Tuesday, March 31, 2015

झड्पमा परी सबैलामा २ को मृत्यु

मृतक रामप्रगास यादव । ५ गोली प्रहार गरी 
गरिएको उनको हत्या रहस्यमय छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवादमा धनुषाको सबैला नगरपालिका(१ मा आइतबार राति दुई पक्षबीच भिडन्त हुँदा दुई जनाको मृत्यु भएको छ । १२ भन्दा बढी घाइते छन् । आक्रमणमा गम्भीर घाइते ५२ वर्षीय रामसेवक राउत गडेरीको उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमै मृत्यु भएको हो । रामप्रकाश यादव गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।
सबैलाका पूर्वगाविस अध्यक्ष रामवली साहका अनुसार मदन आश्रति निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनबारे सामाजिक मोर्चा (एमालेबाहेक) का प्रतिनिधिबीच छलफल भइरहेका बेला विवाद भएको थियो ।
हत्या गरिएका रामप्रगास यादवकी बुहारी आशा देवी ।
विद्यालय व्यवस्थापन समिति छनौट सम्बन्धमा छलफल गर्न आइतबार विद्यालयले बैठक बोलाएको थियो । तर, त्यहाँ सर्वसम्मतिले समिति चयन गर्ने अवस्था नबनेपछि अगामी २५ गते चुनाव गर्ने सहमति गर्दै बैठक सम्पन्न भएको थियो । त्यहाँबाट निस्केका कांग्रेस, एमाओवादी, माओवादी र एमालेकै एक पक्ष समेतका कार्यकर्ताको समूहले चुनावमा कसलाई अध्यक्ष उठाउने भन्नेबारे छलफल गर्न स्थानीय रामदेव ठाकुरको घरमा बसेका थिए ।
सोही क्रममा एमालेका वैकल्पिक पोलिट व्यूरो सदस्यसमेत रहेका स्थानीय योगनारायण यादव नेतृत्वको समूहले आएर आक्रमण गरेको एमालेकै गाउँ इकाइ कमिटी अध्यक्ष एवं पूर्व गाविस अध्यक्ष रामवली साहले बताए । मसमेत बैठकमा बसिरहेको बेला योगनारायण आफैँले नेतृत्व गरिरहेको एक समूह आएर अन्धाधुन्ध लाठी र भाटाले हान्न थालेपछि भागाभाग भयो, साहले भने, सोही क्रममा अंगभंग भएका रामसेवक राउतको मृत्यु भयो र मसहित ११ जना घाइते भएका छौं ।

धनुषाको सबैला पुगी मृतक रामसेवक राउतको 
छोरा समक्ष घटना प्रति दुःख व्यक्त गर्दै 
पुर्व प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका
 वरिष्ठ नेता डा.बाबुराम भट्टराई । उनले हत्याको 
दोषीलाई कानुनी कारवाही गराउन आफुले पहल गर्ने बताएका थिए ।
साहका अनुसार घाइते हुनेहरुमा कारीराम यादव (मातृकाको भाइ), प्रदीप यादव, रामवली साह, श्यामकिशोर साह, परशुराम साह, लखिचन्द साह, रामसागर साह, वीरेन्द्रकुमार साह, रामचन्द्र साह, दिनेश साह र रामदेव ठाकुर छन् । उनीहरुमध्ये रामसागर, कारीराम र परशुरामलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीलाई स्थानीय अस्तापलमै उपचार भइरहेको साहले बताए ।
घाइते रामसागर साहको अवस्था चिन्ताजनक छ । उनको उपचार काठमाडौंको एक निजी अस्पतालमा भइरहेको छ । आक्रमणमा परी घाइते भएका राप्रपा नेपालका क्षेत्रिय अध्यक्ष समेत रहेका स्थानीयवासी प्रदिप कुमार यादव भन्छन,“ भोली हुने चुनावमा सबैैको तर्फबाट कसलाई उठाउने र विद्यालयमा मनोनयन दर्ताका लागि लाग्ने २५ हजार रकमबारे रामदेव ठाकुरको घरमा छलफल गरिरहेकै बेला  योगनारायण यादवको नेतृत्वमा  महेन्द्र यादव, जगदीश यादव, महेश यादव, विहारी यादव, हरिकिशोर यादव, राजु गुप्ता, दुर्गा साह, खुनिया भनिने रामबाबु, प्रदिप यादव, जिवछ यादव लगायत करिब ३०÷३५ जनाको समुहले हामीहरु माथि अचानक लाठी तथा घरेलु धारिलो हतियारहरुले आक्रमण गर्न थाल्यो ।  यिनीहरुलाई मा¥यो भने त्यो जग्गा पनि कब्जा हुने र विद्यालय पनि जितिने कुरा गर्दै हामी माथि उनीहरु जाई लागे । हामी सम्लन पनि पाएनौं र घर घरमा लुकेर ज्यान जोगाउन पुग्यौं ।” यता एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले आफ्ना कार्यकर्ताले आक्रमण नगरेको दाबी गरे । समिति गठन विवादमा दुई पक्षबीच भिडन्त हुँदा दुई जनाको मृत्यु भएको उनले बताए ।
धनुषाको सबैलामा अहिले सबै शोकाकुल छन् ।
राजकिशोर यादवका अनुसार सामाजिक मोर्चा सम्बद्ध कार्यकर्ताहरूले रामप्रकाशलाई राति घरबाट बोलाएर लगेर गोली हानी हत्या गरेको दाबी गरे । एमाले सम्बद्ध राजविहारी यादव पनि घाइते भएको उनले बताए ।
सामाजिक मोर्चा सम्बद्ध नेताहरूले एमाले नेता योगनारायण यादव पक्षीय कार्यकर्ताले रामप्रकाश यादवलाई घरबाट बोलाएर बाहिर लगी आफैंले गोली हानी हत्या गरेको आरोप लगाएका छन् । नेकपा माओवादीका अध्यक्ष मातृका यादवले भने, ‘रामसेवक राउतको मृत्यु भएको सूचना पाएपछि मोर्चाका नेताहरूलाई फसाउन उनीहरूले आफैं हत्या गरेका हुन ।
पक्षघातका कारण राम्ररी हिँडडुलसमेत गर्न नसक्ने रामप्रकाश यादवकी बुहारी आशादेवी यादवले राति २ बजे पिसाब फेर्न बारी (घरपछाडि) गएका आफ्ना ससुरा फिर्ता नआएको बताइन । बाउ (ससुरा) लाई गोली ठोकेर हत्या गरेको सूचना बिहान पाएँ, आशादेवीले भनिन् ।
घाइते प्रदिप कुमार यादव ।
मृतक रामप्रकाश यादवका तीन छोरा दिलीप, राजेश र राकेश वैदेशिक रोजगारीमा छन् । राति घरमा उनीसहित श्रीमती र बुहारीहरूमात्र थिए । प्रहरी उपरीक्षक गणेशबहादुर थापाले विद्यालय व्यवस्थापन समिति गठन विवादमा दुई पक्षबीच भिडन्त भएको उल्लेख गर्दै थप अनुसन्धान भइरहेको बताए । अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिइएको उनले जनाए ।
आइतबार साँझ झडपको क्रममा घाइते भएकाहरु उपचार गराउन सबैतिर निस्केपछि तत्काल माहोल शान्त देखिएपनि राति करिब एक बजेको समयमा फेरि रामप्रकाश यादवलाई गोली हानी हत्या गरिएको स्थानीयले जनाए । गोली हानेर हत्या गरी यादवलाई साँझ झडप भएकै स्थान नजिक बालुवामा छोपेर राखिएको अवस्थामा सोमबार बिहान शव फेला परेको उनीहरुको भनाइ छ । यसैबीच घटनाको छानबीन गर्न त्यहाँ पुगेका जिल्ला प्रहरी प्रमुख एसपी गणेशबहादुर थापाले प्रारम्भिक अनुसन्धानले दुईतर्फी झडपको स्थिति देखिएको बताएका छन् । उनले थप अनुसन्धान जारी रहेको प्रतिक्रिया दिए । स्थानीयका अनुसार प्रहरीले रातिको घटनामा घाइते भएका एमाले पक्षीय राजविहारी यादव, महेन्द्र यादव तथा विहारी यादवलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार घटनाको तात्कालिक कारण विद्यालय व्यवस्थापन समितिको विवाद बताइए पनि सबैलाको मुख्य विवाद भूमिसम्बन्धी हो । नेकपा माओवादी अध्यक्ष मातृकाका अनुसार सबैलाका तत्कालीन जमिन्दार रुद्रेश स्वरानन्द प्रधानांगले बलजफ्ती कब्जा गरी आफ्नो नाममा दर्ता गराएका अढाई बिघा जग्गासम्बन्धी विवादका कारण यो घटना घटाइएको हो ।
२०४६ सालमा गाउँ छाडी गएका प्रधानांगको नाममा दर्ता रहेको उक्त जग्गा वषौंर्देखि खेल मैदान, हाट बजार तथा दुर्गा मन्दिरको भोगचलनमा छ । पछिल्लोपटक उक्त जग्गा योगनारायण यादवले अधिकृत वारेसनामामार्फत बिक्री गर्न लागेको सूचना पाएपछि त्यसविरुद्ध गाउँले एकजुट भएका थिए । सार्वजनिक जग्गा सार्वजनिक भोगचलनमा रहनुपर्ने भन्दै उनीहरूको सर्वपक्षीय बैठकले सामाजिक मोर्चा गठन गरेको स्थानीय तेजु यादवले बताए । मोर्चामा एमाले सम्बद्ध रामवली साहसँगै नेपाली कांग्रेस, एमाओवादी, राप्रपा नेपालसहितका अधिकांश पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
धनुषामा यसअघि पनि यस्तै विवादमा दुई जनाको हत्या भइसकेको छ । २०६६ फागुन २५ मा जनता माध्यमिक विद्यालय शिवपुर(२ मा विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवादमा भिडन्त हुँदा सोही गाउँका मोहम्मद अहमद रेजा भनिने काले राइनको मृत्यु भएको थियो । २०६८ साउन ६ मा मध्य धनुषाको झटियाहीस्थित माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन विवादमा रामएकवाल मण्डलको मृत्यु भएको थियो ।
यसैबीच एमाओवादी नेता बाबुराम भट्टराईले सबैलाको स्थलगत निरीक्षण गरी पीडित परिवारसँग भेटेका छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत गरेका छन् । सहिद अजवलाल यादवको १३औं स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्न आएका भट्टराईले सदरमुकाम जनकपुरबाट झन्डै २५ किलोमिटर पूर्वस्थित सबैला पुगी पीडित परिवारलाई भेटेका हुन् ।
नेता भट्टराई मृतक रामप्रकाश यादव तथा रामसेवक यादवको घर पुगी घटनाको जानकारी लिएका थिए । पछि जनकपुरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमाले पोलिटब्युरो सदस्यको नेतृत्वमा दुई जनाको हत्या गरिएको आरोप लगाए ।


२०७१ चैत्र १५ गते आईतबार

1 comment:

  1. A very sad news, these guys need to be hanged.

    A true leader of madhesh, Click here to meet him

    ReplyDelete