Monday, August 26, 2013

प्रचण्डका बम गुरु


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड जहिले पनि जनकपुर आउँदा धनुषा सँगको नाता देखाउनु पर्दा आफुलाई पहिलो पटक बम बनाउन सिकाउने गुरु धनुषाकै रहेको भनेर परिचय दिने गर्छन । पछिल्लो पटक २/४ भाद्रमा जनकपुर आउँदा आम जनताका बिच प्रचण्डले उक्त कुरालाई पुनः दोहोर्याएका थिए ।
को हुन कमलदेव साह ?
    तत्कालीन नेकपा (मशाल) ले २०४४/०४५ सालतिर ”सशस्त्र क्रान्ति” को तयारी गर्दा ”प्रचण्ड” लाई बम बनाउने, पड्काउने तालिम दिने व्यक्ति थिए , धनुषा, सवैलाका कमलदेव साह ।
     कमलदेव साह भन्छन–म राजनीतिमा आकर्षित भएको २०३६ सालको विद्यार्थी आन्दोलनपछि हो । अनेरास्ववियु (पाँचौं) मा केही समय काम गरेपछि म मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मशाल) तिर लागेँ । २०४० सालतिर सिरहाको एउटा गाउँमा पार्टीको प्रशिक्षण चलिरहेको थियो । पार्टीमा केन्द्रीय सदस्य रहेका पुष्पकमल दाहालको भूमिगत नाम त्यतिबेला विश्वास थियो । उहाँले पार्टीमा पहिलोपटक दीर्घकालीन जनयुद्ध को प्रस्ताव ल्याउँदा हामी तरङगित भएका थियौं, भलै हामीमध्ये कसैमा फौजी अभ्यासको अनुभव थिएन ।
हामीले भारतमा सैन्य तालिम दिने समूहहरू छन् भन्नेसम्म सुनेका थियौं र केही युवक मनभरी खुल्दुली लिएर २०४१ मा भारततिर हान्नियौं । जनवादी मोर्चा, नेपालका अध्यक्ष रामराजाप्रसाद सिंहसँग पटनामा भेट भयो । उहाँले पनि पञ्चायत फालेर नेपालमा गणतन्त्र ल्याउन सशस्त्र क्रान्ति नै गर्नुपर्छ भन्नुभयो । हामी ४० जनाको टोली बनेर सैन्य तालिमका लागि झरखण्डको सिमुलतला जङगल पुग्यौं । रामराजाका भाइ लक्ष्मणप्रसाद सिंह हाम्रो समूहका नेता थिए । हामीले त्यहाँ बम बनाउने, बिस्फोट गराउने र अन्य हतियार चलाउने तालिम गर्यौं ।
६ महिना पुगेपछि रामराजाले मिसनमा जाने बेला भयो, को तयार छ भनेर सोध्दा म अग्रसर भइहालेँ । खेमराज भट्ट मायालुको नेतृत्वमा मसहित तीन जनाको टोली धनगढीस्थित सैनिक ब्यारेकमा बिस्फोट गराउन खटियो ।
 धनगढीमा पहिलो विस्फोट
प्रचण्डलाई बम बनाउन सिकाउने गुरु कमलदेवका पनि गुरु हुन, गणतन्त्र नेपालका प्रणेता रामराजाप्रसाद सिंह । सिंहसँगै उनले बम बनाउन सिकेका हुन । त्यसैले त कमलदेवले नै २०४२ सालमा धनगढीको सैनिक ब्यारेकमा बम विस्फोट गराएका थिए । खेमराज भट्ट मायालुलाई भारतमा छोडेर एकजना साथी लिएर कमलदेव बम विस्फोट गराउन धनगढी आएका थिए । त्यसपछि उनी भारत निर्वासित भए । कारवाहीको सिलसिलामा धनगढीको एउटा होटलमा बस्यौं । सेना बस्ने गेटमा बम छोडिदियो अनि होटल छोडेर भारततिर लाग्यौं । आफ्नो नेतृत्वमा गरिएको धनगढी कारबाही सफल भएको बताउँदै उनले भने, ‘सैनिक ब्यारेकको गेट उडेछ । मान्छे म¥यो कि मरेन हामीलाई थाहा भएन ।’
२०४२ को बमकाण्डको नामले चर्चित धनगढी, जनकपुर, काठमाडौंको राजदरबार, राष्टिूय पञ्चायतलगायतका स्थानमा भएको बिस्फोट त्यसैको परिणाम थियो । भारत फर्केर पुनः रामराजा प्रसादको शरणमा बस्नुपरेको थियो । नव जनवादी मोर्चाका सवै नेता कार्यकर्ताहरु प्रहरीको वान्टेड सुचिमा थियो । एक वर्ष पछि घर परिवारलाई भेटन भनेर सिंहले मलाई जयनगर पठायो ।
    २०४४ सालमा  भेटिनुभएका त्यहाँ मशालका  नेता मातृका यादव र रामवृक्ष यादवले पार्टी जनयुद्धमा जाने तयारी गर्दैछ भन्दै चितवन, शिवनगरस्थित दाहालको घर पुर्याउनुभयो । त्यतिबेला उहाँले २०४२ को बमकाण्ड हामीले गरेको कुरामा विश्वास गर्नुभएको थिएन । उहाँको विचारमा त्यो दरबारको षड्यन्त्र थियो ।
त्यसपछिका तीन महिना म उहाँकै घरमा बसें । रामबहादुर थापा बादल पनि त्यहीं हुनुहुन्थ्यो । एक दिन मैले बम बनाएर पड्काएपछि उहाँहरूले पत्याउनुभयो । त्यसपछि प्रचण्डले हामीलाई पनि सिकाउनुपर्यो भन्नुभयो । हामी गोरखातिर लाग्यौं । त्यहाँ मैले बम बनाउन सिकाएँ । थापाले बन्दुक र सीपी गजुरेलले लट्ठी चलाउन सिकाउनुहुन्थ्यो । प्रचण्डले चाहिँ राजनीतिक प्रशिक्षण दिनुहुन्थ्यो, सँगसँगै आफूले पनि सामान्य बम, टाइमबम, ब्यागबम र ग्रिनेड बनाएर बिस्फोट गर्न सिक्नुभयो ।
    त्यहीबेला छोरो सिकिस्त बिरामी भएको खबर आएर म घरतिर लागें । बम्बई लगेर पूरा डेढ वर्ष उपचार गरेपछि मात्र छोरो ठीक भयो । त्यसपछि नेपाल फर्किंदा जनआन्दोलन चर्कंर्दै थियो । मेरो सम्पर्क बाम मोर्चाका धनुषा अध्यक्ष रामचन्द्र झासँग भयो । उनकै उत्प्रेरणाले पार्टी सहभागी नभए पनि म आन्दोलनमा होमिएँ । जनआन्दोलन सफल भइसकेपछि पार्टीले दिएको वाम(कांग्रेस गठबन्धन मुर्दावाद, बहुदलीय व्यवस्था धोका हो भन्ने नारामा चित्त नबुझ्ेर पार्टी छाडेँ । त्यसैताका मालेमा लागेको म केही समयपछि एमालेको जिल्ला कमिटी उपसचिव हुँदै धनुषा जिविस सदस्य पनि भएँ । फेरी २०६२ पछि भने राजनीतिमा सक्रिय भइनँ ।
म जहिल्यै खान-लाउन धौ-धौ हुने परिवारको मान्छे हुँ । गुजाराका लागि जनकपुरमा सानो किराना पसल चलाइरहेको बेला दोस्रो जनआन्दोलनपछि प्रचण्डलाई भेट्न काठमाडौं गएँ । तर, कडा सुरक्षा घेराभित्र बसेकाले भेट्न पाइनँ । त्यसपछि दुईचार पैसा कमाइ होला भनेर मलेसिया गएँ । तीन वर्ष प्लाष्टिक कारखानामा हाड घोटेर फर्किएलगत्तै  रामराजाप्रसाद सिंहको जीवनीसम्बन्धी पुस्तक विमोचनमा प्रचण्डलाई भेट्ने संयोग पर्यो । उहाँले इतिहास बिर्सनुभएको रहेनछ, म खुसी भएँ । त्यस अवसरमा उहाँ आफैँले बमको प्रसङग सार्वजनिक नगरेको भए शायद मैले कहिल्यै पनि भन्ने थिइनँ होला ।
    भारतीय स्वतन्त्रता सङग्राममा शहीद भएका भगतसिंह मेरा आदर्श हुन् । उनको भनाइ थियो, मान्छे मार्न होइन, जगाउन बम पड्काउनुपर्छ । उनको यस विचारबाट म कति प्रभावित थिएँ भने मशालमा रहँदा मैले आफ्नो नाम नै भगतसिंह राखेको थिएँ । मैले प्रचण्डहरूलाई बम बनाउन सिकाएको पनि मानिस मार्नका लागि थिएन ।
बमका फाइदा बेफाइदा
‘बम बनाउनु जोखिमपुर्ण हुन्छ दुर्घटना पनि हुन सक्छ’ कमलदेवले भने । बमका फाइदा बेफाइदा दुवै भएको उनले बताए । चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ-त्से-तुङले २८ वर्ष जनयूद्ध गरेको प्रसंग र बम बनाउँदा बनाउँदै विस्फोट भई पोखराको साथी गुमाएको क्षण, कमलदेवका लागि अविस्मरणीय छन । सही मान्छेको हातमा प¥यो भने देशको विकास निर्माणमा बलमे मद्दत गर्छ । गलत व्यक्तिको हातमा प¥यो भने त्यसले देशलाई विनाश गर्छ, कमलदेवले भने, हतियारको बलमा देशमा ठुलो परिवर्तन पनि भएको छ, तर त्यही हतियारको अहिले तराईमा व्यापक दुरुपयोग पनि भएको छ ।’
प्रचण्ड प्रति सुरुमै आशावादी
प्रचण्डको तर्क राजतन्त्रको स्थिति पार्टीको विश्लेषण र मुलुकको आवश्यकता मनन गरेपछि कमलदेवलाई लाग्यो, प्रचण्डको नेतृत्वले नै नेपालबाट राजतन्त्रलाई समाप्त गर्नसक्छ । ‘प्रचण्डलाई तालिम दिने बेलामै उहाँप्रति म आशावादी थिएँ । उनले भने । २०४२ सालको बमकाण्ड भन्दा पहिला कमलदेव नेकपा मशालमा थिए । प्रचण्डले जिल्ला समितिका बैठकहरुमा ‘सशस्त्र यूद्ध गर्नुपर्छ’ भन्ने प्रशिक्षण दिने गर्थे । ‘त्यसमा बम बनाउन सिक्नुपर्छ भन्ने लागेको थियो । बम बनाउन सिकेर आएपछि पार्टीलाई फाइदा हुन्छ भन्ने ठानेको थिएँ, उनले भने, ‘ रामराजाजीसँग बम बनाउन सिकेकोे कुरा मैले रामवृक्षलाई बताएँ । त्यसपछि उहाँले मलाई प्रचण्डसँग भेटाउनुभयो ।’
    तत्कालीन मशाल र पछि नेकपा एकताकेन्द्रका केन्द्रिय सदस्य रामवृक्ष यादवको ०५१ सालमा हत्या भएको थियो । रामवृक्ष यादव र मातृका यादवसँग जिल्ला कमिटीमा रहेर कमलदेवले काम गरेका थिए । ०५२ सालमा माओवादीले सशस्त्र विद्रोह सूरु गरेपछि अध्यक्ष प्रचण्डसँग कमलदेवको सम्पर्क टुटेको थियो । उनले भने, ‘यूद्ध सुरु गरेपछि उहाँ र मेरो सम्पर्क विच्छेद भयो । म एमालेमा भएकाले सम्पर्क गराउने माध्यम खतम भयोे । माओवादीका केही साथीहरुले मलाई प्रचण्डसँग सम्पर्क गर्न दिएनन । प्रचण्डले खोज्दा म मरिसकेको खबर प्रचण्डलाई दिएको पनि थाहा पाएँ । धनुषामा प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरुसँग झगडा पनि पथ्र्यो कमलदेवको । ‘प्रचण्ड भनेको ज्ञानेन्द्र हो भन्थे उनीहरु, तर म त्यसको प्रतिवाद गर्थे’ विगतका ती दिनहरु सम्झँदै कमलदेव भने,‘ म भन्थें, प्रचण्डलाई म चिन्छु, उहाँको नाम पुष्पकमल दाहाल हो, उहाँको घरमा म बसेको छु, उहाँका छोराछोरीलाई म चिन्छु तर उनीहरु पत्याउँदैन्थे । म जिविस सदस्य हुँदा ०५५ सालतिर माओवादीको भित्रिया मान्छे हो भनेर एसपीले मलाई गोली हान्नुपर्छ भनेको पनि थाहा पाएँ ।
अब माओवादीतिरै
२०६२ सालमा एमाले परित्याग गरेका कमलदेव भन्छन,“ मेरो इच्छा माओवादीतिर नै हो । म जुनबेला पनि माओवादीतिरको हो । विभिन्न परिस्थितिले गर्दा मात्रै म यताउता भएको हुँ । आफुले बम बनाउन सिकाएको दुई दशकपछिको अवधिमा नेपालमा व्यापक राजनीतिक परिवर्तन हुने अनुमान उनले पहिल्यै गरेका थिए । मलाई अहिलेको अवस्था आउँछ भन्ने लागेको थियो । पहिले मशाल र पछि माओवादीले मात्र राजतन्त्र खत्तम गर्न सक्छन भन्ने मलाई लाग्थ्यो, उनले भने ।
    नेकपा मशालले ०४७ सालमा ‘बाम कांग्रेस गठबन्धन मुर्दावाद’ भन्ने नारा लगाएको कमलदेवलाई चित्त बुझेको थिएन । कांग्रेस र वाम मिलेर बहुदल ल्याएका थिए । मशालले ‘बहुदलीय व्यवस्था धोका हो’ भनेको पनि कमलदेवलाई  चित्त बुझेको थिएन । २०४७ सालमा उनी एमाले भए । उनले भने, ‘कसैबाट थाहा पाएमा सेनाले मलाई मारिदिन्छ भन्ने लागेको थियो । सुरक्षित हुन्छु भनेर नै म एमालेमा बसेको हुँ । अहिले पनि मलाई खतरा नै छ । कमलदेव एमालेमा धनुषा जिल्ला कमिटी सदस्य निर्वाचित भएका थिए ।
    ०६२ सालसम्म उनी एमालेमा नै रहे । ०६२ सालपछि कमलदेव रोजगारीको खोजीमा मलेसिया गए । उनले भने, ‘कमजोर आर्थिक अवस्थाले गर्दा म मलेसिया जानु परेको थियो, तर आर्थिक रुपमा ठुलो परिवर्तन आएन ।’ कमलदेवका तीन छोरी र दुई छोरा जनकपुरमा बस्छन । कमलदेव अहिले माओवादीमा पार्टटाइम राजनीति गर्छन र जग्गा व्यवसाय गर्दै आएका छन । प्रचण्डले आफुलाई गुरु मानेर इतिहासलाई नबङयाउनुले पनि प्रचण्ड कति इमान्दार हुन भन्ने कुराको पुष्टि हुन्छ, कमलदेवले बताए ।


मिति ः २०७०/०५/०९

No comments:

Post a Comment