Tuesday, September 9, 2014

सिंघानिया हत्याको अहिले पनि छिनोफानो गर्न सक्छु । दुधको दुध र पानीको पानी छुट्याउन सक्छु ः रुपकुमार न्यौपाने

रुपकुमार न्यौपाने

अरुण सिंघानियाको हत्या हुँदा जिल्ला प्रहरी कार्यालय धनुषामा रुपकुमार न्यौपाने सेकेण्ड म्यानको रुपमा डिएसपी पदमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयले उनलाई स्थानीय स्तरमा गठन गरिएको अनुसन्धान कमिटीको संयोजक तोकेका थिए । तर अनुसन्धानकै क्रममा रहेको बेला उनलाई विभागले विभिन्न आरोप लगाई विभागिय कारवाही स्वरुप उनलाई निलम्बन गरी एक तह इन्सपेक्टरमा घटुवा गरेको थियो । अहिले उनी जागिर छोडि सर्बोच्च अदालतमा रिट दिएका छन् । उनले द एक्सक्लुसिभलाई सिंघानिया हत्याको अनुसन्धान डाइभर्ट गर्न करोडौं रुपैयाँको चलखेल भएको र नियतबस आफुलाई कारवाही गरेर बलीको बोका बनाएको बताएका छन् । सिंघानिया हत्या सम्बन्धि २० भाद्रमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले टेलिफोन मार्फत गरेको वार्तालापको सम्पादीत अशं प्रस्तुत छ ः

अरुण सिंघानियाको हत्या हुँदा धनुषामा तपाँई डिएसपी हुुनुहुन्थ्यो । स्थानीय स्तरमा तपाँई कै संयोजकत्वमा अनुसन्धान तथा छानविन कमिटि बनाइएको थियो । अहिले धनुषाका एसपी उत्तम राज सुवेदी, जो अहिले सरुवा भईसकेका छन्, रवाना भएर जानेबेलामा उनले विगतमा उक्त हत्या काण्डको कुनै अनुसन्धान नै नभएको र आफुले जिरोबाट अनुसन्धान सुरु गर्नु परेको बताएका छन् । यसको अर्थ तपाँईहरुको छानविन कमिटिले अनुसन्धानमा विफलता त पाएकै हो नि, होइन ?
होइन होइन, अनुसन्धान नै नभएको होइन, गरेकै हो । मलाई हेडक्वार्टरले नै अनुसन्धान अधिकृत तोकेको थियो । मैले आफ्नो प्रतिवेदन बुझाउँदा समेत यस्तो अवस्था छ है भनेर भनेको थिए ।  अर्जुन सिंह भन्ने मान्छेले जिम्मा लिएको छ । त्यो मान्छेलाई समातेर ल्याईसकेपछि सिंघानियालाई सुट गर्ने मान्छे को हो, पर्दा पछाडीको मान्छे को हुन ती सबै कुराहरु मैले खोल्दा खोल्दै पनि तत्कालिन एसपी जो अहिले पर्सामा एसएसपी छन्, सर्वेन्द्र खनालले पुरापुरी इग्नोर गर्नु भयो । वास्तै गर्नुभएन । पत्रकार सम्मेलन नै गर्दा तपाईहरुकै पत्रकार विरेन्द्र रमनलाई तपाई सोध्न सक्नु हुन्छ वहाँले मलाई प्रश्नै गर्नुभयो कि यति हुँदा हुँदै पनि एसपीले किन भनिरहेका छन् कि यो व्यक्ति होइन भनेर ।  अब त्यो एसपी खनालको के इन्टूेष्ट थियो त्यो उहाँले जान्ने कुरा हो । त्यो पर्दा पछाडी अनुसन्धान खुलासा गर्न कसले उहाँलाई रोकिरहेको थियो । अब त्यो कुरा उहाँले नै जान्ने हो । मलाई राम्ररी थाहा छ कि पर्दा पछाडी व्यक्ति को हुन । हामी लगभग अनुसन्धानको अन्तिममा आइसकेका थियौं तर, दुर्भाग्यवस के भईदियो भने सम्पुर्ण टिमलाई नै तितरवितर गरिदियो । मलाई काज सरुवा गरियो । मेरो सहयोगी मान्छेहरुलाई ज्यान मुद्दा, हतियार मुद्दा लगाएर फसाईयो । सशस्त्रको एसपी सरुवा भयो । मसँगै अनुसन्धानमा खटिएका सशस्त्रको इन्सपेक्टर सरुवा गरियो । यो कुरामा ठुलो चलखेल छ । आर्थिकै चलखेल भएको छ । पैसाको चलखेल भएका व्यक्तिहरुसँग पनि कुरा गर्न सकिन्छ । अहिले नै ती कुराहरु फोनमा नखोलौं । म आफै प्रयास गर्छु र भोलीको दिनमा ती सबैकुराहरु खोल्न लगाउँछु ।
तपाईको टोली घटनाको अनुसन्धान गर्न र अपराधी पक्राउ गर्न भारत तर्फपनि गएको थियो । तर, तपाईहरु उल्टै भागेर आउनु परेको चर्चा पनि चल्यो । भारत जाँदा के भएको थियो ?
