Tuesday, August 18, 2015

अन्तरबार्ता ः थारु र मधेसी मिल्दा तीन नेतालाई पीडा भएको छ ः हृदयेष त्रिपाठी

पहिलो मस्यौदा आएपछि तपाईहरुले संघीयता नै नल्याउने षड्यन्त्र भयो भन्नुहुन्थ्यो  । तर, चारदलले तपाईहरुलाई गलत सावित गरे, होइन ?
कुन ठूलो कुरा भो ? सीमांकन गरेका थिएनन् र हामीले गरेनन् भन्यौं  । सर्वोच्चले पनि भनेको हो  । ३० दलमा हुँदा प्रचण्डले पनि भनेकै हो  । ३० मा हुँदा एउटा सत्य हुने, ३० दल छाडेपछि अर्कै सत्य हुने हुन्छ र ? सत्य भनेको सत्य हुन्छ  ।
पहिले सीमांकन नभई हुँदैन भन्नुभो  । अहिले भएपछि मान्दैनौं भन्नु भो नि ?
अहिले गलत सीमांकन भएको छ, हामी गलत सीमांकन भन्दैछौं  । संघीयताको आवश्यकता किनर्पयो भने सबैको राज्य हुन सकेन  । देश हाम्रो हो, राज्य हाम्रो हुन सकेन भन्ने धेरै समुदाय, जाति, धर्म र क्षेत्रका मानिसहरुले भने  । त्यसले हामीले संघीयता अपनाउन खोजेका हौं  ।  एउटा प्रस्ताव उहाँहरुले त्याउनुभयो आकाशे कित्तासहितको संघीयता  । प्रदेशहरु जुन आधारमा बन्छन् भनिएको थियो, त्यो आधारमा भएको छ त ? अब त्यहाँ केलाउनुपर्छ  । पहिचानका पाँच र सामथ्र्यका चारका आधारमा प्रदेशहरु निर्माण गर्ने भन्ने सहमति भएको थियो  । त्यसमा हाम्रो पनि विमति छैन  ।
तर, सीमांकन गर्दा एउटा बेइमान अमिनले खराब जमिनको कित्ताकाट गरे जस्तो हिसावले सीमांकन गरिएको छ  । कुनै मापदण्ड छैन  । म उदाहरण दिएर भन्छु, १८६० मा नयाँ मुलुकका रुपमा आएको कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य बढी हो कि पछिल्ला दिनको सहकार्य बढी हो ? जुन भीम रावल र शेरबहादुरले भन्नुहुन्छ, त्यो सही हो कि कमैयाका लागि थारु चाहिएको हो ?
पश्चिम पहाडका जमिनदार ठकुरी बाबुसाहेबहरुका लागि हली र कमैया चाहिएकाले छोड्न नखोज्नु भएको हो  । तर, कहिल्यै पनि माथिका जिल्लाहरुसँग कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको सहकार्य भएन  ।
त्यसमा त एमाओवादी र फोरम लोकतान्त्रिकको फरक मत छ र सच्याउनुपर्छ भन्ने आवाज पनि हस्ताक्षरकर्ता दलहरुबाटै आइसकेको छ नि ?
