Wednesday, September 3, 2014

पिएसओ लिनेहरुको संख्या घटेपनि दुरुपयोग यथावत

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२४ भाद्र २०७० मा जिल्ला सुरक्षा समिति धनुषाको वैठकबाट ६ जनालाई व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) उपलब्ध गराउने निर्णय गरियो । धनुषाका शिक्षा अधिकारी उपेन्द्र मण्डलको सुरक्षार्थ प्रहरी हवलदार टलक बहादुर खड्का, जानकी मेडिकल कलेजका संचालक अशोक कुमार सिंन्हाको सुरक्षार्थ रामकुमार केसी, जिल्ला विकास समिति धनुषाका निलम्बित सह लेखापाल जिवनाथ चौधरीको सुरक्षार्थ उमेश ठोकर तामाङ, तत्कालिन स्थानीय विकास अधिकारी तारानाथ अधिकारीको सुरक्षार्थ ध्रुव पौडेल, व्यापारी गोविन्द सिरोहियाको सुरक्षार्थ छठु पासवान र फोरम लोकतान्त्रिकका धनुषा अध्यक्ष उमाशंकर अरगरियाको सुरक्षार्थ लाल किशोर यादवलाई खटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो । ठीक एक वर्ष अघि गरिएको उक्त निर्णय हालसम्म पनि कार्यान्वयनमा छ । एलडिओ अधिकारीको सरुवा भएपछि उनको ठाउँमा आएका गुरुप्रसाद सुवेदीलाई पिएसओ उपलब्ध गराइएको छ । नियम अनुसार एक वर्षभन्दा वढी समयसम्म एक जना पिएसओ एक व्यक्तिको सुरक्षार्थ खटाईदैन । तर,धनुषामा एक वर्ष त के वर्षौं वर्ष देखि पिएसओ उपलब्ध गराईदै आएको छ । 
संविधानसभाको चुनावलाई लक्षित गर्दै संविधानसभाका उम्मेदवारहरुलाई सुरक्षा खतरा हुन सक्ने भन्दै ५ कार्तिक २०७० मा जिल्ला सुरक्षा समितिको बैठकले २१ जना उम्मेदवारहरुलाई पिएसओ प्रदान गरेको थियो । धनुषामा प्रहरी जवान देखि प्रहरी नायव निरीक्षक सम्मकालाई उम्मेदवारहरुको सुरक्षार्थ पिएसओ खटाइएको थियो । चुनाव सकिएपछि तिनीहरुको पिएसओ फिर्ता पनि लिइयो । तर, धनुषामा हालसम्म पनि ६ जनाको सुरक्षार्थ पिएसओ खटिएकै छ । गोविन्द सिरोहिया एक जना सामान्य व्यवसायी हुन । तर, उनी कान्तिपुर मिडियाका प्रवन्ध निर्देशक तथ अध्यक्ष कैलाश सिरोहियाका भाई भएकै हुनाले स्थानीय प्रशासनले उनलाई पिएसओ प्रदान गरेको देखिन्छ । जानकी मेडिकल कलेजका संचालक अशोक कुमार सिन्हालाई लक्षित गरी उनको आवासमा रहेको सुरक्षा गार्डलाई गोली प्रहार गरिएको थियो । राजन मुक्ति समुहले चन्दा नदिएको भन्दै गोली प्रहार गरेको थियो । तर, अहिले धनुषामा अधिकांश सशस्त्र समुहका नाईकेहरु पक्राउ परिसकेका छन् । धनुषामा विगतका वर्षहरु झैं अहिले सशस्त्र समुहहरुको चन्दा आतंक वा हिंसात्मक प्रभाव देखिँदैन । तर पनि उनलाई अझ पनि पिएसओ उपलब्ध गराइनु के उपयूक्त हो भन्ने प्रश्न उठ्छ । फोरम लोकतान्त्रिकका धनुषा अध्यक्ष उमाशंकर अरगरियालाई जिल्लामा कसैबाट पनि सुरक्षा खतरा देखिँदैन । उनी माथि कहिले पनि कुनै पनि आपराधिक समुह वा सशस्त्र समुहहरुबाट आक्रमण गरिएको छैन । तर, उनको पार्टीका केन्द्रिय अध्यक्ष विजय कुमार गच्छदार गृह मन्त्रि भएदेखि नै अरगरियालाई पिएसओ दिइएको छ । यसरी पिएसओ आवश्यकता हो वा समाजमा आफु पनि ठुला वडा हुँ, पुलिसलाई नै गार्डमा राखेपछि समाजमा रवाफ देखाउन सकिने तथा शान सौकत वा प्रतिष्ठा पनि वढेको पावरफुल व्यक्ति हुँ भन्ने देखाउनका लागि पनि पिएसओ लिनेहरुले पिएसओलाई दुरुपयोग गर्ने गरेको पाइएको छ । लालकिशोर झाको हत्याका अभियुक्त समेत रहेका रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णवलाई पनि पिएसओ दिइएको थियो । तर, पिएसओ रहेपनि उनी भारत फरार भएका थिए । कतिपय व्यक्तिहरुको के पनि भनाई रहेको छ भने बैकुण्ठलाई भारतको बोर्डर कटाउन उनका पिएसओले नै मोटरसाईकलमा चढाएर फरार गराएका थिए । जनकपुरका एक जना सामान्य यूवा तथा ठेकेदार दिपेन्द्र ठाकुरले पनि केही समयका लागि पिएसओ लिएका थिए । त्यस्तै एक जना अर्का यूवा संजिव कुमार झा सुरजले पनि केही समय पिएसओ लिएका थिए । यसरी आम नागरिक देखि कर्मचारी, वकिल, चिकित्सक, नेतासम्मका व्यक्तिहरुले असुरक्षाको नाउँमा पिएसओ राख्ने गरेको पाइएको छ । यद्यपि अहिले आएर पिएसओ लिनेहरुको संख्या घटेपनि उद्देश्य माथि शंका गर्ने ठाउँ अझै पनि प्रशस्त छ ।
१७ बैशाख २०६६ मा तत्कालिन प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाको अध्यक्षता तथा सुरक्षा प्रमुखहरुको उपस्थितिमा बसेको सुरक्षा समितिको वैठकले ११ जना व्यक्तिहरुलाई अर्को निर्णय नभइन्जेलसम्म पिएसओ उपलब्ध गराउने निर्णय गरेको थियो । त्यतिबेला डा.कल्पना बछारको सुरक्षार्थ प्रहरी हवलदार हरेन्द्र चौधरी, सभाषद संजय साहको सुरक्षार्थ प्रहरी हवलदार प्रमोद कुमार साह, वरिष्ठ अधिवक्ता रामजी प्रसाद मैनालीको सुरक्षार्थ प्रहरी हवलदारद्वय रंजित ठाकुर र विनोद चौरसिया, डा.के.पि. सिंहको सुरक्षार्थ प्रहरी हवलदार राजिव सिंह, सहायक प्रमुख जिल्ला अधिकारीको सुरक्षार्थ प्रहरी हवलदार शुक्र तामाङ, सभाषद रघुविर महासेठको सुरक्षार्थ प्रहरी जवान मनोहर यादव, स्थानीय विकास अधिकारीको सुरक्षार्थ प्रहरी जवान चिन्ता ठाकुरलाई पिएसओको रुपमा स्थानीय प्रशासनले खटाएको थियो । त्यसैगरी सडक कार्यालयका इन्जिनियरहरु जमुना प्रसाद साहको सुरक्षार्थ सरोज साह, उमेश महत्तोको सुरक्षार्थ संजय पासवान र गोकर्ण खनालको सुरक्षार्थ कृष्ण रिजाललाई खटाइएको थियो ।
जिल्ला स्तरमा कुनै पनि व्यक्तिलाई सामान्यतया दुई किसिमले पिएसओ खटाइन्छ । शान्ति सुरक्षाको अवस्था खराव भएको अवस्थामा जिल्लाका भिआईपी वा भिभीआइपीलाई सुरक्षा गर्न पिएसओ परिचालन गरिन्छ । अर्को के हो भने कुनै काल खण्डमा कुनै व्यक्ति विशेषलाई विशेष किसिमको थ्रेट भयो भने जिल्ला सुरक्षा समितिको बैठकमा उक्त सुरक्षा खतरालाई विश्लेषण गरी पिएसओ दिने निर्णय गरिन्छ । धनुषामा अहिले प्रदान गरिएको पिएसओको सम्बन्धमा पुनर्विचार गर्नुपर्नेमा धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदी पनि सहमत छन् । उनका अनुसार आफु आउनु अघि नै अहिले प्रदान गरिएका व्यक्तिहरुको पिएसओ खटाउने निर्णय भईसकेको थियो । त्यतिबेला ती व्यक्तिहरु असुरक्षित भएका होलान तर अहिले पनि असुरक्षित नै होलान भन्ने यकिन गर्न सकिन्न । त्यसका लागि पुनः विश्लेषण गर्नुपर्ने आवश्यकता छ । पिएसओ दिँदैमा कुनै व्यक्ति सुरक्षित नै भईहाल्छ भन्ने कुरा पनि होइन । विगतमा देशमा पिएसओ भएकै बेला पनि मान्छेको हत्या भएको छ । तर, पिएसओ भएपछि धेरै हदसम्म आफु सुरक्षित छु भन्ने अनुभुति    हुने भएकाले पनि मान्छेले पिएसओ लिने गरेको   धनुषाका एसपी सुवेदीको भनाई छ ।
वढीसमय सम्म पिएसओ लिने व्यक्ति हुन जिवनाथ चौधरी ।
जिवनाथ चौधरी धनुषाका चर्चित व्यक्ति हुन । उनी अहिले जिविस धनुषामा भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी लगायत अन्य जिविसका कर्मचारीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका छन् । तर, राज्यले उनलाई अहिले आएर होइन, विगत लामो समयदेखि पिएसओ उपलब्ध गराउँदै आएको छ । ४ चैत्र २०६६ मा क्षेत्रिय प्रशासक रुद्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा तत्कालिन प्रमुख जिल्ला अधिकारी वेदबहादुर कार्कीको अध्यक्षतामा बसेको सुरक्षा समितिको वैठकमा धनुषाका प्रहरी उपरीक्षक श्याम खड्का, सशस्त्र प्रहरी उपरीक्षक शान्तिराम थापा लगायतको उपस्थिति थियो । उक्त वैठकमा जिवनाथ चौधरीको प्रसंगमा एउटा महत्वपुर्ण निर्णय लिइयो । त्यो के थियो भने जिवनाथ चौधरीलाई विगत लामो समय देखि सुरक्षा खतरा महसुस भई निजलाई विगत केही समय देखि पिएसओ उपलब्ध गराउँदै आएको अवस्था छ । यसरी एक व्यक्तिलाई निरन्तर पिएसओ उपलब्ध गराउन उपयूक्त नहुने हुनाले निजको सुरक्षाका लागि अन्य सुरक्षित जिल्ला वा केन्द्रमा सरुवा गर्न उपयुक्त हुने ठहर गर्दै सम्बन्धित निकायमा अनुरोध गरिने उक्त सुरक्षा समितिको वैठकमा निर्णय गरियो । त्यसपछि स्थानीय विकास मन्त्रालयमा चौधरीको सरुवाका लागि अनुरोध पनि गरियो । तर, स्थानीय निकायका कर्मचारीहरुलाई जिल्लान्तर वा अन्यत्र सरुवा गर्ने व्यवस्था नभएपनि स्थानीय विकास मन्त्रालयले निर्णय गरी जिल्लान्तर सरुवा गर्न सकिने प्रावधान मिलाउन पहल गरेपनि उनको सरुवा हुन नसकेको जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालिन एक जना कर्मचारीकोे दावी छ ।
यसरी हेर्ने हो भने चौधरी कहिलेसम्म असुरक्षित हुने हो त्यसको लेखाजोखा कसले गर्ने भन्ने प्रश्न उठनु पनि स्वाभाविक हो । २०६५ साल भदौंमा चौधरीको घरमा डकैती भएको थियो । चौधरीका अनुसार सुनियोजित तरिकाले डकैतीको आवरणमा उनलाई हत्या गर्न नै अपराधिलाई पठाइएको थियो । त्यसपछि धेरै मान्छेले आफुलाई पिएसओ लिन सल्लाह दिएपनि आफुले पिएसओ नलिएको द एक्सक्लुसिभलाई बताएका छन् । २०६६ बैशाख २९ गते जिविस कार्यालयबाट आफ्नो घर गईरहेको बेला विश्वकर्मा चौक निर उनीमाथि गोली नै प्रहार भएपछि भारतको दिल्लीबाट उपचार गराई फर्किदा स्थानीय प्रशासनले नै सुरक्षा खतरालाई देखेर एक जना प्रहरी पिएसओको रुपमा पठाएको चौधरीको भनाई छ । पिएसओ पाएको तीन महिनापछि पनि सुरक्षा खतरा यथावतै रहेका कारण प्रशासनले थप एक जना गरी दुई जना पिएसओ पठाएको उनको भनाई छ । त्यसपछि २०६६ पुषमा आफ्नो निवासबाट सिता होटेल जाने क्रममा  फेरी उनलाई लक्षित गरी गोली प्रहार हुँदा उनका पिएसओहरुले पनि जवावी क्रममा फायर गरेपछि अपराधिहरु भागेको थियो । विजय कुमार गच्छदार गृहमन्त्री भएपछि आफुले सुरक्षा खतरा भएकै बेला पिएसओ फिर्ताका लागि स्थानीय प्रशासनलाई दवाव दिएर एक महिनाका लागि पिएसओ तानिएको भएपनि फेरी पिएसओ दिइएको उनको भनाई छ । धनुषामा सबैभन्दा वढी असुरक्षित व्यक्ति भनेको के तपाई नै हो र तपाई जस्तो सामान्य निलम्बित कर्मचारीलाई राज्यले कहिलेसम्म यसरी पिएसओ दिई राख्ने हो भन्ने सवालमा चौधरी भन्छन्,“जनकपुर बम काण्ड पनि मलाई नै लक्षित गरेर गराइएको जगजाहेर भईसकेको छ । भारतको सितामढीमा एक जना अपराधि हतियार सहित पक्राउ परेका छन् । उनी मलाई नै मार्न आइरहेका थिए । मेरो सुरक्षा थ्रेट कतिसम्म छ भन्ने कुरा स्थानीय प्रशासन देखि केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) र प्रहरी प्रधान कार्यालय सम्मले सुक्ष्म रुपमा विश्लेषण गरिसकेको छ ।” अहिले पनि सशस्त्र समुहका थुप्र्रै नाइकेहरु पक्राउ परेका छन् । बम काण्डको अभियोगमा सभाषद संजय साह पनि पक्राउ परेका छन् । उनीहरुलाई पक्राउ पर्नुमा जिवनाथ चौधरीकै हात रहेको हुनसक्ने आशंका यथावत रहेको यद्यपि तिनीहरुको पक्राउमा आफ्नो कुनै हात नरहेको चौधरीले बताएका छन् ।   उनी भन्छन,“मलाई थे्रट अहिले पनि छ । एउटा आम नागरिकको हिसावले पनि मैले बाँच्न पाउने हो कि होइन । कानुन व्यवस्था सुदृढ भईसकेपछि म आफै पिएसओ फिर्ता गरिदिने छु ।” अन्य व्यक्तिहरु जस्तो शकको लागि वा समाजमा प्रदर्शन गर्नको लागि मैले पिएसओ लिएको छैन, चौधरी बताउँछन् ।

२०७१ भदौ २२ गते आईतबार

No comments:

Post a Comment