Tuesday, January 2, 2018

असई विक हत्याका फरार प्रतिवादीहरु धमाधम जनप्रतिनिधिको रुपमा निर्वाचित हुँदै

सशस्त्र प्रहरी असई थमन विक हत्याका
 प्रतिवादीनिर्वाचित प्रदेशसभा
सदस्य अभिराम शर्मा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपित व्यक्तिहरु धमाधम जनप्रतिनिधिका रुपमा निर्वाचित भईरहेका छन् । मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुको कुटाईबाट मृत्यु भएका असई विकको घटनामा प्रतिवादी बनाइएका राजपा नेपालका नेताहरु मध्ये कोई प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् भने कोई नगर प्रमुखको रुपमा निर्वाचित भएका छन् । महोत्तरी प्रहरीको अभिलेखमा फरार प्रतिवादी भई वान्टेड सुचिमा रहेका राजपा नेपालका ती नेताहरु अहिले जनप्रतिनिधिको रुपमा निर्वाचित हुन सफल भएका छन् ।
महोत्तरीबाट असई विक हत्याका प्रतिवादीहरु अभिराम शर्मा, कौशल कुमार यादव प्रदेशसभा सदस्यमा (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा निर्वाचित भएका छन् भने अर्को एकजना प्रतिवादी शंकरशाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर बन्न सफल भएका छन् । महोत्तरीको प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं.३ को १ बाट राष्टिूय जनता पार्टी नेपालका उम्मेदवार अभिराम शर्माले ९ हजार १ सय १४ मत ल्याएर निर्वाचित भएका हुन । त्यसैगरी महोत्तरीकै निर्वाचन क्षेत्र नं.४ को १ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कौशल कुमार यादव ९ हजार २ सय ७७ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी असई विक हत्याको आरोपमा प्रतिवादी बनाइएका अर्को एक जना उम्मेदवार देवेन्द्र यादव भने प्रतिनिधि सभा सदस्यमा पराजित भएका हुन ।
विगतमा राजपा नेपालमा आवद्ध भएपनि टिकट नपाएपछि राजपाबाट बागि हुँदै महोत्तरीको निर्वाचन क्षेत्र नं. ४ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका यादव पराजित भएका हुन ।
मधेस आन्दोलनका दौरान २५ भदौ २०७२ का दिन महोत्तरीको जलेश्वरमा कार्यरत रहेका सशस्त्र प्रहरी असई थमन विकको आन्दोलनकारीहरुले हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतमा उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ । घटनामा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले तत्कालिन अवस्थामा ३ जनालाई पक्राउ गरेको थियो भने करिब २ दर्जन प्रतिवादीहरु फरार रहेको प्रहरीले बताएको थियो । अहिले प्रदेशसभामा निर्वाचित भएका  अभिराम शर्मा र कौशल कुमार यादवलाई पनि उक्त घटनाको प्रतिवादी बनाइएको थियो  । महोत्तरी प्रहरीका अनुसार ती प्रतिवादीहरु हालसम्म फरार रहेका छन् ।
प्रहरीले उक्त घटनामा जलेश्वर ६ का रमेश प्रसाद साह, जलेश्वर २ का शतिनन्द चौधरी, राजा चौधरी, नरेश साह, राम राजा साह, हरिओम कुमार भगत, विक्की साह, जलेश्वर १ का चन्देश्वर साह मेहतरी, गोलु साह, रविन्द्र राम चमार, रंजित साह, जलेश्वर १३ का देबेन्द्र चौधरी, जलेश्वर १७ का पवन कापर, जलेश्वर ५ का अनिल ठाकुर, फुलहटा परकौली ५ का फुले यादव, महोत्तरी अनैठाका रोहित कुमार शर्मा, लालबाबु विन, भटौलिया २ का शम्भु साह, सोनमा ३ का देवेन्द्र यादव, खैरवनी ६ का कौशल कुमार यादव, निगौल ५ का लक्ष्मी महत्तो, अन्कार ९ का अभिराम शर्मा, पर्सा पतैलीका धर्मेन्द्र राय, पिगौना ५ का शंकर साही भन्ने रामशंकर मिश्र र सुगा भवानीपट्टीका सुरेश पाण्डेलाई समेत अभियूक्त बनाइएको छ ।
फरार रहेकाहरु मध्ये देवेन्द्र यादव विगतमा सदभावना पार्टीका केन्द्रिय सह महासचिव, सुरेश पाण्डे तराई मधेस सदभावना पार्टीका केन्द्रिय सदस्य, अभिराम शर्मा महोत्तरी तमलोपाका अध्यक्ष, धर्मेन्द्र राय सदभावना महोत्तरीका सचिव, कौशल कुमार यादव संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य, अनिल ठाकुर तमसपाका महोत्तरी सदस्य र लक्ष्मी महत्तो सदभावनाका केन्द्रिय सदस्य थिए । ती सबै नेताहरु अहिले राजपा नेपालमा  आवद्ध छन् ।
के भन्छन ः निर्वाचित प्रतिवादीहरु
सशस्त्र प्रहरी असई थमन विक हत्याका
 प्रतिवादीनिर्वाचित प्रदेशसभा
सदस्य कौशल कुमार यादव ।

उक्त घटनामा आफुहरु संलग्न नरहेको तथा राज्यले आवेशमा आएर झुठा मुद्दा दर्ता गराई आफुहरुलाई उक्त घटनाको प्रतिवादी बनाइएको घटनाका प्रतिवादीहरु बताउँछन् । उक्त घटनाका प्रतिवादी तथा प्रदेश सभा सदस्य अभिराम ठाकुर भन्छन,“ महोत्तरी प्रहरीले असई विकको हत्यामा आफुलाई प्रतिवादी बनाएको कुरा सत्य रहेपनि आफुहरुलाई गलत ढंगले झुठा मुद्दा लगाई राज्यले फसाएको छ ।” प्रहरीको अभिलेखमा मोस्ट वान्टेड फरार प्रतिवादी रहेको भन्ने सवालमा प्रदेश सभा सदस्य ठाकुर भन्छन,“ महोत्तरी जिल्ला अदालतबाट हालसम्म आफुहरुलाई कुनै पनि सूचना प्राप्त भएको छैन । समन जारी गरेको छैन । फरार भएको भए कसरी निर्वाचनमा विजयी भएँ ?”राजनीतिक मुद्दा भएका कारण सरकारले उक्त मुद्दा फिर्ता लिनुपर्छ भन्दै आफु मात्र होईन मलेशियामा रहेका व्यक्तिलाई समेत उक्त घटनामा फसाइनुले पनि झुठा मुद्दा दर्ता गरिएको पुष्टि हुन्छ, प्रदेश सभा सदस्य ठाकुरको दावी छ ।
त्यसैगरी प्रतिवादी समेत रहेका अर्का प्रदेश सभा सदस्य कौशल कुमार यादव पनि आफुहरुलाई राज्यले जवरजस्ती फसाएको बताउँछन् । मधेसको राजनीतिमा आफु उदयमान यूवा नेतृत्वको रुपमा स्थापित हुन थालेपछि राज्यले थमन विक हत्यामा आरोपी बनाई फसाइएको भन्दै यादव भन्छन,“ राज्यले हामीसँग पटक पटक सम्झौता गरी झुठा मुद्दाहरु फिर्ता लिने भनेपनि तिनीहरुको नियत मुद्दा फिर्ता गर्ने हालसम्म देखिएको छैन । जनताले पनि आफ्नो मत दिएर हामीहरु निर्दोष हौं भन्ने निर्वाचित गरेर मतादेश दिइसकेका कारण पनि राज्यले ती मुद्दाहरु अबिलम्ब फिर्ता गर्नुपर्दछ ।”
घटनासम्बन्धमा महोत्तरीका तत्कालिन डिएसपी रेग्मीको प्रतिवेदन
असई थमनको हत्याको सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले दिएको प्रतिवेदन अनुसार गत भदौ २५ गते अन्दाजी साढे ८ बजेको समयमा बाँके कचनापुर गाविस वडा नं. ५ घर भएका सीमा सुरक्षा कार्यालयको जलसागर महोत्तरीमा दरबन्दी भई सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई लाठी, भाँठा, लाती मुक्का समेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
