Saturday, May 21, 2016

२०४६ सालको आन्दोलनका जीउँदो शहीद ललन चौधरी जीवन मरनको दोसांधमा

सिकिस्त विरामी परेका ललन चौधरीको नर्भिक अस्पतालमा आईसियूमा
राखि उपचार भईरहेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली काँग्रेसका ज्युँदा सहिद तथा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नायक ललन चौधरी अहिले गम्भीर रुपमा विमारी भई काठमाण्डौंको नर्भिक अस्पतालमा उपचार गराई रहेका छन् । उनको स्वाँस फुल्ने तथा स्वाँस लिन विगत दुई सातादेखि अपठ्यारो भईरहेको अवस्थामा जनकपुरमा उपचार गर्न सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ स्थित नर्भिक अस्पतालको आईसियूमा राखि उपचार भईरहेको उनका भाई राजु चौधरीले बताएका छन् । उनलाई विगत पाँच वर्षदेखि निन्द्रासमेत भईरहेको थिएन । निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध जनकपुरको जानकी मन्दिरमा तत्कालिन पञ्चनेता हेम बहादुर मल्लले आयोजना गरको पञ्चे ¥यालीमा ललन चौधरीले गएर पञ्चायती व्यवस्था विरुद्ध कालो झण्डा देखाई विरोध प्रदर्शन गरेका थिए । कालो झण्डा देखाएका कारण उनलाई तत्कालिन पञ्चायती शासकहरुले निर्मम ढंगले यातना दिई मरिसकेको भन्दै फालि दिएका थिए । तर पछि होस आउँदा उनी जिवीतै रहेको भन्दै तत्कालिन शासकले जलेश्वर हुँदै सिन्धुली जेल पठाएका थिए ।
विभिन्न आन्दोलनका समयमा अग्रनी भूमिकामा रही योगदान गर्दै आएका तत्कालिन नेविसंघका विद्यार्थी नेता ललन चौधरी विभिन्न समयमा गरी पाँच वर्षभन्दा बढी जेल जिवन विताएका थिए । उनलाई त्यस्ताका निर्मम ढंगले यातना दिइएको हुनाले अहिले आएर उक्त यातनाले असर गर्न थालेको ललन चौधरीका भाई राजु चौधरीले बताएका छन् ।
यूवा अवस्थामा रहेका बेला उनी कराँटेका बल्याक बेल्ट खेलाडीसमेत भएका कारण तत्काल अवस्थामा उक्त यातनाले धेरै असर नगरे पनि अहिले आएर असर गर्न थालेको ललनचौधरी स्वयम्ले बताएका छन् । देश र प्रजातन्त्रका लागि हरेक समय आफ्नो ज्यानको परवाह नगर्ने ललन चौधरी अहिले जीवन र मरनको दोँसाधमा रहिरहेको बेला नेपाली काँग्रेसले कुनै पनि खोज खबर समेत नलिएकोमा अत्यन्तै दुःख लागेको उपचारार्थ ललन चौधरीले बताएका छन् । ललन चौधरी ती व्यक्ति हुन् जो तत्कालिन विद्यार्थी नेता युवराज खाँतीको कमाण्डमा मधेशमा नेपाली काँग्रेसका लागि स्टार प्रचारक भई संगठन निर्माण गरेका थिए । ललन चौधरी एक पटक कराँटे खेलमा राष्टिूय प्रतियोगितामा विजेता भईसकेपछि तत्कालिन खेलकुद मन्त्रीले पञ्चे खेलाडीहरुलाई हराएको र प्रजातान्त्रिक विद्यार्थीले जितेको भन्दै पुरस्कार थापिरहेका ललन चौधरीलाई मन्त्री आफैले कुटेका थिए ।
ललन चौधरीको विरताको गाथा
२०४६ फाल्गुन ३ गते जनकपुरको जानकी मन्दिरमा
 आयोजित पञ्च¥यालीमा कालो झण्डा देखाउँदै ललन चौधरी ।
जनआन्दोलन सुरु हुनुभन्दा चार दिनअगाडि २०४६ फागुन ३ गतेका दिन काठमाडौंको दक्षिणपूर्वमा पर्ने भारतको सिमानानजिक रहेको सहर जनकपुरमा पञ्च¥यालीको आयोजना गरिएको थियो । जनकपुर ऐतिहासिक रुपमा हिन्दूहरुको पवित्र धार्मिकस्थलका रुपमा परिचित छ । यो सहर राजा जनकको राज्य मिथिलाको राजधानी मानिन्छ । उनकी छोरी सीताको विवाह हिन्दूहरुका देवता रामसँग भएको थियो जसको वीरताको बखान रामायणमा गरिएको छ । सहरको मध्यभागमा सीताप्रति समर्पित जानकी मन्दिर अवस्थित छ ।
जनकपुर क्याम्पसका राजनीतिशास्त्रका विद्यार्थी २३ वर्षीय ललन चौधरी त्यस दिन हुन लागेको पञ्च¥यालीलाई पर्खिरहेका थिए । त्यस ¥यालीले जनकपुर सहरको परिक्रमा गर्ने कार्यक्रम थियो । ललन स्कुल पढ्दा देखि नै नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ (ने.वि.संघ) मा आबद्ध भएका थिए । बैचारिक रुपमा उनी काङग्रेसप्रति प्रतिबद्ध त छँदै थिए, त्यसबाहेक उनी पञ्चायती व्यवस्थाविरोधी बन्नका पछाडि अरु पनि दरिला कारणहरु थिए । उनका राजनैतिक क्रियाकलापका कारण उनका बाबुलाई सरकारी स्वामित्वमा रहेको जनकपुर चुरोट कारखानाको नोकरीबाट बर्खास्त गरिएको थियो ।
केही दिनअगाडि मात्र उनलाई खोज्दै उनको घरमा आएका प्रहरीहरुको हात पर्नबाट उनी जोगिएका थिए । उनी जनआन्दोलनको तयारीका क्रममा गाउँबाट बाहिर गएका थिए । प्रहरीहरु उनलाई खोजीरहेका छन् भन्ने खबर सुनेपछि उनले सोचे, ‘उनीहरु मलाई समात्न चाहन्छन् भने म समातिउँला । तर लुत्रुक्क परेर समातिनुभन्दा बरु मरुँला । इतिहासका किताबमा लेखिन लायकको कुनै काम गरेपछि मात्र म गिरफ्तार हुन्छु ।’
फागुन ३ गतेको दिन बिहानै ललन, गोजीमा एक टुक्रा कालो कपडा राखेर घरबाट बाहिर निस्के । ¥याली जानकी मन्दिर आइपुगेर आमसभामा परिणत भएपछि भीडको बीचबाट हातमा कालो झन्डा बोकेर पञ्चायतविरोधी नारा लगाउने उनको सुर थियो । यसो गर्दा उनी गिरफ्तार हुने निश्चित थियो र उनी कठोर यातनाको सिकार हुन सक्थे । तर ललन सकेसम्म धेरै मानिसहरुले उनको विरोध प्रदर्शन देखून भन्ने चाहन्थे ।
२०४६ चैत २६ गते तत्कालिन राजा विरेन्द्रले बहुदल घोषणा गरेपछि जनकपुरको बारहविघामा आयोजित विजय ¥यालीलाई सम्बोधन गर्दै
 ललन चौधरी (हात हल्लाउँदै), पछाडि विमलेन्द्र निधी, तल बसेका
 लिला कोइराला र महेन्द्र नारायण निधी । फाइल फोटो ।
क्याम्पस गएर उनले साथीहरुलाई आफूले बनाएको योजना सुनाए । उनका साथीहरुले उत्साहपूर्वक उनको योजनाको समर्थन गरे । उनका १० जना साथीहरुले त उनीसँगै कालो झन्डा बोकेर जानेसमेत निधो गरे । सबैभन्दा पहिला ललनले झन्डा देखाउने र त्यस समयको परिस्थिति हेरी अरु साथीहरुले पनि झन्डा देखाउने सहमति भयो । वरिपरि धेरै प्रहरी भएमा ललनबाहेक अरु सबै भाग्ने सल्लाह भएको थियो ।
¥याली एक बजे सुरु भयो । जनकपुर तथा यसको छेउछाउका गाउँहरुबाट आएका पञ्चहरु सहरको परिक्रमा गर्न थाले । राजा वीरेन्द्र तथा रानी ऐश्वर्यको पूर्ण कदका तस्विरहरु बोकेको त्यस जुलुसले पञ्चायत व्यवस्थाको समर्थनमा नारा लगायो । ¥याली जनकपुरको सडकबाट अगाडि बढिरहेका बेला ललन र उनका साथीहरु एक्लाएक्लै जानकी मन्दिरतिर गइरहेका थिए । खुला मैदानको छेउमा रहेको जानकी मन्दिरको पश्चिमी प्रवेशद्वारनजिक उनीहरु भेट्ने तय गरिएको थियो । बाटामा ललनले ने.वि.संघका साथी केशव ढुङ्गेललाई भेटे र उनले केशवलाई पनि आफूसँगै हिंड्न भने ।
ललनको योजना थाहा पाएपछि अग्ला ललनलाई हेर्दै केशवले भने, ‘तिमी पक्राउ पर्ने निश्चित छ । तिमी साँच्चै यसो गर्न चाहन्छौं ?’ ‘म पक्राउ पर्न चाहन्छु,’ ललनले दृढ भएर जवाफ दिए । उनीहरु जानकी मन्दिरमा आइपुग्दा आमसभा सुरु भइसकेको थियो । सभामा त्यस दिनका मूख्य अतिथि धनुषाबाट निर्वाचित राष्टिूय पञ्चायतका सदस्य हेमबहादुर मल्ल भाषण गर्दै थिए । केही बेर स्थितिको अवलोकन गरेपछि ललनले साथीहरुलाई बोलाए अनि आफूचाहिँ भीडलाई छिचोल्दै मञ्चतिर बढे । भीडको अगाडि पुगेपछि कालो झन्डा दाहिने हातमा उचालेर उनी ‘पञ्चायती व्यवस्था मुुर्दावाद ! बहुदलीय व्यवस्था जिन्दावाद !’ भन्ने नारा लगाउँदै मञ्चतर्फ दौडिए ।
ललनको चर्को आवाजलाई साथ दिँदै उनका साथीहरुले पनि पञ्चायत व्यवस्थाविरोधी नारा लगाए । भीडका मानिसहरु हठात् यो कसरी भयो भनेर उदेक मान्दै ललन र उनका साथीहरुले नारा लगाएको हेरिरहे । ठीक यसै बेला त्यहाँ दुईओटा घटना भए । भीडको बीचबाट कसैले ‘बम ! बम ! भाग ! भाग ! भनेर चिच्यायो । आतंकित भएर सबै मानिसहरु एकैचोटी बाहिर निस्कने ढोकातिर दौडे । ’ यति नै बेला प्रहरीहरुको एक झुन्ड ललनमाथि जाइलाग्यो । प्रहरीले उनलाई लात्तीले भकुरेर डन्डाले पिट्दै घिसारेर मन्दिरको परिसरभित्र लगे । ललन भने आफूले गर्न चाहेको काम पूरा भएकोमा सन्तुष्ट थिए । उनी एक्लैले पञ्चहरुको ¥यालीलाई भताभुङ्ग पारेको यो घटना जनकपुर सहरमा चर्चाको विषय बन्यो ।
२०४६ फाल्गुन ३ गते पक्राऊ परेका ललनलाई डिएसपी कार्यालय लगियो । महेन्द्रनारायण निधि, लिला कोइराला, ललन चौधरी र वृषेश चन्द्र लाल लाई त्यहाँबाट १ महिनको लागि जलेश्वर कारावास पठाइयो । त्यहाँ बाट चारै जनालाई सिन्धुली कारावास पठाईएको थियो । हुन त ललनको  हत्या गर्नकै लागि सिन्धुली स्थानान्तरण गरिएको भए पनि राजाले बहुदल दिन तयार रहेको अञ्चलाधिशलाई फोन गरे पछि उनको ज्यान गएन् । धन्य, उनी बाँचे ।
२०४६ चैत २६ गते राजा विरेन्द्रले बहुदल घोषणा गरेपछि जनकपुरको वारहविघामा आयोजित विजय रैलीमा सम्बोधन गर्न पुगेका ललन चौधरीलाई हर्नका निम्ति पनि भनेर ४ लाख जति मानिसहरु जम्मा भएका थिए । कालो झण्डा देखाउने युवा ललन चौधरीलाई मान्छेले आफ्नो काँधमा बोकेर नगर परिक्रमा गराएका थिए । ‘शेरे गणेशमान जिन्दावाद, बहुदलीय व्यवस्था जिन्दावाद र ललन चौधरी जिन्दावाद’ भनेर नारा लगाईएको थियो । नेपालका प्रतिबन्धित राजनैतिक