Wednesday, June 26, 2013

चुनाव अघि मधेसमा नेताहरु ‘झिझिरकोना–झिझिरकोना’ खेल्दै

अजय अनुरागी

मिथिलामा बालबालिकाहरुले खेल्ने खेलहरु मध्ये ‘झिझिरकोना(झिझिरकोना’ एक अत्यन्त लोकप्रिय खेल हो । मिथिलाञ्चल क्षेत्रमा यसरी खेलिन्छ ‘झिझिरकोना(झिझिरकोना’ । यस खेलमा ४ वटा कुनामा ४ जना उभिएका हुन्छन र केन्द्रमा एक जना चोर हुन्छ । केन्द्रमा रहेका बालकले कुनामा रहेका बालकसँग ‘झिझिरकोना(झिझिरकोना कोन कोना जाऊ ?’सोध्छन । उत्तरमा ‘बेल तर मारलक बबुर तर जाऊ’ भनिन्छ । अनि अर्को कुनामा गएर त्यही प्रश्न गर्ने क्रममा चार कुनामा रहेका व्यक्तिले कुना परिवर्तन गर्न खोज्दछ र त्यही क्रममा चोरले कसैलाई बाटो मै छोएको व्यक्ति नयाँ चोर हुन्छ र उही प्रक्रिया दोहोरिन्छ । खास गरेर गाउँमा खेलिने उक्त खेल अहिले लोप हुँदै गइरहेको अवस्थामा सहरको महँगो बोर्डिङ स्कुलहरुमा पढ्ने बालबालिकाले उक्त खेल खेल्ने कुरै आएन । तर अत्यन्तै मनोरञ्जन प्राप्त गर्न सकिने उक्त खेललाई अहिलेको पुस्ताका बालबालिकाले जिवन्तता प्रदान नगरेपनि मधेसमा नेताहरुले उक्त बाल खेल अधवैसे अवस्थामा भएपनि खेलेर संरक्षण तथा सम्बद्र्धनको जिम्मेवारीलाई इमान्दारी पुर्वक निर्वाह गरेको देखिन्छ । एउटा पार्टीबाट विभिन्न पार्टीमा प्रवेश तथा बहिर्गमनको गति बढनुले उक्त खेल झन रोमाञ्चक बनेको छ ।
 
पावर सेन्टर ‘मधेस’   

चुनाव हुने भन्ने कुरा यस अघि नै तय भैसकेको कारण मधेसमा मधेसलाई आधार बनाएर राजनीतिक गर्ने राजनीतिक दलहरु बीच अहिले कार्यकर्ता तथा नेताहरुको विभिन्न पार्टी प्रवेश र बहिर्गमनको गति झन झन तिव्र हुदै गएको छ । पहिलो संविधानसभामा चौथो शक्तिको रुपमा उदाएका मधेसी जनअधिकार फोरम, सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टी सत्तामा गएपछि टुक्रा टुक्रा हुँदै शक्ति विहिन भएका छन । यी तिनै घटक सम्मिलित संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले दोस्रो मधेस आन्दोलनको नेतृत्व गरेर ८ बुँदे सम्झौता गर्न तत्कालिन सरकारलाई घुँडा मात्र टेकाएनन, हतार हतारमा विना तयारी संविधानसभाको चुनावमा जाने फैसला गरेका ती मोर्चाले जव चुनावमा एक अर्काकै प्रतिस्पर्धि भएर आए जनता पनि विभाजित हुनु स्वभाविकै थियो । दुई दुई पटकको मधेस आन्दोलनमा सक्रिय सहभागि भएका मधेसी जनताले यस अघिको चुनावहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, सदभावना र राप्रपा नेपाललाई दिँदै आएका मत मधेसवादी दलहरुको पोल्टामा पारेर तेस्रो शक्ति बनाए । न त गठबन्धन बनाए न एउटै पार्टी बनेर चुनावमा आए मधेसवादी दलहरु । त्यसकै परिणाम हो मधेसका जनताले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीलाई पनि मत दिएका थिए । अहिले फेरी दोस्रो चुनावमा  नम्बर एक पार्टी बन्न तथा दुई तिहाई बहुमत हासिल गर्न मधेसको मत अनिवार्य हुन्छ । त्यसमा पनि हिजोसम्म आधार इलाका रहेको मधेस कांग्रेसको लागि आज कमजोर त भएकै छ,  तर ग्राफ भने माइनसमै गइनसकेको अवस्था भने पक्कै हो । कारण मधेसका जनताले कांग्रेसको नेतृत्वमा प्रजातन्त्र प्राप्तिका लागि हरेक