Monday, June 2, 2014

एमाले धनुषाको नेतृत्वमा योगनारायण यादव

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेकपा एमाले धनुषाको जिल्ला कमिटिमा दुईवटा समानान्तर कमिटि गठन भएपछि उत्पन्न भएको विवादलाई अन्तय गरी योगनारायण यादवको संयोजकत्वमा ९० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । १४ जेष्ठमा एमालेको केन्द्रीय कमिटिको बैठकबाट धनुषाको विवाद साम्य पार्न ३ दिन भित्र केन्द्रिय संगठन विभागलाई सम्पुर्ण अधिकार सहित जिम्मा दिइएपछि संगठन विभागले १६ जेष्ठमा  यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
 संगठन विभाग प्रमुख समेत रहेका एमाले केन्द्रिय सचिव युवराज ज्ञवाली, सचिव शंकर पोखरेल, विष्णु पौडेल, नेताहरु धर्मनाथ साह, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, ज्ञानबहादुर भुजेल लगायत १७ जना सदस्यहरुको सर्वसम्मत निर्णयले धनुषामा जिल्ला अधिवेशनबाट निर्वाचित भएको हरिनारायण महत्तोको कमिटी विघटन गरी यादवको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको नेता योगनारायण यादवले द एक्सक्लुसिभलाई बताएका छन् । 
संगठन विभागको वैठकमा जनकपुर अञ्चल कमिटिले सिफारिस गरेको राजकिशोर यादव नेतृत्वको ८९ सदस्यीय कमिटि र जिल्ला अधिवेशनबाट निर्वाचित भएको महत्तो नेतृत्वको कमिटिका लागि नेताहरु विभाजित भएका थिए । केही नेताहरु राजकिशोरको नाउँमा आवाज उठाइरहेका थिए भने केही नेताहरु महत्तोको पक्षमा आवाज उठाउँदा सर्वसम्मत नभइरहेको अवस्थामा योगनारायण यादवको नाउँ सिफारिस भएपछि सबै जना सर्बसम्मत भएको नयाँ निर्वाचित संयोजक योगनारायण यादवले बताएका छन् ।  
महत्तो अञ्चल कमिटिको सदस्य हुने र राजकिशोर यादवलाई अहिले जिल्ला कमिटिको सदस्यमा राखिएपनि कार्यकारी अधिकार दिएर कार्यवाहक संयोजक वा उपसंयोजक बनाउन सकिने एमाले केन्द्रिय सदस्य श्री प्रसाद साहले बताएका छन् ।  आफ्नो खेमाका महत्तोकै पक्षमा संगठन विभागले निर्णय गरोस आशयका साथ एमाले नेता रघुविर महासेठले साम,दाम सबै उपाय लगाएको भएपनि अन्ततः अञ्चल कमिटिले गठन गरेको समितिलाई नै संगठन विभागले सदर गरेको श्री प्रसाद साहले बताएका छन् । योगनारायण यादव यस अघि दुई पटक गरी ५ वर्ष एमाले धनुषाको नेतृत्व सम्हालीसकेका छन् भने एक पटक प्रतिनिधिसभामा समेत निर्वाचित सांसद भैसकेका छन् । यादवले द एक्सक्लुसिभसँग कुराकानी गर्दै २० जेष्ठमा केन्द्रिय कमिटिको वैठक सके लगतै धनुषामा आई सपथ ग्रहण गर्ने र पदाधिकारीहरुको चयन समेत गर्ने बताएका छन् ।
यस अघिको विवादको क्रम
एक पक्षले अहिलेको जिल्ला कमिटि विघटन भईसकेको भन्दै निर्वाचित कमिटिलाई मानिराखेका थिएनन भने अर्को पक्षले निर्वाचित कमिटि नै बैधानिक रहेको दावी गरिरहेका कारण विवाद झन बढ्दै गएको थियो । 
गत माघ ५ गतेको जनकपुर अञ्चल कमिटिको वैठकबाट एमाले विधान नियमावली अनुसार अनुशासनको कारवाही अन्तरगत एक तह माथिको निकायले एक तह तलको निकायलाई कारवाही गर्न सक्ने आधारमा जिल्ला कार्यसमिति धनुषालाई कारवाही स्वरुप विघटन गरेको थियो । जनकपुर अञ्चल कमिटिका इन्चार्ज केशव देवकोटाको अध्यक्षतामा बसेको अञ्चल कमिटिको पुर्ण वैठकले माघ ५ गते धनुषा जिल्ला कमिटि विघटन गरेको थियो । 
जिल्ला कार्यसमिति अत्यन्त अराजक भएको, उदण्ड भएको, पार्टीको नीति निर्देशन नमानेको, जनवादी केन्द्रियता संगठनात्मक सिद्धान्तको विपरित चलेको, अञ्चल कमिटिले पटक पटक सचेत गराउँदा पनि जिल्ला कार्यसमितिले अञ्चल कमिटिको निर्देशनलाई अटेरी गरेको, संविधानसभाको चुनावमा पार्टीका उम्मेदवार विरुद्ध जिल्ला अध्यक्ष हरिनारायण महत्तो खुल्लमखुल्ला लागेको भन्दै जिल्ला कार्यसमितिलाई विघटन  गरिएको थियो ।
