Monday, May 16, 2016

जनकपुरमा बढ्दो सवारी चाप र सवारी दुर्घटना

जनकपुरको जानकी मन्दिर अगाडी सडक 
फराकिलो नहुँदा ट्राफिक जामको एक दृष्य ।
अजय अनुरागी
जनकपुरधाम............
४ अषाढ २०२२ मा सबै भन्दा पहिले धनुषा विसरभोराका जमुना प्रसाद सिंहका छोरा राजेश्वर प्रसाद सिंहले सबैभन्दा पहिले मोटरसाइकल ज १ प १६ नम्बरको रुपमा जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता गराएको पाइन्छ । १९६५ सालमा बनेको एक सिलिण्डरको १ सय ७५ सिसी हर्ष पावर रहेको तथा ०४५१५ चेसिस नम्बर तथा इएस ०३९१५ इन्जन नम्बर रहेको दुई सिट क्षमता भएको हरियो रंगको एसकर्ट राजदुत मोटरसाइकल पहिलो मोटरसाइकल दर्ता हो । भारत विहारको जयनगरका रामचन्द्र सिंहको एसकर्ट लिमिटेड कम्पनीबाट उनले खरिद गरेको दर्ता कितावमा उल्लेख छ । आफु अनुकुलको नम्बर छनौट गर्न पाउने अवसर प्राप्त गर्दै उनले १ नम्बर नरोजेर १६ नम्बर रोजेका थिए ।

त्यसैगरी महोत्तरी खुट्टापिपराढी ४ का खोभारी साहुका छोरा महेन्द्र साहु सुडीले ज अ प ४५ नम्बरको रुपमा दोस्रो मोटरसाइकल १० अषाढ २०२८ मा दर्ता गराएका छन् । ६ बर्ष पछि मात्र दोस्रो मोटरसाइकल दर्ता भएको थियो । होण्डा कम्पनीका ९० सिसी हर्ष पावरको एक सिलिण्डरको सि २०१ वाई १४८७७३ चेसिस नम्बर तथा सि २०१ ई १२७१५४ इन्जन नम्बर रहेको पेटूोलले चल्ने कालो रंगको मोटरसाइकल दोस्रो मोटरसाइकलको रुपमा दर्ता भएको पाइन्छ । निजी प्रयोजनको लागि भन्दै महेन्द्र साहले धनुषा ठिल्ला ९ बस्ने राजनारायण साह सुडीबाट मोटरसाइकल खरिद गरेको उल्लेख छ ।
जनकपुर सहरको कुरा गर्ने हो भने सबै भन्दा पहिले उद्योगपति दिनानाथ सर्राफले तेस्रो नम्बरमा मोटरसाइकल दर्ता गराएको पाइन्छ । ३० अषाढ २०२९ मा जनकपुर ५ का वृजमोहन सर्राफका छोरा दिनानाथ सर्राफले ज अ प ५६ नम्बरको रुपमा जनकपुरको पहिलो तथा अञ्चलको तेस्रो मोटरसाइकलको रुपमा दर्ता गराएको पाइन्छ । १९६९ सालमा बनेको होण्डा कम्पनीको दुई सिलिण्डरको उक्त मोटरसाइकल १ सय २५ सिसी, सिडी १२५ ई २०१८४४३ चेसिस नम्बर, सिडी १२५ ई २०१८४४३ इन्जन नम्बर निलो रंगको दुई सिट क्षमता भएको उक्त मोटरसाइकल दिनानाथ सर्राफले श्यामलाल श्रेष्ठबाट खरिद गरेको उल्लेख छ । 

यसरी हेर्ने हो भने त्यसताका जो कोहीले पनि मोटरसाइकल किन्न सक्ने क्षमता राख्दैनथे । कुनै गाउँमा एउटा व्यक्तिले मोटरसाइकल किन्यो भने सिंगो गाउँ तथा आसपासका गाउँका मानिसहरु मोटरसाइकल कस्तो हुन्छ भन्ने हेर्नका लागि दिनहुँ घुइँचो लाग्ने गथर््यो । यो कुरा यसबाट पनि पुष्टि हुन्छ कि मोटरसाइकल दर्ता हुन पाँच पाँच बर्ष समेत लाग्ने गरेको यातायात कार्यालयको अभिलेख छ । गाउँ घरका जमिन्दार तथा धनी मनि व्यक्तिले आफ्नो सौख तथा आवश्यकताका साथै आफ्नो रवाफ र धाक कायम राखि राख्न मोटरसाइकल किन्ने गर्थे । करिब २०५० सालसम्म जनकपुर अञ्चलमा मोटरसाइकलका प्रयोगकर्ताहरुको संख्या धेरै थिएन । तर, अहिलेको अवस्था हेर्ने हो भने त्यो प्रवृति फेरिएको छ ।
अहिले जसरी हरेक मानिसको हातमा मोवाइल अनिवार्य बनेको छ ठीक त्यसैगरी प्रत्येक व्यक्तिले आफ्नो निजी सवारी साधनका लागि मोटरसाइकल प्रयोग गर्न थालेको देखिन्छ । खास गरेर तराई मधेसमा पुरुषहरुले विवाह गर्दा दाइजोमा अनिवार्य शर्तका रुपमा नगद बाहेक मोटरसाइकल माग्न थालेपछि पनि त्यसको संख्या बढेको यातायात कार्यालयका कर्मचारीहरु बताउँछन् । जनकपुर अञ्चल यातायात कार्यालयका शाखा अधिकृत अजय गुप्ताका अनुसार  यस कार्यालयमा  सबैभन्दा वढी दर्ता हुने सवारी साधन भनेको मोटरसाइकल नै हो । खास गरी दशैंका बेला र बैशाख देखि अषाढसम्म सबैभन्दा वढी मोटरसाइकल दर्ता हुने गरेका छन् । दशैमा कर्मचारीहरुले पनि तलब पेश्की पाएका हुनाले तिनीहरुले पनि मोटरसाइकल किन्ने गरेका छन् भने बैशाख देखि अषाढसम्म लगनका बेला बेहुलाहरुले दाईजोमा पाएका मोटरसाइकल किनेर दर्ता गर्ने प्रवृति अत्यन्तै व्यापक पाइएको छ ।
यूवाहरुमा मोटरसाइकल प्रतिको मोह बढेपछि मोटरसाइकलको संख्या यस क्षेत्रमा बढ्दै गएको छ । खास गरेर पछिल्लो ५ बर्षको तथ्याङकलाई मात्र केलाउने हो भने मोटरसाइकलको संख्यामा भएको वृद्धिदरले मोटरसाइकल हिजोका दिनमा विलाशिताका वस्तुको रुपमा चिनिए पनि अब त्यो न्युन्तम आवश्यक बस्तुको रुपमा प्रयोग हुन थालेको पुष्टि हुन्छ । जसरी बैदेशिक रोजगारीमा जानेहरुको संख्या नेपालमै सबैभन्दा वढी धनुषा जिल्लामा छ र तिनीहरु फर्केपछि महँगो मोवाइल, टेलिभिजन, घडी र व्लयाङकेट अनिवार्य रुपमा किन्ने गर्छन् ठीक त्यसैगरी तिनीहरु मोटरसाइकल पनि अनिवार्य रुपमै किन्न थालेका छन् । फ्याक्ट्स नेपालले गरेको एउटा अनुसन्धानबाट के देखिएको छ भने नेपालमा सबैभन्दा वढी रेमिटयान्स भित्रिने जिल्लाको रुपमा धनुषा रहेको छ । गत आर्थिक बर्ष २०७१÷०७२ मा धनुषामा मात्रै सबै भन्दा वढी १४ अर्ब रुपैयाँ बैदेशिक रोजगारीमा गएकाहरुले रेमिट्यान्स मार्फत भित्रियाएका छन् । अर्थात मानिसहरुको क्रय क्षमतामा पनि वृद्धि भएका कारण यस क्षेत्रमा मोटरसाइकल किन्नेहरुको संख्यामा अप्रत्याशित रुपले बढेको पाइन्छ ।
जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरमा आर्थिक बर्ष २०६७÷०६८ मा ज ३ प ६७१३ नम्बर देखि ज ४ प १९८१ नम्बरसम्म कुल ५ हजार २ सय ६८ थान मोटरसाइकल दर्ता भएको थियो भने आर्थिक बर्ष २०६८÷०६९ मा ज ४ प १९८२ देखि ज ४ प ९१४० सम्म कुल ७ हजार १ सय ५८ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात उक्त आर्थिक बर्षमा पछिल्लो आर्थिक बर्षको तुलनामा १ हजार २ सय ९० थान मोटरसाइकल वृद्धि भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०६९÷०७० मा ज ४ प ९१४१ नम्बर देखि ज ५ प ७१६५ नम्बरसम्म कुल ८ हजार २४ थान मोटरसाइकल दर्ता भएको थियो भने आर्थिक बर्ष २०७०÷०७१ मा ज ५ प ७१६६ देखि ज ६ प ७२६४ सम्म कुल १० हजार ९८ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात उक्त आर्थिक बर्षमा पछिल्लो आर्थिक बर्षको तुलनामा २ हजार ७४ थान मोटरसाइकल वृद्धि भएको थियो । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा ज ६ प ७२६५ नम्बर देखि ज ७ प ८१०६ सम्म गरी कुल १० हजार ८ सय ४१ थान मोटरसाइकलहरु दर्ता भएका थिए । अर्थात ७ सय ४३ थान मोटरसाइकल पछिल्लो बर्ष भन्दा वढेको पाइयो । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्त सम्म ज ७ प ८१०७ देखि ज ८ प ७२१७ गरी कुल ९ हजार १ सय १० थान मोटरसाइकल दर्ता भएको पाइयो । अचम्म त के छ भने यस बर्षमा गत भदौ देखि पुष मसान्तसम्म ५ महिना मधेस आन्दोलनका कारण कार्यालय बन्द थियो र पनि यतिको संख्यामा मोटरसाइकल दर्ता भएका छन् । अझैं बाँकी दुई महिनामा झन् दर्ताको संख्या उल्लेख्य रुपमा बढ्ने निश्चित छ ।
बढ्दो सवारी चाप
फ्याक्टस नेपालले गरेको एक अध्ययन अनुसार नेपालमा आर्थिक बर्ष २०७२÷०७३ को पछिल्लो ९ महिनामा १ लाख ४७ हजार ७ सय ८२ सवारी साधनहरु दर्ता भएका छन् । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा १२.८७ प्रतिशतले कम हो । यस आर्थिक बर्ष चैत्र मसान्त सम्ममा नेपालमा २ हजार १ सय २५ बस, १ हजार ६९ मिनिबस÷टूक, १ हजार ७ सय ५४ क्रेन÷डोजर, १० हजार ८ सय ६७ कार÷भ्यान, ३ हजार ७ सय ३४ पिकअप, १ सय ३४ माइक्रो, १३ टेम्पो, १ लाख २३ हजार ३ सय ७३ मोटरसाइकल, ४ हजार ६ सय ७५ टेूक्टर र ४७ अन्य गरी पछिल्लो ९ महिनामा १ लाख ४७ हजार ७ सय ८२ सवारी साधनहरु दर्ता भएका छन् ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा २०७३ बैशाख ३० सम्ममा कुल ८९ हजार ६ सय ५८ थान सवारी साधनहरु दर्ता भएका छन् । जसमध्ये सबै भन्दा वढी मोटरसाइकल दर्ता भएको पाइन्छ भने सबै भन्दा कम बस टूक दर्ता भएको पाइन्छ । 

