Tuesday, September 9, 2014

अञ्चल अस्पतालको पुर्वाधारमा उल्लेख्य सुधार भएपनि भ्रष्ट मेसु बलराम मिश्रको कारण सेवा प्रभावकारी हुन सकेन ः कामेश्वर झा

जनकपुर अञ्चल अस्पताल
विकास समितिका
निवर्तमान अध्यक्ष
कामेश्वर झा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालको विकास समितिका अध्यक्ष कामेश्वर झा ४ भदौ २०७१ मा पद मुक्त भएका छन् । ३१ श्रावण २०६९ को मन्त्रिपरिषदको निर्णयबाट विकास समितिको अध्यक्षमा मनोनित भएका झा १५ भदौ २०६९ मा हाजिर भएका थिए । २ वर्षसम्म अध्यक्ष रहँदाको अवस्थामा अस्पतालको भौतिक पुर्वाधारको निर्माणमा उल्लेखनिय सुधार भएपनि विरामीहरुले पाउनु पर्ने सेवामा कुनै खास सुधार हुन सकेन । उनी आउँदा अस्पतालमा नेपाल सरकार र विकास समिति दुवै गरी १३ जना चिकित्सकहरु मात्र कार्यरत थिए । तर, उनी जाँदा अहिले विकास समितिको तर्फबाट १० जना र नेपाल सरकारको तर्फबाट २८ जना गरी कुल ३८ जना चिकित्सकहरु अस्पतालमा छन् । सर्जनको अभाव रहेको कारण कुनै पनि व्यक्तिलाई गोली लाग्दा वा दुर्घटना हुँदा यस क्षेत्रका विरामीहरुलाई अन्यत्र जानुपर्ने बाध्यता थियो । अहिले किडनी सर्जनको रुपमा डा.कबिर तिवारी, अर्थोसर्जनको रुपमा डा.रामविनय चौधरी र क्यान्सर सर्जनको रुपमा डा.अवधेश कुमार साह आएर केही राहत भएपनि जेनरल सर्जनको अभावमा जटिल किसिमको वा गम्भीर प्रकृतिको विरामीहरुलाई अस्पतालले अन्यत्र रेफर गर्ने गरेका छन् । गणपुरक संख्या भएपनि विशेषज्ञ चिकित्सकहरु खासगरी ‘इएनटी’, आँखा र एनेस्थेसिया विभागका चिकित्सकहरुको अझै पनि अभाव यथावत छ । अझैपनि १० जना विशेषज्ञ चिकित्सक र १० जना मेडिकल अफिसर गरी कुल २० जना चिकित्सकहरुको अभाव यथावत छ । जसले गर्दा विरामीहरुले अञ्चल अस्पताल स्तरको सेवा प्राप्ति गर्नबाट बञ्चित भएका छन् । यो समस्या अहिले नै आएर भने भएको होइन । विगत लामो समय देखि यो समस्या रहेपनि समाधानका लागि नेपाल सरकार गम्भीर देखिएको छैन ।
जनकपुर अञ्चल अस्पतालका
 निमित्त मेसु डा.बलराम मिश्र
अस्पतालमा नेपाल सरकारको तर्फबाट १ सय र विकास समितिको तर्फबाट १ सय गरी कुल २ सय बेडको अवस्थाबाट ५ सय वेडसम्म पु¥याइएको छ । ५सय वेडको लागि नेपाल सरकारले स्वीकृति दिईसकेपनि अहिले सो सुविधा सुचारु हुन सकेको छैन । निवर्तमान विकास समितिका अध्यक्ष कामेश्वर झा भन्छन,“मैले आफ्नो कार्यकालमा ५ सय वेडको स्वीकृति दिलाईसके । अर्थमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सह(सचिवहरुको टोलीले ५ सय वेडका लागि आवश्यक पुर्वाधारहरु जग्गा जमिन, वातावरण, भवन निर्माण, जनशक्ति लगायतको ओएन सर्वे गरीसकेपछि उक्त टोलीले क्याविनेटमा स्वीकृतिको लागि प्रतिवेदन पेश गर्ने वित्तिकै यो अस्पतालमा ५ सय वेड थप हुनेछ ।”
नयाँ ओपिडि र इमरजेन्सी भवन निर्माणका लागि रु. साढे २३ करोडको ठेक्का पनि लागिसकेको छ । प्रेरणा कन्सटूक्सन काठमाण्डौले अप्रेशन थिएटर, क्यान्टिन गरी चारतल्ले भवन निर्माणमा आधुनिक सेवा सुविधा समेत उपलब्ध हुने झाले बताएका छन् । उनका अनुसार प्रसुति विभाग अब २ सय वेडको हुनेछ । काठमाण्डौमा रहेको प्रसुति विभागको क्षमता सबैभन्दा वढी ३ सय वेडको छ भने अब जनकपुर पनि दोस्रो ठुलो प्रसुति विभागको रुपमा स्थापित हुनेछ । ५ सय वेड सुचारु भईसकेपछि पहिलेको २ सय वेड प्रसुति विभागको लागि उपलब्ध गराईनेछ ।
१६ भाद्रमा यूवा संघ नेपालका
 केन्द्रिय अध्यक्ष महेश बस्नेतले
जनकपुर अञ्चल अस्पताल
विकास समितिको अध्यक्षको लागि
संजीव कुमार झा सुरजको नाउँ
 स्वास्थ्य मन्त्रिलाई सिफारिस गरेको पत्र ।
कुनै पनि मानिसलाई क्यान्सर सम्बन्धि उपचार गराउन भरतपुर क्यान्सर अस्पताल जानुपर्ने अवस्था रहेको छ । तर, अब क्यान्सरको पहिलो चरणको उपचार जनकपुरमै हुनेछ । अञ्चल अस्पतालमा भरतपुर क्यान्सर अस्पतालसँग गरिएको सम्झौता अनुसार १० वेडको क्यान्सर उपचार गराईनेछ । यहि असोज कार्तिक देखि अञ्चल अस्पतालको मेडिकल वार्डमा कालाजार वार्डमै क्यान्सरको पहिलो चरणको उपचार समेत गरिने भएको छ । झाका अनुसार उक्त उपचारका लागि यहाँ भरतपुर अस्पतालको दुई जना क्यान्सर विशेषज्ञ चिकित्सक दरबन्दी नै कायम गरिएको छ । उनलाई सहयोग गर्न अन्य चिकित्सक र कर्मचारीहरु अञ्चल अस्पतालले नै उपलब्ध गराउने छ ।
अतिसघन कक्ष आइसियूको भवन निर्माण भई तत्कालिन स्वास्थ्य मन्त्रि राजेन्द्र महत्तोले उदघाटन समेत गरिसकेको छ । तर, आइसियू उपचार अहिलेसम्म पनि सुचारु भएको छैन । १५ वेडको लागि सामग्रीहरु समेत उपलब्ध भईसकेको छ । विकास समिति मार्फत आइसियूका लागि चार जना चिकित्सकहरु डा.रोविन झा, डा.नितु झा, डा.अस्मिता झा र डा.निरज ठाकुर चार महिना अघि नै नियूक्त भईसकेका छन् । १५ जना स्टाफ नर्स, ४ जना एचए र अहेबका लागि भ्याकेन्सि समेत भइसकेको छ । ती कर्मचारीहरु छनौट हुने वित्तिकै चिकित्सक समेतको संयुक्त टीमलाई धरान वा अन्य ठाउँमा पठाई तालिम दिलाईने छ । तालिम प्राप्त भईसकेपछि अस्पतालमा आइसियूको उपचार पनि सुरु हुने झाले बताएका छन् । किडनी फेल हुनुभन्दा अगाडीको चरणको लागि गराइने उपचार डाइलोसिस सेवा पनि सुचारु भईसकेको छ । उक्त सेवाका लागि अस्पतालले ४ वेड समेत छुट्याएको छ । साढे ७ करोड लागतको सिटी स्कयान मेसिन नेपाल सरकारले अञ्चल अस्पतालमा उपलब्ध गराइसकेको भएपनि सो सेवा हालसम्म सुचारु हुन सकेको छैन । कम्प्युटरको सिपियू आइसकेको भएपनि सेटअप आउन बाँकी नै रहेकोले आइसियू भवनको तल सिटी स्कयान जडान गरी सेवा उपलब्ध गराइने योजना रहेको झाले बताए ।
संजीव कुमार झा सुरज ।
त्यसैगरी पेटमा कुनै पनि रोग वा क्यान्सरको लागि मासु निकालेर भारतको मुम्बईमा उपचार गराउनुपर्ने अवस्था अब नरहेको भन्दै झा भन्छन,“अञ्चल अस्पतालमा अब इन्डोस्कोपी सेवा समेत सुचारु भईसकेको छ । क्यान्सर लागेको हो वा होइन भन्ने जाँच गराउनका लागि मासु निकालेर जाँच गरिन्छ ।” जनकपुर अञ्चल अस्पतालमा रहेको प्रयोगशालालाई क्षेत्रिय प्रयोगशाला बनाउनका लागि स्वास्थ्य मन्त्रालयका सचिव स्तरीय निर्णय गरी स्वीकृति समेत प्रदान गरिसकिएको छ । क्षेत्रिय प्रयोगशाला सुचारु भईसकेपछि हरेक किसिमको रोगको डाइग्नोसिस यहाँ हुन सक्ने उनले बताए ।
चिकित्सक अभाव रहेको समस्या समाधान गर्न जनकपुर अञ्चल अस्पतालले एमडीका विद्यार्थीहरुलाई पढाउने भएको छ । विर अस्पताल र प्रसुति गृहमा संचालित अन्तराष्टिूय संस्था नाम्ससँग जनकपुर अञ्चल अस्पतालले सम्झौता समेत गरिसकेको छ । जनकपुर निवासी डा.दामोदर पोखरेल नाम्सका भिसि हुन र उनको रिटायर्ड हुने अवस्था आउनै लाग्दा उनले आफ्नो अन्तिम इच्छा जनकपुरमा एमडीको पढाई हुनुपर्ने सपना साकार गर्न लागेका छन् । सम्झौताका अनुसार नाम्सका २ सय जना एमडीका विद्यार्थीहरुलाई जनकपुर अञ्चल अस्पतालले पढाउने भएको छ । एमडीमा लाग्ने रकमको ३० प्रतिशत एडमिशन शुल्क कटौती गरी ७० प्रतिशत रकम अञ्चल अस्पताललाई नाम्सले उपलब्ध गराउने छ । एक वर्षमा ४० जना विद्यार्थी गरी ३ वर्षमा कुल १ सय २० जना एमविविएस उत्तिर्ण गरेका एमडीका विद्यार्थीहरुबाट अस्पताललाई आर्थिक सहयोगका साथै विरामीहरुको उपचारमा समेत ठुलो योगदान पुग्ने झाले बताएका छन् । झाका अनुसार चिकित्सकको अभावको समस्या त हटने नै छ, प्रमुख कुरा के हो भने ती चिकित्सकहरु बाहिरको क्लिनिकमा समेत काम गर्न पाउने छैनन् । अञ्चल अस्पतालले ती चिकित्सकहरुबाट सेवा लिन सक्नेछन् ।
भ्रष्ट मेसुका कारण सेवा दिन सकिएन
जनकपुर अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बलराम मिश्रको भ्रष्ट प्रवृतिका कारण अस्पतालका व्यापक आर्थिक अनियमितता हुनुका साथै सेवाग्राहीले पाउनु पर्ने सेवा सुविधा समेत दिलाउन नसकिएको विकास समितिका निवर्तमान अध्यक्ष झाले बताएका छन् । आर्थिक वर्ष २०६९÷०७० मा महालेखा परीक्षकले पनि आमा सुरक्षाको भत्तामा ३१ लाख ५३ हजार ९ सय ५४ रुपैयाँ बेरुजु ठहर गरेको थियो । मेसु डा.बलराम मिश्रले खर्च गर्न त्यो रकम निकाल्यो । तर, खर्चको व्यहोरा नै सही देखिएन । ८ हजार ९ सय प्रसुति संख्याको आधारमा त्यो खर्चमा अनियमितता प्रष्ट देखिन्छ । १२ जेष्ठ २०७१ मा स्वास्थ्य सेवा विभाग, पाखिर सवास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य स्वा. प्र. भोगेन्द्र राज डोडेलले बेरुजु के कति कारणले भएको हो, उक्त बेरुजु रकम असुल उपर गरी सो को प्रमाण समेत पठाउन मेसुलाई पत्राचार गरियो । त्यसपछि मेसुले २३ साउन २०७१ मा ३१ लाख ५३ हजार ९ सय ५४ रुपैयाँको नेपाल राष्टू बैंकको चेक नम्बर ०१७५९७७ मा चेक पठाई दाखिला गरायो । त्यो रकम पठाउन कोलेनिकाको अनुमति आवश्यक पथर््यो ।
झाका अनुसार मेसु मिश्रले आमा सुरक्षा कार्यक्रम अन्तरगत कर्मचारीलाई दिइने भत्तामा समेत २० प्रतिशत कमिशन लिने गरेका छन् । स्टाफ नर्सिङ क्याम्पसको विगत ७ वर्ष देखि हालसम्म अडिट भएको छैन । त्यहाँ ४० जना विद्यार्थीको कोटा छ र प्रत्येक विद्यार्थीले रु. २ लाख जम्मा गर्नुपर्छ । ३ वर्षको कोर्षमा  कुल १ सय २० जना विद्यार्थी बाट एउटा ब्याचमा रु. २ करोड ४० लाख आम्दानी हुने गर्छ । मेसु नर्सिङ क्याम्पसको सदस्य सचिव भएका कारण अडिट नै नगराई डाइरेक्ट टिप्पणी खडा गरी सदर गर्ने गर्छन् । त्यहाँ लेखाको काम पनि मेसु आफैले हेर्ने गर्छन् । आफु खुशी कर्मचारी भर्ती केन्द्र बनाएको उक्त नर्सिङ क्याम्पसमा मेसुले व्यापक आर्थिक अनियमितता गरेको झाको आरोप छ । यति मात्र होइन औषधि खरिद गर्न टेन्डर गर्दा २० प्रतिशत रकम कमिशन उनले खाने गरेका छन् र परिणाम स्वरुप कमसल खालको औषधि ठेक्केदारले अस्पतालमा आपुर्ति गर्ने गर्छन । अस्पतालको लागि ३० लाख रुपैयाँको र प्रसुति औषधिको लागि ८० लाख गरी कुल १ करोड १० लाख औषधिमा २० प्रतिशत कमिशन उनले खाएको झाको आरोप छ । झाका अनुसार कर्मचारी दरबन्दी, टेन्डर अहवान गर्दा पिक्यूमा अनियमितता, लेखाजोखा तथा हर हिसाव गरी करिब १० वटा मुद्दामा उनी अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिरी हुने गरेका छन् । एचआइभी फाँटको आय व्यय सार्वजनिक हुँदैन । मेसु आफै बाहिर क्लििनिकमा जाने गर्दा अरु चिकित्सकहरु पनि बाहिर जाने गरेको उनले बताए ।
करोडौं बेरुजु
आर्थिक वर्ष २०६९÷०७० मा अस्पतालद्वारा प्रस्तुत आय व्यय विवरणमा व्यापक रकम वेरुजु ठहरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाको आलेप बेरुजु प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनमा तलबी प्रतिवेदन पारित वेगर रु.३ करोड ७२ लाख ७५ हजार ७ सय ४४ तलब खर्च गरेको पाइएको, अस्पतालको झ्याल ढोका मरम्मत आदेश तथा इष्टिमेट विना रु.१ लाख ४१ हजार ५ सय खर्च भएको उल्लेख गरिएको छ । त्यसैगरी औषधि खरिद पटक पटक दर भाउपत्रमा खरिद गरेको र खरिद ऐन तथा नियमावली अनुसार बोलपत्रको प्रकृया पु¥याई खर्च गर्नुपर्नेमा सो नभएको उक्त बेरुजु प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी रब्बानी कन्सटूक्शन जलेश्वर ११ लाई कार्य सम्झौता भएपछि मोविलाइजेशन पेश्की दिएकोमा आर्थिक वर्षको अन्तसम्म पटक पटक गरी रु. ३ करोड २५ लाख ८१ हजार ४ सय ८२ फर्छाैट नभएको उक्त प्रतिवेदनमा उल्लेख छ । अस्पतालले प्रस्तुत गरेको उक्त आय व्यय विवरणमा जानकी मेडिकल कलेजबाट रु.३६ लाख लिन बाँकी रहेको, वर्थडे सर्टिफिकेटबाट रु.२ लाख २४ हजार ९ सय, एम्बुलेन्सबाट रु.५७ हजार ४ सय, काउन्टरबाट रु.७४ लाख १२ हजार १ सय ५७, घर बहालबाट रु.२१ लाख ४१ हजार २८, ओपिडी टिकटबाट रु. ७ लाख ५१ हजार ५ सय ३० आम्दानी प्राप्त भएको उल्लेख छ । एउटा एम्बुलेन्सबाट महिनामा ५० हजार रुपैयाँ आम्दानी हुन्छ तर, अञ्चल अस्पतालको एम्बुलेन्सबाट बर्षमा ५७ हजार रुपैयाँ मात्र आम्दानी देखाउनुले पनि चालकको भ्रष्टाचार पुष्टि हुन्छ ।
    यति मात्र होइन प्रसुति सेवा र परिवार नियोजन सेवा तर्फ नेपाल सरकारबाट प्रदान गरिएको औषधिलाई प्रशासनका निकायले स्टोरबाट लिएपनि बाहिर औषधि पसलबाट विल भरपाई बनाई दोहोरो रकम लिने गरेको अस्पताल स्रोतको दावी छ । मन्त्रालयको आपुर्ति शाखाबाट धेरै उपकरणहरु निकासा गरिएपनि उक्त उपकरणहरु अस्पतालमा दाखिला नगरेर निजी नर्सिङ होम र अस्पताललाई बिक्री गर्ने गरेको अस्पताल स्रोतको दावी छ । स्रोतका अनुसार आपुर्ति शाखाबाट यस अघि अञ्चल अस्पतालका लागि आएको एक उपकरण (मान्छे मृत हो वा जिवित) जाँच्नका लागि आपुर्ति गरिएपनि त्यो उपकरण अस्पतालमा छैन तर, जानकी मेडिकल शिक्षण अस्पतालमा देखिन्छ ।
विकास समितिको अध्यक्षमा संजीव झाको पक्का पक्की
कामेश्वर झा पदमुक्त भएपछि अञ्चल अस्पतालको विकास समितिका अध्यक्ष पद प्राप्तिका लागि धनुषामा एमालेका नेताहरु बीच प्रतिस्पर्धा बढेको छ । त्यस क्रममा यूवा संघका नेता संजीव कुमार झा सुरज र एमाले धनुषाका सह संयोजक राजकिशोर यादवको चर्चा वढेको छ । संजीवलाई यूवा संघको केन्द्रिय अध्यक्ष महेश बस्नेतले सिफारिस गरेको छ भने राजकिशोरको नाउँ एमालेको जिल्ला पार्टी कार्यालयले सिफारिस गरेको छ ।
    एमाले धनुषाका संयोजक योगनारायण यादवले केन्द्रिय सदस्यहरु शत्रुधन महत्तो, श्रीप्रसाद साह र रत्नेश्वर लाल गोइतको सहमतिमा राजकिशोरको नाउँ प्रस्तावित गरेको छ । राजकिशोरका अनुसार पार्टीको केन्द्रिय कार्यालय र स्वास्थ्य मन्त्री समेतले जिल्ला कार्यसमितिलाई सिफारिस माग गरे पछि जिल्ला संयोजकले उनको नाउँ सिफारिस गरेको हो ।
स्वास्थ्य मन्त्री खगराज अधिकारी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर भएका कारण संजीवको सम्भावना वढी रहेको अडकल लगाइएको छ । उनको पक्षमा यूवा संघका केन्द्रिय अध्यक्ष महेश बस्नेत सँगै ओली पक्षधरहरु एमालेका सचिवद्वय प्रदिप ज्ञवाली र विजय सुब्बा गुरुङ्ग, उद्योग मन्त्री कर्ण थापा, खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिना लगायतका नेताहरुको समर्थन रहेको वताइएको छ । तर, ती दुवै जनाको नाउँमा सहमति हुन नसके राष्टिूय प्रतिनिधि परिषदका सदस्य अक्षयलाल महत्तोको नाउँ समेत विकल्पमा राखिएको यूवा संघ धनुषाका नेता राजकुमार यादवले बताए ।
नियमावली संशोधनको तयारी
यसअघिको सरकारको नेतृत्व गरेका मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मीको पालामा अञ्चल अस्पताल विकास समितिको अध्यक्षमा मनोनित हुनका लागि कि त डक्टर हुनु पर्ने नत्र नेपाल सरकारको रिटायर्ड सेकेण्ड क्लासको कर्मचारी हुनु पर्ने प्रावधान सहित नियमावली बनाएको थियो ।
    उक्त नियमावलीलाई संशोधन गरी पुनः उक्त व्यवस्था हटाउन स्वास्थ्य मन्त्रालयले तयारी गरेको बताइएको छ । स्रोतका अनुसार १५ दिन भित्र मन्त्रिपरिषदको बैठकमा उक्त प्रस्ताव लगी संशोधन गरिनेछ । अनि मात्र सिफारिस गरिएका राजनीतिक व्यक्तिहरु मनोनित हुन पाउनेछन् ।
मेसुमा संजय ठाकुरको सम्भावना प्रवल
जनकपुर अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.बलराम मिश्रालाई हटाई त्यहाँ फुल मेडिकल सुपरिटेन्डेन्ट पठाउने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ । यस अघि मेसु मिश्राका आफन्त डा. प्रविण मिश्रा स्वास्थ्य सचिव भएका कारण उनी उक्त पदमा आसिन थिए । तर, अब सचिव पदबाट अबकास प्राप्त भइसकेको र मेसु मिश्राको पनि भ्रष्टाचार सम्बन्धि गुनासो व्यापक रहेकोले उनलाई हटाउन लागिरहेको हो । स्रोतका अनुसार मेसुका लागि ११ औं तहका कोशी अञ्चल अस्पताल, विराटनगरका मेसु डा.संजय ठाकुरको पक्का पक्की भएको छ । उनलाई असोजको पहिलो सातामा जनकपुर अञ्चल अस्पतालमा सरुवा गरिने भएको छ ।
त्यसैगरी मेसुको रेसमा रहेका वर्दीवास अस्पतालका दशौं तहका डाक्टर रामपरिक्षण यादवलाई जलेश्वर अस्पतालको मेसु बनाइने स्वास्थ्य मन्त्रालयले आश्वासन दिएको छ ।
 
२०७१ भदौ २२ गते आईतबार

No comments:

Post a Comment