आन्दोलनमा अग्रणी भागमा रहेर सहादत सम्म दिनेहरुको लामो फेहरिस्त छ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला धनुषामा पार्टी प्रवेश कार्यक्रममा उत्साहित भएर कांग्रेसबाट गएकाहरु फिर्ता आउने लहर देख्दै सर्वसाधारणको पनि कांग्रेस तीर आकर्षण बढेको ठम्याउनु भ्रम पनि हुन सक्छ । तर शशांककै अनुसार मधेसको एउटा युवाले,‘ डाक्टरसाब! भोली तपाईले धनुषाबाट टिकट पाउनुभयो भने जित्नु पनि हुन्छ । तर, एउटा मधेसीले अहिलेसम्म पहाडबाट टिकट पाएको छ ? जित्दैन नि ?’ भनेर गरेको प्रश्नका सम्बन्धमा मधेसमा पहाडि समुदायलाई स्वीकारेपनि पहाडमा पहाडी समुदायले मधेसीलाई स्वीकार्दैनन भन्ने सबालमा उनको पनि स्वीकारोक्तिले सबाल भने उभ्याएकै हो । मधेस प्रति एकीकृत माओवादीको पनि आँखा गडेको छ । जसको पछिल्लो उदाहरण हो एमालेका अति नै प्रभावशाली नेता रामचन्द्र झालाई आफ्नो पार्टीमा प्रवेश गराई रिक्त रहेको मात्रिका यादवको स्थानलाई पुर्ती गर्न तथा मधेसवाटै चुनाव लडने प्रचण्डको घोषणा । मधेस सँग लव परेको बताउने प्रचण्डले धनुषा वा सिरहा कुनै एक ठाउँबाट चुनाव लडन सक्ने जनाउ दिई सकेका छन । पहिलो संविधानसभा चुनाव अघि रौतहटको गौरमा मधेसी जनतासँग भिडेका माओवादीले अहिले दोस्रो चुनावको मुखमा मधेससँग लव परेको भन्नुले पनि अर्थ राख्दछ । कुनै बेला नेपाली कांग्रेसका नेता विपी कोइरालाले मधेसका नेतालाई पहाडमा र पहाडका नेतालाई मधेसमा जिताउनु पर्छ भनेकोमा मधेसबाट पहाडका नेताले जिताउँदै मात्र आएनन प्रधानमन्त्री सम्म बनाए तर पहाडबाट कुनै मधेसी नेताले अहिलेसम्म जित्न त के पार्टीले टिकट समेत दिन सकेको छैन । त्यसैले होला आज एमाओवादीले अहिले दोस्रो चुनावमा ‘भाइसभर्सा’ उम्मेदवार खडा मात्र नगर्ने जिताउँने समेत दावी गर्दै हिडेका छन । प्रचण्डको कथनि र करणीमा कति सम्म फरक छ भने अहिले माओवादी सम्वद्ध मधेसी नेताहरुले नेतृत्व  लगायत सांगठनिक संरचणामा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भन्ने सुरुदेखि नै उठाउँदै आएको सवालमा आश्वासन बाँडनमा सकारात्मक भएपनि व्यवहारिक रुपमा त्यसो देखिएको छैन । नत्र भने एक जना रामचन्द्र झालाई मात्र स्थाई कमिटीमा लग्ने प्रयास गरेको देखाएपनि अन्य योग्य मधेसी नेतृत्वहरुको सवालमा नेतृत्व पक्ष मौन रहनुले पनि प्रचण्डको मधेस प्रतिको लव ‘डेन्जरस इश्क’ मा पनि परिणत नहोला भन्न सकिन्न । यता एमाले पनि झाको बहिर्गमन पश्चात रत्नेश्वरलाल गोइत लगायतका नेताहरुलाई पुनः पार्टीमा फर्काएर मधेसमा हुने भनिएको ‘ड्यामेज कन्टूोल’ गर्ने प्रयास गरिरहेको देखिन्छ ।
पुर्व राजा ज्ञानेन्द्रको मधेस भ्रमण

मधेसमा यतिबेला हपहपी गर्मी छ । गर्मी ठाउँमै जन्मिएका मधेसी नेताहरु गर्मी र लामखुट्टेदेखि डराएर राजधानीमै बसिरहेका छन् । तर, काठमाडौंको शीतल मौसममा जन्मिएका पूर्वराजा ज्ञानेन्द्र भने कमीज सुरुवालमाथि इष्टकोट लगाएर मधेसको टन्टलापुर घाममा सक्रिय छन् । आखिर यस्तो गर्मीका बेला ज्ञानेन्द्र किन डुलिरहेका छन् मधेस ? यहीबेला मधेसका मठ मन्दिरमा डुल्नैपर्ने त्यस्तो के पर्यो पूर्वराजालाई ?
पूर्वराजाको मधेस भ्रमणका क्रममा मन्दिरमा पूजा आजामात्रै चलिरहेको छैन, राजतन्त्रको पक्षमा नारा लगाउने र विरोध गर्नेहरुवीच चर्को राजनीतिक पनि भइरहेको छ । ज्ञानेन्द्रको विरुद्धमा र समर्थनमा दुबैथरि मानिसहरु देखा परेका छन् । बारादेखि सप्तरीसम्म ज्ञानेन्द्रको समर्थनमा पनि जनमत देखिएको छ । घटनाक्रमबाटै प्रष्ट हुन्छ कि यो गर्मीमा पूर्वराजा ज्ञानेन्द्र पूजागर्न मात्रै मधेस झरेका हैनन् ।
नेपालमा गणतन्त्र ल्याउन बाह्रबुँदे सम्झौतादेखि नै भारत र नेपालका नेतावीच दूतको भुमिका निभाउँदै आएका चर्चित राजनीतिक खेलाडी अमरेश नारायण सिंहले जनकपुरको एक कार्यक्रममा पुर्व राजाको भ्रमण प्रति इङ्गित गर्दै भने, ‘ पूर्वराजा त्यस्तो गर्मीको पनि कुनै प्रवाह नगरी घुमिरहेका छन्, उनी पूजा गर्नमात्रै मधेस आएका हैनन् । मधेसी जनताको माया लागेर मधेसी जनतालाई मद्दत गर्न पनि उनी आएका हैनन ।’ सिंहका अनुसार आगामी मंसिरमा चुनाव नहोस् र त्यसपछि शीतल निवास खाली गराउन पाइयोस् भनेर एकथरिले षड्यन्त्र गरिरहेका छन्, त्यसैलाई सफल पार्न ज्ञानेन्द्रले यो अभियान थालेका हुन् ।’
विभाजित मधेसी शक्ति
मधेसको राजनीतिक भविष्य के हुने हो त्यसको फैसला आउँदो संविधानसभाको चुनावले गर्ने छ । यद्यपि मन्त्री बन्नकै लागि पार्टीसम्म फुटाएका मधेसका नेताहरु पनि जनतामा कसरी जाने चिन्तामा डुवेका छन । आन्दोलन पश्चात मधेसको जनादेशलाई पटक्कै विर्सेर सत्ता लिप्सामै लिप्त रहेका मधेसी नेताहरु चुनाव भन्दा अगाडी जनतासामु कुन मुख लिएर जाने सवाल एका तिर छ भने अर्को तर्फ मन्त्री बन्नकै लागि पार्टी फुटाएर कमजोर बनेकाहरुको जनआधार नहुँदा अस्तित्व नै संकटमा परेपछि एउटै पार्टी, एउटै झण्डा, एउटै चुनाव चिन्हको नारा उचालिएपनि त्यसमा कुनै ठोस प्रगति हुन सकेको छैन । भन्नका लागि विभिन्न नेताहरु बीच विभिन्न विकल्पमा संवाद भएपनि निश्कर्ष निस्किएको छैन । संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झा भन्छन,“भोली एक भएर वा चुनावी गठबन्धन गरेर नगए हाम्रो कुनै सिट नआउला तर मधेसको जनताको माँग भने त्यही नै हो । त्यसका लागि मैले पटक पटक प्रयास गरेपनि राजेन्द्र महत्तोले खुलेरै विरोध गर्नुले पनि उक्त प्रक्रियाले मुर्त रुप लिन नसकेको हो ।”
पार्टी एकताका लागि नीति मिल्नु पर्यो, विचार, सिद्धान्त मिल्नु पर्यो, लक्ष्य समान हुनु पर्यो भन्दै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भन्छन,“ जहाँ सैद्धान्तिक आधारलाई परित्याग गरेर, लक्ष्यलाई परित्याग गरेर निर्माण गरेको पार्टीलाई कुनै अर्थ राख्दैन । त्यसले गर्दा समान नीति भएकाहरुको बीचमा नीतिगत एकता हुन सक्छ । अनुहारहरु मिल्दैमा एकता हुँदैन । नीति, विचार र कार्यक्रमको आधारमा एकता, मोर्चा, सहकार्य जे पनि हुन सक्छ ।”
