Tuesday, July 29, 2014

जेलमा रहेका राजन मुक्तिको संयोजकत्वमा वार्ता समिति गठन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

    सशस्त्र समूहरुसँग वार्ता गर्न सरकारले गठन गरेको समितिका संयोजक तथा नेपाली कांग्रेसका सभासद आनन्द प्रसाद ढुंगानाले साउन ११ देखि वार्ता प्रक्रिया सुरु गरिने बताएका छन् । प्रथम चरणमा पहाडी क्षेत्रमा सक्रिय सशस्त्र समूहहरुसँग साउन ११ र १२ गते इलाममा वार्ता हुने बताइएको छ । स्रोतका अनुसार दोश्रो चरणमा जनकपुर र तेश्रो चरणमा नेपालगञ्जमा वार्ताको मिति तय गरिएको छ । स्रोतका अनुसार जनकपुरमा हुने वार्तामा मनोज मुक्ति नेतृत्वका केही मधेश केन्द्रीत सशस्त्र समूह सहभागी हुनेछन् ।
    यसैविच जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रिय संयोजक मनोज मुक्ति (विवेक) ले १० साउनमा द एक्सक्लुसिभसँगको टेलिफोन बार्तामा वार्ता समितिका सुत्रधारहरुसँग अनौपचारिक रुपमा वार्ता भईसकेको तथा केही प्राविधिक गडवडीका कारण औपचारिक वार्ताको तिथिमिति तथा स्थान नतोकिएको बताए । उनका अनुसार वार्ता प्रक्रिया सकारात्मक रुपमा अगाडी वढिरहेको भएपनि केही प्राविधिक कारण केही मुद्दाहरुमा सहमति नजुटेको कारण औपचारिक रुपमा वार्ता तय हुन नसकेको उनले बताए । ‘टूयाक टु’ अर्थात वार्ता स्थान र मिति गोप्य राखिने शर्तमा केही मध्यस्थकर्ताहरु, सहजकर्ताहरु र राज्यको संसदीय समितिका संयोजक आनन्द प्रसाद ढुङ्गाना लगायत केही सदस्यहरुसँग प्रत्यक्ष रुपमा वार्ता र संवाद भईसकेको मनोज मुक्तिले बताएका छन् ।
    उनका अनुसार उनीहरुको समुहहरुको तर्फबाट जलेश्वर कारागारमा रहेका उनीहरुका वरिष्ठ नेता रंजित झा भनिने राजन मुक्तिको संयोजकत्वमा मधेसका विभिन्न जिल्लाहरुबाट विभिन्न भाषा, समुदाय र  जातिका गरी करिब १५ देखि २१ सदस्यीय वार्ता समिति चयन गरिएको छ । मनोज मुक्तिका अनुसार १० दिन अघि वसेको उनीहरुको मोर्चाको केन्द्रिय कमिटि वैठकबाट उक्त वार्ता समिति चयन गरिएको हो ।
    संगठित अपराध तथा दर्जनौं मुद्दाको अभियोगमा राजन मुक्ति अहिले जलेश्वर कारागारमा रहेको अवस्थामा उनलाई राज्यले रिहा गर्लान त भन्ने सबालमा मनोज मुक्ति भन्छन,“मधेसको सशस्त्र जनविद्रोहलाई राज्यले सकारात्मक रुपमा व्यवस्थापन र समाधान खोजेको हो भने पक्राउ परिएका शिर्ष तहका क्रान्तिकारी नेताहरुलाई रिहा गर्ने चलन अन्तराष्टिूय नजिर पनि रहेकाले राजन मुक्तिलाई राज्यले रिहा गर्नै पर्ने हुन्छ । माओवादीसँग राज्यले वार्ता गर्दा उनको बैकल्पिक केन्द्रिय सदस्य मात्रिका यादव लगायत थुप्रै नेताहरुलाई रिहा गरेको थियो, त्यसैगरी हाम्रो शिर्ष नेता जोकी वार्ता कमिटिको संयोजक हो, राज्यले रिहा गर्नै पर्ने हुन्छ ।”
    यसैबीच, सशस्त्र समूह अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले तेश्रोपटक संगठनको नाउँ फरेका छन् । स्थापनाको दशौँ वर्ष प्रवेशको दिन साउन १० देखि संगठनको नाउँ ‘ तराई कम्युनिष्ट पार्टी ( माओवादी) हुने गोइतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सुरुमा यसको नाउँ जनतान्त्रिक तराई मुक्ति मोर्चा थियो ।
    गोइतले १० वर्षमा गैर न्यायीक हत्या, गैर कानुनी गिरफ्तारी, झुठा मुद्दामा करागार पठाउने तथा भारतीय आतंकवादी र अपराधीसँग आफ्ना कार्यकर्ता साट्ने कार्य भएको गोइतले दावी गरेका छन् । यता गोइतले भने वार्तामा बस्नेर नबस्ने विषयमा विज्ञप्तीमा स्पष्ट गरेका छैनन् । वार्ता समितिमा एमाले नेता, सुरेन्द्र पाण्डे, एमाओवादीका शक्ति बस्नेत, तमलोपाका सर्वेन्द्रनाथ शुक्ला र संघीय समाजवादी पार्टीका अशोक राई सदस्य छन् ।

२०७१ साउन ११ गते आईतबार

No comments:

Post a Comment