Wednesday, June 26, 2013

मधेसवाद कुनै सिद्धान्त नै होइन – उपेन्द्र यादव

हामी तत्कालिन, क्षनिक, स्वार्थी र अवसरवादी एकताको पक्षमा छैनौं । हामी सैद्धान्तिक, वैचारिक र दृष्टिकोणको रुपले एकरुपता भएको खण्डमा मात्र दीगो एकता हुने भन्ने मान्यता राख्दछौ । अव जुन मधेसी दलहरुले वढी एकताको कुरा गरिरहेका छन, तिनीहरुमा त एकता छँदैछन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मैले निर्माण गर्दा, त्यसका मेनिफेस्टो  तयार गर्दा सबैको शुत्रधार त मै हुँ । त्यो सबै बनाइदिएर मैले जिम्मा लगाईदिएकै छु, त्यै आधारमा उनीहरु चुनाव लडे हुन्छ नि । किन अरु खोजिरहेको छ त, भन्दा खेरी यसको एक आपसमा त के आफैमा विश्वास छैन तिनीहरुको के कुरा गर्ने ? मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ । 


मधेसमा अहिले सबै नेताहरु गाउँ–गाउँमा घुमिरहेका छन । त्यही क्रममा तपाई पनि धनुषाको विभिन्न गाउँहरु घुम्नु भयो । के चाहन्छन मधेसका जनता ?
मधेसका जनताहरु आन्तरिक उपनिवेशवाट मुक्ति चाहन्छ । उनीहरु सवायतता, अधिकार, पहिचान चाहन्छन । उनीहरुको वालबच्चाहरु रोजी रोटीमा अवसर चाहन्छन, विकास र निर्माण चाहन्छन, शान्ति र समृद्धि चाहन्छन ।
जनताका यी सबै चाहनाहरु मधेस आन्दोलन ताका पनि थिए । ६ वर्ष वित्दा पनि मधेसी जनताको ती चाहनाहरु किन पुरा हुन सकेन ?
एकै दिनमा दुनियाँ बन्दैन । समय लाग्छ धेरै कुराका प्रक्रियाहरु आरम्भ भएका छन । आरक्षण भएको छ । मधेसको एउटा पहिचान कायम भएको छ । अवसरहरु खुलेका छन । तर जति हुनु पर्ने हो, त्यति भएका छैनन । त्यसको लागि अझ वढी समय लाग्छ संघर्ष गर्नु पर्छ । एकै दिनमा भइहाल्ने चिज होइन ।
काठमाण्डौका छापामाध्यमहरुमा मधेसको राजनीतिले फ्रन्ट पेज पाउन थालेका छन । ती छापामाध्यमका अनुसार मधेसमा राजनीति गर्ने दलहरु बीच एउटै पार्टी वा चुनावी गठबन्धनको कुराहरुले वढी नै प्राथमिकता पाएको देखिन्छ । कसरी लिनु भएको छ तपाईले यो कुरालाई ?
यो चिन्ता त मधेसका राजनीतिक दलहरुलाई हुनु पर्ने हो, नेतालाई हुनु पर्ने हो । काठमाण्डौका छापावालाहरु कहिले देखि हुन थाले मधेसका शुभचिन्तक ? मधेसका समाचारलाई शुद्ध ठाउँ दिँदैन । मधेसका समाचारलाई तिनीहरुले आधा प्रतिशत पनि ठाउँ दिँदैन । ती छापाहरुलाई मधेस प्रति हमदर्दी कहाँबाट जागेको हो, यो बुझ्नै नसक्ने कुरा हो । यो वहाँहरुको सरोकारको विषय नै होइन । जहाँ सम्म एउटा पार्टी बनाउने विषय छ, त्यो छापामा छापेर बन्ने कुरा पनि होइन । त्यसका लागि नीति मिल्नु पर्यो, विचार, सिद्धान्त मिल्नु पर्यो । लक्ष्य समान हुनु पर्यो । जहाँ सैद्धान्तिक आधारलाई परित्याग गरेर, लक्ष्यलाई परित्याग गरेर निर्माण गरेको पार्टीलाई कुनै अर्थ राख्दैन त्यसले गर्दा समान नीति भएकाहरुको बीचमा नीतिगत एकता हुन सक्छ । अनुहारहरु मिल्दैमा एकता हुँदैन । नीति, विचार र कार्यक्रमको आधारमा एकता, मोर्चा, सहकार्य जे पनि हुन सक्छ ।
त्यो कहिले सम्मको लागि होला ?