बर्तमानमा मुलुकको राजनीतिक एजेण्डा अग्रगमन सँग सम्बन्धीत छैन, प्रतिगमनको दिशामा ओरालो लागेको अवस्था छ । विगत डेढ दुई वर्ष भित्रमा संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाले अथवा यसका नेताहरुले जे जति समझदारी गरेका छन, यी सबै सम्झदारीहरुले भावी संविधानसभामा  असर पु¥याउने छन, मधेसीको प्रतिनिधित्व कमजोर बनाउने निश्चित छ भन्दै तराईमा अभियान थालेका जयप्रकाश गुप्ता भन्छन,“ पहिलो मतदाता नामावली संकलनमा कम्तीमा पनि मधेसवाट ४० लाख मतदाता घटने छन । दोस्रो प्रतिनिधित्व घटेपछि संविधानसभाको संख्या घटाउने कुरामा समेत यिनीहरु सहमत भए । १ सय १० जना समानुपातिक प्रतिनिधित्व कम हुने छन जसवाट मधेस नाकारात्मक रुपमा प्रभावित हुनेछन । अन्तरिम संविधानको २५–२५ पटक संशोधन हुँदा पनि मोर्चाले निर्वाचन क्षेत्र पुनर्निधारणको विषयलाई ध्यान दिएन । संवैधानिक व्यवस्थाबाटै निर्वाचन क्षेत्रको निर्धारण गर्दा मधेसको जनताले चाहेर पनि निर्वाचन क्षेत्र बढदैन । यो मधेसको प्रतिनिधित्वसँग सम्बन्धित गम्भिर विषय हुन । यसमा मोर्चाले ध्यान दिएन । मेरो विचारमा मोर्चा प्रतिगमन तिर जाने देशको राजनीतिमा सहयोगी भएको छ । ” तसर्थ आज कुनै चुनावी मोर्चा बनाउनु भन्दा पहिला यी विषयमा गम्भिर हुनु आवश्यक ठान्दै खाली उपयोगका लागि चुनावी मोर्चाको पक्षमा नरहेका गुप्ता भन्छन,“ मधेसी पार्टीहरु यी सवालमा सहमति हुनु आवश्यक छ । आफ्नो मुद्दामा अज्ञानता, अर्को जातिय आधारमा मधेसी जनता पनि मधेसी पार्टीको पक्षमा लाग्नु, तेस्रो मधेसी पार्टीमा क्रान्तिकारी विचारको क्षयीकरण हुनु, मधेसी नागरिक समाज यी सब विषयमा अचेत हुनुको कारण मधेसी नेता र मधेसी मोर्चा चुनावी अश्वमेघका घोडा भएका छन । तिनले ठान्दछन, तिनी उपर कसैको नियन्त्रण छैन । मधेसी जनताले बाध्यताको मतदात गर्नेछन । यी परिस्थितिले गर्दा मधेसी पार्टीहरु एक प्रकारले स्वेच्छाचारी भएका छन । ” स्वेच्छाचारीको दोष म माथि पनि जान सक्दछ तर एक चोटी मेरा विगतका सबै स्टेटमेन्टहरु हेर्ने हो भने मैले मधेसी मोर्चालाई कता लान खोजेको थिएँ र मेरो जेल यात्रा पछि मोर्चा कहाँ पुग्यो यी कुरालाई विचार गर्ने हो भने सबैको नेताको भुमिका कस्तो रहयो बुझ्न सकिने गुप्ताको तर्क छ ।  चुनावबाट शक्तिशाली हुनको लागि मधेसी पार्टीले एक पार्टी, एक झण्डा र एक चुनाव चिन्हको चाहना ल्याएका हुन, मधेसी जनताले यी पार्टीको मुल्याङकन नगरी साथ दिन्छन भन्नेमा यी पार्टीहरु विस्वस्त छन । त्यसकारण यी पार्र्टीहरु मुल विषयमा नगईकन चुनावी एकताको नारा दिएर नाकारात्मक दिशा तर्फ राजनीतिलाई लाने कुरा गरिरहेका छन भन्दै गुप्ता भन्छन,“ अहिलेको एकता समग्रमा मधेसी शक्तिको एउटा जातिलाई अर्को जाति सँग गठबन्धनको दिशामा उन्मुख गराउन खोजेका छन । एउटाले एउटा जातिको संगठन अर्कोले अर्को जातिको संगठन बनाई नकारात्मक दिशा तर्फ अग्रसर गराउन खोजेका छन । अपितु यस विषयमा खुला बहस गर्नु पर्दछ र गलतलाई गलत तथा सहिलाई सही भन्ने कामको थालनी हुनुपर्दछ ।”
“मधेसमा देखिएको वर्तमान राजनीतिक अवस्थाको दुईवटा पाटो छ । मधेसमा संविधानसभाको पहिलो निर्वाचनको बेला मधेसी दल, मधेसी मुद्दा र मधेसी जनता एउटै रेखामा थिए तर अहिले दोस्रो चुनाव हुन लाग्दा मधेसी मुद्दा र मधेसी जनता एउटै रेखामा रहेपनि मधेसी दल अर्काे रेखामा छन । ”  विश्लेषक चन्द्रकिशोर झा भन्छन,“ मधेस केन्द्रित राजनीति गर्ने कुनै पनि दलको पक्षमा लहर नरहेको अवस्थामा उनीहरुको स्थिति अत्यन्त कमजोर रहेको भन्ने कुरा तिनीहरुले पनि बुझिसकेका छन । टुक्रा टुक्रामा विभाजित रहेका ति मधेसवादीदलहरुलाई मुद्दाको आधारमा पनि एक ठाउँमा आउन जनताबाट दवाव आएकै कारण मधेसी दलभित्र मोर्चा बन्दी, बिलय हुने क्रमको सुरुवात भएको छ । त्यसकारण एउटै डुङ्गामा वढी भन्दा वढी सवार हुनका लागि सबै दलले आ(आफ्नो रणनीति बनाई नेता नेता विच वार्ता पनि भईरहेका छन । ” त्यसको परिणामले कुन आकार लेला अहिले स्पष्ट नभएपनि मधेसमा कुनै पनि दलले एक्लै चुनाव नलडने भने निश्चित छ । आउँदो केही महिनामा प्रष्ट हुने छ । चुनाव जति पर गईरहेको छ ।
 गाउँमा १५ वर्ष देखि निवर्तमान गाविस अध्यक्षको भुमिकामा रहेका गाउँका मुखियालाई मधेसवादी दलहरुका लागि पाल्न गाह्रो भइरहेको छ । मंसिरमै तोकिएको मितिमा चुनाव भए त सस्तो नै छ अन्यथा चुनाव महगो हुने भापिसकेका मधेसवादी दलहरुलाई जातिय समिकरण, चुनावी समिकरण मिलाउन ठुलै अर्थ समिकरणको जोहो गर्न पनि कम कठिन काम होइन भन्दै झा भन्छन,“ खास गरेर संविधानसभाका पुर्व निर्वाचित वा मनोनित समानुपातिक सभासदहरुलाई आफ्नो पार्टीमा  प्रवेश गराउन सके यदि एलाइन्समै चुनावमा जानु पर्दा वढी भन्दा वढी सिट दावी गर्न सकिने दाउमा रहेका नेताहरुको खरिद विक्री पनि हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।” पार्टी फुटाउन सभासद खरिद विक्रीमा व्यापक रकमको चलखेल हुने गरेको यस अघि नै सार्वजनिक रुपमै वयान दिने नेताहरुले समानुपातिक कोटामा राख्न पनि रकम लिएको कुरा छर्लङग भईसकेको अवस्थामा फेरी पनि उक्त सम्पुर्ण कुराहरुको दोस्रो भागमा मञ्चन हुने निश्चित छ ।
आय आर्जनको अवसर ‘चुनाव’
चुनाव हुने भएपछि गाउँ देखि सहरसम्म आय आर्जन गर्ने अवसर आएकोमा धेरै पक्ष खुशी भएका छन भने कतिपय पक्षलाई व्यय गर्नुपर्ने भन्दै चिन्ताले सताएको छ । गाउँमा पकड बनाएका युवा क्लवहरु, स्थानिय नेताहरु र गाउँका मुखिया तथा अगुवालाई चुनाव कमाई खाने भाँडोको रुपमा ठुलो अवसर प्राप्त भएको छ । राजनीतिक दल रहेपनि गाउँमा संगठन नै नभएको कतिपय मधेस केन्द्रित राजनीतिक दलहरुबाट ठुलो रकम चुनावकै लागि असुल गर्न सकिने दाउमा गुण्डा, ठेकेदार तथा तटस्थ देखिने स्थानिय नेताहरुमा उत्साहको संचार भएको छ । जाति, समुदाय तथा विभिन्न वर्गको नेतृत्व गर्ने तिनका अगुवाहरुलाई चुनाव नहुँदा सम्म वार्गेनिङ गर्ने अवसर मिलेको छ । यसका अतिरिक्त सहरमा त झन केही बुद्धिजिवि, नागरिक समाज, पत्रकार, शिक्षक,युवा क्लवलाई तुलनात्मक रुपमा गाउँका भन्दा वढी दाम मिल्ने निश्चित छ । यति मात्र होइन चुनावमा धाँधली गर्न तथा गराउन सिमावत्र्ती भारतमा रहेका पेसेवर अपराधी तथा गुण्डाले समेत राम्र्रै कमाई गर्ने अवसर आएको हुनुपर्दछ । यी सम्पुर्ण आयको जोहो गर्नका निम्ति चन्दा दिने चन्दा दाताको लागि भने टाउको दुखाईको विषय बनेको छ चुनाव । निजी विद्यालय, क्याम्पस, उद्योगपति, व्यापारी, चिकित्सक, निर्माण व्यवसायी लगायतका फाइनेन्सरहरुको लागि बाध्यात्मक अवस्था भएपनि चुनाव खर्चका लागि चन्दा दिनै पर्ने हुँदा अहिले देखि नै तिनीहरु त्यसका लागि चिन्तित देखिएका छन ।
३० जेष्ठमा बहुपतिक्षित रहेको संविधानसभाको दोस्रो चुनावको मिति अन्ततः खिलराज रेग्मी नेतृत्वको सरकारले घोषणा गरेको छ । मंसिर ४ गते चुनावको लागि बर्तमान सरकारले साइत जुराउन र घोषणा गर्न पनि सफल भयो । संविधान जारी नै नगरी संविधानसभाको विघटन गरेका यस अघिका बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि मंसिर ७ गते नयाँ चुनाव गराउने घोषणा गरे पनि चुनाव गराउन विफल मात्र भएनन न्यायपालिकाको प्रमुख रहेका रेग्मीलाई देशको कार्यकारी प्रमुखको जिम्मेवारी हस्तान्तरण गरें । विभिन्न राजनीतिक दलहरुले विरोध गरिरहँदा पनि रेग्मी सरकारले तोकेकै मितिमा चुनाव गराउलान वा नगराउलान, भविष्यको कुरा रहेपनि जनतामा एउटा सकारात्मक आश भने पलाएकै छ । अनिर्णयको बन्दीमा फसेको मुलुकको निकास पनि दोस्रो संविधानसभाबाट जारी हुने लिखित संविधान नै हो । तसर्थ चुनावको प्रतिक्षामा समग्र देश काठमाडौको बालुवाटारको मुख ताकेर बसिरहेको थियो । यहि मौकामै ‘आजो माजो समाजो’ भन्दै नेता तानातानमा व्यस्त नेताहरु भोली फेरी पद, भुमिका, जिम्मेवारी तथा मन्त्री खानकै लागि अवसर नपाउँदा पुनः टुक्रा टुक्रामा विभाजित नहोला पनि भन्न सकिन्न । हेक्का रहोस !


No comments:

Post a Comment