Tuesday, January 2, 2018

जयकृष्ण गोईतको सक्रियता दुई जिल्लामा मात्र सिमित

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सम्पुर्ण तराई एउटा छुट्टै देश हुनुपर्छ भन्दै सशस्त्र भुमिगत समुह संचालन गर्दै आएका जयकृष्ण गोईतको प्रभाव दुई जिल्लामा मात्र सिमित भएको छ । विगत केही बर्ष देखि निष्कृय जस्तो देखिएको गोईत समुहले पछिल्लो दिनहरुमा  खास गरेर सिरहा र सप्तरीमा सक्रियता बढाएको देखिन्छ । खास गरेर ती दुई जिल्लामा प्रेसरकुकर बम विस्फोटन गराउने घटनाहरु बढेपछि गोईत फेरी पनि सक्रिय भई आफ्नो अस्तित्व देखाउन खोजेको देखिन्छ ।
तराई मधेसलाई आफ्नो प्रभाव क्षेत्र बनाई हतियारको राजनीति गर्नेहरु मध्ये अधिकांश समुहका नाईके र कार्यकर्ताहरु पक्राउ परेपछि, इन्काउन्टरमा मारिएपछि, बार्ताका मार्फत मुलधारमा आईसके पछि सशस्त्र समुहको गतिविधि न्यून भईसकेको अवस्थामा गोईत समुह फेरी सक्रिय हुन खोजेको देखिन्छ । उनको सक्रियतालाई प्रहरीले सक्रियता नभनेर दुई जिल्लामा मात्र खुम्चिएको भएपनि उसको उपस्थितिलाई भने नजरअन्दाज गर्न नमिल्ने बताएको छ ।
७ पुष २०७४ मा सिरहाको मालपोत कार्यालयको भवनमा बम विस्फोटन गराइएको थियो । सिरहा नगरपालिका वडा नं.७ स्थित रहेको उक्त कार्यालयको माथिल्लो तल्लाको प्यासेजमा प्रेसरकुकर बम पडकिएको थियो ।  दिउँसो करिब १ बजेर ३५ मिनेटको समयमा उक्त बम पडकिएको थियो । कार्यालयको समय भएका कारण कार्यालयमा सेवाग्राहीहरु सेवा लिनका निम्ति घुईचो लागेको थियो ।
बम विस्फोटनका कारण कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु सिरहा नगरपालिका वडा नं.१२ बस्ने राजकुमार पासवान, सिरहा नगरपालिका वडा नं.१८ बस्ने रोशन पासवान र सिरहा वडा नं.१ बस्ने पवन पासवान घाईते भएका थिए । विस्फोटनका कारण मालपोत कार्यालयको कोठाहरुको पल्ला तथा शिशाहरु समेत टुटफुट समेत भई क्षति भएको थियो । सिरहा प्रहरीले गरेको अनुसन्धानबाट उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुहका केन्द्रिय संयोजक जयकृष्ण गोईतले गराएका हुन ।
गोईत समुहका सिरहा जिल्ला सैन्य कमाण्डर विक्की भन्ने विरेन्द्र यादवले उक्त घटना गराएको प्रहरीको अनुमान छ । यादव सिरहा धनगढी माई नगरपालिका वडा नं.४ कुरुवा टोलका बासिन्दा हुन । त्यसैगरी उक्त बम विस्फोटनमा गोईत समुहका सक्रिय कार्यकर्ता सिरहा मिर्चैया नगरपालिका वडा नं.४ कुथनुवा घर भएका बद्रीयादव लगायत अन्य नाम थर नखुलेका करिब ५ देखि ६ जनासम्म व्यक्तिहरु संलग्न रहेको सिरहा प्रहरीको आंशका रहेको छ । ती सबै व्यक्तिहरु अहिले फरार रहेका छन् भने घटनाको अनुसन्धान जारी रहेको सिरहा प्रहरीले जनाएको छ ।
गोईत समुहको पर्चा ।
२३ मंसिर २०७३ मा सिरहाको मिर्चैया वडा नं. ५ स्थित शिला पेटूोल पम्प स्थित पार्किङ स्थलमा गोईत समुहका कार्यकर्ता चुल्वा भन्ने लेखनाथ प्रसाद यादवले बम विस्फोटन गराएको थियो । जयकृष्ण गोईतको निर्देशनमा यादवले उक्त बम विस्फोटन गराएको भन्दै अनुसन्धान अगाडी वढाएको थियो । सिरहा प्रहरीले सिरहा इटारी प्रसाई ४ बस्ने बर्ष ३० का यादवसँगै धनुषा सिंग्याही मडान ३ का २० बर्षिय देवेन्द्र कुमार यादवलाई समेत पक्राउ गरेको थियो । उक्त घटनामा बद्री यादव, त्रिफुल ठाकुर र जयकृष्ण गोईत समेतलाई प्रतिवादी बनाइएको थियो । सिरहा प्रहरीको अभिलेखमा अहिले पनि ती तिनै जना प्रतिवादीहरु फरार छन् ।
 १० चैत्र २०७३ मा पक्राउ परेका प्रतिवादी लेखनाथ यादव २० हजार रुपैयाँ धरौटीमा राखि सिरहा जिल्ला अदालतबाट तारेखमा छुटेका थिए ।
८ मंसिर २०७४ मा सिरहाको मिर्चैया वडा नं. ५ स्थित प्रदिप साहको घरमा रहेको माओवादी केन्द्रको कार्यालयमा प्रेसरकुकर बम विस्फोटन गराइएको थियो । सिरहा क्षेत्र नं. ४ को नेकपा माओवादी केन्द्रको चुनाव प्रचार प्रसार समन्वय कार्यालय प्रदिप साहको घरमा स्थापना गरिएको थियो । उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) पार्टीका अध्यक्ष जयकृष्ण गोईतको निर्देशनमा जिल्ला सैन्य कमाण्डर बद्री यादवले गराएको भन्ने कुरा सिरहा प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त घटनामा सिरहा धनगढी माई नगरपालिकाका विक्की भन्ने विरेन्द्र कुमार यादव समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सबै प्रतिवादीहरु उक्त घटनामा फरार रहेका छन् ।
२८ मंसिर २०७४ का दिन सिरहाको लहान नगरपालिका वडा नं.१ न्यू नेपाल साईकल स्टोर्स अगाडी बम विस्फोटन गराइएको थियो । अन्दाजी पौने १ बजेको समयमा उक्त बम विस्फोट हुँदा स्थानीय परमेश्वर चौधरी र धनराज चौधरी घाईते भएका थिए । बम विस्फोटन गराइएको उक्त स्थानमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोईतले हस्ताक्षर गरेको पर्चा फेला परेको थियो । उक्त पर्चामा मात्रिभुमि तराई माईको नेपाली औपनिवेशिक शासनलाई अन्तय गरेर मुक्त गर्न, स्वतन्त्र तराईका लागि सम्पुर्ण तराईका मुल निवासीहरु एक जुट होउ भन्ने शव्दहरु लेखिएको थियो । उक्त घटनामा सिरहा प्रहरीले सप्तरी त्रिकौल बस्ने जयकृष्ण गोईत, सिरहा धनगढीमाई नगरपालिका कुरुवा टोल बस्ने विक्की भन्ने विरेन्द्र यादव र मिर्चैया नगरपालिका वडा नं.४ कुथनवा बस्ने बद्री यादव संलग्न रहेको भन्दै सिरहा प्रहरीले अनुसन्धान गरेको थियो । उक्त घटनाका प्रतिवादीहरु फरार रहेका छन् ।
१२ मंसिर २०७३ मा सप्तरीको राजविराज नगरपालिका वडा नं.१ स्थित जिल्ला प्रशासनको कम्पाउन्डमा प्रेसरकुकर बम राखिएको थियो । गोईत समुहको पर्चा समेत त्यहाँ फेला परेको थियो । बमलाई नेपाली सेनाको टोलीले डिफ्यूज गरेको थियो । कुनै पनि किसिमको मानविय तथा भौतिक क्षति हुन सकेको थिएन । सप्तरी प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै गोईत समुहका दुई जना कार्यकर्ताहरु सिरहा गौरीपुर गाविस वडा नं.५ बस्ने बर्ष ५० का नथुनी यादव र सप्तरी प्रसवनी गाविस वडा नं. ७ घर भई हाल राजविराज नगरपालिका वडा नं.५ बस्ने बर्ष ३० का भवानी प्रसाद यादवलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रदेश नं.२ का प्रदेश प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थका अनुसार गोईतले आफ्नो सक्रियता बढायो भनेर भन्न नमिल्ने तर सप्तरी र सिरहामा भने कहिले काँही आकलझुकल दुई चार वटा घटनाहरु गराईरहेको कुरालाई भने नजर अन्दाज पनि गर्न मिल्दैन । कायस्थ भन्छन,“ भुमिगत समुहहरुको सक्रियताको सवालमा भन्ने हो भने तिनीहरुको घटनाको कति जिल्लामा प्रभाव छ, कति जिल्लामा कार्यकर्ता वा संगठन फैलिएको छ, कस्ता कस्ता घटना गराईरहेका छन्, तिनीहरुको ग्राभिटी कति छ भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । त्यसैले गोईतको सक्रियता बढेको छैन तर उसले आफ्नो उपस्थिति दर्ज गराउन खोजेको कुरा हामीले महसुस गरेकै छौं ।”
गोईतको प्रभाव सप्तरी र सिरहा गरी कुल दुई वटा जिल्लामा मात्र सिमित हुनुको मुख्य कारण के हो भने प्रहरीले तिनीहरुको प्रभावलाई विल्कुलै समाप्त पारिदिएको भन्दै एआईजी कायस्थ भन्छन,“ अरु जिल्लामा कुनै घटना गराउन खोज्यो भने सुरक्षाकर्मीहरुको तैनाथीका कारण सफल हुन सकिन्न भन्ने बुझेरै गोईत निष्प्रभावी भएको छ । अर्को कुरा के हो भने गोईतलाई कानुनको कठघरामा ल्याउन हामी अप्रेशनमा छदैछौं । घटनाहरु दर्ज भएकै छन् । घटनामा संलग्न भएकाहरुको खोजी जारी छ । ती दुई जिल्ला सप्तरी र सिरहामा पनि गोईतको प्रभावलाई समाप्त पार्छौं ।”
ज्वाला सिंहको विज्ञप्तीमा सक्रियता
ज्वाला सिंहको विज्ञप्ती ।
गोईत जस्तै मधेसमा विगतमा ठुलो प्रभाव जमाएको ज्वाला सिंह भनिने नागेन्द्र पासवान भने विगत लामो समय देखि निष्कृय देखिन्छन् । उनको संगठनको नाउँमा पछिल्ला वर्षहरुमा कुनै पनि हिंसात्मक घटनाहरु भएको देखिँदैनन् । तर, बेला बेलामा उनको नाउँबाट विभिन्न किसिमका विज्ञप्तीहरु जारी भईरहेका हुन्छन् । २३ असोज २०७४ मा उनको पछिल्लो प्रेस विज्ञप्ती जारी भएको थियो । ज्वाला सिंहको हस्ताक्षरमा जारी भएको उक्त विज्ञप्तीमा संविधान बने पनि तराईको पक्षमा नदेखिएकोले तराईमा तराई सेनाको गठनलाई अग्रता दिँदै तराईको मुल निवासीको शत्रुलाई स्वतन्त्र तराईबाट लखेटेर आफ्नो तराईको सत्ता पुनः मिलेर स्थापित गर्न आह्वान गरिएको छ ।
नयाँ सशस्त्र समुहको गठन
प्रायःजसो सशस्त्र समुहहरु समाप्त भएको  अवस्थामा प्रगतिशिल तराई मुक्ति मोर्चा नाम गरेको नयाँ सशस्त्र समुह गठन भएको कुरा साउन २०७४ मा सप्तरीको स्थानीय पत्रिकामा समाचार प्रकाशित भएको थियो । संगठनका संयोजक सिजनको नामबाट जारी गरिएको उक्त विज्ञप्तीमा तराईलाई अन्तर्राष्टिूय स्तरमा छुट्टै राज्यको पहिचान गराउने उद्देश्यले आधुनिक डिजाइनमा आधुनिक तरिकाले सशस्त्र संघर्ष गर्नका लागि मोर्चाको निर्माण भएको जनाइएको थियो ।
मधेसमा सशस्त्र समुहको इतिहास
तराई माथिको नेपालको औपनिवेशिक मुक्तिको लागि बन्दुक उठाएर विद्रोह गरी भुमिगत भई अखिल तराई मुक्ति मोर्चा गठन गरी जयकृष्ण गोइतले हिंसाको बाटो रोजेका थिए । जय कृष्ण गोइतले वर्तमान नेपालद्वारा शासित तराई प्राचीन कौशल, काशी र मिथिला (विदेह) जनपदहरुको उत्तरी हिस्सा रहेको बताउँदै आएका छन् ।
१६ मार्च २००८ मा अखिल तराई मुक्ति मोर्चाको प्रथम राष्टिूय महाधिवेशन तयारी समितिका लागि गोइतले जारी गरेको अपिलमा यी जनपदहरु प्रारम्भमा आ(आफ्नै जनपदका निकासीद्वारा स्वासित रहेको थियो, बताइएको छ । चौदहौं शताब्दीको पूर्वाद्धमा कैयौं वर्ष सम्म तराईको सिमरौनगढद्वारा नेपाल उपत्यका शासित रहेको थियो । कालान्तरमा तराई मुगल शासकहरुको अधिनमा रह्यो, तत्पश्चात ब्रिटिश शासकहरुद्वारा र अब तराई नेपालको औपनिवशिक शासनको अधिन छ ।
उनले जारी गरेको उक्त विज्ञप्तीमा मातृभूमि तराईको मुक्ति तराईको मुल निवासीहरुका लागि ऐतिहासिक आवश्यकता रहेको र जब सम्म तराईको मुक्ति हुँदैन तबसम्म तराईका मुल निवासीहरुको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, भाषिक एवम राष्टिूय पहिचान आदि समस्याहरुको कुनै पनि बास्तविक र स्थायी सामाधान सम्भव नरहेको बताएका थिए ।
यसरी गोइतकै बाटो पछियाउँदै मधेसका थुप्रै यूवाहरु भुमिगत हुँदै तराईको मुक्तिकामी आन्दोलन भन्दै बन्दुकको बाटोलाई रोजे । सोही क्रममा उनीहरुले मचाएको हिंसाबाट मधेसमा व्यापक धनजनको क्षति भयो । कतिपय व्यक्तिको हत्या भयो, कतिपय अपहरित भए, पलायन भए, बम विस्फोट, चन्दा आतंक बढदै गयो । तराईमा जनता त्रसित हुन बाध्य भए ।