 अञ्चल कमिटिले तदर्थ समिति गठन गर्न अञ्चल सचिवालयलाई दिएको अभिभारा अनुसार गत माघ १० गते राजकिशोर यादवको संयोजकत्वमा ८९ सदस्यीय तदर्थ कमिटि गठन गरिएको थियो । अञ्चल सचिवालयले गठन गरेको उक्त तदर्थ समितिलाई एमालेको केन्द्रिय समितिद्वारा अनुमोदन गराई कार्यान्वयनका लागि फागुन ८ गतेको पार्टीको स्थायी कमिटिद्वारा अनुमोदन समेत गराईसकिएको एमालेका बैकल्पिक केन्द्रिय सदस्य श्री प्रसाद साहले बताएका छन् । तर, केन्द्रिय सदस्य रघुवीर महासेठले केन्द्रका केही नेताहरुमाथि आफ्नो प्रभाव जमाई उक्त निर्णयलाई पुनः विचार गर्न अञ्चल कमिटिलाई निर्देशन दिलाएको साहले बताए । 
जिल्ला कमिटिका अध्यक्ष अञ्चल कमिटीमा पदेन सदस्य हुन्छन् तर जिल्ला कमिटि नै विघटन भएपछि महत्तोको पदेन सदस्य समेत खारेजी भएको अवस्थामा गठन गरिएको तदर्थ समितिमा महत्तोलाई पुनः अञ्चल कमिटि सदस्य मनोनयन गरिएको थियो । पार्टी केन्द्रको पुनः विचार गर्न दिइएको निर्देशन पश्चात अञ्चल कमिटिको चैत्र १० गते बसेको दोस्रो वैठकले पनि राजकिशोर यादवकै अध्यक्षतामा गठित तदर्थ समितिलाई बैधानिक बनाई अनुमोदन गराउन केन्द्रमा पठाइएको साहले बताएका छन् । यता ३० बैशाखमा हरिनारायण साहको अध्यक्षतामा जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य रघुवीर महासेठले निर्वाचित कमिटि नै वैधानिक रहेको भन्दै अञ्चल कमिटिलाई निर्वाचित कमिटि विघटन गर्ने अधिकार नै नरहेको भन्दै अञ्चल कमिटिलाई उनले चुनौति दिए । मनोनित कमिटि भएको भए विघटन गर्न पनि सक्थ्यो तर अधिवेशनबाट निर्वाचित कमिटि भएका कारण विघटन गर्ने अधिकार नै अञ्चल कमिटिलाई नरहेको महासेठले बताएका थिए । 
यता महासेठले गरेको पत्रकार सम्मेलन आधिकारीक नरहेको बैकल्पिक केन्द्रिय सदस्य साहले दावी गरेका छन् । गत २२ बैशाखमा एमालेको केन्द्रिय कमिटिको बैठकमा समेत केन्द्रिय सदस्यहरु केशव देवकोटा, शत्रुधन महत्तो, योगनारायण यादव र लाल गोइत समेतले महासेठको आलोचना गर्दै संजय साहको संरक्षण गरेकोमा आपत्ति जनाएका थिए । उक्त कुराको जवाफ दिँदै महासेठले जनकपुरमा गरिएको पत्रकार सम्मेलनमा आफुले संजय साहको संरक्षण नगरेको र संजय साहको प्रवृतिको विरोधमा आफु रहेपनि आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको महासेठले बताएका थिए । संजय साह चुनाव जित्ने वित्तिकै धन्यवाद दिन रघुवीर महासेठको घरमा पुगेको जगजाहेर रहेको भन्दै श्री प्रसाद साहले महासेठको पोल खुलिसकेको तथा जनतामा नाङ्गो भईसकेको बताएका थिए ।
 संविधानसभाको चुनावमा महासेठले संजय साहलाई जिताउन करोडौं रुपैयाँ ऋणको रुपमा सहयोग गरेको, एलेभेन्थ आवरमा संजय साहको पक्षमा भोट कास्ट गराउनका लागि महासेठले राम चरित्र साहलाई प्रयोग गरेको श्री प्रसाद साहले आरोप लगाएका थिए । क्षेत्रिय चुनाव परिचालन कमिटि यदुवंश झाको अध्यक्षतामा बसेको बैठकद्वारा पार्टीका उम्मेदवार विरुद्ध लागेका रघुवीर महासेठ, जुली महासेठ, राम चरित्र साह र अवधेष पोखरेललाई कारवाही गर्न अनुशासन आयोग समितिमा समेत प्रतिवेदन पठाइ सकिएको र उक्त प्रतिवेदन अहिले पनि विचाराधिन अवस्थामा रहेको साहले बताएका छन् । महासेठको कार्यक्षेत्र लोकतान्त्रिक मधेसी संगठन हो र उनले जनकपुरमा गरेको पत्रकार सम्मेलन बैधानिक नरहेको तथा उनले व्यक्त गरेका विचार पार्टीको नभई व्यक्तिगत रहेको साहले बताएका थिए । जनकपुर अञ्चल कमिटिको इन्चार्ज केशव देवकोटा, धनुषाको इन्चार्ज शत्रुधन महत्तो, महोत्तरीको इन्चार्ज योगनारायण यादव र सर्लाहीको इन्चार्ज श्री प्रसाद साह रहेको हुनाले कार्यक्षेत्र भन्दा बाहिरका व्यक्तिले पार्टीको धारणा राख्नै नसक्ने साहले दावी गरेका थिए ।
जिल्ला अधिवेशनबाट हरिनारायण महत्तोको अध्यक्षतामा गठित भएको कार्यसमितिका जिल्ला सचिव राज किशोर यादव विगतमा रघुविर महासेठकै पक्षमा थिए । 

२०७१ जेष्ठ १८ गते आईतबार

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete