Monday, November 10, 2014

ग्यासको कालोबजारी स्थानीय प्रशासन मौन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा दशैं पर्व अघि नै सुरु भएको ग्यासको कृत्रिम अभाव तथा कालोबजारी छठ पर्व वितिसक्दा पनि हालसम्म जारी नै रहेको छ । दशैं पर्वमा जनकपुरबाट बाहिर बसेका मानिसहरु फर्किएर छठ पर्वसम्म रहने हुनाले ग्यास विक्रेताहरुले मोटो रकम आर्जन गर्नका लागि कालोबजारी गर्ने गरेको छ ।  १ हजार ४ सय ५० रुपैयाँ खुद्रा मुल्य रहेको प्रति सिलिण्डर बजारमा रु. २ हजार सम्ममा ग्यास विक्रेताहरुले विक्री गर्ने गरेको छ । पसलमा ग्यास माग्न जाँदा ग्यास छैन, भनेर विक्रेताहरुले सिधा जवाफ दिन्छन् । लिनु नै छ भने अलि बढी दाम दियो भने कुनै व्यवस्था गर्न सक्छु भनेर मनमौजी रकम तिरेर उपभोक्ताहरु खाने पकाउने ग्यासको सिलिण्डर किन्न बाध्य छन् । कालाबजारी रोक्नु पर्ने जिम्मेवारी पाएका धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गाना टुलु टुलु हेर्न बाध्य छन् । 
रमाइलो कुरा त के हो भने आम उपभोक्ता झैं सिडिओ ढुङ्गाना पनि काला बजारीका शिकार भएका छन् । ११ कार्तिकमा सिडिओ ढुङ्गानाले आफ्नो भान्से र एक जना प्रहरी कर्मचारीलाई ग्यास किन्न राम चौक स्थित मेनुका टेन्ट हाउसमा पठाउँदा रु. १ हजार ४ सय ५० पर्ने खाना पकाउने सिलिण्डरलाई रु. २ हजारमा किन्न बाध्य भए । मेनुका टेन्ट हाउसमा रहेका कामदार श्याम साहले रु. १ हजारको नोट सि.नं. ख÷२१ ५४३९५७ र अर्को १ हजारको नोट सि.नं. ग÷७२ ७९८०५० लिएका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरी ल्याउँदा छठ पर्व भएका कारण कार्तिक १६ गते उपस्थित हुने जिम्मा जमानीमा छोडिएको थियो । १६ गते उपस्थित भएका साहलाई थुनामा राखि कालाबजारी मुद्दा अन्तरगत आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको प्रजिअ ढुङ्गानाले द एक्सक्लुसिभलाई बताएका छन् । तर, जनकपुर अञ्चल ग्यास व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन,“प्रमुख जिल्ला अधिकारीसँग ग्यास विक्रेताले वढी मुल्य लिएको छैन । प्रजिअ ढुङ्गानाले नोबेल ग्यासको सिलिण्डर पठाएको थियो र मनोज ग्यासको सिलिण्डर लिएर गएका कारण ५ सय रुपैयाँ धरौटी वापत लिइएको हो ।”
ग्यासको कालोबजारी भएपछि १६ कार्तिकमा जनकपुर यूथ डेभलोपमेन्ट फोर्सका यूवाहरु रामानन्द चौक स्थित राजकरण साह प्रोपराइटर रहेको अनुप टेूडर्समा गएर ग्यास वितरण गराएका थिए । उक्त फोर्सका संयोजक समितिका सदस्य समेत रहेका ज्ञानेन्द्र झा ज्ञानुका अनुसार उक्त पसलमा ग्यास किन्न जाँदा उपभोक्ताहरुलाई ग्यास छैन भनेर प्रोपराइटर साहले फर्काउने गरेका थिए । तर जव उसको गोदाममा यूवाहरुले खोजी गर्दा करिब ८०÷८५ वटा जगदम्बा ग्यासको सिलिण्डर राखेको पाइयो । यसले पनि ग्यास विक्रेताहरुले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरिरहेको पुष्टि हुन्छ, झाको भनाई छ । त्यसैगरी १५ कार्तिकमा ती यूवाहरुले रामानन्द चौकमै रहेको किरण टेूडर्सको २ सय सिलिण्डर वितरण गरेका थिए । 
एकातर्फ ग्यास कम्पनीहरुले ग्यासको आपुर्ति नै नगरिरहेको ग्यास विक्रेताहरुले भनिरहेको भएपनि रातिको समयमा मान्छेहरु सुतिरहेको बेला ग्यास विक्रेताहरुले टूक मार्फत ग्यास लिने गरेको समेत पाइएको छ । १७ कार्तिकमा रातको समयमा मनोज ग्यासको एउटा टूकले ग्यास सिलिण्डर ग्यास विक्रेतालाई दिइरहेको अवस्थामै स्थानियवासीहरुले फेला पारेपछि प्रहरीले उक्त टूकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । 
जनकपुर अञ्चल ग्यास व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन,“भानु चौक एरियामा दिनको समयमा ग्यास टूकको लागि नो एन्टूी जोन तोकिएको छ । त्यसकारण राति टूक आउने गर्छ । नो एन्टूी जोन हट्यो भने दिनमा पनि ग्यासको टूक आउन सक्छ ।” चौधरी भन्छन,“ जनकपुरमा ग्यासको कालोबजारी भएको छैन । एक महिनामा करिब २० देखि २५ हजारसम्म सिलिण्डरको माग रहेको ठाउँमा ३० देखि ३५ प्रतिशतसम्म मात्र आपुर्ति भएपछि ग्यासको अभाव भएको हो ।” धनुषा जिल्लामा करिब ५५ देखि ६० हजारसम्म ग्यास सिलिण्डरका उपभोक्ता छन् । जनकपुरमा नोवेल, मनोज, सुपर, सहारा, नारायणी, लियो बारा, कोशी, जगदम्बा, अम्बर, प्रिमा लगायतको ग्यास कम्पनीहरुका आधिकारिक विक्रेता छन् । १ सय १३ जना कुल आधिकारिक ग्यास विक्रेता रहेकोमा ८० जना नोबेल ग्यास कै विक्रेता छन् । जनकपुरमा खपत हुने ग्यासहरु मध्ये ८० प्रतिशत जति नोबेल ग्यासकै उपभोक्ता पनि छन् । हुन त जनकपुरमा साइकल पसल, पान पसल, किराना पसल लगायतका पसलहरुमा समेत अवैधानिक तरिकाले ग्यासको  खुद्रा विक्री गर्ने गरिएको छ ।
समाधानको लागि बीचको बाटो
१४ दशमलव २ किलोको एलपी ग्यास धनुषामा अब ७ दशमलव १ किलो मात्र बिक्रि हुने भएको छ । ग्यासको हाहाकारलाई न्यनीकरण गर्न ७ दशमलव १ किलो मात्र आपुर्ति गर्न सहमति भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङगानाको विशेष पहलमा बुधवार बसेको स्थानिय ग्यास व्यवसायहीहरुको बैठकद्वारा १४ दशमलव २ किलोको आधा मात्र भर्ती गरेर जिल्लामा वितरण गर्ने सहमति भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी ढुङगानाका अनुसार उपभोक्तालाई ठगी हुनबाट बचाउन सिलिन्डरमा ७ दशमलव १ किलो मात्र भएको भनी स्पष्ट रुपमा लेख्ने र सेवाग्राहीहरुसंग ७ सय २५ रुपैया मात्र लिने विषयमा समेत सहमति भएको छ । हाल १४ दशमलव २ किलो ग्यासको मुल्य १ हजार ४ सय ५० भएकाले ७ दशमलव १ किलो ग्यासको मुल्य ७ सय २५ मात्र निर्धारण गर्ने विषयमा सहमति भएको उनले जनाए । नोवल ग्यास उद्योगसंग उक्त विषयहरुमा सहमति भएको जनाउदै उनले अन्य कम्पनीहरुलाई समेत सम्पर्क गरी बैठक निर्णयको विषयमा पत्राचार गरिने उनले बताए ।  उक्त निर्णयबाट जिल्लामा देखिएको एलपी ग्यासको हाहाकारमा न्युनीकरण हुने अपेक्षा गरिएको छ ।


२०७१ कार्तिक २३ गते आईतबार

No comments:

Post a Comment