प्रशासनको टाउको दुखाई बन्दै गएको सशस्त्र समुहलाई समाप्त पार्न राज्यपनि विभिन्न रणनीति अपनाउन थाले । संविधानसभाको पहिलो चुनाव भएपछि गठित सरकारी वार्ता टोलीहरुले बन्दुक उठाएर विद्रोह गरेकाहरुलाई शान्तिपुर्ण वार्तामा आई मुलधारमा आउन आह्वान गरे । एकातर्फ कतिपय समुहहरु बार्तामा आउन थाले भने अर्कोतर्फ प्रहरीले सशस्त्र समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले । यतिमात्र होइन प्रहरीको दोहोरो भिड्न्तको नाउँमा जवावी कारवाहीमा सशस्त्र समुहका थुप्रै नेताहरु मारिन थाले । शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भए पश्चात नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोलीहरुले मधेसका थुप्र्रै समुहहरुसँग विभिन्न चरणका वार्ताहरु गरे । मन्त्रालयको वेवसाइटमा उल्लेख भएअनुसार मन्त्रालयको गठन भए पश्चात विभिन्न ४५ वटा समुहहरुसँग वार्ता गरिएको छ ।
जसमध्ये मधेसका सशस्त्र समुहहरु अन्तरगत २६ मंसिर २०६५ मा मधेसी भाइरस किलर्स, ११ पुष २०६५ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, १८ कार्तिक २०६८ मा  संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा संस्थापन पक्ष, ८ मंसिर २०६८ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्य शर्मा समुह, १६ पुष २०६५ मा तराई संयुक्त जनक्रान्ति पार्टी, २६ पुष २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह, १० फागुन २०६५ मा लिवरेशन टाइगर अफ तराई इलम (एलटीटीइ), ७ चैत्र २०६५ मा मधेस मुक्ति टाइगर्स, २४ बैशाख २०६७ मा अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्ष, १६ पुष २०६८ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समुह), २८ पुष २०६८ मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समुह), ७ माघ २०६८ मा अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समुह), १३ माघ २०६८ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (भगत सिंह समुह), २१ फागुन २०६८ मा जनतान्त्रिक मधेस तराई मुक्ति मोर्चा (झबर साह, प्रताप समुह) र ६ बैशाख २०६९ मा संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति मोर्चा सँग वार्ता गरिएको जनाइएको छ । त्यसपछि पनि कतिपय सशस्त्र समुहहरुसँग तत्कालिन सांसद आनन्द ढुङ्गानाको संयोजकत्वमा गठित टोलीले समेत बार्ता गरेको थियो ।
नेपाल सरकार र सशस्त्र समुहका वार्ता टोलीहरु बीच भएको विभिन्न चरणको सम्झौतामा सबै समुहहरुसँग वार्ता अवधि सम्म सशस्त्र समुहका वार्ता टोलीका सदस्यहरुको सुरक्षा नेपाल सरकारले गर्ने, सशस्त्र समुहहरुले सशस्त्र कारवाही स्थगित गर्ने एवम कानुनले निषेध गरेका कुनै पनि गतिविधि संचालन नगर्ने र नेपाल सरकारको तर्फबाट पनि सो समुहका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा व्यवहार गर्ने, जेलमा रहेका र मुद्दा लगाइएका आफ्ना कार्यकर्ताहरुको नामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्दै जाने, स्वतन्त्र एवम शान्तिपुर्ण रुपमा राजनीतिक सभा, जुलुस, ¥याली, गोष्ठी, सेमीनार तथा राष्टू निर्माणका कार्यक्रम सम्बन्धित जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी संचालन गर्न सकिने, मुलुकमा दिगो शान्ति स्थापनाका लागि अन्य द्वन्दरत राजनीतिक समुहहरुलाई समेत वार्ताको टेवलमा ल्याउन पहल गर्ने भनेर चार देखि पाँच बुँदा सम्म दुवै पक्ष बीच पहिलो चरणमा सहमति हुने गरेको थियो ।
यसरी थुप्रै समुहहरुसँग दुई देखि तीन चरण सम्म सरकार र सशस्त्र समुहका वार्ता टोलीहरुसँग सम्झौता भई कतिपय समुह मुलधारमा आइसकेको छ । तर, पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई रिहाई गराउन र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गराउन सशस्त्र समुहका वार्ता टोलीहरु विफल भएपछि केही समुहहरु पुनः हतियार उठाए भने केही नेताहरु आफु सुरक्षित अवतरण गरे ।
किन निस्प्रभावी भए सशस्त्र समुह ?