हामी पटना हुँदै मधुवनीसम्म पुगेका थियौं । हामी घटनामा संलग्न भएका मान्छेहरुलाई त्यहाँको स्थानीय पुलिसको सहयोगमा पक्राउ गर्ने क्रममा थियौं । तर, जनकपुरमा तत्कालिन एसपी श्याम खड्काले पत्रकार सम्मेलनमा डिएसपी न्यौपानेको टोली मान्छे पक्राउ गर्न भारतमा गएको छ भनेर भनिदियो । अब त्यसपछि यहाँको एफएमहरुले पनि समाचार बजाए । त्यो समाचार उत्तापट्टी भुमिगत समुहहरुले सुनिरहेका थिए । तिनीहरुबाटै हामी मधुवनीमा असुरक्षित भयौं । हामीले पुलिस सेक्युरिटी लिनु पर्ने अवस्था भयो । त्यसपछि विहानै हामी छोडेर आयौं ।
तत्कालिन एसपी खडकाले नियतवस तपाईहरु भारत जानुभएको कुरा भन्नु भयो वा उहाँले मिडियाको पे्रशर सामु संयमता अपनाउन सक्नु भएन ?
म उहाँलाई आरोपै लगाउन चाहन्न । उहाँको त्यो लापरवाही थियो । विवेक पु¥याउन सक्नु भएन ।
सिंघानिया हत्या हुँदा तपाई डिएसपी हुनुहुन्थ्यो । प्रहरीले घटनाको छानविनको सुरुवात कसरी ग¥यो ?
सिंघानियाको हत्या भएको दिन म यहाँ थिईन । म सिन्धुलीमा थिएँ । विदा बसेको थिएँ । विदा क्यान्सिल गर्न लगाई मलाई बोलाइयो । अनि म आइसकेपछि हेडक्वार्टरले मलाई तोक्यो । तोकिसकेपछि हामीले बुझ्नु पर्ने सम्पुर्ण कुराहरु यहाँ बुझ्यौं । घटनाको जिम्मा लिने मान्छे भारतमा थियो र त्यो मेन मान्छेलाई पक्राउ गर्ने वित्तिकै सबै कुरा खुल्ने थियो । र, अरु यहाँ सुट गर्ने मान्छे त नेपालमै थिए नि । अहिले पनि नेपालमै छन, कोही बैदेशिक रोजगारीमा गएका छन् । जे होस, एसपीले जे गरेता पनि माथिल्लो तह खास गरी क्षेत्रले कमसेकम अनुसन्धान गरिराखेको मान्छे छ, यसलाई राखौं भनेर भन्न सकेन । यदि यसले गल्ती गरेकै होला भने पनि पछि सजाय दिन सकिन्छ त र अहिले अनुसन्धानमा राख्न आवश्यक छ भन्ने पनि हुन्थ्यो । तर, यहाँ अर्कै ठुलै इन्टेरेस्ट थियो, हुने कुरै भएन ।
गृहमन्त्रालयले पनि घटनाको अनुसन्धान गर्न एसएसपी विजय भट्टको संयोजकत्वमा छानविन टोली पठाएको थियो । उहाँहरुले के ठहर गर्नु भयो ?
