Tuesday, March 8, 2016

अन्ततः दुर्गानन्द झालाई राज्यले दियो सम्मान बलिदानीको ५२ बर्ष पछि राज्यले ग¥यो शहिद घोषणा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले धनुषाका दुर्गानन्द झालाई पनि शहिदको सूचिमा राखेको छ । उनको मृत्युको ५२ वर्षपछि नेपाल सरकारले अहिले आएर झालाई शहिद घोषणा गरेपनि मधेशमा भने उनलाई धेरै पहिलेदेखि पहिलो गणतन्त्रवादी शहिद र प्रजातन्त्रवादी योद्धाको रुपमा सम्मान प्राप्त छ ।
शहिदको मान्यता पाउनेहरुमा धनुषाका दुर्गानन्द झा , सिराहाका सूर्यनाथ यादव, झापाका विरेन्द्र राजवंशी लगायत रहेका छन् । सिराहाका राम उपाध्याय, लक्ष्मण उपाध्यायसँगै झापाका चन्द्र डांगी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, नारायणप्रसाद श्रेष्ठलाई पनि सरकारले शहिद घोषणा गरेको छ । शहिदको सूचिमा डडेल्धुराका भिमदत्त पन्त, इलामका रत्नबहादुर वान्तवा, सिन्धुलीका ऋषी देवकोटा, ओखलढुङ्गाका क्याप्टेन यज्ञबहादुर थापा, लीलानाथ दाहाल , ठगीनाथ दाहाल, खगेन्द्रराज दाहाल, गोकर्ण बहादुर कार्की र धनकुटाका भिमनारायण श्रेष्ठ पनि रहेका छन् । त्यसैगरी नेपाल सरकारबाट शहिद घोषणा हुनेमा ताप्लेजुङका हरि नेपाल, सांखुवासभाका चन्द्रबहादुर पुरी र गुल्मीका समशेरबहादुर खत्री पनि छन् । 

क–कसले पाए सहिदको मान्यता ?
भीमदत्त पन्त (डडेलधुरा), दुर्गानन्द झा (धनुषा),रत्नबहादुर बान्तवा (इलाम), ऋषि देवकोटा आजाद (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुंगा), भीमनारायण श्रेष्ठ (धनकुटा) सूर्यनाथ यादव (सिराहा), हरी नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (संखुवासभा) र चन्द्र डांगी (झापा) छन् । त्यसैगरी नेत्र घिमिरे (झापा), रामनाथ दाहाल (झापा), वीरेन्द्र राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), लाई पनि सहिद घोषणा गरिएको छ । त्यसैगरी राम उपाध्याय (सिराहा), लक्ष्मण उपाध्याय (सिराहा), लीलानाथ दाहाल (ओखलढुंगा), ठगीनाथ दाहाल (ओखलढुंगा), खगेन्द्रराज दाहाल (ओखलढुंगा), गोकर्णबहादुर कार्की (ओखलढुंगा) र शमशेरबहादुर खत्री (गुल्मी) लाई पनि सरकारले सहिदको मान्यता दिएको छ ।

को हुन दुर्गानन्द झा र के हो उनको योगदान ?
२ सय ४० वर्षसम्म नेपालमा शासन गरेको शाहवंशिय राजतन्त्रको उन्मुलन गर्ने सपना बोकेको दुर्गानन्द झाको बलिदानीको ४४ वर्ष पछि आखिरकार सत्य सावित भई छाड्यो । शहीद झाको सपना अन्ततोगत्वा साकार भयो । झाको बलिदानीकै कारण आज नेपालमा गणतन्त्र स्थापित हुन सकेको छ । झाकै सहादतका कारण आज जनता आफै शासक बनेका छन् ।    

१९९९ साल वैशाख १४ (बैशाख शुक्ल एकादशी तिथि) मा अमर शहीद दुर्गानन्द झाको जन्म धनुषाको जटही गाउँमा देवनारायण झा र सुकरमारीदेवी झाको एक मात्र सन्तानको रुपमा भएको थियो । पं. भोलानाथ झाका तीन भाई छोराहरुमध्ये एक मात्र उत्तराधिकारी दुर्गानन्द झाको बाल्यकालमै पिताजीको मृत्यु भएको थियो । आमाको रेखदेखमा गाउँबाट ५ किलोमिटर पर भारतीय क्षेत्रको उभगाँव स्थित दिनदयाल हाई स्कुलमा झाको शिक्षादीक्षा भएको थियो । घरको एक्लो सन्तान भएकाले मेटिूकमा पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन काशीदेवी झा सित उहाँको विवाह भएको थियो । जनकपुर अञ्चलको जटही ग्राम निवासी दुर्गानन्दको विवाह सत्र वर्षको उमेरमा कुम्हरौराकी चौध वर्षीया काशीदेवीसित भएको थियो ।  एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर लोकतन्त्रको संघर्षमा लाग्नुभएकोले घरमा एक्लै श्रीमती र बुद्धा आमा हुँदा आवश्यक हेरचाह नभएर बच्चा मृत जन्मेको थियो । शहीद दुर्गानन्दको परिवारमा २०६० साल भाद्रमा बृद्धा आमाको निधनपछि अब एक्लै उनकी अर्धाङ्गनी काशीदेवी झा मात्र बाँचेकी छिन् । सरकार र देशले दुर्गानन्द झाको लागि खास केही नगरे पनि युवा जमातले उनको निःस्वार्थ  त्याग र बलिदानालाई बिर्सने छैनन् । 

‘दो हंसो को जोडा विछड गयो रे, गजब भयो रामा जुल्म भयो रे’ जेलजीवन यात्राका क्रममा फाँसीको फन्दामा चढ्नुअघि शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशीदेवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे । जटहीभन्दा करिब ३ किमि टाढा रहेको भारतको उभगाँव हाइस्कूलमा म्याटिूकमा अध्ययनरत दुर्गानन्दको अधिक समय छात्रबासमा बसेर र राजनीतिमा वित्ने हुनाले काशीदेवीसित उनको भेट महिनामा एकाधचोटिभन्दा बढी हुन सकेन् । दाम्पत्य जीवन सुरु भएको दस महिना नबित्दै दुर्गानन्दसित काशीलाई सधैंका निम्ति टाढिनुप¥यो । पचास वर्षअघिको हाम्रो समाजमा बाल अवस्था देखि नै विधवा र सन्तानहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुन सक्छ, यसको तीतो अनुभव काशीदेवी जस्ता त्यागी नारीले गरेको हुनुपर्छ । दुर्गानन्दसित अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशीदेवीलाई निरंकुश पञ्चायत शासकले दुर्गानन्दलाई फाँसीको सजाय दिन्छन् र यहीं उनीसितको अन्तिम भेट हो भन्ने कुराको जानकारी समेत थिएन् । 

२०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो । भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भतगसिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनःस्थितीमा पुगे । मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ । आफ्ना आमाबाबुका एक मात्र सन्तान र नवविवाहित युवक भएर पनि दुर्गानन्द आफ्नो लक्ष्यमा अडिग थिए । उभगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरुका सम्पर्कमा उनी आए । यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरु ठाउँठाउँमा राजाको ‘कु’ को विरुद्धमा उत्रेका थिए । २०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुर सवारी हँुदा उनी चढेको गाडीमाथि बम प्रहार गर्ने योजना बनाइएको थियो । जसको अगुवाई दुर्गानन्द झाले गरेका थिए । नेपालमा राजा भनेको भगवान विष्णुको अवतार हो भनेर जन जनमा पढाइएको थियो । राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैनथियो भने राजामाथि बम प्रहार गर्न अदम्य साहासको आवश्यकता पथर््यो ।

 हजारौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यो राति दुर्गानन्द जनकपुर धामको एउटा कुटी मन्दिरमा डेरा गरी बसेका आफन्तहरु हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे । भोलिपल्ट त्यहाँबाट उभगाँव लागेका थिए । यता नेपालमा बम काण्डको अनुशन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहँु कुटपिट गरी बम प्रहार गरेको सकार गराउन दुष्प्रयास भइरहेको थियो । पक्राउ परेकाहरुलाई निर्मम यातना दिन थालियो । बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको छतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर उनले गिरफ्तारी दिए । आफ्नो कारण निर्दोष नागरिकहरुले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए । राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्ममा कसैले केही गरेन । यसैबीच एस.पी. मानबहादुर राई दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे । त्यहाँ रेल गाडिबाट ओर्लनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो राति जलेश्वर जेलमा राख्यो । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकप्टरबाट काठमाडौं सुन्धारास्थित भद्रगोल जेलमा ल्याइयो । गिरफतारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइएका थियो र पञ्चायत सरकारले उनलाई मृत्यूदण्डको सजाय तोकी वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याएको थियो । फाँसीमा झुन्ड्याउनु भन्दा एक दिन अगाडी मात्र २०२० साल माघ १४ गते उनको आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिईयो । केही बेरको भेटमा उनले आमालाई भने , नरुनुहोस् आमा, कुनै दिन तपाईलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन् । श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै आमाको हेरचाह गर्न भनेका थिए । भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपल्ट झुण्डयाउँदै उतार्दै गरिन्छ । त्यसबखत पनि दुर्गानन्दलाई माफि मागि बिन्तीपत्र लेख भनिएको थियो । 

सरकारले एक विशेष अदालत गठन ग¥यो । सफाईको मौका समेत नदिएर २०१९ साल भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो । त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो । त्यसैले मुलुकी ऐन २०२० भदौं १ मा संशोधन गरियो । विशेष अदालतको अनुमोदनअनुसार मारिकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो । २०२० माघ १५ महान् क्रान्तिकारी दुर्गानन्द झालाई सुन्धारा जेलमा मध्यरातिमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर हत्याराहरु पनि छक्क परेका थिए । नेपालको इतिहासमा फाँसीको सजाय पाउने एक मात्र ब्राहमण दुर्गानन्द झा नै हुन् । यसअघि र पछि कुनै ब्राहमणलाई मृत्युदण्डको सजाय दिइएको देखिन्न ।

 वि स. १९१९ मा जंगबहादुर राणाको पालामा बनेको मुलुकी ऐनमा फाँसीको सजायको उल्लेख भए पनि व्यवहारमा यसको नगण्य प्रयोग भएको देखिन्छ । मुनस्मृतिमा उल्लेख भए अनुसार धार्मिक दृष्टिले ब्राहमण, जोगी, सन्यासी, महिलालाई मृत्यूदण्ड को सजाय दिनु महापाप हो । यस मान्यतालाई स्थापित गर्ने १९१० को मुलुकी ऐनले यी वर्गलाई मृत्युदण्ड बर्जित भन्ने प्रावधानको समेत उल्लेख गरेको पाईन्छ । टंकप्रसाद आचार्य र रामहरि शर्मा यी दुई ब्राहमणलाई मृत्युदण्डको सट्टा वि.सं. १९९७ मा आजीवन कारावासको फैसला सुनाएर राणाशासकहरुले मुलुकी ऐनमा उल्लेखित उक्त प्रावधानको व्यवहारमा समेत पालना गरेको देखिन्छ । तर पञ्चायतकालमा दुर्गानन्दको सवालमा यस प्रावधानको पालना गरिएको देखिन्न । प्राणदण्डको लागि लग्दा अन्तिम इच्छा त्यो महान् लोकतान्त्रिक क्रान्तिकारीले यसरी व्यक्त गरेका थिए । म दीर्घ यात्रामा गए पनि लोकतन्त्रलाई कसैले रोक्न सक्दैन । त्यो निष्तब्ध रातिमा दुर्गानन्दलाई मृत्युदण्ड दिनु अगाडि नै राजा महेन्द्र दरबार छाडेर उपत्यका बाहिर पहाड भ्रमणमा गएका थिए भने तत्कालिन मन्त्रिपरिषद्को अध्यक्ष डा. तुलसी गिरी पुस ९ गते राजीनामा गरी अलग्गिएका थिए । सवा दुई महिनापछि डा. गिरी फेरि अध्यक्ष भएका थिए ।