म पार्टी पार्टीमा जान्न, जे छ त्यसमा भन्दैछु  । रियलाइज गर्नुभएको छ भने कुनै उपकार पनि गरिरहनु भएको छैन  । मापदण्ड के त त्यसो भए ? त्यस्तै तराई मधेसको भूगोल कुनै बिजित प्रदेश होइन  । यसलाई म अण्डरलाइन गरेर भन्दैछु, कुनै शाह राजाहरु, राणाजीहरु वा नेपाली सेनाले विजय प्राप्त गरेको भूमि होइन  । सम्झौताको भूमि हो र सम्झौता हुँदा त्यहाँ मानिसहरु थिए  । बरु औलो उन्मूलन भएपछि बसाइँ सराइँ बढेको हो  । त्यो भूगोल एउटा प्रदेशका रुपमा रहनुपर्छ, किनभने त्यो भौगोलिक रुपमा नै भेदभाव भएको क्षेत्र हो  ।
झापाको जनसंख्या र मतदाता ०१५ सालको निर्वाचनमा कस्ता थिए ? ८९ प्रतिशत गनगाई, राजवंशी, ताजपुरिया थिए  । त्यसलाई केही स्वीकार नगर्ने अनि महेन्द्रकालीन जिल्ला, अञ्चल र कथित विकास क्षेत्रको विभाजनलाई सीमानाका रुपमा लिइएको छ  । त्यसकारण अहिलेको सीमांकन कुनै पनि बैज्ञानिक, आर्थिक वा पहिचान र सामर्थका आधारमा गरिएको छैन  । केही नेताहरुले आफ्नो निर्वाचन क्षेत्र र प्रभाव क्षेत्रलाई सुरिक्षत गर्न गरिएको ऐतिहासिक गद्दारी हो  । हाम्रो अझै पनि भनाइ के हो भने कुनै मापदण्ड बेगर सीमांकन भएको छ  । यसको एक मात्र उद्देश्य परम्परागत कालदेखि खस आर्यको शासनलाई सुरक्षित गर्न यो प्रदेशहरु बनाइएको हो  ।
तर, हस्ताक्षरकर्ताहरु संयुक्त पहिचानको प्रदेशहरु बनेको छ  । र, मधेसमा त एकल पहिचानकै आधारमा प्रदेश बनेको छ भन्छन् नि ? त्यस्तोमा तपाईहरु पनि खुसी हुनुपर्ने होइन ?
अज्ञानीहरुलाई मैले केही भन्दैन  । ज्ञानीले अज्ञानीको नाटक र्गयो भने नाटक ठहरिन्छ  । त्यो प्रदेशमा खाली मधेसी मात्र छन् ? पहाडे मुलका पनि छन्  । उहाँहरुले जे भन्न खोज्नुभएको छ, त्यो गलत छ, त्यो भूभागमा सबै छन्  ।
अर्को, हरेक प्रदेशलाई भारतको सीमासँग जोड्ने नाटक गरिएको छ  । प्रदेश नम्बर ४ लाई नवलरासीको सुस्ता, बरघाटसम्म ल्याएर के खोजिएको हो भने बाबुराम भट्टराई र रामचन्द्र पौडेलले आफ्नो हालिमुहाली हुने प्रदेशलाई भारतसँग जोड्न खोज्नु भएको मात्र हो  । कुनै मापदण्ड छैन  । आफ्नै देशका जनतामाथि विश्वास नगर्ने अनि भारतमाथि अगाध विश्वास छ  । अनि राष्टिूयताको कुरा हामीसँग गर्ने ?
कम्मल ओढेर घिउ पिउने अनि हामीलाई राष्टिूयताको कुरा सिकाउने ? यस्ता छद्म राष्टूवादीहरु महेन्द्रका अवतारहरु हुन्  । र, नेपालले त्यही दुःख पाउनेछ, जुन महेन्द्रको कथित राष्टूवादले दुःख पाएको थियो  । मगरातलाई तीन टुक्रामा बाँडिएको छ  । किनभने खस आर्यको बाहुल्यता रहोस् भनेर  ।
तर, बढी जनसंख्या भएका जाति, भाषा वा समुदायको बाहुल्यताका आधारमा त प्रदेश नम्बर २ एकल पहिचान नै हुन्छ होइन र ?
६ वटा प्रदेशमध्ये पाँचवटा प्रदेशमा खस आर्यहरुकै बाहुल्यताको प्रदेश बनाइएको छ  ।  एउटाको बाहुल्यता भएको स्वीकार नगर्ने अनि अर्कोलाई खाली मधेसीहरुका लागि मात्र दिएको भनेर आडम्बरी र झुटको कुरा गर्ने ? यो तर्क काम लाग्दैैन  । पहिले अध्ययन गर्नुस्  ।
जसले सीमांकन गरे, उनीहरुले अध्ययन नै गरेका छैनन् त ?