अब त्यसको कुनै हद म्याद लाग्दैन । एकताको आवश्यकता, परिस्थिति निर्माण हुँदै जान्छ, दलहरुको बीचमा अन्तरसम्वादहरु हुँदै जान्छ । आवश्यकता परेको खण्डमा जे पनि हुने हो । तर त्यसका लागि दुइटा आकांङ्क्षाहरु देखिएको छ । एउटा अवसरवादी आकांङ्क्षा, हामी मिल्र्यौ भनेर चुनावमा जनतालाई झुक्याउनका लागि गरिने एउटा प्रयास, अर्को के हो भने जनताको मुक्तिका लागि, मुलुकको शान्ति र समृद्धिको लागि एउटा दीर्घ लक्ष्य लिएर गरिने एकता हो । हामी तत्कालिन, क्षनिक, स्वार्थी र अवसरवादी एकताको पक्षमा छैनौं । हामी सैद्धान्तिक, वैचारिक र दृष्टिकोणको रुपले एकरुपता भएको खण्डमा मात्र दीगो एकता हुने भन्ने मान्यता राख्दछौ । अव जुन मधेसी दलहरुले वढी एकताको कुरा गरिरहेका छन, तिनीहरुमा त एकता छँदैछन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मैले निर्माण गर्दा, त्यसका मेनिफेस्टो  तयार गर्दा सबैको शुत्रधार त मै हुँ । त्यो सबै बनाइदिएर मैले जिम्मा लगाईदिएकै छु, त्यै आधारमा उनीहरु चुनाव लडे हुन्छ नि । किन अरु खोजिरहेको छ त, भन्दा खेरी यसको एक आपसमा त के आफैमा विश्वास छैन तिनीहरुको के कुरा गर्ने ?
मोर्चा तपाईले जिम्मा लगाएको हो कि, तपाईलाई नै दरकिनार गरिएको हो ?
दरकिनार किन, हामीले त जिम्मै लगाएर हिंडेका छौ नि किनकि लक्ष्य के थियो भने मधेसी जनताको लोकतान्त्रिक मोर्चा बनाउँदा खेरीको एउटा लक्ष्य के थियो भने मधेसी जनताको अधिकारको लागि संघर्ष गर्ने भन्ने कुरा त्यसको घोषणापत्रमा स्पष्ट लेखिएको छ । तर भईदियो के भने सत्ता सँग वार्गेनिङ गर्ने र माँगी खाने भाँडो बनाइयो । दलाली गर्र्नेलाई हामीले छोडेर संघर्षको वाटोमा लागेका छौं ।
मधेसको दलहरु चुनावी उपयोगिता र देशको प्रतिगमनका लागि मात्र एकता वा गठबन्धन को कुरा गरिरहेका छन भनेर म सँग भएको कुराकानीमा जेपी गुप्ताले आरोप लगाउनु भयो । के भन्नु हुन्छ ?
पहिलो कुरा त जेपी गुप्ता जस्ताको कुरै नल्याउनुस यहाँ । अरु कसैले भनेको छ भने ल्याउनुस ।
किन ? वहाँ त्यो पात्रको लायक पनि हुनु हुन्न र ?
कम से कम जेपी गुप्ताको कुनै पनि कुरा लिएर म निर नआउनु होला ।
मधेस आन्दोलन भन्दा अगाडी जसरी एउटा लुज फोरम थियो नि,
बिचमै प्रश्न पुरा नहुँदै....

 पहिले तपाई आफ्नो इन्फोर्मेशन करेक्शन गर्नुस । लुज फोरम भन्ने कुरा हटाउनुस । मधेसी जनअधिकार फोरम पहिले एउटा राजनीतिक पार्टी नभएर राजनीतिक संगठन थियो । मधेस आन्दोलन पछि राजनीतिक पार्टीको रुपमा रुपान्तरित भएर आएको हो । लुज फोरम भनेको त वाटोमा, मेलामा मान्छेहरु ल हिंड भन्या जस्तो हो । लुज फोरमले आन्दोलन गर्न सक्दैन ।
के थियो त ?
एउटा पार्टीको रुपमा नभए पनि सशक्त राजनीतिक संगठन थियो । जसले भुमिगत रहेर, अर्धभुमिगत रहेर र खुल्ला रहेर मधेस आन्दोलनको तयारी गर्यो । आन्दोलनको विगुल फुक्यो र मधेसमा एउटा भीषण लडाई लड्यो । हाट बजारमा बनेको लुज फोरमले त्यत्रो आन्दोलन गर्छ र शहादत दिन्छ ?
होइन भनिन्छ नि, त्यै लुज फोरमको नेतृत्व गरेर उपेन्द्र यादव रातारात हिरो बने भनेर ?
भन्ने मान्छेले गर्नु नि, आजै राती । कहाँ छ त्यो मान्छे ? तपाई पनि हो एउटा, हो भने गर्नुस । वडा दुःख लाग्छ । रातारात हुँदैन कुनै तयारी । यसको लागि निकै लामो पृष्ठभुमि छ । ०६४ सालमा आन्दोलन भयो । ०५४ सालमा तयारी सुरु भयो । दश वर्ष तयारी गर्न लाग्यो । के दश वर्षको एक रात हुन्छ ? हाम्रो ग्रहमा त हुँदैन । अर्को ग्रहमा सय वर्ष, दुई सय वर्षको पनि रात हुन्छ तर हाम्रो ग्रहमा प्रायः १२ घण्टा र  कहिले काहिँ १३ घण्टाको रात हुन्छ ।
होइन, तपाईले नै पटक पटक भन्नु भयो तेस्रो मधेस आन्दोलन पनि गर्छु तर सक्नु भएन नि ? दुई पटक आन्दोलन  गर्न तपाईलाई दश वर्ष लाग्यो, अब तेस्रो आन्दोलन गर्न तपाईलाई कति समय लाग्छ ?
मैले अघि नै भने, आन्दोलन, क्रान्ति, परिवर्तन इन्चि टेपले नापेर हुँदैन । त्यसको लागि भौतिक परिस्थिति र मनोगत परिस्थिति आत्मगत परिस्थितिहरु तयार हुन्छ । र, त्यो तयारीको दिशा तर्फ हामी अगाडी बढदैछौं ।
अघि मैले के भन्न खोजेको थिएँ, जसरी फोरममा विभिन्न पार्टी र विचारधारा भएका मानिसहरु आए, पछि तपाईको पार्टी फुटदै जाँदा गलत तत्वलाई पनि पार्टीमा प्रवेश गराउनु ठुलो गल्ती भएको तपाईले नै पटक पटक भन्दै आउन भएको छ । अहिले फेरी प्रवेश र वहिगर्मनको लहर चलेको अवस्थामा फोरममा सबैलाई प्रवेश गराउँदै जाँदा त्यो गल्ती नदोहोरिएला भन्ने के सुनिश्चितता छ ? त्यो दुवै अवस्थालाई तुलना गर्दा के फरक पाउनु हुन्छ ?
हिजो निर्वाचन ताका थोरै समय हामीले पाएका थियौं र धेरै मानिसले प्रवेश गरे । धेरै राम्रा मानिसहरु प्रवेश गरे र यद्यपि पनि अहिले लक्ष्य प्राप्तिका लागि परेकै छन । एकआध गलत तत्वहरु पनि आएका थिए जो बाहिरिए । यो फिल्टे«शन हुने काम सुद्धिकरण र सुदृढिकरण गर्र्ने काम नै अहिले फोरममा चलिरहेका छन । त्यसकारण कस्ता मानिसलाई पार्टीमा प्रवेश गराउने, प्रवेश गराउँदा कस्ता भुमिका पार्टीमा दिने कुरामा अहिले हाम्रो पार्टी सचेत छ ।
फेरी पश्चाताप गर्ने वा त्यो अवस्था नआउँला विगतकै गल्ती फेरी पनि दोहो¥याइरहनु भएको छैन भन्नेमा कसरी विश्वस्त हुनु हुन्छ ?
मानिसलाई राजनीति गर्न अवसर दिनु भनेको गल्ती हो । भुमिका निर्वाह नगर्नु पो गल्ती हो । त्यसकारण राजनीति गर्न चाहने, फोरमको लक्ष्य प्राप्ति गर्न चाहने व्यक्तिहरु फोरममा आउन सक्छ । यसरी फोरममा आउँदा कसरी सङ्गठन गर्ने, कुन भुमिका दिने भन्नेमा विचार पु¥याउनु पर्छ ।
अरु पार्टीमा अवसर नपाएर परित्याग गर्दै अवसरकै लागि पनि त फोरममा प्रवेश गर्नेहरु पनि होलान नि त ?
जो आए पनि अवसरकै लागि आउने, सबै मान्छे खराव छन, म मात्रै राम्रो छु भन्न खोज्या हो कि क्या हो । त्यो होइन केही न केही गर्रौ भन्नका लागि पनि आएका हुन्छन । केही यो आन्दोलनलाई अगाडी बढाउन पनि आएका हुन्छन । सबै थरिका मानिसहरु सबै राजनीतिक दलमा आउने जाने क्रम रहन्छ । अनि आएका जति सबै खराव, नआएका जति सबै ठीक यस्तो पनि काँहि हुन्छ ।
संविधानसभाको चुनाव पश्चात सत्ता र विपक्ष दुवैको भुमिकामा तपाई रहनु भयो । तपाई आफैले मुल्याङ्कन गर्दा के पाउनु हुन्छ ?
आफ्नो भुमिकाको मुल्याङकन आफैले गर्नू नै गलत हो । मुल्याङकन गर्ने जनताले हो । चाहे सरकारमा रहुँ, सडकमा, सदनमा वा लडाइको मैदानमा चाहे जहाँ रहुँ, आफ्ना लक्ष्य प्राप्तिका लागि हामीले सक्दो प्रयास गर्दै आएका छौ, त्यो अहिले पनि चलिरहको छ ।
मधेसवादी पार्टीको एउटै मोर्चा वा पार्टीको सवालमा नेतृत्व कसले गर्ने भन्नेमा विवाद छ । तिनजना, एउटा तपाई, दोस्रो विजय गच्छदार र तेस्रो महन्थ ठाकुरको नाउँ चर्चामा छ रे । यो हल्ला हो कि साँच्चै दावी पनि हो ।
दावी गर्नेमा मेरो नाम सुन्नु भएको छ ? छैन नि । जसले नाम अगाडी सारेको छ तिनैलाई गएर सोध्नुस । दोस्रो कुरा, व्यक्ति महत्वपुर्ण होइन । विचार महत्वपुर्ण हो । संगठन महत्वपुर्ण होइन, लक्ष्य महत्वपुर्ण हो । लक्ष्य र विचार मिल्यो भने व्यक्ति सामान्य कुरा हो ।
मधेसमा राजनीति गर्ने सबै दलहरुको लक्ष्य र विचार त एउटै हो नि, होइन र ?
सबै पार्टीको एउटै लक्ष्य भैदिएको भए बहुदलिय लोकतन्त्र नै रहने थिएन यो दुनियाँमा ।
सबैले मधेसको मुक्तिको लागि राजनीति गर्दैछौ भनेर भनिरहेकै छन ।
बुझ पचाएर भनिरहेका छन । सबैको फरक फरक लक्ष्य हो ।
जय मधेस र जय मातृभुमि भने पनि सिद्धान्त मधेसवाद नै हो भन्छन ।
राजनीतिक पार्टीमा न सबैको लक्ष्य एउटै छ, न उद्देश्य एउटै छ । चोर डाँका र भद्र मान्छे दुवैले भेटघाट गर्दा नमस्कार त भन्छ नि, के दुवैको लक्ष्य एउटै हो ? मधेसवादी पनि हुन्छन र, कुनै बहुलाले भन्यो भने त्यसलाई सिद्धान्त मान्ने हो । मधेसवाद हुन्छ भने जनकपुरवाद हुँदैन, जनकपुरबाद भयो भने मिल्स एरियावाद हुँदैन । अनि गाउँवाद, टोलवाद हुँदैन । वाद कुनै पोलिटिकल थ्योरी हो ?कुनै फिलोसोफी हो ? मधेस कुनै फिलोसफी होइन । मधेस भूमि हो । भूमिको फिलोसोफी हुन्छ  यसको एउटा फिलोसफी छ । आइडियोलोजी हो ।
अहिले मधेसको राजनीतिमा एक पार्टीबाट अर्को पार्टीमा जाने आउने क्रमको जुन हलचल मच्चेको छ नि त्यसलाई कुन रुपमा लिनु भएको छ ?
अहिले हलचलै आएको छैन । हामी त ठुलो आँधी तुफान आउनु पर्छ र ल्याउनु पर्छ भन्ने पक्षमा छौ । जस्तो दुनियाँमा अक्टुवर रिभोलुसन्स रसियामा भएको थियो । स्वायतता संग्राम अमेरिकामा भएको थियो, यहाँ पनि ०६३÷०६४ को विद्रोह भएको थियो, विभिन्न मुलुकहरुमा यूगान्तकारी परिवर्तन भएको थियो, क्रान्तिहरु भएका छन, त्यो नेपालमा पनि शोषित पिडितको मुक्तिका लागि आँधी र तुफान, एउटा क्रान्तिकारी उथल–पुथल हुनु जरुरी छ । अहिले त त्यो भाकै छैन । शोषक र शाषकहरुलाई त शान्त छ अहिले ।
तपाईको पार्टीको के वाद त ?
हामी डेम्रोक्रयाटिक सोसलीष्ट वा सोसल डेमोक्राट्स छौं । सामाजिक लोकतान्त्रिक व्यवस्था प्रणाली हाम्रो लक्ष्य हो ।
नेपाली कांग्रेस भन्दा के फरक भयो त ?