उहाँहरुले पनि अर्जुन सिंहले घटनाको जिम्मा लिएको हुनाले पहिलो कुरो भनेको त्यो व्यक्ति पक्राउ पर्नुपर्छ । उहाँहरुले अनुसन्धानमा त्यही कुरा होला । यद्यपि मैले उहाँहरुको प्रतिवेदन पढेको छैन तर सुन्दा खेरी त्यही हो ।
अर्जुन सिंह अहिले पक्राउ परिसकेका छन् । उनी अहिले विभिन्न मुद्दाको अनुसन्धानका लागि कारागारमा थुनिएका छन् । जिम्मा लिने व्यक्ति नै पक्राउ परिसकेपनि घटनाको यथार्थ विवरण वाहिर किन आउन नसकेको होला ?
अब अहिले सत्य कुरा बाहिर ल्याउन सुट गर्ने मान्छे मनक लामालाई समातेर ल्याउनु पर्छ । र, अरु मान्छेहरु पनि होलान, त्यसलाई ल्याउन सक्नु पर्यो । हेर्नुस म त अब त्यहाँ छैन । मेरो सहयोग लियो भने म अहिले नै घटनाको सत्य तथ्य बाहिर निकाल्न सक्छु । दुधको दुध र पानीको पानी छुट्याईदिन्छु ।
एकलाल सहनी जो तपाईको सुराकी थियो, उसैले सुटर मनक लामासँग चन्द्रदीप यादवको सम्पर्क गराएको भन्ने कुरा वाहिर आएको छ । तर, त्यसबारे तपाई पनि अनभिज्ञ हुनु हुन्थ्यो उसले त तपाईलाई धोका दियो नि त ?
सुराकीलाई ह्याण्डल गर्नु भनेको धेरै अप्ठयारो कुरो हो । उसको मनस्थिति कति बेला कतातिर जान्छ भन्ने कुरा बुझ्नु पनि धेरै गाह्रो काम हो । सुराकी भन्नाले मेरो व्यक्तिगत सुराकी त थिएन ऊ । जिल्ला प्रहरी कार्यालय धनुषाको सुराकी थियो । जो जानकारी माथि एसपी सम्म थाहा हुन्छ । एसपीले माथि रिपोर्ट गर्छ÷गर्दैन त्यो उहाँहरुको कुरो हो । हो, सुराकीले पनि कहिले काँही गल्ती गर्न सक्छ । उसले पनि गल्ती गरेको होला । यो छुट्टै पाटो हो । अहिले भन्न सकिन्न । खाइर उसले गलत काम गरेपनि मैले प्रयोग गरेको दश जना सुराकीहरु मध्ये अरु सबैलाई प्रयोग गरेर अझै पनि केशलाई सोल्भ गर्न सक्ने अवस्थामा रहेको म दावी साथ भन्न चाहन्छु ।
तपाईलाई विभागिय कारवाही भइसकेपछि तत्कालिन एसपी सर्वेन्द्र खनाल सँग तपाईको सम्पर्क भयो कि भएन, व्यक्तिगत रुपमा ?
एक पटक मैले उहाँलाई सम्पर्क गरी तपाईले के गर्नु भएको हो, किन गर्नु भएको हो भनेर सोध्दा पत्रकारहरुले खाई किन र कसरी लेख्यो भनेर पन्छिन खोज्नु भयो । अनि मैले पनि तपाई यसरी गैरजिम्मेवारी पुर्वक प्रस्तुत नहुनुस, यदि तपाईले गरेको होइन भने खण्डन भने खण्डन गर्न भन्नुस पत्रकारलाई । तपाईले विभागको नै किन वेइज्जती गराउन खोज्नु भएको हो भनेर पनि सोधें । तर, उहाँले जानी जानी यसरी गरिरहनु भएको मान्छे खण्डन गराउने कुरै भएन नि । उहाँको इन्टेन्सन के हो भने नि कसरी हुन्छ पत्र पत्रिकामा आएर हाइलाइट हुनु पर्यो । तत्कालिन समयमा त उहाँले काम कारवाही गरेको पनि देख्यिो नि । तर, वास्तविक कुरो त अर्कै छ । मलाई त खाली बलीको बोका बनाइयो ।
अहिले वर्दी लगाउन नपाउँदा तपाईलाई कस्तो पीडा वोध भइरहेको छ ?
