Sunday, January 26, 2014

लाल किशोर झा हत्यामा १० लाखको डिल मुख्य योजनाकार बैकुण्ठ दास ः राजन मुक्ति


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल किशोर झा हत्याको मुख्य योजनाकार रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव नै रहेको राजन मुक्तिले खुलासा गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका छन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
    मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् ।
    राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् । उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिठ्ठामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर–७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् । झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । उक्त हतियार अहिले कहाँ छ भन्ने कुरा भाष्कर मुक्तिलाई नै थाहा होला, राजन मुक्तिले बताएका छन् । अहिले सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हतियारको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।     यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिठ्ठामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिठ्ठामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए । जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो ।     यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १८ पुषमा बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश जारी गरेको थियो । जिल्ला वकिल कार्यालय धनुषाको अभियोग पत्रमा त्यसबेला महन्थ वैकुण्ठ दासले लाल किशोर झालाई मार्न योजना र रकम सहित व्यक्ति परिचालन गरेको अभियोग लगाइएको थियो । बैकुण्ठ दासले जग्गा विवादका कारण आफ्नो छोरा मार्न मान्छे खटाएको भन्दै मृतक लाल किशोरका पिता पशुपति झाले ५ पुष २०६७ मा जाहेरी दिएका थिए ।

बैकुण्ठ महन्थको आवरणमा आतंकवादी ः महन्थ रामतपेश्वर दास
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले रत्नसागर कुट्टीका महन्थ वैकुण्ठ दास वैष्णव महन्थको आवरणमा आतंकबादी रहेको आरोप लगाएका छन् । पैसा दिएर राजन मुक्तिद्वारा लालकिशोर झाको हत्या गराएका वैकुण्ठले  आफुलाई पनि ज्यान मार्ने धम्की दिईरहेको उनले आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा महन्थ राम तपेश्वर दासले विभिन्न व्यतिmको माध्यमबाट वैकुण्ठ दासले आफुसँग मिलेर काम गर्नुपर्ने र त्यसो नगरे जनधनको समेत क्षति गराईदिने भन्दै ज्यान मार्ने धम्की दिदै आएको उनले बताए । वैकुण्ठ भारतिय गुण्डा रहेको उल्लेख गर्दै उनले भने,‘दर्जनौ हत्या तथा विभिन्न घटनामा उनको संलग्नताका धेरै प्रमाणहरु छन् । तर पनि पैसाको चलखेलका कारण उनलाई प्रशासनले पनि उन्मुक्ति दिइरहेको छ ।’ वैकुण्ठ महन्थको आवरणमा भुमाफिया,तस्कर तथा गुण्डाहरुको नाइके रहेको दावि गर्दै उनले भने,‘यस्ता हत्यारा, भुमाफिया तथा तस्करलाई जनकपुरबाट नभगाए जनकपुर नै समाप्त हुन्छ, अव जनकपुरबासीलाई वैकुण्ठलाई खेदेर भगाउनुको विकल्प छैन ।’
    आजीवन अविवाहित रहेका रत्नसागर कुट्टीका तत्कालिन महन्थ रामप्रकाश वैष्णवको नक्कली छोरा भई किर्ते नेपाली नागरिकता लिएका वैकुण्ठ विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषमा दर्जनौं उजुरी परेका छन् । विवाह नै नगरेका रामप्रकाशले कसरी छोरा जन्माए ? अव वैकुण्ठले होइन, जिल्ला प्रशासन कार्यालयले जवाफ दिनुपर्छ भन्दै महन्थ रामतपेश्वरले भने ,“तर गृह प्रशासनका केहि भ्रष्ट कर्मचारीहरुसँगको आर्थिक लेनदेनका कारण वैकुण्ठको नागिरता सम्बन्धी छानविन प्रक्रिया अगाडी बढन सकेको छैन ।”  भारत विहारको मुज्जफ्रपुर जिल्ला मधेपुरा,पोस्ट अम्भा, कठरा पञ्चायत निवासी रामश्रेष्ठ तिवारीका जेठा छोरा वैकुण्ठ तिवारी रत्नसागर मन्दिरको महन्थ भएपछि गुठी अन्तर्गतको करिव तिन सय करोड बरावरको जग्गा अवैध तरिकाले विक्री वित्तरण गरेको तपेश्वर दासले बताए ।
१७ कार्तिक २०५० मा तत्कालिन जिविस उपसभापति दिपनारायण महत्तोको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत मुरारी नेपालले जनकपुर–८ का रामप्रकाश दास वैष्णवको छोराको रुपमा नेपालको नागरिकता प्रमाण पत्र जारी गरेका छन् । वैकुण्ठले नागरिकता पाइसकेपछि आफ्नो भाई अनिल कुमार तिवारीलाई पनि १६ फागुन २०६३ मा धनुषाबाट नागरिकता प्रमाण पत्र दिलाएका छन् ।
    राधा कृष्ण मन्दिरको बहुमुल्य मुर्ति बेचेका वैकुण्ठले जनकपुरका विभिन्न कुट्टीका जमिन आफैले अतिक्रमण गरेर र अरुद्वारा पनि गराएर जमिन विक्री गर्दा स्थानिय प्रशासन र गुठी संस्थानले पनि उनलाई भरपुर सहयोग गर्दै आएको महन्थ रामतपेश्वर दासको आरोप छ । गुठी संस्थानका केहि कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर दिनरात उनको चाकरीमा लागेको महन्थ दासले आरोप लगाए । उनले गर्ने अवैध कार्यमा अवरोध पुर्याउने जिल्ला शिक्षा कार्यालय महोत्तरीका तात्कालिन अधिकृत लालकिशोर झा, महन्थ जानकी शखी र विरख कुट्टीका तात्कालिन महन्थ रामभद्र दासको वैकुण्ठले नै हत्या गराएको रामतपेश्वरले दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा राजन मुतिm भनिने रंजित झाले समेत बयान गर्दा लालकिशोर झाको हत्याको प्रमुख योजनाकार वैकुण्ठ नै रहेको बताएका छन् । तर पनि हाल सम्म स्थानिय प्रशासनले वैकुण्ठलाई सहयोग गरिरहेको महन्थ दासले बताए ।     बैकुण्ठलाई प्रशासनले कारवाही नगरे आफुहरुले धर्ना र प्रदर्शन समेत गर्ने महन्थ रामतपेश्वर दासले चेतावनी दिएका छन् ।



मिति ः २०७० माघ १२ गते

No comments:

Post a Comment