अध्ययन किन गर्नु हुन्न भने नियत सफा छैन  । नियत के हो भने खस आर्यको प्रभुत्वलाई केन्द्र र प्रदेशमा कायम गर्ने  । यसको उदाहरण नै दिन्छु  । मस्यौदामा खस आर्यको मात्र परिभाषा गरिएको छ  । दलितको परिभाषा हुँदैन ? आदिवासी जनजाति, मधेसीको परिभाषा हुँदैन ? तर, खस आर्यको मात्र परिभाषा गर्नुको नियत के हो भने समानुपातिक सीट सुरक्षित गर्नु हो  । र, प्रभुत्वलाई निरन्तरता दिन संवैधानिक आवरणले छोप्न खोजिएको हो  । यो समग्र मस्यौदा र प्रदेश विभाजनको एक मात्र उद्देश्य के हो भने एउटै समुदायको केही जाति विषेशको कब्जामा राज्यलाई राखिराख्नु  । जो स्थायी सत्ता सेना, प्रहरी, अदालत, प्रशासनमा जसको बहुल्यता छ, उनीहरुकै सत्तालाई निरन्तरता दिन र सुरक्षित गर्न प्रयोगहरुको विभाजन भएको हो  । हाम्रो लागि यो अस्तित्वको लडाइ हो  ।
यदि साम्प्रदायिकताको कुरा गर्ने हो भने कांग्रेस, एमाले, एमाओवादी राप्रपाले एकजना मधेसीलाई पहाडबाट जिताएर देखाएका छन् ? मधेसले कृष्णप्रसाद भट्टराई बारम्बार काठमाडौंमा पराजित भएपछि वीरगञ्जले जिताएर देखाएको थियो  । स्वयं प्रचण्ड काठमाडौंमा पराजित हुँदा सिराहाले जिताएर देखाएको छ  । माधवकुमार नेपाल यहाँँ सुकुम्बासी भए, रौतहटले जिताएको छ  । मधेसीहरु साम्प्रदायिकता होइन, समिश्रण हुन चाहिरहेका छन्  । हामीलाई सेनामा लेऊ, प्रशासनमा लेऊ, हरेक राज्यको निकायमा लेऊ भनिरहेका छन्  ।
समिश्रण त राज्य पुनःसंरचना अर्थात प्रदेशहरु पनि पनि चाहिएको होला नि ? मधेस र पहाडका जिल्लाहरु मिलाएर प्रदेश बनाउँदा किन आपत्ति ?
राज्यको अंगमा खोजेको हो  । अञ्चल, जिल्ला र प्रदेशमा होइन, राज्यमा समिश्रण खोजेको हो किनकि एकमुष्ट भएको बेलामात्र प्रतिनिधित्व हुन्छ  । अहिले पनि अर्को नाटक के हुँदैछ भने १ सय ६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्येक जिल्लालाई एउटा सिट दिइनेछ  । ७५ मध्ये ५५ अन्यत्र गयो, मधेसले २० वटा पायो  । बाँकी ९० आधा आधा हुनेछ  । जबकि अहिले मधेसको जनसंख्या देशको कुल जनसंख्याको ५१ प्रतिशत बढी छ  । अन्तरिम संविधानको व्यवस्थाअनुसार बरु २ सय ४० मध्ये १ सय १६ वटा सीट मधेसले पाइसकेको छ  ।
तर, प्रचण्डले संसदमा बिहीबार तपाईहरुमाथि नै प्रश्न गर्नुभएको छ  । पहिले ११ प्रदेश मान्नुभएन  । अहिले ६ प्रदेशको विरोध पनि तपाईहरु नै गर्दै हुनुहुन्छ ?
त्यसबेला लिखित केही भएको होइन  । कुरो चल्ला चल्दै एमाओवादीका साथीहरुले स्वीकार नगरेपछि कुरा बिग्रिएको हो  ।
सहमति भाँडिएको तपाईहरुको कारण होइन ?