होइन, होइन पीडावोध हुने कुरै भएन । किनभने आज पनि म पुलिस नै हो, हिजो पनि थिएँ र भोली रिटायर्ड भइसके पनि म पुलिस नै हुनेछु । भोलीको दिनमा अदालतबाट सफाई पाइसके पछि फेरी म पुलिस नै रहनेछु । यो अलग कुरा हो पुलिस डिपार्टमेन्ट भित्र मसँग कसैको राम्रो सम्बन्ध नहुन सक्ला वा म कुनै व्यक्तिको विरोधी हुन सकुँला । तर, म पुलिस हुँ, पुलिस संगठन भित्र रहिरहन्छु ।
तपाईले सिंघानिया घटनाको अनुसन्धानमा गैर पुलिस अर्थात आम नागरिक संजिव झा सुरजको किन सहयोग लिएको हो ?
सिंघानिया भनेको संचार क्षेत्रमा पनि काम गर्ने हुनाले चर्चित व्यक्ति थिए । र, मैले संजीव झाको मात्र सहयोग लिएको होइन नि । अन्य व्यक्तिको पनि सहयोग लिएको थिएँ । तिनीहरुको नाम पनि कहाँ आएन त्यो त एसपी खनालले उनलाई हातहतियारको झुठो मुद्दामा फसाएर चर्चित गरिदिएको हो । आखिर संजीव पछि अदालतबाट सफाई पाए नै । फेरी राज्यले अनुसन्धानको क्रममा कुनै व्यक्ति सँग सहयोग माग्दा र सहयोग गर्न तयार भएको खण्डमा सहयोग लिनु के खराव कुरा भयो त ?
तपाईहरुले अनुसन्धान प्रक्रिया सुरु गर्दा को–को सँग सोधपुछ गर्नू भएको थियो ?
हामीले अनुसन्धानको क्रममा घटनास्थलको वरिपरिका व्यापारीहरु, सिंघानियाका घर परिवारका सदस्यहरु, उनका अरु आफन्तहरु, रिक्सा चालकहरु गरी ८÷१० जनासँग सोधपुछ गरेका थियौं । तर, त्यो कुराहरु रेकर्डमा छैन ।
तपाई यति लामो समय सम्म धनुषामा विभिन्न पदमा काम गर्नु भयो । धनुषामा विगतका वर्षहरुमा यतिको अपराध वढ्नुमा पुलिस दोषी छ कि छैन ?
त्यो एउटा सिस्टम पनि वसेको मैले अनुभुति गरें । झिझाको एउटा हजुरबुवा डाँका छ भने त्यसको नाती पनि डाँका छ । हजुरबुवाको पालामा रहेको पुलिस र अहिले नातीको पालाको पुलिससँग एउटा खान्दानी रिलेसनसिप  परम्परागत रुपले चल्दै आएको मैले देखें त्यहाँ । त्यो परम्परा विस्तारै छुट्टै गयो । ठयाक्कै अब पुलिस त्यहाँ दोषी नै छैनन्,पुलिसले राम्रो काम मात्र गरेको छ त्यहाँ भनेर भन्न सकिने अवस्था छैन । देशैभरी कतिपय पुलिस त वदनाम भएकै छन नि । तर, सबै पुलिस त्यस्तै हो पनि भन्न सकिने अवस्था त छैन ।
सिंघानिया हत्यामा मल्टिपल इन्टेरेस्ट रहेको अहिलेका एसपी उत्तम राज सुवेदीले भन्नु भयो हत्यामा समाजका ठुला वडा र प्रतिष्ठित व्यक्तिको पनि हात रहेको हुन सक्ने संकेत दिँदै आउनु भएको छ । तपाईको विचारमा सिंघानिया हत्या किन र को(को संलग्न भएको हुन सक्छ ? व्यापारी, राजनीतिक वा मारवाडी समुदाय कसको संलग्नता हुन सक्छ ?
समाजमा पैसा कमाइसके पछि प्रतिष्ठित भइहाल्दो रहेछ । सिंघानियाको हत्या गैरकानुनी क्रियाकलापका कारण भएको हो । त्यसमा ती २ नम्बरका धन्दा गर्नेहरुको गिरोह नै संलग्न छ । त्यसैले यो घटनामा व्यापारीहरु पनि संलग्न छन् । एक नम्बर धन्दाको कारण त घटना भएकै होइन । गैरकानुनी व्यापार र धन्दाका कारण भएका हुन । ती समुहहरुको इन्टेरेस्टमा फरक भयो र घटना गराइयो ।
तत्कालिन एसपी श्याम खड्काको दोष अथवा लापरवाही सिंघानिया हत्याकाण्डमा थियो वा थिएन ?
