Wednesday, September 3, 2014

शिक्षा अधिकारी उपेन्द्र मण्डल V/S शिक्षक नेता मेघनाथ यादव

अजय अनुरागी
जनकपुरधाम............
धनुषाको शिक्षा क्षेत्रलाई हाँक्ने दुई प्रमुख व्यक्तिहरु बीचको टकराव अहिले एक अर्का प्रति आरोप प्रत्यारोप सम्म आइपुग्दा छताछुल्ल भएको छ । धनुषाका शिक्षा अधिकारी उपेन्द्र मण्डल र शिक्षक माफियाका रुपमा प्रचलित शिक्षक प्रतिनिधि(नेता) नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव बीचको वाक यूद्ध अहिले चर्चाको विषय बन्न पुगेको छ । शिक्षा अधिकारी मण्डलका धनुषाको विग्रेको शैक्षिक अवस्थालाई टूयाकमा ल्याउनका निम्ति तिनले नै भन्ने गरेको शैक्षिक माफिया यादवलाई कारवाहीको दायरामा ल्याउन प्रक्रिया अगाडी बढाएका छन् । कारवाहीका लागि आधार तयार गर्न उनले यादव काम गर्ने सरस्वती नमुना उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डललाई यादवको उपस्थिति रेकर्ड पढाउन आदेश दिएका छन् । 
४ भाद्र २०७१ मा आधिकारीले लिखित रुपमै प्र.अ. मण्डललाई आर्थिक वर्ष २०६९÷०७० देखि हालसम्मको यादवको हाजिरी अभिलेखको प्रमाणित प्रतिलिपि अनुसन्धानको लागि आवश्यक रहेको भन्दै सात दिन भित्र प्रतिवेदन बुझाउन औपचारिक रुपमा पत्र काटेर निर्देशन दिएका छन् । सोही मितिमा यादवकी श्रीमति सुनिता यादव, उनका सहयोगी प्रदिप यादव सँगै चार जना शिक्षकहरुको नियूक्ती, सरुवाको प्रक्रिया मिति र काजको सक्कल पत्र बुझाउन सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएका छन् ।
धनुषाका शिक्षा अधिकारी
उपेन्द्र मण्डल ।
शिक्षक नेता यादवकी श्रीमति सुनिता यादव कार्यरत रहेको असर्फी साह निमावि जनकपुरका प्र.अ. रामसिनेही यादवलाई पत्राचार गरेका छन् । अधिकारी मण्डलका अनुसार यादवकी श्रीमति विगतको समयमा नक्कली अध्यापन अनुमति पत्रको आधारमा राहत कोटामा कार्य गरेको अवस्थामा कारवाहीमा परेपछि पावरको दुरुपयोग गरी प्रक्रिया नै नपु¥याई अर्को शिक्षक नेता रामसिनेही यादवको साथ पाएर अस्थायी दरवन्दीमा नियूक्ती गरेको गुनासो शिक्षा कार्यालयमा आएको छ । त्यसैगरी शिक्षक नेता मेघनाथ यादवको सवारी चालकका रुपमा प्रख्यात रहेका निमावि थुम्हौनाका अस्थायी शिक्षक प्रदिप यादव (जो उक्त विद्यालयका प्र.अ. पनि आफै हुन), मिथिला राप्रावि जनकपुरकी शिक्षिका रेणु कुमारी साहको अभिलेख पठाउन त्यहाँका प्र.अ. गीता यादव र राप्रावि गरैया टोल (कट्टी निकास)का शिक्षक कामेश्वर यादव (जो अस्थायी शिक्षक भई उक्त विद्यालयका प्र.अ. पनि हुन ) लाई उक्त कागजात पठाउन अधिकारी मण्डलले निर्देशन दिएका छन् ।