होइन  । उहाँहरुले दोष त हामीलाई लगाउनुहुन्छ  । मधेसी भनेको त डम्पिङ साइज हो  । हिजै पनि संसदमा प्रचण्ड, सुशील कोइराला र केपी ओलीले मध्य पश्चिमको आन्दोलन स्वस्फुर्त र थारु मधेसीको आन्दोलन प्रयोजित भने  । नियत  । हामीले  केही भन्यो भने देशभक्तिमाथि प्रश्न उठाउँछन्  । त्यो बुंगाहरुले पनि अधिकार पाउँछन्, जो आफैं बुंगा छन्  । इनफ इज इनफ  । अब कति भयो ? यो अतिले धेरै क्षति नगरोस्  ।
म राष्टिूय हिसाबले भन्दैछु, जुन ढंगले दुरी बढाइएको छ, एउटा समुदाय विशेषमाथि लक्षित गरेर प्रहार गरिँदैछ  । यसले यो देशको राष्टिूय एकता भौगोलिक एकता भएको छ तर, मनोवैज्ञानिक र भावनात्मक एकतालाई टाढा गरेको छ  । आपसमा फाटो लगाउन खोजिँदैछ  । उहाँहरु भूलचुकले नेता हुनु भो  । त्यसले गर्दा दुःख पाउने भो  ।
तर, हिजो त तपाईकै शब्दमा भूलचुकले नेता भएका प्रचण्डलाई नै नेता मानेर हिँड्नु भएको थियो ?
चिन्न सकिएन  । धोका भयो  । जस्तो कांग्रेसले टाउकोको मूल्य तोकेकै हो, ओलीले अतंककारीहरुको झुण्डै भनेकै हो  । अहिले कस्तो मीठो सहकार्य भइरहेको छ  । स्वार्थ हो  । हिजोसम्म प्रचण्डजी कुर्लिएर भुक्नुहुन्थ्यो तर, आज आफ्नो लडाइँ आफैं लड्नपर्छ भन्ने प्रष्ट भएको छ  ।
आन्दोलनबाहेकको कुनै समाधान त होला नि ?
इमान्दारी  । सबैले हेर्ने दृष्टिकोण समान  । भेदभाव अहिले भएकै हो  । सबैलाई ज्ञान छ, त्यसका लागि एउटा स्वेत पत्र जारी गरे हुन्छ  । मेरो भनाइ पनि मान्नुहुन्न, म अतिरन्जित होऔंला  । तर, सेना, प्रशासनमा कसको कति छुट्याउँ न  । त्यहाँबाटै प्रष्ट भइहाल्छ भेदभाव कति छ भनेर  ।
हामीलाई पनि लेउ भन्दा हाम्रो भाग खान आए भन्ने ब्यूरोक्रेट्सको मनोविज्ञान नेताहरुमा पनि सरेको छ  । आलीले नै बाली खाएपछि कसले बताउने ? अब अहिलेको अवस्था दुर्भाग्यबस सुशील कोइराला एउटा पार्टीको सभापति र प्रधानमन्त्री दुबै हुनुहुन्छ  । प्रचण्ड जी पराजित हुँदाहुँदा आत्मसमर्पणको अन्तिम विन्दुमा पुग्नु भएको छ  । एनजीओरआइएनजीओको सरदार केपी ओली एउटा पार्टीको अध्यक्ष बन्न पुग्नुभएको छ  । जसमा विशेष गरेर तराई मधेसको जनताप्रति घृणा छ  । मलाई लाग्छ, कुनै राजवंशीले उहाँको परिवारलाई दुःख दिएको हुनुपर्छ  । यसरी तिरस्कृत हुँदै जाँदा उनले आफ्नो अन्तिम बाटो लिन थाल्यो भने मलाई लाग्छ, देशका लागि दुःखको दिन आउँछ  ।
मूर्त रुपमा भन्नुस् न, संघीयतामा के भयो भने मधेसको सहमति हुन्छ ?
संघीयता मधेसले लडेर ल्याएको हो  । संघीयताको सैद्धान्तिक ढाँचा मधेस आन्दोलनले लिएर आएको हो  । यसलाई मधेस आन्दोलनले जोगाउँछ  । अब अलिकति दुःख हामीले पनि पाउँछ, देशले पनि पाउँछ  ।
भनेको आन्दोलनबाटै सबै टुङ्गिन्छ ?

एकदमै  । अरु विकल्प छैन  । पश्चिम तराई पुरै बलिरहेको छ र यो झन बढ्छ  । किनभने यो अस्तित्वको लडाइ हो  । अन्तिम लडाइ जस्तो ठानेका छन् त्यसका जनताले  । तपाईलाई थाहा छ, कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका कार्यकर्ताले आफ्नै नेताको पुत्ला जलाइरहनुभएको छ  ।
तर, तपाईहरुले मधेसमा हुनुपर्छ भन्ने दाबी गर्दै आएको झापा, मोरङ र सुनसरीले त सीमांकनलाई स्वीकार गरिसक्यो ?