नेपाली कांग्रेसको विपी कोइराला सँगै प्रजातान्त्रिक समाजवाद सिद्धियो । कांग्रेसको अव लुटवाद, खसोटवाद, ठगवाद, छलवाद नै हो मूल सिद्धान्त ।
रामचन्द्र झा का अनुसार तपाइहरु क्रान्तिकारी भूमि सुधारको पक्षमा हुनु हुन्न, सामन्त र जमिन्दारकै संरक्षण गर्न चाहनु हुन्छ नि ?
हाम्रो कुरा रामचन्द्र झाले भन्ने कि हामीले भन्ने । रामचन्द्र झाको कुरा मलाई सोधेर हुन्छ, हुँदैन नि । हामी कृषिलाई बैज्ञानिकरण आधुनिकरण, व्यवसायीकरण र औद्योगिकरण गरेर त्यसलाई उद्योगको रुपमा डेभलोप गरेर मुलुकको अर्थतन्त्रलाई दरो बनाउनु पर्छ भन्ने पक्षमा छौ । यो कुरा रामचन्द्र झालाई गएर सुनाईदिनु होला ।
समग्र मधेस एक प्रदेशको मुद्दामा तपाईको पार्टी कति अडिग छ ? कि फ्लेक्जिबुल हुँदै गइरहनु भएको छ ?
त्यसमा कुनै फ्लेक्जिवल हुनु वा टाइट हुने कुरै छैन । मधेस स्वायत्त प्रदेश भनेको, मधेस एक प्रदेश भनेको, समग्र मधेस एक प्रदेश भनेको एउटै हो । विगतको आन्दोलनमा सम्झौता भएकै छ । अहिलेको संविधानमै लेखेको छ, मधेसमा स्वायत्त मधेस प्रदेश हुने भनेर । यसलाई प्रादेशिक सवायत्तता सहित अलग प्रान्त, प्रदेशको दर्जा दिने हो भन्ने कुरालाई अव व्यवहारमा लागु गर्नु पर्छ । त्यसमा कुनै सम्झौता हुँदैन ।
मधेसवादी दलहरु जातीय संगठनको नेतृत्व गरिरहेको आरोप लागिरहेको छ ? कसरी खण्डन गर्नु हुन्छ ?
राजनीति गर्नेहरुको कुनै जाति हुँदैन । मात्र लक्ष्य हुन्छ । एउटै जात भनेको सिद्धान्त हुन्छ । मान्छेको जात मान्छे मात्रै हुन्छ । २१ औं शाताब्दीमा जात पातको कुनै अर्थ हुँदैन ।
मधेसमा त, प्रदेशका लागि मिथिला आन्दोलन थारु आन्दोलन पनि भएका छन नि ।
मधेस भित्र मिथिला, भोजपुरा, अवध सबै ठाउँ हो । भाषा हो । मिथिला भनेको मैथिली भाषी क्षेत्र हो ।
मिथिला राज्यको लागि ५ जनाले त शहादत नै दिइसकेका छन नि ।
त्यो हाम्रो अजेण्डा होइन । हाम्रो अजेण्डा के हो भने मिथिलाको भविष्य पनि मधेसमै छ । अलग भएर कुनै भविष्य छैन ।
त्यसको लागि तपाईले उनीहरुलाई कन्भिन्समा लिने वा उनीहरुले तपाईहरुलाई कन्भिन्स गर्ने वा भनौं विश्वासमा लिने सम्वन्धमा सम्वाद भएको छ कि छैन ?
जव मधेसको इस्यु अगाडी बढछ, जुन बेला राज्यको पुनः संरचनाको सवालमा  मधेस प्रदेश कुरा चल्न थाल्छ त्यति बेला कसैले मिथिला, थरुहट त भोजपुराको कुरा उठाउँछन, उठाउन लगाइन्छ । फेरी त्यो मुद्दा ओझेलमा पर्न लागे पछि स्वतः सिद्धिन्छ ।
त्यसो हो भने जनकपुरमा ५ जनाको निरर्थकमै ज्यान गयो हैन ?
निरर्थक वा सार्थक म भन्दिनँ । तर त्यो घटना ज्यादै दुःखदपुर्ण भयो । घटना गराउनेहरुलाई राज्यले अहिले सम्म कानुनको दायरामा ल्याउन नसक्नु ठुलो रहस्यपुर्ण र षड्यन्त्र मुलक रहेछ भन्ने कुरा देखिन्छ । राज्यले आफै घटना गराएको हो कि जस्तो पनि लाग्छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete