२ सम्म कैद सजाय, १४ बर्ष देखि १६ बर्षसम्म उमेरको बालिकालाई जवरजस्ती करणी गरेको खण्डमा ६ देखि १० बर्षसम्मको कैद सजाय, १६ देखि २० बर्षसम्मको यूवति वा महिलालाई बलात्कार गरेको खण्डमा ५ देखि ८ बर्षसम्मको कैद सजाय र २० बर्षको उमेर भन्दा माथिको महिलालाई जवरजस्ती करणी गरेको खण्डमा ५ देखि ७ बर्षसम्मको कैद सजाय व्यवस्था गरिएको कानुन व्यवसायी तथा नेपाल बार एसोसिएशन जनकपुरका पुर्व अध्यक्ष चन्द्र कुमार शर्मा मैनाली बताउछन् ।
कानुन व्यवसायी मैनालीका अनुसार यदि कुनै पनि महिलालाई सामुहिक रुपमा जवरजस्ती करणी गरिएको छ भने तोकिएको सजायमा थप ५ बर्ष कैद सजायको व्यवस्था कानुनमा गरिएको छ । उनका अनुसार कुनै पनि महिलालाई प्रलोभनमा पारी करणी गरिएको छ भने त्यसलाई ती महिलाको मन्जुरी मानिदैन र जवरजस्ती करणीको सजाय ठहरिन जान्छ । यहाँ सम्मकी कुनै पुरुषले आफ्नो स्वास्नी लाई समेत स्वास्नीको मन्जुरी विना करणी गर्दछ भने पनि जवरजस्ती करणी अन्तरगतको मुद्दा चलाई ती स्वास्नी मानिसले आफ्नो श्रीमानलाई ३ बर्षसम्म कैद सजाय गराउन सक्छन् ।
मुलुकी ऐनले कुनै आश्वासन वा प्रभावमा पारेर लिएको मञ्जुरी सहमति नमानिने व्यवस्था गरेको छ । १६ वर्ष नपुगेकी बालिकालाई मञ्जुरी लिई गरेको करणीलाई पनि सहमति मानिंदैन । भारतीय प्रमाण ऐन १८७२ ले ’सहमति र असहमतिको प्रश्न उठेको मुद्दामा पीडितले सहमति थिएन भनेको अवस्थामा अदालतले त्यस्तो यौनकार्य पीडितको असहमतिमा भएको अनुमान गरी मुद्दा अगाडि बढाउनुपर्छ’ भनेको छ । भारतमा प्रहरीले बलात्कार मुद्दाको जाहेरी अनिवार्य रूपमा दर्ता गर्नुपर्ने आदेश पनि जारी भएको छ ।
‘सहमति’ बारे नेपालकै अदालतबाट पनि नयाँ व्याख्या आएको छ । ठमेलका होटल व्यवसायी र विदेशी महिलाको यौन सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ‘कण्डम लगाएर मात्र यौन सम्बन्ध राख्न अनुमति दिएकोमा नलगाई राखेको सम्बन्धमा पीडितको सहमति भएको नठहर्ने’ फैसला आएको थियो । भारत, अमेरिका लगायत देशमा जबर्जस्ती करणीमा सहमति भएको दाबी गर्ने पक्षले नै त्यसलाई प्रमाणित गर्नुपर्ने कानून छ । ‘प्रमाणको भार’ भनिने यस्तो दायित्व नेपालमा लागूऔषध, मानव बेचबिखन जस्ता मुद्दामा मात्र अभियुक्तमाथि हुन्छ ।
हिंस्रक आक्रमण नै भएका घटनामा बाहेक अधिकांश अवस्थामा बलात्कारपछि पीडक र पीडितलाई शारीरिक क्षति पुगेको हुँदैन । महिलाको स्वाभिमान, मर्यादा र इज्जतमा भने त्यसले अपूरणीय क्षति पुर्याएको हुन्छ । महिलाको आत्मसम्मानको हत्या हुने भएकैले यौनका विषयमा निकै उदार समाजमा पनि बलात्कारलाई मानवता विरुद्धको अपराध मानिन्छ ।
वैवाहिक बलात्कार, कार्यस्थलमा हुने यौन दुवर््यवहार, आसय करणी, ‘सहमति’ बारेका नयाँ फैसला र सर्वोच्चका नजिरमा अग्रणी हुँदाहुँदै पनि नेपालमा बलात्कारका अभियुक्तहरू कानूनका छिद्रहरूबाट उम्किरहेका छन् र त्यस्ता छिद्रहरू टाल्ने प्रभावकारी प्रयास हुनसकेको छैन । ‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने विधिशास्त्रीय मान्यता भए पनि सरकारसँग आफ्ना नागरिकलाई कानून शिक्षा दिने कार्यक्रम छैन । अधिकांश स्थितिमा बलात्कारलाई ’शारीरिक सम्बन्ध’ को रूपमा     बुझने गरिएको छ ।

२०७३ जेष्ठ २३ गते आईतबार

No comments:

Post a Comment