उक्त खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको समेतको टोली घटना स्थलमा खटी विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा जानकारी गराएका थिए । घाइते बिकलाई यस अस्पतालमा उपचार हुन नसक्ने र निजको सिटी स्क्यान गर्नुपर्ने हुनाले थप उपचारको लागि अञ्चल अस्पताल जनकपुरमा जिल्ला अस्पताल जलेश्वरले रेफर गरिदिएपछि सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पताल जलेश्वरको ग्ल् ६६११२३५ नम्बरको एम्बुलेन्समा घाइते बिकलाई राखि कुरुवाको रुपमा सशस्त्र प्रहरी जवान राज कुमार झा, अस्पतालको कर्मचारी र सहयोगी समेत ५ जना भई जनकपुर तर्फ उपचारको लागि अन्दाजी ११ बजेको समयमा जलेश्वर पिपरा हुँदै जनकपुर जाने हाइवेको बाटोबाट गाडी पठाइयो । तर, उक्त बाटोमा अस्पताल आसपासबाट ९÷१० वटा मोटरसाइकलमा मान्छेहरु पछाडी गर्न थाले ।
जलेश्वरबाट अगाडी वढी प्रकौली पुगेपछि चौकमा अरु थप मानिसहरुले बाटोमा काठ तेर्साई बाटो बन्द गरेको देखि तथा रोक्न खोजेकोमा नरोकी बाटोको छेउबाट एम्बुलेन्स निकाली अगाडी वढाएकोमा ती मानिसहरुले एम्बुलेन्समा ढुङ्गामुढा गर्न थाल्यो ।
सशस्त्र प्रहरी असई थमन विक हत्याका
 प्रतिवादी जलेश्वर नगरपालिकाका
मेयर रामशंकर मिश्र ।
तर पनि एम्बुलेन्स नरोकी अझै अगाडी बढाउँदा ती मानिसहरुले मोटरसाइकलको साधनद्वारा पिछा गर्दै गएकोमा पिपरा नपुग्दै बाटोमा पर्ने विगही खोलाको पर्सा पुलमा अवरोध रहेकोमा पुल नजिकबाट चालकले हाइवेबाट जाँदा खतरा भयो, अगाडी पिपरामा पनि आन्दोलनकारीहरु होलान, पछाडीबाट पनि भेट्न लागिसके, मैले भ्रमरपुराबाट जनकपुर निस्कने बाटो देखेको छु, त्यही बाटो जाऔं भनि एम्बुलेन्स महोत्तरी गाविसको सनोखरा गाउँ तर्फ सहायक बाटोमा मोडी गाउँको बाटो हुँदै अगाडी वढेको थियो । अगाडी वढ्दै गर्दा मोटरसाइकलहरु पनि पछि पछि गईरहेकोमा गाउँबाट अगाडी भ्रमरपुरा गाउँ तर्फ जाने चौरीको बाटोमा ह्यूम पाइप हालेको बाटो आई उक्त स्थानबाट अगाडी एम्बुलेन्स जाने बाटो नरहेकोले चालकले एम्बुलेन्स रोकी चालक जलेश्वर ६ का सुशिल मिश्र, अस्पतालका कर्मचारी सियाराम पासवान, सहयोगी पप्पु साह, कुरुवाका लागि खट्ेका सशस्त्र प्रहरी जवान राजकुमार झा समेत चारै जना डराए । तिनीहरु आईसकेको देखि मार्छन भन्ने डरले हत्तोत्साहित भई गाडीबाट ओर्लिएर भागेको, घाइते सशस्त्र प्रहरी सहायक निरीक्षक विक पनि गाडीबाट ओर्ली भाग्दै गरेकोमा पिछा गर्दै आएका मानिसहरुले आईपुगि पुलिस भाग्यो, मार्नुपर्छ भनि हो हल्ला गरी वरपर भएका तथा गाउँ घरका मानिसहरु समेत जम्मा भई ५०÷६० जना जम्मा भई निज विकलाई निर्ममता पुर्वक कुटपिट गरी धारिलो हतियार समेतले प्रहार गरी हत्या गरेको र प्रहरी जवान राजकुमार झालाई समेत आन्दोलनकारीले लखेटिरहेको अवस्थामा २ किलोमिटर पश्चिम पुग्दा एक स्थानीय व्यक्तिले निज प्रहरी झालाई आन्दोलनकारीबाट बचाई गाउँमा लगि लुकाईराखेका थिए । पछि लुकिछिपी महोत्तरीकै डाम्ही मडैई विद्यालयमा पुगि झाले आफ्नो कार्यालयमा सम्पर्क गरी उद्धार गरी लगेको तथा उक्त एम्बुलेन्सका चालक, अस्पतालका कर्मचारी र सहयोगी पप्पु साह पनि भागी आफ्नो कार्यालयको सम्पर्कमा आएको महोत्तरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले विश्लेषण गरेको फोन कल विवरण
महोत्तरी प्रहरीले आफ्नो अनुसन्धानको क्रममा प्रतिवादी भनिएका व्यक्तिहरुको फोन कल विवरण, लोकेशन समेतलाई पहिचान गरी विश्लेषण चार्टसँगै प्रतिवादी अनिल ठाकुरको भ्वाइस रेकर्डलाई प्रमुख प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । त्यसैगरी घटनास्थल महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित र अर्को घटना स्थल महोत्तरी वडा नम्बर ८ सनोखडा स्थित धानको खेतबाट बरामद भएका लाठी, फाठा बाँसको, काठको टुक्राहरु, बोतलहरु, बोतलका टुक्राहरु, अडियो र भिजुअल चक्कालाई समेत सबुत प्रमाणको रुपमा पेश गरेको छ । त्यसैगरी घटना स्थल मुचुल्का, लाश प्रकृति मुचुल्का, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको पत्र, मृतकका भाई प्रेम बहादुर विकको जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, साक्षीहरु सशस्त्र प्रहरी जवान राजकुमार झा, पप्पु कुमार साह, सियाराम पासवान, सुशिल मिश्र आदिले गरेको घटना विवरण कागजलाई आधार बनाएको छ ।
सशस्त्र प्रहरी असई विकको हत्या भएको ज्यान मुद्दामा महोत्तरी प्रहरीले विभिन्न प्रतिवादीहरुको फोन कल विवरण समेत प्रस्तुत गरि हत्या गर्ने कार्यमा संलग्न रहेको दावी गरेको छ । प्रतिवादी रमेश साहको मोवाइल नम्बर ९८४४०५९७७४ को विश्लेषण गर्दै घटना भएको मितिमा विहान १०ः२० देखि १५ः२६ सम्म मोवाईलमा कुनै सम्पर्क नभएको तथा मृतक थमन विकलाई फलो गरी कर्तव्य गरी मार्नमा संलग्न रहेको दावी गरेको छ । त्यसैगरी अर्का प्रतिवादी शंकर साही भन्ने रामाशंकर मिश्रको मोवाईल नम्बर ९८४४०३०३१६ को विश्लेषण गर्दै घटना मितिको ११ः०३ देखि १२ः०५ सम्मको लोकेशन ऋम्च् २७४ देखिएको हुनाले उक्त टावर लोकेशन घटना स्थलको हुनाले निजकै नेतृत्वमा घटना भएको प्रहरीले दावी गरेको छ ।
त्यसैगरी प्रतिवादी अनिल ठाकुरको मोवाइल नम्बर ९८४४०३००१८ को विश्लेषणबाट घटना मितिको ११ः१० देखि सम्पर्कमा नरही एकैचोटी १२ः२२ बजेमा भिठ्ठामोडमा पुगेको हुनाले मृतकलाई फलोगरी कर्तव्य गरी मार्नमा संलग्न रहेको प्रहरीले दावी गरेको छ । त्यसैगरी प्रतिवादी सुरेश पाण्डेको मोवाइल नम्बर ९८५४०३०२४५ को विश्लेषण गर्दा घटना मितिको ११ बजे देखि १२ः१० बजेसम्म बारदात स्थलको मोवाइलको टावर लोकेशनमा रहेको र अर्का प्रतिवादी अभिराम शर्माको मोवाइल ९८५४०३०४४३ सँग पटक पटक सम्पर्क भएको दावी गरिएको छ ।
अर्को प्रतिवादी अभिराम शर्माको मोवाइल नम्बर ९८५४०३०४४३ र ९८४४१६८८८८ को विश्लेषण गर्दैै उक्त मोवाइल घटना भएको मितिको १०ः२४ देखि १२ः२९सम्म घटना स्थलकै मोवाईल टावर लोकेशनमा रहेको बताइएको छ । प्रतिवादी धर्मेन्द्र रायको मोवाइल नम्बर ९८४४०३१९७६ को विश्लेषण गर्दा घटना वारदात मिति समयमा निजको मोवाइल नम्बरको टावर लोकेशन सिडिआर २९७ पिपरा बि रहेको भन्दै अन्य प्रतिवादीहरु समेतको सिडिआरको आधारमा प्रहरीले अभियूक्त बनाएको छ ।
घटना भएको मितिको विहान अन्दाजी ८ः३० को समयमा सशस्त्र प्रहरी विकलाई कुटपिट गरेको भिजुवल रेकर्ड समेत हेर्दा संजय कुमार साह, प्रदिप साह माझी, विक्की साह, रामराजा साह, गोलु साह, हरिओम भगत, रविन्द्र राम चमार र रंजित साहको भिजुवल फोटो सनाखत भएको तथा अन्य व्यक्तिहरु सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।  त्यसैगरी प्रहरीले आफ्नो विशेष सुत्रबाट घटना भईसकेपछि प्रतिवादी मोहन ठाकुरले गरेको कुराकानीको अडियो रेकर्डलाई समेत प्रहरीले प्रमाणको रुपमा पेश गरेको छ । अनिल ठाकुरले गरेको संवादको भ्वाइस एस्पेक्टूम एनालेसिस प्रविधिद्वारा परिक्षण गराई  अडियो रेकर्ड र भिजुअल रेकर्डको भ्वाइस ६७ प्रतिशत मिलेको  भनि केन्द्रिय अनुसन्धान व्यूरोको परीक्षण प्रतिवेदनलाई पनि ठोस प्रमाणको रुपमा अगाडी वढाएको छ ।


२०७४ पौष १६ गते आईतबार


No comments:

Post a Comment