Tuesday, August 18, 2015

सबैला गोली काण्डको सुल्झियो गाँठो ‘काउन्टर व्यालेन्स’का लागि गरियो रामप्रगासको हत्या


हथकडीमा बायाँबाट चुरिबाला भनिने भगवानबाबु साह कलवार र दायाँ राजु गुप्ता ।
अजय अनुरागी
जनकपुरधाम............ 
सबैलामा भएको दुईवटा छुट्टा छुट्टै घटनामा नेकपा एमाले नेता योगनारायण यादव प्रमुख अभियुक्तको रुपमा रहेको पाइएको छ । कुटपिटबाट मृत्यु भएका राम सेवक राउत गडेरी तथा घाइते भएका व्यक्तिहरुका सन्दर्भमा कुराहरु बाहिर आईसकेको भएपनि राम प्रगास यादवको हत्या रहस्यमय बनेको थियो । तर, राम प्रगासको हत्या पनि घटनालाई डाईभर्ट गर्न तथा काउन्टर व्यालेन्स गर्न योगनारायण यादवकै समुहले गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । उक्त घटनाका एक जना अभियुक्त भगवानबाबु साहलाई धनुषा जिल्ला अदालतले २८ साउनमा गरेको आदेशले थुनामा गएका छन् । यस अघिसम्म मोर्चा पक्ष वा योगनारायण पक्ष मध्ये कसले हत्या गरेको भन्ने रहस्य बनेको थियो ।
 
सबैला घटनाका प्रमुख अभियूक्त भनिएका योगनारायण यादव अझै सम्म फरार रहेका छन् ।

सबैलाका राम प्रगास यादवलाई गोली प्रहार गरी हत्या गरिएको घटनाको गुथ्थी प्रहरीले सुल्झाएको छ । यादवलाई काउन्टर व्यालेन्सका लागि हत्या गरिएको धनुषा प्रहरीको ठहर रहेको छ । धनुषाका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा प्रहरी निरीक्षकहरु निरंजन थापा, गणेश बहादुर बराल, भगिरथ रेग्मी, प्रहरी नायव निरीक्षक गगन बहादुर साही, प्रहरी सहायक निरीक्षक जयलाल प्रसाद यादव र प्रहरी सहायक निरीक्षक संतोष झा सहितको बोर्डले प्रस्तुत गरेको प्रतिवेदनमा योगनारायण यादव लगायतका समुहले एउटा हत्याको काउन्टर व्यालेन्सका लागि हत्या गरिएको निष्कर्ष निकालिएको छ ।
 ८ चैत्र २०७१ मा अन्दाजी राति करिब साढे ८ बजे तिर मोर्चा निकट स्थानीयहरु छलफलमा बसीरहेको स्थानमा योगनारायण यादव पक्षका योगनारायण यादव, लाल विहारी यादव लगायतका २०÷२५ जनाको समुहद्वारा लाठी, चिरपट र ढुङ्गा समेतले गरेको आक्रमणबाट गम्भीर घाइते भएका मोर्चा पक्षका राम सागर साह र राम सेवक राउत गडेरीको अवस्था अति चिन्ताजनक छ र निज घाइतेहरुको मृत्यु हुने सम्भावना प्रवल छ भन्ने सूचना पाई घटनालाई मोड्न र सामानन्तर गर्न आफ्नै पक्षका  राम प्रगास यादवको हत्या गर्ने र मोर्चा पक्षमाथि आरोप लगाउनका लागि, घटनाको काउन्टर व्यालेन्सका लागि योगनारायण यादव पक्षका योगनारायण यादव, सिताशरण यादव, भगवानबाबु कलवार, प्रदिप यादव, लालविहारी यादव, जगदीश यादव र बुधेश्वर यादव लगायतका व्यक्तिहरुले योजना बनाई षडयन्त्र गरी हत्या गरेको उक्त बोर्डको ठहर रहेको छ ।
 ती व्यक्तिहरुले ८ चैत्र २०७१ मा योगनारायण यादवको घरमा उनी आफै समेत बसी योजना बनाई मृतक राम प्रगास यादव कै मन मिल्ने भगवान बाबु कलवार र जगदीश यादवले नै छलफलको लागि योगनारायण यादवको घरमा जानु पर्यो भनि बोलाएर लगि आफ्नै पक्षको प्यारालाईसिसका विमारी ४५ बर्षिय राम प्रगास यादवलाई बोलाएर ल्याई चारनाथ खोलाको डिलमा पुर्व योजना बमोजिक ती व्यक्तिहरुको उपस्थितिमा खुनिया भनिने रामबाबु यादवले गोली हानी राम प्रगास यादवको हत्या गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।  विहान करिब १ बजे गोली हानी हत्या गरेको उक्त प्रहरी बोर्डको ठहर रहेको छ ।
मृतक बोलाउने भगवान बाबु थुनामा
हत्या गरिएका राम प्रगास यादवलाई घरबाट बोलाउन लगेका भनिएका सोही गाउँका चुरीवाला भनिने भगवान बाबु साह कलवारलाई धनुषा जिल्ला अदालतले थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २८ साउन २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधीश दिपक खनालको इजलासले भगवान बाबु साहलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको हो । उक्त आदेश पश्चात साहलाई जलेश्वर कारागारमा थुनाको लागि पठाइएको छ ।
चुरीवाला उपनामले चिनिने भगवानबाबु साहलाई धनुषा प्रहरीले २८ अषाढ २०७२ मा राम प्रगास यादवको हत्या गरेको आरोपमा पक्राउ गरेको थियो । घटना भएको करिब ३ महिना पछि उक्त घटनामा पहिलो व्यक्तिको रुपमा धनुषा प्रहरीले पक्राउ गरेको थियो । सबैला बजारमा चुडी लहठीको पसल खोली व्यापार व्यवसाय गर्दै आएका साह गत बर्षको सबैला उद्योग बाणिज्य संघको चुनावमा योगनारायण यादव पक्षबाट अध्यक्षका लागि उम्मेदवार भएका थिए । तर, उक्त चुनावमा मोर्चा पक्षका उम्मेदवार श्रीप्रसाद नायक विजयी भएका थिए । मृतक  राम प्रगास यादव सँग उनको पहिले देखि नै राम्रो चिनजान तथा सम्बन्ध रहेको थियो । मिल्ने साथी भएकाले उनीहरु एक अर्कौको घरमा गई खानपिन समेत गर्दै आएका थिए ।  भगवानबाबु, मृतक राम प्रगास यादव दुवै जना योगनारायण यादवका नजिकका मानिस थिए ।
सबैला घटनाका अर्को अभियुक्त लक्ष्मीनारायण यादव धनुषा जिल्ला अदालतको आदेशबाट तारेखमा रिहा 
भएपनि उक्त आदेश विरुद्ध पुनरावेदन अदालत 
जनकपुरमा मुद्दा परेको छ ।

घटना भएका दिन प्रतिवादी भगवान साहले आफ्नो मोवाइल नम्बर ९८४४०५३७११ बाट मृतक यादवको मोवाइल नम्बर ९८१७८५५३२० मा साँझ ८ बजेर ५४ मिनेट र ९ बजेर ४ मिनेटमा दुई पटक फोन समेत गरेका छन् । प्रहरीले सोही कल डिटेल्सको आधारमा पनि उनलाई उक्त घटनाको अभियूक्त बनाएको देखिन्छ । उनलाई प्रहरीले पोलिग्राफ टेस्ट समेत गरेको छ । १६ जुलाई २०१५ का दिन मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडामा उनको पोलिग्राफ टेस्ट गरिएको थियो । मानिसले बोलेको कुरा सहि हो वा गलत हो भन्ने छुट्याउनका लागि पोलिग्राफ टेस्ट गरिन्छ ।
प्रहरीले उनलाई सोधेको प्रश्नहरुको जवाफ छलछाम पुर्ण (डिसेप्सन इन्डिकेटेड) रहेको पोलिग्राफ परीक्षण प्रतिवेदनमा उल्लेख छ । तपाईले राम प्रगास यादवलाई गोली हान्नु भएको हो कि होइन भन्ने सम्बन्धमा सोधिएका प्रत्येक प्रश्नको साँचो जवाफ दिनु हुन्छ भनि प्रश्न गर्दा दिन्छु भनि भगवान बाबुले जवाफ दिएका थिए । त्यसैगरी तपाईले उसलाई गोली हान्नु भएको हो, तपाईले उसलाई पिठ्यु लगायत अन्य भागमा गोली हान्नु भएको हो, तपाईले उसलाई रातको समयमा चारनाथ खोला छेउमा गोली हान्नु भएको हो लगायतका प्रश्नहरुको जवाफमा उनले होइन भनेका छन् । तर, ती प्रश्नहरुका जवाफमा अझ बढी सुचनाहरु प्रदान गर्न भन्ने सवाल सोध्दा केही पनि अतिरिक्त जवाफ वा सूचना नदिएका कारण उनले दिएका जवाफको सत्यता ०.१ प्रतिशत भन्दा पनि कम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
भगवानलाई छोडाउन मृतककी पत्नीको पहल
आफ्नो श्रीमानको हत्याको अभियोगमा पक्राउ पर्नेलाई हदैसम्मको कानुनी कारवाही हुनुपर्छ भनेर कुनै पनि पीडित महिलाले आवाज उठाउँछन् । जो कोहीले पनि सायद त्यसै गर्छन होला । तर, राम प्रगास यादवको हत्याको अभियोगमा पक्राउ परेका भगवान बाबु साह कलवारलाई रिहा गराउन मृतक यादवकी पत्नी जानकी देवी यादवले गरेको पहललाई लिएर स्थानीयवासीहरु आश्चर्य चकित भएका छन् । भगवानबाबु पक्राउ परेको दुई दिन पछि प्रदिप कुमार यादव, रामबली साह, कारीराम यादव, तेजनारायण यादव, लख्खीचन साह, श्याम किशोर साह लगायतका १० जना स्थानीयवासीहरु घटनाका बारेमा सोध पुछ गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए ।
प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईको कार्यकक्षमा उनकै उपस्थितिमा जानकी देवी यादवले प्रदिप यादवको मोवाईल नम्बर ९८४४०२४५०४ मा फोन गरे । तर, प्रदिपको मोवाईलमा लाउड स्पीकर अन गर्न नसकिने कारण प्रदिपले रामबली साहको ९८४४०२४५०४ नम्बरबाट जानकीलाई फोन गरे । लाउड स्पीकरमा जानकीसँग गरिएको कुराकानीमा जानकीले अरु फसे पनि फसोस तर भगवानबाबुलाई बचाईदिनुस भनेर गुहार गरिरहेकी थिईन । फेरी यताबाट तिम्रो श्रीमानलाई घरबाट बोलाउन आएको मानिस भगवान बाबु नै होइन र भनेर सोध्दा उनी आएको कुरा स्वीकार गरेपनि जानकीले योगनारायण जेल जाओस तर भगवानबाबुलाई रिहा गराईदिनुस भनेर भनेका थिए । जबकी एकातर्फ जानकी देवीले गरेको जाहेरीमा समेत उनलाई अभियुक्त बनाइएको छ ।
अदालत अगाडी नाराबाजी
उक्त दुईवटा घटनासँग जोडिएका भगवान बाबु साह कलवार र राजु गुप्तालाई धनुषा प्रहरीले धनुषा जिल्ला अदालतमा पेश गरेका दिन सबैलाका मोर्चा पक्षका नेता तथा कार्यकर्ताहरुले नारावाजी गरेका थिए । २७ साउनमा नेकपा माओवादीका केन्द्रिय अध्यक्ष मात्रिका यादव सहितको उपस्थितिमा सबैला गाउँबाट करिब ४ दर्जनको संख्यामा आएका मोर्चा पक्षका नेता तथा कार्यकर्ताहरुले अदालतको अगाडी नाराबाजी गरेका थिए । न्याय बेच्न पाइँदैन, सामाजिक एकता जिन्दावाद, दोषीलाई कारवाही गर लगायतका नाराहरु लगाई उनीहरु करिब १ घण्टा भन्दा वढी समयसम्म नाराबाजी गरेका थिए । नाराबाजी गरिरहेको कुरा बुझेपछि १ नम्बर इजलासका न्यायाधीशले मात्रिका यादव लगायतका ५ जना प्रदर्शनकारीहरुलाई बोलाएका थिए । किन नारावाजी गरेको भनेर न्यायाधीशले सोध्दा विगतमा पक्राउ परेका लक्ष्मीनारायण यादवलाई अदालतले तारेखमा रिहा गरेपछि आफुहरु न्यायका लागि नाराबाजी गरेको उनीहरुले भनेका थिए । उक्त वार्तालापमा सहभागी भएका स्थानीयवासी प्रदिप यादवका अनुसार, विगतमा कुन न्यायाधीशले के गरे भन्ने कुरा मलाई थाहा भएन, तर अब अदालतमा प्रस्तुत गरिएको कागज र प्रमाणका आधारमा न्याय दिइनेछ भनेर न्यायाधीशले आश्वासन दिएपछि उनीहरु प्रदर्शन रोकेका थिए ।
राजु गुप्ता पनि पक्राउ
राम सेवक राउत गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई ज्यान लिने प्रयास गरेको अभियोगमा फरार रहेका राजु गुप्तालाई स्थानीय मानिसहरुले २६ साउनका दिन पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाका जिम्मा लगाएका थिए । भगवान साह कलवारको बहस सुन्न जनकपुर आएका मोर्चाका मानिसहरु साँझ साँढे ५ बजे तिर कदम चौक तर्फ गईरहेका बेला गुप्तालाई उनीहरुले लखेटेर समातेका थिए । सबैलाका कारीराम यादव, राम देव यादव, लक्कीचन साह, दिनेश साह, श्याम किशोर साह, तेजनारायण यादव लगायतका समुहले लखेटेर गुप्तालाई पक्राउ गरेका थिए ।
गुप्तालाई थुनामा राखेर वा तारेखमा राखेर अनुसन्धान अगाडी वढाउने भन्ने सवालमा धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको छ । २९ साउन शुक्रबार सम्म पनि बहसको क्रम नटुङ्गिएकोले ३१ साउन आईतबार आदेश आउने बताइएको छ ।
किन भयो घटना ?
सबैला नगरपालिका वडा नं.३ स्थित सबैला बजारले ओगटेको रुद्रेस्वरानन्द प्रधानाङ्गको करिब ३ विघा जग्गा साविक देखि नै पर्ति र गौ चरण रहि सार्वजनिक रुपमा प्रयोग हुँदै आएको थियो । २०४६ साल तिर प्रधानाङ्ग उक्त गाउँबाट बसाई सरी काठमाण्डौका बासी बने । यता उक्त जग्गा एमाले नेता योगनारायण यादवले किनेको हल्ला फैलियो । त्यसपछि २०७० सालको चैत्र महिनामा उक्त जग्गा प्लटिङ्ग पनि गरियो । उक्त कुरा स्थानीयवासीहरुले थाहा पाएपछि प्रतिकारका लागि एकगठमेल भएका थिए । त्यसपछि उक्त जग्गाकै लागि गाउँमा एमाले नेता योगनारायण यादव एकातर्फ र अन्य राजनीतिक दल तथा स्थानीयवासीहरुको अर्को मोर्चा बनेको थियो । मोर्चामा रहेका व्यक्तिहरुले उक्त जग्गामा गई पिलरहरु उखालेर फालिएको थियो । मोर्चा पक्षले अदालतमा मुद्दा गरी जग्गा समेत रोक्का गरेका थिए ।     तर, योगनारायण यादवले पुनरावेदन गरी पुनरावेदन अदालत जनकपुरबाट जग्गा फुकुवा गराएका थिए । त्यसकारण योगनारायण यादव र मोर्चा पक्ष बीचमा आन्तरिक द्वन्द्व र बैचारिक मतभेद बढेको थियो । गाउँका कुनै पनि विकास निर्माणको कार्य होस वा सार्वजनिक सरोकारको विषय, उक्त द्वन्द्वको  छायाँ पर्ने गथर््यो ।
सोही क्रममा उक्त गाउँको मदन आश्रीत निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनका लागि ८ चैत्र २०७१ का दिन उक्त विद्यालयमा अभिभावकहरुको भेला आयोजन गरिएको थियो । योगनारायण यादव पक्षबाट एक जना अध्यक्षका लागि उम्मेदवार भएपनि मोर्चाको पक्षबाट १२÷१३ जना उम्मेदवार भएपछि कुरा मिलिरहेको थिएन । त्यसपछि अध्यक्ष पदका उम्मेदवारले २५ हजार रुपैयाँ र सदस्यका उम्मेदवारले  विद्यालयको खातामा जम्मा गरेको भौचर ९ चैत्रमा विद्यालयमा पेश गरेमा मात्र उम्मेदवार दर्ता हुने र चैत्र २५ गते चुनाव हुने निर्णय गरि उक्त अभिभावक भेला त्यस दिन सम्पन्न भएको थियो । सोही दिन साँझ करिब ८ बजे रामदेव ठाकुरको घरमा आगामी रणनीति तय गर्न मोर्चा पक्षका मानिसहरु स्थानीय रामदेव ठाकुरको घरमा छलफल गरिरहेका थिए ।
     त्यही बेला योगनारायण यादवको नेतृत्वमा आएका समुहले मोर्चाका पक्षका नेता तथा कार्यकर्ताहरु माथि आक्रमण गरेको भनेर उक्त घटनामा घाइते भएका व्यक्तिहरुले प्रहरी समक्ष बयान कागज गरेका छन् । उक्त घटनामा परी घाइते भएका रामसेवक राउतको मृत्यु भएको थियो ।
को–को पक्राउ परे,को–को फरार छन् ?
सबैला घटनाका अभियुक्तहरु लाल विहारी यादव, महेश यादव र महेन्द्र यादव अहिले कारागारमा थुनामा छन् ।
८ चैत्र २०७१ मा अन्दाजी राति १० बजेको समयमा धनुषाको सबैला नगरपालिका वडा नं.१ स्थित मुसहरी टोल बस्ने राम सेवक राउतलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तहरुको खोज तलासका क्रममा फरार मध्येका प्रतिवादी लक्ष्मीनारायण यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको विषेश टोलीले १९ जेष्ठ २०७२ मा पक्राउ गरेको थियो । जिल्लाको पुर्वी क्षेत्र प्रखे महुवा वडा नं.४ स्थित हनुमान चौकबाट सादा पोशाकमा गएको प्रहरीको विशेष टोलीले पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि २० जेष्ठ २०७२ मा धनुषा जिल्ला अदालतमा उपस्थित गराएको थियो । सोही दिन कजरा रमौल वडा नं.१ कोल रमौल बस्ने ४२ बर्षिय प्रतिवादी लक्ष्मीनारायण यादव सँग धनुषा जिल्ला अदालतले बयान लिई आदेश समेत गरेको थियो । अदालतको ६ नम्बर इजलासका न्यायाधिश मुकेश उपाध्यायले गरेको आदेश अनुसार २७ हजार रुपैयाँ धरौटी लिई रिहा गरिएको थियो । तत्काल प्राप्त प्रमाणबाट घटना स्थलमा प्रतिवादी लक्ष्मीनारायण यादव मौजुदै रहेको भन्न नमिली मुलुकी ऐन अदालती बन्दोवस्त ११८ को देहाय ५, १० को अवस्थाको विद्यमानता देखिँदा पछि ठहरे बमोजिम हुने गरी यी प्रतिवादीबाट नगद रु.२७ हजार वा सो बराबरको जेथा जमानत लिए लिई तारेखमा राख्नु अन्यथा सिरहा कारागारमा थुनामा पठाउनु उल्लेख छ । सोही दिन यादवले धरौटी रकम बुझाएर तारेखमा रिहा भए ।
    यस अघि ८ बैशाख २०७२ मा धनुषा जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलासले सोही घटनामा पक्राउ परेका प्रतिवादीहरु महेश यादव, रामविहारी यादव भनिने लाल विहारी यादव र महेन्द्र यादवलाई पुर्पक्षको लागि थुनामा राखि मुद्दाको पुर्पक्ष गर्नु र फरार प्रतिवादीहरुलाई पक्राउ पुर्जी जारी गरिएको आदेश गरेको थियो । सबैला नगरपालिका १ मा बस्ने रामसेवक राउतको श्रीमति सिकिल देवि गडेरी र सोही नगरपालिकाका श्याम किशोर साहले गरेको किटानी जाहेरी सहितको मुद्दामा अदालतले उक्त आदेश गरेको थियो । रामसेवक गडेरीको हत्या गरेको तथा थुप्रै मानिसहरुलाई कुटपिट गरी घाइते बनाएको भन्दै २९ जना विरुद्ध किटानी जाहेरी दिइएको छ । 
कर्तव्य ज्यान सम्बन्धी महलको १३ (३) सम्बन्धि सर्बस्व सहित जन्मकैद र ज्यान मार्ने उद्योग अन्तरगत ५ देखि १२ बर्ष सम्म कैद सजाय माग दावी गरेका सरकारी वकिल तथा जिल्ला न्यायाधिवक्ता पुन्यप्रसाद पाठक भन्छन,“ तिनीहरु तत्काल बच्ने कुनै सम्भावना देखिँदैन । प्राप्त प्रमाण तथा घाइतेहरुले स्वयम गरेको किटानी जाहेरी तथा बयान कागज, घाइतेहरुको घाउ जाँच केश फारम रिपोर्ट, मृतकको शव परीक्षण प्रतिवेदन रिपोर्ट, पक्राउ परेका प्रतिवादीहरुले मेरै सामु प्रहरी अधिकृत समक्ष गरेको बयान कागजका आधारमा पनि उनीहरु जेल जाने लगभग निश्चित छ ।”
    उक्त घटनामा प्रदिप कुमार यादव, उमेश साह कल्वार, दिनेश साह, रामदेव ठाकुर, लखिचन साह, श्याम किशोर साह, रामबली साह गरी ११ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सबैलाबाट घाउ जाँच केस फारम रिपोर्ट प्रहरीले पेश गरेका छन् । त्यसैगरी घाइते रामसागर साहको बयान कागज प्रहरी वृत्त बौद्ध काठमाण्डौ र उसको घाउ जाँच केश फारम प्रतिवेदन समेत पेश गरिएको छ ।
    मृतक राम सेवक गडेरी राउतको पोस्टमार्टम रिपोर्टमा समेत धेरै चोट पटक बताइएको छ । पोस्टमार्टम रिपोर्ट अनुसार मृतक गडेरीको टाउँकोमा धार नभएका हतियारको चोट, दाहिने आँखाको माथि निल, दायाँ तिघ्रा र खुट्टामा चोट मृत्युको प्रमुख कारण बताइएको छ ।
क–कसका विरुद्ध किटानी जाहेरी ?
उक्त मुद्दामा धनुषा साविक सबैला गाविस वार्ड नं.२  हाल सबैला न.पा.वार्ड नं. १ मा बस्ने रामलखन यादवको छोराहरु बर्ष ५० को योगनारायण यादव, बर्ष ४१ को महेन्द्र यादव, बर्ष ४० को जगदीश यादव विरुद्ध किटानी जाहेरी दिइएको छ । त्यसैगरी सबैला कै सुरजनाथ यादवको छोरा बर्ष ५० को महेश यादव, रामेश्वर यादवको छोरा बर्ष ३२ को रामविहारी यादव भन्ने लाल बिहारी यादव, घुरे यादवको छोरा बर्ष ५० को रामबाबु यादव, ऐ.ऐ.मा बस्ने दुःखी यादवको छोरा बर्ष ४४ को लाल विहारी यादव, धनिकलाल यादवको छोरा बर्ष ३० को पुष्पनारायण यादव, रामबृक्ष साहको छोरा बर्ष ४० को फिरन साह, जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं. १ हाल सबैला न.पा.वार्ड नं.१ मा बस्ने किशोरी यादवको छोरा बर्ष २७ को लक्ष्मण यादव विरुद्ध समेत किटानी जाहेरी गरिएको छ । सुखी यादवको छोरा बर्ष ६० को रामविलास यादव, किशोरी यादवको छोरा बर्ष ३१ को प्रदिप यादव, अर्जुन साह तेलीको छोरा बर्ष ४८ को ज्ञानी साह, साविक सबैला गाविस वार्ड नं. ४ हाल सबैला न.पा.वार्ड नं.२ मा बस्ने गुनिया यादवको छोरा बर्ष ४० को बुधेश्वर यादव, सितल लाल यादवको छोरा बर्ष ३२ को राजदेव यादव विरुद्ध मुद्दा परेको हो ।
 जिल्ला धनुषा साविक सबैला गाविस वार्ड नं.५ हाल सबैला न.पा.वार्ड नं. २ मा बस्ने लक्ष्मी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, शिवजी यादवको छोरा बर्ष ४४ को सिताशरण यादव, रामनरेश प्रसाद साह कलबारको छोरा बर्ष ४२ को राजु प्रसाद गुप्ता, माची झिट्कैया गाविस वार्ड नं.६ घर भई हाल सबैला न.पा.वार्ड नं. १ मा बसने महगा राउतको छोरा बर्ष ४४ को देवन यादव भन्ने देवलाल यादव, कजरारमौल गाविस वार्ड नं. १ मा बस्ने चन्द्रकिशोर यादवको छोरा बर्ष ४० को लक्ष्मीनारायण यादव,सबैला न.पा.वार्ड नं.१ मा बस्ने सुरजनाथ यादवको छोरा बर्ष २९ को झोपे यादव,परमेश्वर गडेरीको छोरा बर्ष ५० को जगदीश राउत, जिवछ यादवको छोरा बर्ष ४० को महेन्द्र यादव, जिवछ यादवको छोरा बर्ष ४८ को दुखिया यादव, खुसी यादवको छोरा बर्ष ५८ को रामबृक्ष यादव, ऐ.ऐ.वार्ड नं.७ मा बस्ने रामदयाल यादवको छोरा बर्ष ३८ को जिवछ यादव, झटियाही वार्ड नं.४ मा बस्ने किशोरी साहको छोरा बर्ष ३६ को दुर्गा प्रसाद साह, झटियाही वार्ड नं.७ मा बस्ने रामस्नेही मण्डलको छोरा बर्ष ३० को देवा भन्ने देवनारायण मण्डल र गणेशमान चारनाथ न.पा.वार्ड नं.९ मा बस्ने रामबृक्ष महत्तोको छोरा बर्ष ४५ को अच्छेलाल महत्तो विरुद्ध किटानी जाहेरी दिइएको छ । उनीहरु सबै अहिले फरार रहेका छन् ।







२०७२ श्रावण ३१ गते आईतबार

No comments:

Post a Comment