दलहरुले २०४६ माघ ७ गतेका दिन निर्दलीय  पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहालीका लागि जनआन्दोलन गर्ने घोषणा गरे र फागुन ७ गतेलाई जनआन्दोलन शुरु गर्ने दिनका रुपमा रोजे, जुन दिन ४० वर्ष अगाडि राणाशासनको अन्त्य भएको थियो । प्रजातन्त्रको पुनर्वहालीका लागि भएको त्यस जनआन्दोलनलाई दबाउन सरकारले सक्दो प्रयास गरेको थियो । तर अन्ततः जनताको जित भई छाड्यो । चैत २६ गतेका दिन राजाबाट राजनैतिक दलमाथिको प्रतिबन्ध फुकुवा भयो र संसदीय प्रणालीको शासन व्यवस्था स्थापनाका लागि प्रयास थालियो । ६० दिन सम्म उक्त जनआन्दोलन चलेको थियो ।
भारतीय नेता चन्द्रशेखर, एम.जे.अकवर, सुब्रमन्यम स्वामी, डिपी त्रिपाठी, गणेशमान सिंह सहितको निर्देशनमा पञ्च रयालीमा कालो झण्डा देखाएको थिएँ भन्दै ललन चौधरी भन्छन,“२०१८ माघ १९ गतेका दिन दुर्गानन्द झाले राजा महेन्द्रको गाडी माथि बम आक्रमण गरी गणतन्त्रको फाउण्डेशन गरेकै ठाउँमा २०४६ फागुन ३ गते मैले कालो झण्डा देखाएर लोकतान्त्रिक गणतन्त्र स्थापना अभियानको नेपालमै शुरुवात गरेको थिएँ ।”
पटक-पटक जेल
२०४६ आन्दोलन हुनु अगाडी २०३५ सालको आन्दोलनमा जनकपुरको डिएसपी कार्यालयमा ४ महिना नजरवन्द, २०३६ मै जनकपुर चुरोट कारखानाका मजदुरहरुद्वारा गरिएको आन्दोलनमा २ महिना नजरबन्द, २०४२ को सत्याग्रहमा ७ महिना जेल, २०४६ को आन्दोलनमा २ महिना जेल, २०४२ मा राजा विरेन्द्रको सवारी हँुदा २ वर्ष जेल, इन्डो(नेपाल टेूड सन्धी ब्रेक हँदा ७ महिना जेल, २०५९ मा ९ महिना जेलमा जीवन बिताउनु परेको ललन चौधरी करिब ४० पटक थुनामा समेत गइसकेका छन् । २०४८ को चुनावमा महेन्द्रनारायण निधी विरुद्ध विद्रोही बनेर चुनावमा आउन युवाहरुले उक्साए पनि ललन चौधरीले त्यसो नगरी आफ्ना नेतालाई सम्मान गरेका थिए । तर अहिले ललनको नेपाली कांग्रेसमा कुनै पदीय भुमिका छैन् । ललन चौधरी २०४६ आन्दोलनमा यति लोकप्रिय भएका थिए कि नेविसंघ धनुषाका सभापति भएको बेला उनलाई संयुक्त बाममोर्चाका मदन भण्डारीले पोलिट ब्यूरो सदस्यको पद प्रस्ताव गरेका थिए तर उनी काँग्रेसलाई परित्याग गरेनन् । त्यसैगरी जनवादी मोर्चाका रामराजा प्रसाद सिंह, फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका वृषेशचन्द्र लाल सहितकाले पार्टी प्रवेश गर्न प्रस्ताव गरे पनि उनले काँग्रेस परित्याग गरेका छैनन् । तर, अब उनी कांग्रेस परित्याग पनि गर्न सक्ने बताईरहेका छन् । आफुले देश र प्रजातन्त्रको लागि नेपाली कांग्रेसको झण्डा बोकेर हरेक आन्दोलनमा मात्र नलागी धनुषा जिल्लामा कांग्रेस संगठन विस्तारमा सधै सक्रिय रहेपनि  अहिले आफ्नो ज्यान जानेगरी विरामी हुँदा समेत पार्टीका नेताहरुले कुनै खोज खबर नगरेपछि अब पार्टीमा बस्ने वा नबस्ने बारे सोच्न बाध्य बनाएको उनी बताउँछन् ।

२०७३ जेष्ठ ०९ गते आईतबार

No comments:

Post a Comment