Monday, March 3, 2014

धनुषामा ४२ झोले विद्यालय खारेजीको क्रममा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

कागजमा मात्रै सञ्चालन भएका ४२ विद्यालयको दर्ता खारेजीको प्रक्रियामा पुगेको छ । भौतिक रुपमा कतै नभेटिए पनि जिल्ला शिक्षा कार्यालयमा दर्ता गरी सरकारी सेवा सुविधा कुम्ल्याउने विद्यालय खारेजीको प्रक्रियामा पुगेका हुन् ।
डिएसपी सुदर्शन प्रसाद कोइराला नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई साता लगाएर जिल्लाका एक सय गाविस पुगी कागजमा सीमित विद्यालयको पहिचान गरेको छ । ती सबै विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई एक एक गरी टोलीले जिल्लामै बोलाएर बयान लिएको थियो । फागुन १९ र २० गतेका लागि पुनः उनीहरुलाई तारेख दिइएको आयोग श्रोतले जनाएको छ । ‘झोले’(नक्कली) विद्यालय सञ्चालन गरेर शिक्षकको तलब, विद्यार्थीको पाठयपुस्तक र छात्रवृत्तिका लागि आउने रकम तथा विद्यालयको भौतिक संरचना निर्माणका नाममा सरकारी बजेट दुरुपयोग गर्ने व्यक्तिलाई कारवाही र कागजी विद्यालयको खारेजी गर्ने गरी कारवाही प्रक्रिया अगाडी बढाइएको छ, स्रोतले भन्यो ।
धनुषाको सदरमुकाम जनकपुरमै यस्ता चार झोले विद्यालय सञ्चालनमा रहेको अख्तियारको टोलीले पत्ता लगाएको छ । टोलीको प्रतिबेदनअनुसार जनकपुर १४ मुजेलियामा मैथिली नमुना प्रावि, जनकपुर ४ मा रामजानकी प्रावि तथा जानकी गुरुकुल, जनकपुर स्रोतकेन्द्र अन्तरगतकै बसहियामा नरसिंह प्रावि र कुर्थामा आनन्द गुरुकुललाई झोले विद्यालय ठह¥याइएको छ । बेलही स्रोतकेन्द्रअन्तरगत ठेरामा दुई र सुगानिकास, मिथिलेश्वर निकास, मानसिंहपट्टी, कनकपट्टी तथा हंसपुरकठपुलामा एक एक फर्जी विद्यालय भेटिएका छन् । किसानपुर स्रोतकेन्द्रअन्तरगत गोपालपुर गाविसमा मात्रै तीन र धनुषाधाम, उमाप्रेमपुर तथा यज्ञभुमिमा एक एक झोले विद्यालय फेला परे ।
खजुरी स्रोतकेन्द्रका लक्कडमा तीन र माचिझिटकोहिया, दुब्बरकोट, चोराकोयलपुर तथा पतनुकामा एक एक यस्ता विद्यालय छन् । परवाहा स्रोतकेन्द्रको ननुपटी, चक्कर, पचहर्वा र परवाहामा गरी चार तथा नक्टाझिज स्रोतकेन्द्रको दिगम्बरपुरमा दुई र लक्ष्मीनिवासमा एक झोले विद्यालय भेटिए । गिद्धा स्रोतकेन्द्रको बालाबखरमा तीन र बेलापट्टीमा एक झोले विद्यालय छन् । नगराईन स्रोतकेन्द्रमा तीन र गोदार तथा कुम्हरौडामा दुई दुई झोले विद्यालय छन् ।
अख्तियारको टोलीले स्थलगत अध्ययन गरी झोले को दर्जा दिएका विद्यालयको निकासा तत्काल रोक्का गरी छानविनमा राखिएको जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले जानकारी दिए । जिल्ला शिक्षा कार्यालय दर्ता रहेका आधारमा स्थलगत अनुगमन क्रममा शंकास्पद विद्यालयको प्रतिवेदन तयार गरिएको छ । मण्डलले भने,‘विभिन्न कोणले भइरहेको छानविनपछि पुरै फर्जी ठहरिने विद्यालयको दर्ता खारेज गरिने छ ।’
अढाई सय शिक्षकलाई जरिमाना
सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालय धनुषाले जरिमाना गरेको छ । धनुषाका कुल दुई सय ६१ शिक्षकले निर्धारित अवधिमा सम्पत्ति विवरण नबुझाएको भन्दै उनीहरुलाई जनही पाँच हजार रुपैयाँका दरले जरिमाना गर्ने निर्णय भएको जिशिअ मण्डलले बताए । ती शिक्षकहरुले तिर्ने जरिमानावापतको कुल १३ लाख पाँच हजार रुपैयाँ राजस्वमा जम्मा हुने उनले बताए ।

२०७० फागुन २५ गते 

No comments:

Post a Comment