Tuesday, March 31, 2015

शान्तिपुर वस्तीको आक्रान्त कथा साहुमहाजन ऋणि महिलालाई भन्छन–‘इज्जत बेचेर भएपनि ऋण चुक्ता गर’

साहुमहाजनको ऋणबाट बस्तीबाटै विस्थापित हुने 
अवस्थामा पुगेका शान्तिपुरका महिलाहरु ।
शैलेन्द्र महत्तो क्रान्ति
जनकपुरधाम............
ऋण तिर्न नसक्दा विस्थापित हुँदै घरपरिवार शान्तिपुरको वस्तीमा शान्ति त कता हो कता ऋणको भारीले वस्तीका धेरै जसो घरपरिवार अक्रान्त बनेका छन् । धनुषाको शान्तिपुर गाविस १ बजार नजिकको करिब ७० घरधुरी रहेको सो वस्तीमा अति दयनीय अवस्थाका घरपरिवारहरु छन् ।
गरीबीको चपेटामा परेका प्रायः धरै जसो घरपरिवार आफ्ना क्षमता भन्दा कयौं गुना बढी ऋणको चपेटामा परेका छन् । दैनिक जिवनयापनको क्रममा ऋण लिएका उनीहरुलाई ऋण कसरी तिर्ने भनेर दिनरातको चिन्ताले सताएको छ । आवश्यक्ता परिपूर्ति गर्न विभिन्न वितीय संस्था ,बैंक एवं साहुमहाजनबाट लिएको ऋण  तिर्न नसक्दा कतिपय परिवार घरबार विहीन नै भएका छन् भने अझै विस्थापत  हुने क्रम जारी छ । थारु, दनुवार र मुसलिम र खत्वेहरुको वोसोबास रहेको सो वस्तीमा ऋण चुक्ता गर्न नसक्दा वितीय बैंक एवं साहु महाजनको साँझ विहानको यात्ना भोग्न बाध्यछन् स्थानीयहरु । केहि घरपरिवारको भएको दुई चार धुर घडेरी पनि ऋण असुलीको नाउँमा साहुमहाजनले कब्जा गरिसकेका छन् । यात्ना दिन्छन् भन्ने डरले उनीहरु साहुमहाजनको नाम समेत उच्चारण गर्न सकिरहेका छैनन् । 
यस्तो छ ऋणमा डुबेका घरपरिवाहरुको व्यथा  
प्रितम सिंहको दुर्दशा
हिँडडुल गर्न नसकेपछि खाटमा थला परेका प्रितम सिंह
र उनकी श्रीमति भदिया देवी सिंह ।
शान्तिपुर १ बस्ने ६५ वर्षीय प्रितम सिंह र उनकी श्रीमती ६० वर्षीया भदिया देवी सिंहको अवस्था घर न घाटको छ । घरमा मात्र दुई जना बुढाबुढी छन् । घरको आर्थिक अवस्थाले प्रितम सिंह खान नपाएर विरामी भई केहि महिनादेखि थला परेर खाटमै दिनरात आँसु बगाउनु बाहेकको अन्य कुनै विकल्प छैन । उपचार गराउने पैसा छैन । त्यसैले उनी हिडडुल र उठ बस गर्न नसकेर खाटमै थला परेका छन् । उनकी श्रीमती भदिया देवी त्यती हिँड्डुल गर्न सक्दिनन् । तर, गाउँकै छरछिमेकबाट भिक्षा मागेर ल्याई जसोतसो दुईछाक गुजारा चलाउँदै आएका छन् । उनीहरुको सन्तान नभएको पनि होइन । चार छोरी र एक छोरा छन् । छोरीहरु विहेवारी भई आ आफ्ना घर गईन् । एक छोरा ३० वर्षीय रामेश्वर सिंह ऋणकै कारण साहुमहाजनको यात्ना खेप्न नसकेर पाँच महिनादेखि श्रीमती छोराछोरी लिएर वृद्धवृद्धा आमाबुवालाई घरमै छाडेर फरार छन् ।
प्रितमको सम्पतिको नाममा मात्र दुई कठ्ठा घडेरी छ । खाटबाटै प्रितमले रुदै भने, “बाबु हामीलाई हेर्ने कोही पनि छैन । एक छोरो छ त्यो पनि काम लागेन । म जस्ता अभागीलाई त कालले पनि लग्दो रहेनछ । कालले कहिले लैजाला अव त्यही प्रतिक्षामा छु । अव यो संसारबाट आश मरिसक्यो । गरीबको त कोहि पनि हुँदैन ।”
त्यस्तै उनकी श्रीमती भदियादेवीले भनिन, “मागीचुडी बुढाबुढी जेनतेन जिवन काट्दै छु, हामी जस्ता असहायलाई कसैले सहयोग गर्दैनन् । सरकारले भन्छन् गरीबहरुलाई सहयोग गर्छन् तर खै हाम्रा लागि केही गरेको ?” । आफुहरुलाई सहयोग गर्न उनी सरकारसँग गुहार लगाइरहेकी छिन् ।”
छोरीलाई एक्लै छोडेर नजाम परिवारसहित विस्थापित 
शान्तिपुर १ बस्ने ४० वर्षका  मो. नजाम नटको घरपरिबार विभिन्न वितीय संस्था र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकी एक छोरीलाई एकलै  छोडेर परिवारसहित फरार भएका छन् ।  नजाम नट साहुमहाजनको उकुसमुकस एवम यात्ना खेप्न नसकी बाध्यभएर १२ वर्षीया छोरी रनिया खातुनलाई घरमै छाडेर परिवारका अन्य दूई छोरी , तीन छोरा , श्रीमती र एक बहिनीसहित  वस्ती छोडेको छिमेकी चन्द्र मण्डलले बताए । मण्डलका अनुसार नजामले घरमा छोडेर गएकी छोरी रनिया विचल्लीमा परेकी छिन् । रनिया अर्काको घरमा कामकाज र मजदुरी गरी गुजारा गर्दै छिन् । स्थानीयका अनुसार केहि महिना अघि नजामको घरको छानोमा बालुवा सिमेन्टीले बनाएको टाली थियो तर साहु महाजनले त्यो टाली र घरको सरसमान समेत लगेपछि अहिले उनको छानोमा पराल छ ।
सहजादी खातुनको पिडा
शान्तिपुर १ बस्ने ४५ वर्षीया सहजादी खातुनको परिवारमा श्रीमान अख्तर शेख , तीन छोरा र तीन छोरी गरी आठ जना जम्मा परिवारका सदस्यहरु छन् ।  सम्पतिको नाममा १४ धुर घडेरी मात्र छन् । सहजादीका अनुसार उनका श्रीमान अख्तर चाँही बरफ बेचेर घरपरिवारको जोहो गरिरहेका छन् । आठ जनाको परिवार पाल्न धौधौ छ । कहिलेकाँही जनमजदुरी गर्ने गरेका छन् । तर सहजादीले विभिन्न आठ वटा वितीय संस्थाहरुबाट चारलाख भन्दा बढी ऋण लिएका छन् । जसको ऋण र व्याज तिर्न नसकेर साँझ विहान वितिय संस्थाका हाकिमहरुको भनाई र गाली खानु परेको छ । घरव्यवहारको लागि थोरै पैसा ऋण लिएका तर छिमेकहरुले विश्वास दिदै आफुलाई ऋण निकालिदिनुस् हामी समयमै तिरी दिन्छौ भनेर निकाल्न लगाए अहिले कसैले नतिरेपछि आफु अपठेरोमा परेको सहजादीको गुनासो छ । सहजादी भन्छिन, “ हामी यति ऋण कहाँबाट तिर्नु , श्रीमानले जेनतेन बरफ बेचेर घरपरिवार चालाउनु हुन्छ , हाम्रो त क्षमता भन्दापनि कयांै गुणा बढी ऋणको भारी छ । घरघडेरी बेचेर पनि तिर्न सक्दैनौ । साँझ विहान बैंकका कर्मचारीहरु आएर गाली बेज्जती गर्छन् अव हामीले के गरुँ ? भन्छन् ईज्जत बेचेर भएपनि पैसा देऊ । हामी त जिउँदै मरेजस्तो भएका छौ । केहि दिनमा वस्ती नै छोडेर जानु पर्ने बाध्यत आउँछ ।  कुनै उपाय छैन । सरकारले हामीलाई सहयोग गर्नु प¥यो ।” 
विस्थापित घरपरिवार र परिवारको सदस्य
१. रामेश्वर सिंह ः श्रीमती छोरा छोरी सहित परिवारका ५ जना सदस्य ,
२.सरस्वती देवी सिंह ः परिवारका ५ जना सदस्य
३.मो.नजाम नट ः परिवारका ८ जना
४.सुरेन्द्र सिंह ः परिवारका ४ जना र
५.पलब सिंह ः परिवारका ५ जना 
अनुठा खातुनको ऋणको बोझ
पच्चीस वर्षकी अनुठा खातुन पनि ऋणकै भारीले चेपिएकी छन् । एक छोरा र एक छोरीकी आमा अनुठाले पनि विभिन्न सात वटा वितीय संस्था र साहुमहाजनबाट ऋण लिएर स्थानीय छरछिमेकलाई सहयोग गरे । श्रीमान वैदेशिक रोजगारको शिलशीलामा कतारमा छन् । श्रीमानलाई नसोधीकन उनले छरछिमेकले मागे  अनुसार विभिन्न वितिय संस्थाबाट दुई लाख भन्दा बढी ऋण काढेर सहयोग गरिन ।
    तर अहिले कसैले नतिरे पछि आफु समस्यामा परेको उनको भनाई छ । सम्पतिको नाममा आफु बसेको दुईधुर घडेरी मात्र छ । उनी भन्छिन, “ऋण लिने बेला श्रीमानलाई नसोधिन । अव श्रीमाले भन्नु हुन्छ मैले कसैको ऋणसिन जान्दिन तीमी आफै पुर । म कहाँबाट ल्याउँनु । म त बर्बाद भएछु । साहु महाजनले गाली गर्छन् । बाख्रा फुकाल्न आउँछन् । सरसमाज उठाउन आउँछन् । म के गरुँ ? । यसरी नै उनीहरु जस्तै ऋणको बोझमा धेरै घरपरिवाहरु थिचिएका छन् । दिनरात उनीहरुलाई ऋणको चिन्ताले पिरोलेको छ । 
रोजहा ऋणले निम्त्याएको छ यस्तो दयनीय
एक दिनको लागि लिएको ऋणलाई यहाँ रोजहा ऋण भनिन्छ । यो ऋणको व्याज अति नै महँगो हुन्छ । स्थानीय गीता सिंहका अनुसार यो वस्तीमा  रोजहा ऋणको कारोबार हुन्छ । धेरै जसो परिवार केहि वर्ष अघि निकै रोजहा ऋणको साहुमहाजनसंग कारोबार हुन्थ्यो । रोजहा ऋणमा रु. पाँच हजारको दिनको एक सय रुपैया व्याज हुन्छ । महिना भरी राख्यो भने पाँच हजारको तीन  हजार रुपैया व्याज नै हुन्छ । त्यसपछि फेरी व्याजको स्याज जोडिन्छ । यस्तो रोजहा ऋणको एक लाख रुपैयाको एक महिनामा व्याज मात्र ६० हजार हुन्छ । पहिला थोरै पैसा ऋण उठाएका उनीहरुले त्यही ऋणको भारी वितीय संस्थाहरुबाट लिएर तिरेपछि यस्तो दुरावस्था आएको हो ।  नागरिकताले नै ऋण पाउन थालेपछि यताबाट उठाएको ऋण उत्ता र उत्ताबाट यता गर्दागर्दै सबैको यस्तो कठिन समस्या उत्पन्न भएको स्थानीयहरु बताउँछन् । रोजहा ऋण लगानीले स्थानीय केहि साहुमहाजन त मोटाएका छन् तर ऋण तिर्न नसकेर स्थानीयहरु यात्ना खेप्न बाध्य छन् । दिनरात वस्ती नै ऋण कसरी चुक्ता गर्ने सोँचमा रहने गरेको स्थानीय गीताको भनाई छ ।
राष्ट्रपति र राष्ट्रपति पुत्रलाई जिताएर पठाएदेखि हाम्रो अवस्था हेर्न कहिल्यै आएन
शान्तिपुर गाविस धनुषाको क्षेत्र नं. ५ मा पर्छ । जहाँबाट पहिलो संविधानसभाको चुनावमा बर्तमान राष्टूपति डा.रामबरण यादव निर्वाचित हुनु भएको थियो । भने दोश्रो संविधान सभामा उहाँको छोरा डा.चन्द्रमोहन यादव । जितेर गएदेखि बाउ छोरा हालसम्म आफुहरुको हालत हेर्न नआएकोमा उनीहरु आक्रोषित छन् ।
उनीहरु भन्छन् ‘पहिलो संविधानसभामा डा.रामबरण यादवलाई भोट दिएर जिताएँ । उनी जितेर गएपछि हाम्रै आशिर्वादले गणतन्त्र नेपालको प्रथम राष्टूपति बन्न सफल भए । देशको गरिमामय पदमा आशिन हुनु हाम्रो लागि गर्वको कुरा हो । तर डा.यादव राष्टूपति बन्दासमेत हामी कस्तो अवस्थामा छौं भनेर हेर्न आएका छैनन् । उनले भोट लिने बेला थुप्रै आश्वासन बाँडेका थिए । तर हेर्न समेत आएका छैनन् । ’     आक्रोष पोख्दै उनीहरुले भने ‘बाऊ राष्टपति भए आउन सकेन् । धेरै जिम्मेवारी छ । छोरा डा.चन्द्रमोहानले  पक्कै हाम्रो लागि केही गर्छन् भनेर दोश्रो संविधानसभाको जिताएर सिंह दरबार पठायौं । तर उ पनि बाउ जस्तै भयो । चुनावको बेला नेताहरु आएपछि विभिन्न प्रलोभन दिन्छन्, भोट लिन्छन्, जीते पछि सबै विर्सिन्छन् । अव को माथि विश्वास गरुँ । हामीहरुको घाउमा मलम लाउने कोही छैनन् । कसलाई के भनौं । 
हाल सम्म दुई वर्षको अवधिमा शान्तिपुर १ चन्द्रपुर वस्तीका पाँच ऋण चुक्ता गर्न नसक्दा पाँच घरपरिवार विस्थापित भएका छन् । पाँच घरपरिवारका २७ जना वस्ती छोडेर फरार छन् ।



२०७१ चैत्र १५ गते आईतबार

No comments:

Post a Comment