‘कैद माँगी थी रिहाई तो नहीं माँगी थी तेरी जुल्फों से जुदाई तो नहीं माँगी थी’,यस गीतको पहिलो पंक्तिमा उनी कारावासमा बस्न तयार रहेको बुझिन्छ भने दोश्रो पंक्तिमा प्रिय पत्नी काशीदेवीसित सदाका लागि अलग हुन नचाहेको उनको मनोभाव प्रकट हुन्छ । पञ्चायतकालीन प्रधानन्यायाधिश भगवती प्रसादसिंहको इजलासबाट भएको यो फैसलाले सप्तरी निवासी सिंहलाई जीवनपर्यन्त पिरोलिरह्यो । त्यसैले होला पदनिवृत भएपछि उनी अक्सर हजुरबासित भन्ने गर्थे , ‘मेरो कार्यकालमा एउटा ठूलो अन्याय र ब्रहमहत्याको महापाप भएको छ । यसबाट प्रायश्चितको बाटो पहिल्याई दिनुहोस् ।’

जेलमा राखिएको १८ महिनापछि झालाई मात्र फाँसी दिइएको थियो । दुर्गानन्दलाई सेन्टूल जेल परिसरकै रुखमा राति १२ बजे भुण्डयाउँदा उनी निकैबेर छट्पटाएपछि रुखमा बाँधेर गोली पनि हानिएको थियो । फाँसी दिइनुअघि भेट्न आएकी आफ्नी आमालाई उनले भनेका थिए “मलाई हाँसेर बिदा दिनुस् । यो मुलुकमा एक दिन अवश्य प्रजातन्त्र आउँछ, चिन्ता नगर्नुस् । ” 

२०४६ सालको लोकतन्त्र स्थापना पछि दुर्गानन्दको जन्मथलो जटही पुगेर उनीप्रति सम्मान प्रकट गर्ने नेपाली कांग्रेसका गणमान्य नेताहरुको ओइरो नै लागेको थियो । जिउँदो सहीद गणेशमानसिंहले त जटहीको धुलोलाई पवित्र चन्दन भनेर सिरमा टीकासमेत दलेका थिए । तर विगतमा सबभन्दा बढी सत्ता सञ्चालनको अवसर पाएको नेपाली कांग्रेसले समेत दुर्गानन्दलाई न्याय दिलाउने आँट देखाउन सकेन । जनकपुर पुग्ने ठूलादेखि सानादलका लोकतन्त्रवादी एवं गणतन्त्रवादी नेताहरुले भाषणका क्रममा दुर्गानन्दको नाम प्रयोग गर्न कहिले छुटाउँदैनन् । तर राजधानी पुग्नेवितिकै दुर्गानन्दको नाम ओझेलमा पर्ने गथर््यो । 

दुर्गानन्दकै गाउँबासी समेत रहेका नेपाली कांग्रेस धनुषाका तत्कालिन सभापति स्मृति नारायण चौधरीले जटही गाउँमा उनको सालिक सहितको प्रवेशद्वारको १५ माघ २०५३ मा सिलान्यास गरेका थिए भने ३ अषाढ २०५५ मा तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले उदघाटन गरेका थिए ।गणतन्त्रको स्थापनापछि माओवादी नेतृत्वको सरकारले दुर्गानन्दको नाममा अस्पताल खोल्न केही रकमसमेत छुट्याएको चर्चा निकै चलेको थियो । तर त्यसले किन अझै बास्तविक आकार लिन सकेन ? गणतन्त्रका यी सेनानीका नाममा अझै कुनै स्मारक, पार्क, विद्यालय, पुस्तकालय आदिको स्थापना हुन नसक्नु दुर्भाग्यपूर्ण कुरो हो । अजर, अमर आत्मा दुर्गानन्द झालाई राज्यले अन्ततः शहीद घोषणा गर्नु धेरै सकारात्मक कार्य हो ।

२०७२ फाल्गुन २३ गते आईतबार

No comments:

Post a Comment