तत्कालिन विद्रोही नेकपा माओवादीमा आवद्ध भएका जयकृष्ण गोइत मधेसको मुद्दामा माओवादी उदार नदेखिएको भन्दै असंतुष्ट भई मधेसको मुक्तिका लागि भनेर जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरी बन्दुकको राजनीति प्रारम्भ गरे । उनी सँगै ज्वाला सिंह भनिने नागेन्द्र पासवान पनि लागे ।
तर केही वर्षपछि ज्वाला सिंह गोइतबाट अल्लगिएर अर्कैै पार्टी गठन गरे । यसरी सुरु भयो सशस्त्र समुहहरुमा विखण्डन । सशस्त्र समुहहरुमा पनि दुई विचार देखा प¥यो । गोइत र ज्वाला मधेस अलग्गै देश हुनुपर्छ भनेर लागे भने अर्का थरी संघीय लोकतान्त्रिक गणतन्त्र र आत्म निर्णयको अधिकार सहित समग्र मधेस स्वायत्त प्रदेश हुनुपर्छ भन्ने वैचारिक विभाजन देखा प¥यो । त्यसपछि नेतृत्व क्षमता नदेखिएको तथा आर्थिक हिनामिना गरेको भन्दै एकले अर्कोलाई कारवाही गरेको भन्दै दर्जनौ सशस्त्र समुहहरु खुले । सशस्त्र समुहहरुको प्रभाव वढ्दै गयो ।
त्यसपछि राज्यले वार्ताका लागि गोइत र ज्वालालाई आउन भन्दा संयुक्त राष्टू संघको मध्यस्थतामा मात्र वार्ता गर्ने उनीहरुले पुर्व सर्त राख्यो । विद्रोही माओवादीलाई वार्तामा ल्याउन पनि वाहय मध्यस्तकर्ता नराखिएको भन्दै राज्य उक्त सर्तलाई मान्न इन्कार ग¥यो । अनि राज्यले ती समुहहरुलाई निस्प्रभावी बनाउन तीनका कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले, दोहोरो भिडन्तको नाउँमा जवाफी प्रहरी कारवाहीमा तिनीहरुको इन्काउन्टर हुन थाल्यो । संविधानसभा निर्वाचन पछि चौथो शक्ति बनेका मधेसवादी दलहरुले वार्ताको माध्यमबाट उक्त समस्या समाधान गर्न माग गरेपछि सरकारले सरकारी वार्ता समिति बनाई वार्ता पनि गरे । त्यसैको परिणाम हो कतिपय भुमिगत जीवन विताउनेहरु अहिले राजनीतिक मुलधारमा छन् ।
उता वार्तामा नआएका समुहहरु सुरुमा पहाडी समुदायलाई निशानामा बनाउने क्रमलाई तिब्रता दिन थालेपछि तिनीहरु विस्थापित हुन बाध्य भए । अनि चन्दा दिनका लागि मधेसी समुदायका कर्मचारी, व्यापारीहरुलाई तिनीहरुले धम्क्याउने, अपहरण गर्ने, गोली प्रहार गर्ने र हत्या सम्मका कामहरुलाई तिब्रता दिन थालेपछि स्थानिय स्तरमा पनि तिनीहरु प्रति जनआक्रोश वढ्दै गयो ।  अनि प्रहरीले पनि ती समुहमा आवद्ध भएका व्यक्तिहरुलाई इन्काउन्टर गर्न थाले ।



२०७४ पौष १६ गते आईतबार


No comments:

Post a Comment