वहाँको अकर्मणयता त पक्कै हो ।
तपाईले मौका पाए पनि नपाए पनि, वर्दी फिर्ता भए पनि नभए पनि, सिंघानिया घटनालाई तपाईले अहिले वाहिरबाट कसरी सहयोग गरिराख्नु भएको छ ?
मेरो प्रयास त छँदैछ । मेरो सहयोगको अपेक्षा राख्यो भने म जतिबेला पनि तयार छु । मैले प्रत्यक्ष रुपमा नभए पनि आफ्नो मान्छेहरुबाट अप्रत्यक्ष रुपमा यसो यो छ है भनेर खबर त पु¥याईदिराखेकै छु ।
विभागले अनुसन्धानको लागि तपाईको युज किन गर्न सकेन ?
त्यतातिर को कमेन्ट नगरौं । तर, अहिले पनि अपराधिक घटना भयो भने मैले इन्फोमेशन दिने गरेको छु ।
त्यतिबेला एक जना सई बाबुराम झा जो रेल्वे चौकीका इन्चार्ज थिए । उनी माथि बलात्कारको आरोप लाग्यो र प्रहरी र तत्कालिन राज्य मन्त्रि संजय साह बीच ठुलै घम्सा घम्सी भयो । आन्दोलन नै भयो र पछि सिडिओ, एसपी, एसएसपी र इन्सपेक्टर सहितको टोली नै सरुवा भयो । यो सब हुनुमा सिंघानिया हत्या काण्डसँग पनि के कनेक्सन छ ?

त्यो बेला संजय साह राज्य मन्त्रि थिए । उनका मान्छेहरुलाई तत्कालिन एसपी श्याम खडका र इन्सपेक्टर आभुसन तिमलसिनाले गएर कुटपिट गरिदिए । त्यो बेला संजय साहले पनि एसपी खडकालाई कुटपिट गरिदिए । संजय साहले पनि त्यसो गर्नु हुन्थिएन । अब हेर्नुस है, मलाई त्यो अप्रेशनमा बोलाइएको थिएन । एसपीले मलाई बोलाएनन् । किन बोलाएनन् त्यो एसपीले जानुन । तर, सेटमा मैले सबै सुनिसकेपछि म त्यहाँ पुगेर स्थितिलाई नियन्त्रणमा लिएँ । अब हेर्नुस विडम्बना के छ भने जिल्लाको एसपीलाई कुटपिट गरिएको छ चाहे त्यो राज्य मन्त्रि नै किन नहोस । एसपीले एक्शन लिनुपथर््यो नि । एसपीले एक्शन लिन सकेनन् । एसपी डराए । राज्य मन्त्रिको कारण । राज्य मन्त्रिले एसपी कुटन पाउँदैन । कुनै कानुनले पनि त्यो छुट दिँदैनन् । एसपीले त्यति बेला बल प्रयोग गर्न सक्नुपथर््यो । तर, गर्न सकेनन् । त्यो त्यतिबेलाको एसपीको ठुलो कमजोरी हो । त्यो बेला मैले राज्य मन्त्रि संजय साहलाई समातेर फालिदिएको हो । मैले भने, तपाई राज्य मन्त्रि हो कलम चलाउनुस । हात चलाउन पाउनु हुन्न । त्यो तपाईको अधिकार छैन र मिल्दैन पनि । तर दुर्भाग्य हाम्रो देशको त्यो बेला गृहमन्त्री विजय गच्छदार, उनकै पार्टीका राज्य मन्त्रि संजय साह भएकै कारण उल्टै एसपी, एसएसपी, सिडिओ र इन्सपेक्टर तिमिल्सिना लगायतको सरुवा गरियो । त्यतिबेला पुलिसलाई गिज्यिाउने काम गरियो । पुलिसको मनोबल गिराईयो । हेर्नुस है हुन त त्यो बेला पनि मलाई आरोप लगाईयो । म संजय साहको मान्छे हुँ भनेर । मैले नै संजय साहलाई भनेर गर्न लगाए रे । तर म संजय साहको मान्छे होइन ।
बाबुराम प्रकरण के नियोजित नै थियोे त ?
त्यो घटना संजय साहबाट नियोजित थियो । सई बाबुराम झाले के गल्ती ग¥यो भने जुन महिलाको बलात्कार गरेको आरोप लगाईयो त्यो महिलालाई चौकीको सामान्य कस्टडीमा नराखी जिल्ला प्रहरी कार्यालय पठाउनुपर्ने थियो । तर, उनले ती महिलालाई उनी आफ्नो क्वार्टरमै सुताए । त्यसपछि उनको नियत माथि शंका ग¥यो मान्छेले । रेप भएन भन्ने कुरा त मेडिकल रिपोर्टबाटै पुष्टि भईसकेको छ ।
तपाईलाई तत्कालिन एसपी सर्वेन्द्र खनालले विभागमा  रिपोर्ट गरेर जसरी निलम्बन पारियो, पछि तपाईलाई विभागिय कारवाही स्वरुप इन्सपेक्टरमा घटुवा गरियो र अहिले मैले जानकारी पाए अनुसार तपाईले जागिर समेत छोडिसकेको हुुनुहुन्छ । यति हुनुमा सिंघानिया हत्या काण्ड नै प्रमुख कारण रहेको तपाईलाई लाग्छ ?
एकदम÷एकदम । यो सिंघानिया हत्यासँग जोडिएकै कुरा हो । किनभने सिंघानियाको हत्यारालाई मैले अदालतको कानुनी कठघरामा ल्याउने नै थिएँ । मैले ल्याइदिएको भए त्यो आर्थिक चलखेल हुन पाउने थिएन । म ठोकुवाका साथ भन्छु सिंघानिया हत्याको अनुसन्धान पुरा हुन नदिन तत्कालिन एसपी सर्बेन्द्र खनाल आर्थिक प्रलोभनमा परेर म माथि झुठा आरोप लगाएर मलाई साइड गराईयो । त्यो कुराहरु पछि खुल्छ । मैले त्यतिबेला गर्न सकिन तर, अहिले पनि घटनाको अनुसन्धान गरी तथ्य अगाडी ल्याउन मैले पुलिस प्रशासनलाई सहयोग गरेर मैले सहयोग गरिरहेकै छु ।
तपाईलाई जसरी कारवाही गरेर अपमान बोध गराईयो, यो घटनाको खुलासा हुनै पर्छ भन्ने जस्तो तपाईलाई लाग्दैन ?
एकदम लागेको छ । यो खुलासा हुनै पर्छ र त्यतिपनि मैले गर्न नसकेभने मैले बाँच्नुको अर्थ नै रहदैन । मेरो त अहिले अदालतमा विचाराधिन मुद्दा छ  । केही दिनमै पनि म फुर्सत पाउन सक्छु । ममाथि लगाइएको आरोपमा कुनै दमै छैन । कारवाही गर्ने मान्छेहरु पुर्वाग्रही थिए । त्यो बेलाका आइजीपी रमेश चन्द ठकुरी भ्रष्टाचारको मुद्दामा जेल जाने क्रममा छन् । उनलाई विशेष अदालतले जेल सजाय तोकिसकेको छ । उनले प्रशासनिक चलखेल गरेर अलिकति लम्बियाउलान तर उनी जेल जानु नै छ । त्यस्ता भ्रष्ट मान्छेले गरेको कारवाही के नै होला । मिसिलमा पनि केही छैन । विभागिय कारवाही अधिकारको कुरो हो । पुर्वाग्रही ढंगले गरियो । भ्रष्ट आइजीपी ठकुरीले अधिकारको दुरुपयोग गरेको हो ।
तपाईको साँठगाँठ भुमिगत सशस्त्र समुहहरुसँग छ भन्ने आरोप न लगाइएको हो ?
हो(हो लगाए । त्यसको लागि मैले सशस्त्र समुहहरुको सदस्यता लिएको हुनुपर्दछ । उनीहरुसँग मैले भेटघाट गरेको भिडियोग्राफी हुुनुपर्दछ वा उनीहरुसँग मैले फोनमा कुराकानी गरेको रेकर्ड हुुनुपर्छ । केही न केही प्रमाण त हुनुपर्छ । मैले विभिन्न अपराधिहरुलाई समात्न कुनै न कुनै अपराधिको सहयोग लिएको होउला । तर, त्यो पुर्वाग्रही ढंगले मसँग रिसिबी साध्न आरोप लगाइएको मात्र हो ।


२०७१ भदौ २२ गते आईतबार

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete