Monday, May 16, 2016

लागु भयो ट्राफिकको नयाँ जरिवाना

सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि यातायात
 कार्यालय जनकपुरमा दिनहुँ घुँइचो लाग्ने गरेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
यदि तपाई टूाफिक नियमलाई बेवास्ता गर्दै जथाभावी उल्लंघन गर्नुहुन्छ भने अबदेखि सचेत हुनुहोला । सानो लापरवाही गर्दा दुर्घटनाको जोखिममा त पर्नु हुन्छ नै, टूाफिक प्रहरीको फन्दामा पर्नुभयो भने ठूलो जरिवाना रकम पनि तिर्नुपर्ने हुन्छ । १ जेष्ठ २०७३ देखि टूाफिक प्रहरीले लिने जरिवानामा भारी  वृद्धि भएको छ । शनिबारदेखि लागू भएको नयाँ ऐनअनुसार न्यूनतम जरीवाना २५ रुपैयाँबाट फाल हान्दै ५ सय पुगेको छ । सरकारले अब टूाफिक नियम उल्लंघन गर्नेबाट दह्रो राजश्व असुल्ने गरी ल्याएको नयाँ ऐन  कार्यान्वयन भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा पच्चीस रुपैयाँ देखि २ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था थियो । पहिलेको कानुनमा २५ रुपैयाँबाट जरीवाना सुरु हुन्थ्यो भने ५०, १०० र २०० हुँदै सबैभन्दा बढी १ हजार रुपैयाँसम्म थियो । नयाँ व्यवस्थामा तीन प्रकारका मात्रै जरिवानाहरु छन् । जसअनुसार न्युनतम ५ सय रुपैयाँदेखि १५ सयसम्म कायम गरिएको जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख समेत रहेका प्रहरी निरीक्षक ज्ञानकुमार महत्तोले जनाएका छन् ।
न्यूनतम जरीवाना हुने कसुर पनि दोस्रो र तेस्रोपटक दोर्होयाए क्रमशः १ हजार र १५ सय रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने नयाँ कानुनमा उल्लेख छ । यसभन्दा अघि सवारी साधनमा तोकिएकोभन्दा बढी मालसामान राखेमा, हेल्मेट नलगाई मोटरसाइकल चलाएमा, छतमा यात्रु बोकेमा २५ रुपैयाँ जरिवाना हुन्थ्यो । तर अब बढेर ५०० रुपैयाँ पुगेको छ ।
पहिलेको कानुनमा लाइसेन्सविना सवारीसाधन चलाएमा २०० सय रुपैयाँ जरिवाना हुने व्यवस्था भएकोमा अब १ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । मापसे गरेर सवारी चलाउनेको जरिवाना भने पुरानै अर्थात १ हजार नै कायम राखिएको छ । १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने कसुरहरु अत्यधिक छन् । टूाफिक इशारा वा संकेत पालना नगर्दा, एकतर्फीबाट सवारी चलाउँदा, मोड्न निषेध गरेको ठाउँबाट मोड्दा १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ । यदि कुनै सार्वजनिक सवारी साधनले यात्रु बोक्न मानेन् वा तोकिएको भन्दा बढी भाडामा लिए पनि १५ सय जरिवाना तिर्नु पर्ने हुन्छ ।
५ सय रूपैयाँका जरिवाना हुने कसुरहरु
तोकिएको भन्दा बढी मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको, प्रयोजन बिपरीत सवारी चलाएको, हेल्मेट नलगाएको, सवारी आवागमनमा बाधा पुर्याएको, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको र  छतमा यात्रु बोकेको वा राखेको पाइएमा टूाफिक प्रहरीले अब ५ सय रुपैयाँ जरिवाना काट्ने छन् ।
१ हजार रूपैयाँका जरिवाना हुने कसुरहरु
सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको,  सार्वजनिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा,  दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा टूाफिक प्रहरीले अब १ हजार रुपैयाँ जरिवाना काट्ने छन् ।
१५ सय रूपैयाँसम्म जरिवाना हुने कसुरहरु
टूाफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको,  सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको, सडकमा गलत साइड तर्फबाट सवारी चलाएको,  एकतर्फि सडकमा सो विपरित सवारी चलाएको, अवस्था ठीक नभएको सवारी चलाएको, निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाएको, राती बत्ती नबाली सवारी चलाएको,  सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको, नम्बर प्लेट नराखी सवारी चलाएको, सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको,  सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको, सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको,  निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको,  लापरवाहीका साथ सवारी चलाएको र  बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको कसुरमा टूाफिक प्रहरीले अब रु. १५ सय जरिवाना काट्ने छन् ।


२०७३ जेष्ठ ०२ गते आईतबार

No comments:

Post a Comment