Saturday, May 21, 2016

ठगी गर्ने जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको पीडित विद्यार्थीहरुको आरोप

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
ठगीको आरोपमा मुद्दा खेपिहरेका जानकी मेडिकल कलेज रमदैया भवाडीका तीन जना शेयरधनीहरु जिल्ला प्रहरी कार्यालय धनुषामा सरेन्डर गरेका छन् । विद्यार्थीहरुबाट रकम उठाई पठनपाठन ठप्प पारेको भन्दै विद्यार्थीहरुले गत बर्षको साउन मसान्तमा कलेजका शेयरधनीहरु उपर ठगी मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार, कलेजका ७ जनामाथि मुद्दा दायर भएपनि विहिबार तीन जना शेयरधनीले जिप्रका धनुषामा हाजिर भएका छन् । हाजिर हुनेमा ओपी पाण्डे, समिर ढुङगेल र कामेश्वर साह रहेका छन् । कलेजका पुराना सञ्चालकहरु ओपी पाण्डे, समीर ढुंगेल, कामेश्वर साह, बलराम गुप्ता, अशोक सिन्हा, कृष्णदेव यादवसहित सात जनालाई प्रहरी कार्यालयले मस्ट वान्टेडको सूचीमा राखेको थियो । गुप्ता, सिन्हा र यादव भने अझै फरार छन् ।
चिकित्साशास्त्रमा अध्ययनरत कलेजका ३ सय ७४ विद्यार्थीसँग २५ लाखदेखि ४० लाख रुपैयाँसम्म रकम लिएपछि कलेज बिक्री गरेर फरार भएको सञ्चालकहरूमाथि आरोप लागेको छ । पुरानो सञ्चालक समितिले गत असार २७ गते कलेजको ८७ प्रतिशत सेयर धनबहादुर शेरचन, हरिमान लामा र हरिकृष्ण भट्टचनलाई बिक्री गरेको थियो ।
जाहेरी दिएको एक बर्ष वित्न लागेपछि मात्र धनुषा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी वढाएकोले प्रहरीको काम कर्तव्य माथि शंका उत्पन्न हुन थालेको बताउँदै उक्त कलेजका पीडित विद्यार्थीहरुले प्रहरीले ती संचालकहरुसँग मोटो रकमको प्रलोभनमा परी ती संचालकहरुकै पक्षमा अनुसन्धान अगाडी वढाएको बताएका छन् ।  ७ र ८ जेष्ठ २०७२ मा मेडिकल कलेजमा पुगेका प्रहरीहरुले कलेज संचालक ओपी पाण्डेको पक्षमा हस्ताक्षर गर्न दवाव दिएको, हस्ताक्षर गर्न नमान्दा परीक्षामा फेल हुने जस्ता प्रहरीले विद्यार्थीहरुलाई धम्की दिएपछि कतिपय विद्यार्थीहरुले उनको पक्षमा हस्ताक्षर समेत गरिसकेको पीडित विद्यार्थीहरुले बताएका छन् ।
२०७२ साउनमा  उक्त कलेजका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी जयप्रकाश महत्तो, चौथो बर्षमा अध्ययनरत विद्यार्थी प्रविण कुमार मिश्र, दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी जितेन्द्र यादव, रुपेश कुमार साह, रुपेश गोइत, तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी संतोष अधिकारी र अरविन्द अधिकारी लगायतका निवेदकहरुले कलेजका तत्कालिन संचालकहरु काठमाण्डौ निवासी ओम प्रसाद पाण्डे, पाण्डेकी श्रीमति अर्चना पाण्डे, झापा चन्द्रगढीका हेमता सुवेदी, जनकपुरका बलराम गुप्ता, धनुषा भरतपुरका समिर ढुङगेल, महोत्तरी गोनपुरा तथा हाल जनकपुरका कामेश्वर साह र कामेश्वर साहकी श्रीमति सुरिता साह सुडि विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गरिएको थियो ।
जाहेरबाला विद्यार्थीहरु लगायत सैकडौ विद्यार्थीहरुलाई कलेजका संचालकहरुले राम्रो पढाउँछौं, हस्पिटल राम्रो संचालन गछौं, कुनै प्रकारका व्यवधान हाम्रो कलेजमा हुँदैन भनि आश्वासन दिएको उक्त जाहेरीमा उल्लेख छ । सोही आश्वासन अनुसार विद्यार्थीहरु जयप्रकाश महत्तोबाट रु. २७ लाख, प्रविण कुमार मिश्रबाट रु. २८ लाख, जितेन्द्र यादवसँग रु. १५ लाख ५० हजार, रुपेश कुमार साहसँग रु. ८ लाख, रुपेश गोइतसँग रु. २५ लाख, संतोष अधिकारीसँग रु. ३१ लाख, अरविन्द अधिकारीसँग रु. ३१ लाख, रंजन यादवसँग रु. १२ लाख, निरज यादवसँग रु. ३२ लाख, गौतम झासँग रु. २२ लाख, सरोज कुमार साहसँग रु.३१ लाख, अमरिन्द्र यादवसँग रु. २१ लाख ८० हजार, मनिका सेनीसँग रु. ३२ लाख, विनय विक्रान्तसँग रु. ३१ लाख, शुभम विश्वाससँग रु. ३० लाख ४० हजार, राहुल कुमार झासँग रु. ३० लाख ४० हजार, अर्सदिप कौरसँग रु. ३२ लाख, संजिव कुमार चौधरीसँग रु. २७ लाख, राजु कुमार मण्डलसँग रु. १० लाख, अधिराज ओलासँग रु. २६ लाख ५० हजार रकम असुली कहिल्यै कलेज संचालन गर्न तथा कहिल्यै महिनौंसम्म बन्द गरी संचालकहरु फरार रह्ने गरेका छन् ।
 विद्यार्थीहरुले कलेज तथा हस्पिटल संचालन गर्नका लागि आग्रह गर्दा पनि संचालकहरुले कुनै वास्ता नगर्दा शिक्षा मन्त्रालय, शिक्षण अस्पताल महराजगञ्ज, नेपाल मेडिकल काउन्सिल समेतमा पटक पटक भविष्य रक्षाको लागि आवेदन गर्दा समेत ती कलेज संचालकहरुले कलेज सुचारु गर्ने प्रतिवद्धता गरेपनि पठन पाठन नगराई तथा हस्पिटल संचालन नगरी आफुहरुको रकम पच गरी ती संचालकहरु फरार भएपछि आफुहरु ठगिएको उक्त जाहेरीमा उल्लेख छ । २७ जेष्ठ २०७२ मा जाहेरवाला लगायत विद्यार्थीहरुले शिक्षण अस्पताल महराजगञ्ज तथा नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालय समेतमा २८ जेष्ठ २०७२ मा अध्यापन कार्यको समायोजनका निम्ति जानकारी पत्र प्रस्तुत गर्दा पनि तिनीहरुले आफुहरुको भविष्य विगार्ने कार्य गरी ठगी गरेको हुँदा अन्यायमा परी भविष्य रक्षार्थ तथा जघन्य अन्यायीहरुलाई हदैसम्म सजाय गरी पाउन तथा ठगेको ४ करोड ७७ लाख ७० हजार रकम समेत तथा अन्य विद्यार्थीहरुको गरी दशौं करोड रकम फिर्ता तथा क्षतिपुर्ती समेत दिलाई पाउन भन्दै जाहेरी दिइएको हो । जाहेरवाला विद्यार्थीहरुले प्रमाणको रुपमा रकम बुझाएको नगदी रसिदको प्रतिलिपी समेत उपलब्ध गराईदिएको छ ।
राम जानकी हेल्थ फाउन्डेशन प्रा.लि. अन्तरगत संचालित उक्त जानकी मेडिकल कलेजका संचालकहरु परिवर्तन भईसकेको छ । १ साउन २०७२ मा रामजानकी हेल्थ फाउन्डेशन प्रा.लि.को संचालक समितिको बैठक उक्त कम्पनीका संचालक समितिका अध्यक्ष धनबहादुर शेरचनको अध्यक्षतामा  बसेको बैठकबाट उपाध्यक्ष हरिमान लामा र संचालक हरिकृष्ण भट्टचन उपस्थित रहेकोमा कम्पनीको सम्पुर्ण चुक्ता सेयर संख्याको ८७ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयर धनीहरुको उपस्थिति रहेको हुँदा बैठकले पुर्ण कानुनी वैधता प्राप्त गरेको उल्लेख छ । नयाँ संचालक समितिमा कामेश्वर साह, साहकी श्रीमति सुरिता कुमारी साह र ललन कुमार सिन्हा समेत रहेको छ ।
ठगी मुद्दा लागेका तीनै जनाको सम्पति समेत रोका भएपछि उनीहरु जिप्रका धनुषामा हाजिर भएको प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, तीनै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
पाण्डेसहित कलेजका सेयरहोल्डर समिर ढंगेल र कामेश्वर साहसमेत रहेका छन । कलेजमा अध्ययनरत विद्यार्थीहरुले ठगी गरेको भन्दै जानकी मेडिकल कलेजका सञ्चालकविरुद्द जिल्ला प्रहरी कार्यालय धनुषामा २०७१ सालमा उजुरी दर्ता गराएका थिए । लामो समयदेखि पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरुले भर्ना शुल्क फिर्ता माग्दै ठगी आरोपमा उजुरी दिएका थिए । विद्यार्थीहरुले कलेज  संचालकविरुद्ध भर्नाका रसिदसहित प्रहरीमा उजुरी दिएका थिए ।  जानकी मेडिकल कलेजका सञ्चालक विरुद्ध ठगी मुद्दा चलाउन शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
कलेज सञ्चालकहरुको लापरवाहीका कारण एक वर्षदेखि पठनपाठन ठप्प भएपछि विद्यार्थीहरु कारवाहीको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । पीडित विद्यार्थीहरुले सिंहदरबार घेराउ लगायतका काठमाडौं केन्द्रित आन्दोलनसमेत गरेका थिए ।

२०७३ जेष्ठ ०९ गते आईतबार

No comments:

Post a Comment