हालसम्म निजी जिप कार, पिकअप भ्यान कुल १ हजार ३ सय ४४, भाडाका जिपकार पिकअप भ्यान ३ सय ८८, टेम्पो तथा इरिक्सा ८ सय २३, भाडाका बस टूक ८ सय ५६, निजी बस टूक ३ सय १८ र सरकारी बस टूक ३ सय ९ थान दर्ता भएका छन् । मोटरसाइकल ७७ हजार २ सय १० र टेूक्टर ८ हजार ४ सय १० थान दर्ता भएका छन् ।

आर्थिक बर्ष २०७१÷०७२ मा १२ हजार ३ सय ६४ थान र आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्तसम्ममा १० हजार ३ सय ३४ थान कुल सवारी साधनहरु दर्ता भएको पाइन्छ । आर्थिक बर्ष २०७१÷०७२ मा १ सय ८४ थान निजी र ५३ थान भाडाका जिपकार तथा पिकअप भ्यान, २ सय ५५ थान इरिक्सा, २५ थान निजी र २ सय १ थान भाडाका बस टूक, १० हजार ८ सय ४१ मोटरसाइकल र १ हजार ३१ गरी कुल १२ हजार ३ सय ६४ थान सवारी साधनहरु जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालयमा दर्ता भएको पाइन्छ । त्यसैगरी आर्थिक बर्ष २०७२÷०७३ को बैशाख मसान्त सम्ममा  ६४ थान निजी र ६ थान भाडाका जिपकार तथा पिकअप भ्यान, ५ सय १ थान इरिक्सा, ९ थान निजी र ६ सय २२ थान भाडाका बस टूक, ८ हजार ७ सय ६४ मोटरसाइकल र ४ सय ५८ गरी कुल १० हजार ३ सय ३४ थान सवारी साधनहरु दर्ता भएका छन् ।
सवारी चालक अनुमति पत्रको अवस्था
सार्वजनिक सवारी साधन बसमा महिला आरक्षणको स्टिकर टाँस्दै धनुषाका ट्राफिक प्रहरी ।

जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट हालसम्म विभिन्न सवारी साधनका सवारी चालक अनुमति पत्र लिनेहरुको संख्या पनि बढ्दो छ । तथ्याङ्क अनुसार हालसम्म विभिन्न सवारी साधनका लागि ९३ हजार २ सय ६४ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । यातायात कार्यालयका अनुसार २०६० साल देखि सवारी चालक अनमति पत्र वितरण गरिएको हो । 

२०६० साल देखि ३० भदौ २०६८ सम्ममा कुल ६२ हजार ८ सय ३२ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । आर्थिक बर्ष २०६८÷०६९ देखि २०७२÷०७३ सम्म २६ हजार ३ सय ६२ पुरुष, ६ सय ३५ महिला र १८ अन्य गरी कुल २७ हजार १५ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् । १ असोज २०६८ देखि ३० बैशाख २०७३सम्म मोटरसाइकलका लागि १९ हजार ९ सय २२, कारजिप र भ्यानका लागि ६ हजार १ सय ७४, टेम्पो इरिक्साका लागि १ सय ५, पावर टिलरका लागि ८, टूेक्टरका लागि ३ हजार १ सय ७, मिनिबस मिनिटूकका लागि १ सय ४७, टूक बस लहरीका लागि ६ सय ५, रोड रोलर तथा डोजरका लागि ५, क्रेन, दमकल लोडरका लागि २९, स्काइभेटरका लागि २९ र स्कुटरका लागि ३ सय २ जनाले सवारी चालक अनुमति पत्र लिएका छन् । सवारी चालक अनुमति पत्र वितरण कार्य टूायल सेन्टरको अभावमा बन्द रहँदै आएको थियो ।
बढ्दो सवारी दुर्घटना
सवारी साधनहरुको चाप र संख्या दैनन्दिन बढ्दै जाँदा सवारी दुर्घटना हुने क्रम पनि बढ्दो छ । सवारी साधनहरुको चाप दिनानुदिन बढ्दै गएपनि सोही अनुसार सडकहरु फराकिलो नहुँदा दुर्घटनाका क्रमहरु पनि वढेका छन् । पछिल्लो ४ बर्षमा मात्रै धनुषामा ३ सय ८७ वटा सवारी दुर्घटनामा परेर कुल १ सय ६९ जनाले ज्यान गुमाउनु परेको छ भने ६ सय ३५ जना घाइते भएका छन् । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९÷०७० मा  १ सय १९ वटा सवारी दुर्घटनामा परि ५४ जनाको मृत्यु भएको थियो भने ३ सय १९ जना घाइते भएका थिए । ठिक त्यसैगरी आर्थिक बर्ष २०७०÷०७१ मा  १ सय २२ वटा सवारी दुर्घटनामा परि ३२ जनाको मृत्यु भएको थियो भने १ सय ७८ जना घाइते भएका थिए । त्यसैगरी आर्थिक बर्ष २०७१÷०७२ मा  ९० वटा सवारी दुर्घटनामा परि ५२ जनाको मृत्यु भएको थियो भने  ५८ जना घाइते भएका थिए । चालु आर्थिक बर्ष २०७२÷०७३ को बैशाख २५ सम्ममा  ५६ वटा सवारी दुर्घटनामा परि ३१ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।

यातायात कार्यालयका शाखा अधिकृत अजय गुप्ताका अनुसार जनकपुर अञ्चलमै दर्ता भएका सवारी साधनहरुको संख्या वढ्दै गएको छ भने जनकपुर अञ्चल बाहेक बाहिरी अञ्चलमा दर्ता भएका सवारी साधनहरुका साथ साथै जनकपुर एउटा धार्मिक पर्यटकिय स्थल भएकाले पनि विदेशी सवारी साधनहरुको आवागमन वढेका कारण सडकमा सवारी साधनको चाप धान्न नसकिने अवस्थामा पुगिसकेको देखिन्छ । चालक अनुमति पत्र वितरण कार्य नियमित नहुनु, डूाइभिङ स्कुलको प्रभावकारीतामा समेत कमि आएका कारण चालकको लापरवाहीले पनि दुर्घटनाहरु वढीरहेको गुप्ताको तर्क छ ।

प्रायः सवारी दुर्घटनाहरु चालकको लापरवाही, ओभरटेक, तिब्रगति, मादक पदार्थ सेवन आदिका कारणले हुने गरेको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक ज्ञान कुमार महत्तोका अनुसार सडकको चौडाई कम हुनु, सडकमा जथाभावी निर्माण सामग्रीहरु राखिनु, जिर्ण सडक हुनु आदि कारणहरुले गर्दा  पनि सवारी दुर्घटना वढेको छ ।

आर्थिक बर्ष २०६९÷०७० मा १ सय १९ वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर १३, बस १५, कारजिप भ्यान २४, टूयाक्टर १८, मोटरसाइकल ५४ र टेम्पो ४ वटा दुर्घटनामा परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १८ वटा, १२ बजे देखि १८ बजेसम्म ४३ वटा, १८ बजे देखि २४ बजेसम्म ३६ वटा र २४ बजे देखि ६ बजेसम्म ५ वटा दुर्घटना भएको थियो ।

आर्थिक बर्ष २०७०÷०७१ मा १ सय २२ वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर ६, बस ८, कारजिप भ्यान ५, टूयाक्टर ६, मोटरसाइकल ५० वटा दुर्घटनामा परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १५ वटा, १२ बजे देखि १८ बजेसम्म २९ वटा, १८ बजे देखि २४ बजेसम्म ३५ वटा र २४ बजे देखि ६ बजेसम्म ४० वटा दुर्घटना भएको थियो ।

आर्थिक बर्ष २०७१÷०७२ मा ९० वटा सवारी दुर्घटना भएकोमा टूक ट्यांकर २०, बस १७, कारजिप भ्यान १३, टूयाक्टर २०, मोटरसाइकल ५४ थान दुर्घटना परेको थियो । जसमध्ये विहान ६ बजे देखि १२ बजेसम्म १५ वटा, १२ बजे देखि १८ बजेसम्म ४४ वटा, १८ बजे देखि २४ बजेसम्म २६ वटा र २४ बजे देखि ६ बजेसम्म ५ वटा दुर्घटना भएको थियो ।

फ्याक्टस नेपालले गरेको अध्ययन अनुसार नेपालमा सन् २००७ देखि २०१७ सम्ममा प्रत्येक बर्ष मात्रै २ हजार भन्दा वढी मानिसको मृत्यु हुने गरेको छ । अध्ययनको उक्त तथ्याङ्क अनुसार सवारी दुर्घटनाका कारण प्रतिदिन नेपालमा औषतमा ५ जनाको मृत्यु र ३३ जना घाइते भईरहेका छन् ।

जनकपुरमा टूाफिक सप्ताह
पछिल्लो मधेस आन्दोलनका क्रममा टूाफिक नियमको पुरापुरी उल्लंघन भएको थियो । जनकपुरको सडकमा आन्दोलन अवधिभर टूाफिक प्रहरीको उपस्थिति थिएन । यहाँ सम्म की आन्दोलनका क्रममा टूाफिक चेकपोष्टहरु पनि जलाइए । जनक चौक स्थित दुईवटा, पिडारी चौक स्थित दुईवटा, शिव चौक र जानकी चौक स्थित क्रमशः एक एक वटा टूाफिक प्रहरीको विट समेत आन्दोलनकारीहरुले जलाए । भानु चौक देखि शिव चौकसम्मका नोपार्किङ र पार्किङका संकेत बोर्डहरुका साथै मुजेलियाको बाबा पेटूोल पम्प निर सडक दुर्घटना घटाउने उद्देश्यले राखिएका सेतो प्लास्टिकका डूमहरु पनि जलाइयो । जनकपुरका नागरिकहरुले आफै सौजन्य प्रदान गरी बनाइएका ती टूाफिक संकेतहरु पनि नष्ट गरियो । अर्थात जनकपुरमा टूाफिक सम्बन्धी अनुशासनमा व्यापक कमि देखिएपछि विस्तारै टूाफिक व्यवस्था पुनः पुरानो टूयाकमा हिँड्न थालेको छ ।

भद्रगोल भएको टूाफिक व्यवस्थालाई अझ प्रभावकारी रुपमा टूयाकमा ल्याउने उद्देश्यले जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल रेडक्रसले संयूक्त रुपमा २६ बैशाख २०७२ देखि १ जेष्ठ २०७३ सम्म दुर्घटना रहित समाजको सुनिश्चितता, आजको अपरिहार्यता नाराका साथ राष्टिूय टूाफिक सप्ताह सडक सुरक्षा सचेतना कार्यक्रमहरु आयोजन गरिएको छ । टूाफिक नियमको चर्चा घर घरमा गौरव गरौं, दुर्घटनाबाट बचौं र बचाऔं नाराका साथ जनकपुरका ३ हजार विद्यार्थीहरु बीच सडक सुरक्षा सम्बन्धि जनचेतना मुलक ¥याली, दुर्घटना स्थलमा घाइतेलाई सिधा अस्पताल पुर्याउने वा प्राथमिक उपचार गरी पठाउने विषयमा प्रशिक्षण, सडक सुरक्षामा नागरिक समाजको भुमिका विषयमा विद्यार्थीहरु बीच निवन्ध प्रतियोगिता गरिनुका साथ साथै सार्वजनिक सवारी साधनहरुमा करिब ३ सयवटा बसहरुमा महिला आरक्षणको स्टिकर टाँस्ने लगायतका विविध कार्यक्रमहरु गरिएको टूाफिक प्रहरी प्रमुख महत्तोले बताएका छन् ।

सवारी कारवाही र राजश्व
नेपालमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्न थालिएको ४ बर्षको अवधिमा मापसे गरी दुर्घटना गर्ने र दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या क्रमशः घटदै गएको एउटा अध्ययनले देखाएको छ । अनुसन्धान गर्ने एउटा संस्था फ्याक्टस नेपालका अनुसार २०६८ मंसिर १७ देखि २०७२ फागुन २५ सम्म अध्ययन गरिएको तथ्याङ्क अनुसार ६ सय ६१ वटा मापसेका कारण भएको सवारी दुर्घटनामा ६ सय ७ जना घाइते भएका छन् भने १७ जनाको मात्र मृत्यु भएको छ । त्यसैगरी उक्त अवधिमा नेपाल भरी कुल १ लाख ६३ हजार ५ सय ५४ मापसेको कारवाही गरिएमोमा १ लाख ६२ हजार ४ सय ७ जना पुरुष र १ हजार १ सय ४७ जना महिला परेका छन् । काठमाण्डौ उपत्यकाको दैनिक औषत टूाफिक कारवाही २ हजार २ सय ४ रहेकोमा औषतमा रु. ५ लाख २ हजार ५ राजश्व संकलन हुने गरेको छ । दैनिक औषत ७८ मापसे कारवाहीबाट दैनिक औषत ८१ हजार राजश्व असुल हुने गरेको छ ।

धनुषामा सवारी कारवाही र राजश्व
जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले टूाफिक नियम उल्लंघन गरी चलाउने सवारी साधनहरुलाई कारवाही गर्ने गरेपनि टूाफिक नियम उल्लंघन हुने क्रममा सुधार देखिएको छैन । पछिल्लो ४ आर्थिक बर्षमा धनुषा टूाफिकले कुल ८७ हजार १ सय ६ थान नियम उल्लंघन गरी सवारी साधन चलाएको लाई कारवाही गरी कुल ३ करोड १४ लाख ९७ हजार ८ सय ५० रुपैयाँ राजश्व असुल गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्ममा १ सय १८ जनालाई मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कसुरमा १ लाख १८ हजार रुपैयाँ राजश्व असुल गरेको छ । त्यसैगरी सवारी नियम उल्लंघन गरेको भन्दै १० हजार ८ सय ३५ सवारी साधन चालकलाई कारवाही गरी ४७ लाख ९४ हजार रुपैयाँ राजश्व असुल उपर गरेको छ ।

धनुषामा ट्राफिक जनशक्तिको अभाव
सवारी साधनहरुको चाप प्रत्येक बर्ष बढे पनि ट्राफिक जनशक्ति सोही अनुपातमा धनुषामा परिचालन नहुँदा धनुषामा ट्राफिक व्यवस्थापन भद्रगोल देखिन्छ । प्रहरी निरीक्षकको अगुवाईमा यस जिल्लामा ३६ जना ट्राफिक प्रहरीहरु परिचालित छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा एक प्रहरी निरीक्षक, एक प्रहरी नायव निरीक्षक, दुई प्रहरी सहायक निरीक्षक, ४ प्रहरी हवलदार, ९ प्रहरी जवान र १ प्रहरी परिचर गरी १६ जना परिचालित छन् । त्यसैगरी ढल्केवरमा ४, पोरताहामा १, मुलेलियामा १, महेन्द्रनगरमा २, जनकपुरको जानकी चौकमा ३, लालगढमा ३, रेल्वे पोष्टमा २, धनुषाधाममा १ जना ट्राफिक प्रहरी कर्मचारी मात्र परिचालित छन् । जनशक्ति अभावका कारण एउटा ट्राफिक प्रहरीले विहान ७ बजे देखि बेलुकी ९ बजेसम्म १४÷१४ घण्टा खटिनुपरेको ट्राफिक प्रहरीहरु बताउँछन् ।

२०७३ जेष्ठ ०२ गते आईतबार

No comments:

Post a Comment