हुन त शिक्षक मेघनाथ यादवलाई कारवाहीमा पार्न अधिकारी मण्डल उनी कार्यरत विद्यालय सरस्वती माविमा छडके गर्न पनि गएका थिए । संजोगवश शिक्षक यादव उक्त दिन विद्यालयमा उपस्थित थिए । अन्य ७ जना शिक्षक अनुपस्थित पाइएपछि हाजिरी पुस्तिकामा अधिकारी मण्डलले रातो कलम लगाएका थिए । अधिकारी मण्डलका अनुसार उक्त विद्यालयमा ८० प्रतिशत शिक्षकहरु राजनीति नै गर्छन । २० प्रतिशत शिक्षकहरु मात्र पढाउने काम गर्छन । उनका अनुसार उक्त विद्यालयका प्रधानाध्यापक सत्यनारायण मण्डललाई कुनै पनि शिक्षकलाई कक्षामा जानुस भनेर निर्देशन आँटसम्म छैन ।  मण्डल प्रअ बन्ने लायकका व्यक्ति नै होइनन् । उनी रब्बर स्टाम्प मात्र हुन । शिक्षक नेता यादव र केही लालजीहरुको चंगुलमा उनी परेका छन् ।
नेपाल शिक्षक संघ धनुषाका
अध्यक्ष मेघनाथ यादव ।
मण्डल भन्छन्,“ म आउनु अघि धनुषामा झोले विद्यालय नरहेको शिक्षा विभागमा रिपोर्ट गरिएको थियो । तर, आफु आउँदा स्थानीय विकास अधिकारी गुरु प्रसाद सुवेदीले ९ वटा झोले विद्यालय फेला पारेको बताउँदा आफुले १६ वटा झोले विद्यालय फेला पारेको बताएका थिएँ । फेरी झोले विद्यालय खोज्न हामी बीच दोहोरी नै चल्यो । एलडिओ सुवेदीले आफुले २६ वटा फेला पारें बताउँदा मैले ४० वटा विद्यालय फेला पारिसकेको थिएँ ।” अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा विभाग सम्मिलित अनुगमन टोली आएपछि जम्मा ४० वटा झोले विद्यालयहरु र ३ सय ७ वटा झोले बालविकास कक्षा संचालनमा रहेको ठहर भएको थियो । 
अधिकारी मण्डल भन्छन,“ आफु आउने वित्तिकै आर्थिक वर्ष २०७०÷०७१ मा ती झोले विद्यालय र बालविकासले विगतमा पाउँदै गरेको सबै सुविधाहरु रोकें । शिक्षा कार्यालयबाट पाउने गरेको सबै सुविधा बन्द गर्न लेखा प्रमुखलाई निर्देशन दिएपछि कुनै पनि झोले बालविकास संचालन गर्नेहरुले आफ्नो रकम किन रोक्का गरेको भनेर खोज्न आउने आँट पनि कसैले गरेनन् ।” शिक्षा अधिकारी मण्डलका अनुसार विगतमा  विभिन्न शिर्षकमा गएको बजेट सम्बन्धित झोले विद्यालयबाट असुल उपर भईरहेको छ, विद्यालय नै नरहेको अवस्थामा पढाएको बापत तलब लिने शिक्षकहरुबाट पनि रकम असुल उपर गर्ने काम अहिले जारी छ । 
झोले विद्यालय र बालविकासबाट हालसम्म करिब १ करोड रुपैयाँ असुल उपर भईसकेको उनले बताए । अधिकारी मण्डलका अनुसार शिक्षक नेता मेघनाथ यादवले विभिन्न झोले विद्यालयहरुबाट कमिशन उठाउने गरेका थिए । उनी भन्छन,“ झोले विद्यालय र बालविकास कक्षा संचालन बापत शिक्षक नेता यादवले अवैधानिक तरिकाबाट रकम असुली गर्ने गर्थे । महिनामा २ देखि साढे २ लाखसम्म मासिक आय अवैध तरिकाबाट आर्जन गर्ने गर्थे ।” प्रत्येक वर्ष दशैं र आर्थिक वर्षको मसान्तमा विभिन्न विद्यालयका प्र.अ.हरुबाट संघको सदस्यता बापत २५ हजार रुपैयाँ लेवि स्वरुप यादवले उठाउने गरेको अधिकारी मण्डल बताउँछन् । प्र.अ.हरुले आफुलाई गुनासो गरेपछि कुनै पनि हालतमा अब त्यस्तो रकम नदिन आफुले निर्देशन दिएको र रकम दिए रकम दिने प्र.अ.लाई नै कारवाही गर्छु भनेर निर्देशन दिएपछि प्र.अ.हरु शिक्षक नेता यादवको चन्दा आतंकबाट अहिले राहत पाएको अधिकारी मण्डलको दावी छ । अधिकारी मण्डलका अनुसार विभिन्न विद्यालयको भवन निर्माणका लागि टूस, रड, इट्टा, बालुवा, सिमेन्ट आदि सामग्रीहरु आपुर्ति गर्ने विक्रेताहरुबाट समेत शिक्षक नेता यादवले जवरजस्ती कमिशन बापत परसेन्टेज उठाउने गरेको छ । 
यसरी आफुले शिक्षक नेता यादवको अवैध कमाई आउने माध्यमहरुमा नाका बन्दी लगाएपछि उनी बउलाएर शिक्षा मन्त्री चित्रलेखा यादवसँग हार गुहार गरिरहेको उनको भनाई छ । अधिकारी मण्डलका अनुसार, शिक्षा अधिकारीले आफु र आफ्नो श्रीमतिलाई कारवाही गर्न लागेको हुनाले अधिकारीलाई कि त मन्त्रालय तान्नुस वा कि त सरुवा गर्नुस नत्र भने म आत्महत्या गर्छु भनेर मन्त्रि यादवलाई टेलिफोनमा नेता यादवले हार गुहार गरिरहेको मन्त्रि निकट एक जना सभाषदले आफुलाई जानकारी गराएको छ । आफुलाई फेल पार्न आफु विरुद्ध विभिन्न शिक्षक नेताहरुलाई उचालेर प्रदर्शन गर्न लगाएपनि आफु कुनै पनि हालतमा नझुक्ने तथा शिक्षक यादवलाई कारवाही गरेरै    छाड्ने अधिकारी मण्डलले द एक्सक्लुसिभसँगको कुराकानीमा बताएका छन् । 
अधिकारी मण्डल माथि मेघनाथ यादवको आरोप
शिक्षक नेता यादवका अनुसार अधिकारी मण्डलले लगाएका सम्पुर्ण आरोपहरु निराधार हुन । अधिकारी मण्डललाई बोल्ने शैली नै छैन । उनले गरेको गलत करतुतहरुलाई ढाक्नका लागि म माथि आरोप लगाएको यादव बताउँछन् । यादवले द एक्सक्लुसिभ सँग कुराकानी गर्दै शिक्षा अधिकारी मण्डलले व्यापक अनियमित काम गरेको र शिक्षकहरुबाट घुस लिन थालेपछि शिक्षक नेताको हैसियतले आफुले विरोध गर्दा आफु माथि गलत आरोप लगाएको बताएका छन् । यादवका अनुसार अधिकारी मण्डलले आफ्नो पदको दुरुपयोग गरेर धताटोल प्राविमा भान्जीलाई बालविकासमा नियूक्ती दिलाएका छन् । 
उनको पत्नी रेणु मण्डल मिथिला विहारी प्रावि जनकपुरमा शिक्षिका थिईन । तर, अधिकारी आएपछि उनले जनकपुरको लक्ष्मण अखाडा स्थित प्राविमा काज सरुवा गराएका छन् । उनी विद्यालय कहिल्यै जाँदैनन् । उनको लागि अलग्गै हाजिरी रजिष्टर राखिएको छ र नपढाएपनि घरै वसी तलब खुवाउने गरेको शिक्षक नेता यादवको आरोप छ । त्यसैगरी घुस नलिई शिक्षकहरुको सरुवा नै गर्दैैनन् उनी । उनी आएपछि जिल्लामा करिब २० जना शिक्षकहरुको काज सरुवा गरेका छन् । जसमा प्रति शिक्षक रु. ६० हजार देखि १ लाख सम्म घुस लिएको शिक्षक नेता यादवको आरोप छ । पिसिएफ र अस्थायी शिक्षकहरुको तलब निकासा दिन नमिल्ने भनेर उनले बताएका थिए । पिसिएफको तलब निकासा दिन विभागले भनेकै छैन भने धनुषामा कसरी दिने भनेर तलब निकासीमा रोक लगाएको अवस्थामा शिक्षक व्यानरहरुले दवाव दिएपछि साढे २ करोड तलब निकासी गरेका थिए । 
उनले एउटै पसलबाट कम्प्युटर खरिद गर्न प्रधानाध्यापकहरुलाई दवाव दिएका छन् । ६० देखि ६५ हजार रुपैयाँमा विभिन्न विद्यालयका प्रअहरुले अधिकारीले भनेको पसलबाट कम्प्युटर किन्न बाध्य छन् । अरु ठाउँमा सस्तो दरमा कम्प्युटर पाउने गरेको भएपनि अधिकारीले नै तोकेको पसलबाट कम्प्युटर किन्दा अधिकारी मण्डलले मोटो रकम कमिशन बापत पाउने गरेको शिक्षक नेता यादवले आरोप लगाएका छन् । 
शिक्षक पदस्थापनमा अधिकारीद्वारा घुस असुली
जिल्ला शिक्षा कार्यालय धनुषा । त्यहाँ व्यक्तिगत सुरक्षागार्ड पिएसओ समेत राख्ने गरेका शिक्षा अधिकारी उपेन्द्र मण्डल कहिल्यै वस्दैनन् । अधिकारी नै नबसेपछि कर्मचारीहरुपनि प्रायः अनुपस्थित रहने गरेका छन् ।

लोक सेवा आयोगबाट पास भएका शिक्षकहरुको पदस्थापन गर्दा नियमाबलीलाई मिचेर गरेको र प्रति शिक्षकबाट पदस्थापन गरे वापत घुस समेत लिएको उनको आरोप छ । शिक्षा विभागले २ अषाढ २०७१ मा शिक्षा कार्यालयमा पठाएको नियमाबली आदेशलाई उल्लंघन गर्दै माविमा ६८ जना शिक्षकहरुको पदस्थापन गर्दा ३(३ हजार रुपैयाँ प्रत्येक शिक्षकबाट असुली गरेको उनको आरोप छ । उनले गरेको पदस्थापनका कारण मावि धबौली, गोदार, नक्टाझिझ, ज्ञानकुप, बसहियामा एक(एक र कन्या माविमा दुई जना गरी कुल ७ जना अस्थायी शिक्षकहरु विस्थापित भएका छन् ।  
उनीहरुलाई पुल दरबन्दीमा राखिएको भन्दै अधिकारी मण्डलले आफु निकटका कर्मचारी मार्फत विस्थापित भएका अस्थायी शिक्षकहरुलाई यति रुपैयाँ नदिए जागिर जाने भनेर सम्बन्धित शिक्षकलाई फोन र एसएमएस गरी थर्काउने गरेका छन् । उक्त कुराको आफुहरुसँग प्रमाण समेत रहेको शिक्षक नेता यादवले दावी गरेका छन् । उनका अनुसार पदस्थापन गर्दा सबैभन्दा पहिले रिक्त दरबन्दीमा गर्नुपर्ने, त्यहाँ  नपुगे बाहिर रहेकालाई लियन पदमा राखेर, त्यसो नभए कनिष्ठलाई  हटाएर पदस्थापन गर्नुपर्ने प्रावधान छ । सरोकारबालाहरुसँग सल्लाह गरी जिल्ला शिक्षा समितिमा निर्णय गराई पदस्थापन गराउनु पर्ने प्रावधान छ । तर, ती सबै प्रावधानहरुलाई लत्याउँदै आफु खुशी पदस्थापन गरेपछि आफुहरुले विरोध गरेको यादवको भनाई छ । उनका अनुसार मावि चक्कर, मावि बरकुरवा, मावि तुल्सीयाहीमा १÷१ जना र र झटियाही र धनौजीमा २÷२ जना गरी कुल ७ वटा दरबन्दी रिक्त छ । विस्थापित भएका ७ जनालाई नियतवस अन्यायमा पार्न र तिनीहरुबाट पैसा असुली गर्न अधिकारी मण्डलले एकलौटी पदस्थापन गरेको उनको भनाई छ । 
त्यसैगरी जिल्लामा निमावि तहमा ४५ जना शिक्षकको दरबन्दी खाली छ । लोकसेवा आयोगबाट पास भएका ३५ जना शिक्षकहरुलाई उनले पदस्थापन गर्न सूचना समेत निकालीसकेका छन् । त्यसैगरी प्रावि तहमा १ सय ६१ जना शिक्षकहरुको पदस्थापना गर्नु छ । मावि तहमा ३ हजार, निमावि तहमा २ हजार र प्रावि तहमा १÷१ हजार गरी प्रति शिक्षकबाट पदस्थापना बापत कुल ५ देखि ६ लाख रुपैयाँ सम्म असुल गर्ने अधिकारी मण्डलको दाउ रहेको शिक्षक नेता यादवको आरोप छ । पदस्थापना शुल्क नलिने र लिएको भए शिक्षकहरुलाई रकम फिर्ता गर्ने शिक्षा विभागले समेत निर्देशन दिईसकेको अवस्थामा उनले हालसम्म पनि रकम फिर्ता गरेको छैन ।  जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई एनजिओ जस्तै आफु खुशी नियमलाई मिचेर अबैधानिक तरिकाले प्रशासन, स्टोर र कम्प्युटर अपरेटर जस्ता पदमा घुस लिएर नियूक्ती गरेको शिक्षक नेता यादवको आरोप छ । शिक्षा कार्यालयमा आफै कहिल्यै नबस्ने अधिकारीले जिल्लाको शिक्षा अवस्था झन विगारेको उनको आरोप छ । छोरी मारि बुहारीलाई तर्साउनु भने झैं मेघनाथ यादवलाई थर्कायो भने जिल्लाका सम्पुर्ण शिक्षकहरु आफै तर्सिने र तिनीहरुबाट विभिन्न नाउँमा घुस उठाउन सकिने अधिकारी मण्डलको रणनीति रहेको यादवको भनाई छ । उनी भन्छन,“अख्तियार र शिक्षा विभागको डर देखाई शिक्षकहरुलाई थर्काउने काम अविलम्ब बन्द गर्नुपर्छ । मेघनाथ यादव शिक्षा अधिकारी मण्डलबाट डराउने व्यक्ति होइन । ताकत छ भने आफुलाई र आफ्नो पत्नीलाई कारवाही गरेर देखाउन अधिकारी मण्डललाई म चुनौति दिन्छु ।”
शिक्षक नेताहरुको आन्दोलन र वार्ता
सम्पुर्ण जिल्लालाई अस्तव्यस्त गरी ब्रह्मलुट मच्चाई जिल्लाबाट भाग्ने दाउमा उनी रहेकै कारण शिक्षक व्यानरहरु आन्दोलित भएको थियो । नेपाल शिक्षक युनियन धनुषाका अध्यक्ष सरस्वती यादवको अगुवाईमा नेपाल शिक्षक संघ, संगठन, अखिल संगठन, मधेसी शिक्षक फोरम, फोरम लोकतान्त्रिक, नेपाल शिक्षक मञ्च, नेपाल शिक्षक परिषद, अस्थायी शिक्षक संघर्ष समिति लगायतका शिक्षक व्यानरहरुले आन्दोलन गरेका थिए । ८ देखि ९ भदौसम्म २ दिन धर्ना, १० देखि ११ भदौ सम्म काम रोकेर धर्ना दिने र शिक्षा कार्यालयमा समेत तालाबन्दी गर्ने लगायतका विरोधका कार्यक्रमहरु उनीहरुले सार्वजनिक गरेका थिए ।
मावि तहमा पदस्थापनामा भएका त्रुटि सच्याई विस्थापित अस्थायी शिक्षकहरुलाई स्थापित गरिनुपर्ने, निमावि र प्रावि तहको पदस्थापना शिक्षा विभागको निर्देशनानुसार कार्य योजना बनाई माग गरिनुपर्ने, मावि र निमावि तहमा लिइएको पदस्थापना शुल्क तुरुन्तै फिर्ता गरिनुपर्ने र प्रावि तहका पदस्थापना हुने शिक्षकहरुबाट उक्त रकम नउठाइने, जिल्ला शिक्षा कार्यालयलाई व्यवस्थित गरिनुपर्ने, प्रअ तथा शिक्षकहरुलाई धम्काउने कार्य अभिलम्ब रोकि धम्काउने कर्मचारीहरुलाई कारवाही गरिनुपर्ने, राहत शिक्षकहरुको बाँकी बक्यौता तलब भत्ता अबिलम्ब निकासा गरिनुपर्ने, पिसिएफ शिक्षकहरुको निकासा लिस्ट पारदर्शी गरिनुपर्ने, बालविकास शिक्षकहरुको तलब भत्ता तुरुन्त निकासा गरिनुपर्ने र दरबन्दी मिलान अविलम्ब गरिनुपर्ने लगायतका ९ सुत्रिय मागहरु राखि शिक्षक नेताहरु आन्दोलनमा ओर्लिएका थिए । 
त्यसपछि ९ भदौ २०७१ मा सभाषद दिनेश परशैला यादवको उपस्थितिमा अधिकारी मण्डल, शिक्षक नेताहरु मेघनाथ यादव, सुरत लाल यादव, हरिप्रसाद काफ्ले, मनोज कुमार सिंह, मोद नारायण राउत, रामसुन्दर साह, उमेश मण्डल, राजेश कुमार चौधरी, शिक्षा कार्यालयका कर्मचारीहरु महाविर दास, धनेश्वर यादव लगायतको उपस्थितिमा  वार्ता भएको थियो । उक्त वार्तामा सहायक जिल्ला शिक्षा अधिकारी दानी कान्त झाको संयोजकत्वमा मेघनाथ यादव, सुरत लाल यादव, रामसुन्दर साह, मनोज सिंह, धनेश्वर यादव, बद्री नारायण यादव लगायत ७ सदस्यीय कार्यदल गठन गरियो । ७ दिन भित्र प्रतिवेदन पेश गरी समस्या समाधान गर्ने निर्णय गरिएको थियो ।
यसरी हेर्ने हो भने जिल्लाको शैक्षिक अवस्था दिनानुदिन खस्किदै गईरहेको अवस्थामा शिक्षा अधिकारी मण्डल र शिक्षक नेता यादवले एक अर्को माथि लगाएको अनियमितता सम्बन्धि विभिन्न आरोपहरुको जाँच हुनुपर्दछ । दोषी पाइएका व्यक्तिलाई विभागिय वा कानुन सम्मत कारवाही गरिनुपर्दछ ।


२०७१ भदौ २२ गते आईतबार

No comments:

Post a Comment