जनताले स्वीकार गर्छ भने राखे भइगो  । तर, पश्चिम तराईले त स्वीकार गरेन  । जनताले चाहेनन् र त हामीले साथ दिइरहेका छौं  । मैले सुने अनुसार सुनसरी र मोरङमा आन्दोलन उठिरहेको छ  ।
हिजो तपाईहरुले एक मधेस प्रदेश भनेर थारुहरुको अस्वित्व स्वीकार गर्नुभएन  । उनीहरुले लडेर लिए  । तर, प्रचण्डकै शब्दमा भन्ने हो भने अहिले तपाईहरुलाई माया लागेको हो ?
थारु र मधेसी किन मिले भनेर तीनै नेतालाई मनैदेखि पीडा भएको छ  । थारु मधेसी मिलेपछि के हतिगत हुन्छ भनेर थाहा छ साथीहरुलाई  । मिलेर लड्छौं  ।
अर्को कुरा, प्रचण्डले यो शक्ति शन्तुलनको अधिकतम दस्ताबेज हो भनेका छन्  । त्यही हो ?
खस आर्यको एकता हो, शक्ति सन्तुलनको कुनै बाध्यता होइन  । म पुरै होस हवासमा भन्दैछु, यो खस आर्यहरुको एकता हो  । पहाडी बाहुनहरुको एकता हो  । हिजोे ३० दलमा हुँदा शक्ति सन्तुलन अर्कै थियो ? त्यसबेला ज्ञान थिएन ?
तर, उहाँले यो आठ वर्षमा हामी बीचमा जंगलमा अल्मलिएका थियौं  । अहिले फेरि पुरानै ठाउँबाट यात्रा सुरु गरेँ भन्नुभएको छ नि ? 
ठीक छ  । यदि उहाँले आफ्नो समग्र जीवन नै भूल गर्नुभएको रहेछ भने हाम्रो सहानूभूति छ  । अरु केही गर्न सक्दैनौं  ।
भनेको तपाईहरु लडेरै एकल पहिचानका आधारमा प्रदेश बनाउन सक्नुहुन्छ ?
एकल पहिचान हामीले भनको छैनौं  । मिडियाले भनेको हो, उसले जवाफ देओस्  । हामी तराई मधेसको भूभाग अर्को प्रदेशमा मिसिनु हुन्न  । किनभने तराई मधेससँगै एउटै भूगोल भएवापत एक किसिमको भेदभाव र दुव्र्यवहार गरिएको छ र त्यसको अन्त्यको बाटो भनेको त्यो भूगोल अर्कोमा मिसिनु हुन्न  । हामीले एकल, दुकल भनेका छैनौं  । तराई मधेसमा बस्ने पहाडी समुदायसँग हामीले नागरिकताबाहेक सबै भोगाइसँगै भोग्छौं  ।
तर, सप्तरीदेखि पर्सासम्मको प्रदेश नम्बर २ मा पहाड चाहियो भनेर आन्दोलन भइरहेको छ ?
मैले त सुनिँन  । कसले भन्यो  । उनीहरुले यो मान्य हुँदैन भनेका छन्  । झापा, मोरङ र सुनसरीलाई छाड्नु हुँदैन भनेका छन्  । सीमांकनमा ठूलो षड्यन्त्र के भएको छ भने मधेसको कुनै पनि प्रदेशमा नारायणी, कोशी, कर्णाली र महाकाली चार ठूला नदीहरु छैनन्  ।
संविधानमा सहमतिका लागि तपाईहरुको बटमलाइन के ?
उहाँहरुको नियत सफा हुनुर्पयो  । तराई मधेसको भूभाग त्यहाँको प्रदेशमा रहनुर्पयो  । बटमलाइन त्यही हो  । संख्या बसेर छलफल गर्न सकिन्छ  ।
सौजन्यः अनलाईन खबर डट कम
 
२०७२ श्रावण ३१ गते आईतबार

No comments:

Post a Comment