Monday, November 10, 2014

मोदीको जनकपुर भ्रमणका लागि सुरक्षा तथा स्वागत तयारी सुरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यहि आगामी मंसिर ९ गते हुने भनिएको जनकपुरधामको आसन्न भ्रमणका लागि तयारी सुरु गरिएको छ । प्रधानमन्त्री बनेर पहिलो पटक नेपाल भ्रमण गर्न आउँदा नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै सार्क शिखर सम्मेलनमा आउँदा ‘राजर्षी जनकको चरणलाई नमण गर्न जनकपुरधाम’ पक्कै आउने छु , भनेर मोदीले भनेका थिए । हुन त उनी त्यसबेला पनि जनकपुरधामको भ्रमण गर्ने इच्छा जाहेर गरेका थिए । तर, सुरक्षा व्यवस्थाका कारण उनी आउन नसकेको पछि बताइएको थियो । यस पटक नेपाल आउँदा उनले जनकपुरधामबाटै प्रवेश गर्ने तयारी गरिएको छ । भारतको कुनै पनि प्रधानमन्त्री जनकपुरको जानकी मन्दिर दर्शन गर्न यस अघि आएका थिएनन् । मोदीको जानकी दर्शनले जनकपुरको राजनीतिक, धार्मिक तथा ऐतिहासिक महत्वलाई फेरी एक पटक राष्टिूय तथा अन्तर्राष्टिूय मञ्चमा वढ्नेछ । भारत विहारकै पटनामा एउटा कार्यक्रमलाई सम्बोधन गरेर सडक मार्गबाटै नेपाल भारतको सिमा नाका मार्फत जनकपुर प्रवेश गर्ने बताइएको भएपनि सुरक्षा थ्रेट र सडकको जीर्ण अवस्थाका कारण उनी हवाई मार्ग मार्फत नै आउने सम्भावना प्रवल देखिएपनि कसरी आउने हो भन्ने कुराको यकिन भईसकेको छैन । हुन त धनुषाका सुरक्षाकर्मीहरु तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुङ्गानाले समेत मोदी जनकपुर आउने भन्ने कुराको केन्द्रबाट कुनै आधिकारिक पत्र नआएको तर आफुहरुले पनि मोदी आउने भन्ने चर्चा सुनेको बताउँछन् । जानकारहरुका अनुसार मोदी विश्वकै सर्वाधिक सुरक्षा थ्रेट भएका व्यक्तिहरुमध्ये एक भएका हुनाले पनि सुरक्षा प्रमुखहरुले सुरक्षा सम्बेदनशिलताका कारण केही पनि नभनेको हुनसक्ने आँकलन गरिएको छ । तर, पछिल्लो केही दिन देखि जनकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मी सहित गृह प्रशासनका उच्च ओहदाका कर्मचारीहरुले दिनैपिच्छे गरिरहेको स्थलगत अनुगमन तथा वस्तु स्थितिको अध्ययन समेत गर्न थालिनुले मोदीको आसन्न भ्रमणको सुरक्षा तयारी सुरु भईसकेको जनाउ दिन्छ । कार्तिक १७ र १८ गते स्पेशल प्रोटेक्सन ग्रुप एसपिजीको टोलीले जनकपुरको भ्रमण गरिसकेको छ । उक्त एसपिजी टोलीमा नेपाली प्रहरीका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, नेपाल सेनाका प्रमुख सेनानी, राष्टिूय अनुसन्धानका प्रमुख जितबहादुर केसी, सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक जानकी राज भट्टराई, गृहमन्त्रालयका सचिव लगायतको टोलीले जनकपुर र सिमा क्षेत्रको सुरक्षा अवस्थाको जायजा लिएर फर्किसकेको छ । उक्त टोलीमा भारतीय सुरक्षा अधिकारीहरु समेत सहभागी रहेको थियो । त्यसपछि फेरी अर्को दिन मध्यमाञ्चल क्षेत्रिय प्रशासक शंकर कोइराला, मध्यमाञ्चल क्षेत्रका डिआईजी प्रकाश अर्याल, मध्य क्षेत्रका सशस्त्र बाहिणीपति शैलेन्द्र खनाल लगायतको टोलीले सुरक्षा अवस्थाको बारेमा जनकपुरमा आएर अवलोकन गरेको छ । अहिले धनुषामा नेपाल प्रहरीको ४६ वटा प्रहरी यूनिट, जनकपुर सहर भित्र ३२ वटा पिकेट, जिल्ला प्रहरी कार्यालय धनुषाबाट २ वटा मोवाईल गस्ती २४ घण्टे, मुजेलिया, जिरोमाइल, जानकी प्रहरी चौकीबाट समेत मोवाईल गस्ती जिल्लामा खटाइएको धनुषाका प्रहरी प्रमुख गणेश बहादुर थापा क्षेत्रीले बताएका छन् । त्यसैगरी ४ वटा मोटरसाईकलमा ८ जना मानिस, सिभिलमा क्राइमको टोली लगायत साइकल, पैदल समेत गस्ती टोली खटाइएको एसपी क्षेत्रीले बताए । अहिले धनुषामा करिब ९ सय ३० जना भन्दा वढी प्रहरीहरु सुरक्षाका लागि परिचालित भएका छन् ।
भारतीय स्वास्थ्य टोलीद्वारा अस्पतालको अनुगमन
भारतीय स्वास्थ्यकर्मीहरुको एक टोलीले जनकपुर अञ्चल अस्पतालमा पुगेर स्वास्थ्य सुविधाहरुको अवस्थाबारे जानकारी लिएको छ । भारतीय राजदुतावासमा काम गर्ने चिकित्सक जयकुमार ठाकुर र एक जना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खास चिकित्सकले अस्पतालको सेवा सुविधाबारे जानकारी लिएको हो । उक्त टोलीले अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.कल्पना बछाड, पुर्व मेसु डा.गौराङ मिश्रलाई अस्पतालमा भेटेर अस्पतालमा रहेका चिकित्सकहरु, सेवा सुविधाहरुको बारेमा जानकारी लिएर फर्केको छ । जनकपुर भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीलाई यदि कहिँ कतैबाट आक्रमण भयो भने उपचारको लागि व्यवस्था तन्दरुस्त राख्नका लागि पुर्व तैयारी स्वरुप उक्त टोलीले अस्पतालको अनुगमन गरेको थियो । उक्त टोलीले खास गरी आइसियू भवन, सर्जन, अपरेशन थिएटर र जाँचका लागि उपकरणहरु के के उपलब्ध रहेको तथा के के अभाव रहेको भन्ने जानकारी लिएर फर्किएका छन् ।
भारतीय राजदुतको भ्रमण
भारतीय राजदुत रञ्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणका लागि छलफल गर्न सोमबार जनकपुरमा राजनीतिक दल, केही कानुन व्यवसायी, उद्योगी लगायतलाई बोलाएर लञ्च बैठक दिएका थिए ।
सभासदहरु समेत रहेको उक्त बैठकमा सुरक्षा, स्वागत लगायतका विषयमा भन्दा जनकपुरधामको विकास निर्माणका लागि भारतीय सरकारले सहयोग गरिदिनुपर्ने माग सहित अनुरोध गरेका थिए । धनुषाधाम, ठेरा कचुरीको मिथिला बिहारी मन्दिरको निर्माणदेखि बृहत्त परिक्रमा निर्माण सम्मको माग राजदुतलाई सुनाइएको थियो ।
बैठकमा सभासदहरु डा. अमरेश कुमार सिंह, रामकृष्ण यादव, दीपनारायण साह, रामसिंह यादव, दिनेश प्रसाद साह, प्रतिक्षा तिवारी, नेकाँ धनुषाका सभापति रामसरोज यादव, ईञ्जिनियर शलिग्राम सिंह, पूर्ब सभासद कोशलयादव, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिवशंकर प्रसाद साह, महासचिव जितेन्द्र प्रसाद साह, नेपालभारत मैत्री महिला संघकी अध्यक्ष चन्दा चौधरी, नेपालभारत मैत्री संघ धनुषाका अध्यक्ष उमेश सिंह, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा, कार्यकारी निर्देशक अधिवक्ता उमेश यादव, नेपालउद्योग बाणिज्य संघका पूर्ब केन्द्रिय सदस्य निर्मलकुमार चौधरी, राराब क्याम्पस प्रमुख नवेन्द्र निधि लगायतले आ(आफना क्षेत्रको विकासका लागि प्रस्तावहरु राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्म पुर्याइदिन आग्रह गरे । जवाफमा राजदुत रेले उक्त माग तथा जिज्ञासाहरु प्रधानमन्त्री मोदी सम्म पु¥याईदिने आश्वासन दिएका थिए ।
जनकपुरधाम सिङ्गारिदै
मोदीको आसन्न भ्रमणलाई लक्षित गरेर जनकपुरका प्रमुख मन्दिरहरुलाई सजाउनको लागि संस्कृति तथा पर्यटन मन्त्रालयले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद मार्फत रु. १ करोड निकासा गरेको छ । वृहत्तरले जनकपुरको जानकी मन्दिरको व्यवस्थापनका लागि रु. ५० लाख छुट्याएको छ । जसमध्ये जानकी मन्दिर परिसरमा जुत्ता राख्ने ¥याक राख्नका लागि रु.५ लाख, मन्दिरको पुर्व तिर नाला निर्माणका लागि रु. ५ लाख, मन्दिरको कम्पाउन्ड वालको रंगरोगनको लागि रु. १० लाख र मन्दिरमा सौर्य उर्जा जडान गर्नको लागि रु. १० लाख र जानकी मन्दिरको परिसरमा रु. २० लाखको टायल्स विछाउनको लागि रकम निकासा गरिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश यादवले द एक्सक्लुसिभलाई जानकारी दिएको छ ।
त्यसैगरी राम मन्दिरको सौन्दर्यीकरण तथा रंगरोगनका लागि रु. १५ लाख, जानकी मन्दिरको विवाह मण्डपको रंगरोगनका लागि रु. ५ लाख, जनक मन्दिरमा सौर्य उर्जा जडान गर्नका लागि रु. १० लाख, जनक मन्दिरको मर्मत सम्हार तथा रंगरोगनका लागि रु. १० लाख र तिरहुतिया गाछीको सामुनेमा रहेको बाल उद्यान पार्कलाई मर्मत तथा सम्हार र रंगरोगनका लागि रु. १० लाख बजेट निकासा गरिएको छ । ती सबै कार्यहरु उपभोक्ता समिति मार्फत गर्न लागिएको छ । त्यसैगरी मोदीको भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमको लागि जनकपुरको रंगभुमि मैदानमा मञ्च, पण्डाल तथा स्वागतद्वार बनाउने तयारी वृहत्तरले थालेको यादवले बताए ।


२०७१ कार्तिक २३ गते आईतबार

No comments:

Post a Comment