Monday, October 30, 2017

२ नम्बरको चुनावको सुरक्षा तयारी पूरा सेना र प्रहरी गरी ६० हजार सुरक्षाकर्मी परिचालन

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । सुरक्षा व्यवस्थामा कहीँकतै कमाजोरी नहुनेमा आश्वस्त पार्दै उनले ढुक्क भएर निर्वाचनमा मतदाता मतदान केन्द्रसम्म पुग्ने वातावरण रहेको जानकारी दिए । प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । प्रवक्ता सुवेदीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिने जानकारी दिए । आवश्यकताअनुसार सो संख्या बढ्नसक्ने समेत उनको भनाइ छ ।
‘केन्द्रीय तहमा गृहमन्त्रीको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाएको छ, सोहीअनुसार सुरक्षा निकाय परिचालन भएका छन,’ उनले भने । निर्वाचनको समयमा सुरक्षा निकायले तीन घेरामार्फत सुरक्षा प्रदान गर्नेछ । जसअनुसार पहिलो भित्री घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा बाहिर नेपाली सेना रहनेछ ।
 राष्टिूय अनुसन्धान विभागलाई भने सूचना संकलनमा परिचालन गरिने भएको छ । विशेषतः २ नम्बर प्रदेशको निर्वाचनमा सिके राउत समूह र निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सुरक्षा चुनौतीको रुपमा लिइएको छ । प्रवक्ता सुवेदीले कुनै पक्षबाट सुरक्षा चुनौती नरहेको टिप्पणी गरे। उनले भने ‘केही समयअघि आएको बाढी, पहिरोले २ नम्बर प्रदेशमा पुर्याएको क्षति मात्रै हाम्रा लागि चुनौती हो, अरु त्यस्तो कुनै चुनौती अहिलेसम्म देखिएको छैन ।’
सीमा नाका बन्द
निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिए । निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो । अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुुकुर परिचालन भएका थिए ।
दुई हेलिकप्टर तयारी अवस्थामा
निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा(पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । तेस्रो चरणको निर्वाचनमा छ हजार ६०० पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।
२ नम्बर प्रदेशमा जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेका छन् ।
दुई नम्वर प्रदेशको आठ जिल्लामा हुन लागेको स्थानीय तहको चुनावका ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरीले २६ हजार जनशक्ति चुनावी सुरक्षामा परिचालन गरेको छ । त्यसैगरी सशस्त्र प्रहरीले करीब ८ हजार जनशक्ति चुनावमा परिचालन गरेको छ । नेपाली सेनाले झन्डै १८ हजार सुरक्षाकर्मी चुनावमा परिचालन गर्ने जनाएको छ । भदौ १८ गते जनकपुरमा गृहमन्त्री जनार्दन शर्माको उपस्थितिमा भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा दुई नम्बर प्रदेशका संवेदनशील क्षेत्र, चुनावी सुरक्षा र सुरक्षाकर्मीको परिचालन लगाएका विषयमा छलफल भएको थियो ।
मतदानस्थल, मोवाइल परिचालन, रिजर्व फोर्स, निर्वाचन कार्यलय सुरक्षा र प्रहरीका कार्यलय सुरक्षासहित चुनावभर दुई नम्वर प्रदेशमा २६ हजार एक सय ५० प्रहरी परिचालन हुनेछन् । ती मध्ये २१ हजार चार सय २८ जना प्रहरी मतदान केन्द्रको सुरक्षामा खटिने छन् । दुई नम्वर प्रदेश संघीय इकाई कार्यलयका अनुसार सप्तरीमा ३ हजार ९ सय ३५, सिरहामा दुई हजार सात सय ६५, धनुषामा चार हजार पाँच, महोत्तरीमा तीन हजार ८४, सर्लाहीमा तीन हजार सात सय ७३, रौतहटमा तीन हजार एक सय ६, वारामा तीन हजार दुई सय ७८ र पर्सामा दसई हजार एक सय ६९ प्रहरी चुनावी सुरक्षामा परिचालन हुनेछन् ।
प्रहरीले चुनावी सुरक्षाका लागि गाउँपालिकामा दुई वटा, उपमहानगर र नगरपालिकामा तीन वटा तथा महानगरपालिकामा चार वटा मोबाइल फोर्स परिचालन गर्ने योजना बनाएको छ ।
सुरक्षा निकायले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजित गरेको छ । यहीँ अनुसारको सुरक्षा व्यवस्था गरेको छ । दुई नम्वर प्रदेशका ८ जिल्लाका दुई हजार १ सय ६६ मतदानस्थल मध्ये एक हजार तीन मतदानस्थलाई अति संवेदनशील सूचिमा राखिएको छ । जिल्लागत हिसवाले हेर्दा धनुषामा २ सय २२ अति संवेदनशील र एक सय पाँच संवेदनशील मतदानस्थल छन् । त्यसबाहेक सिरहामा १ सय ९ अति संवेदनशील, ९ संवेदनशील र २ सामान्य मतदानस्थल छन् ।
सप्तरीमा २ सय ६ अति संवेदनशील,२ सय ३५ संवेदनशील मतदानस्थल छन् । सर्लाहीमा १ सय ४१ अति संवेदनशील, १ सय ५१ संवेदनशील र २५ सामान्य मतदानस्थल छन् । यसबाहेक पर्सामा ३७ अति संवेदनशील, ८९ संवेदनशील र १५ सामान्य मतदानस्थलका रुपमा लिइएको छ । वारामा ६६ अति संवेदनशील, १ सय २९ संवेदनशिल र १ सय ९ सामान्य मतदानस्थल छन् । रौतहटमा ८२ अति संवेदनशील, ८७ संवेदनशील र १ सय ८ सामन्य मतदानस्थल छन् ।
तीन घेरामा सुरक्षा
निर्वाचनमा सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्टिूय अनुसन्धान गरी ४ वटै  सुरक्षा निकायका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् । मतदान केन्द्र, मतदान अधिकृत, मतदान स्थलमा खटिएका कर्मचारी, मतपेटिका, मत पत्र, मतदान गर्न आउने मतदाता, उम्मेदवारहरु लगायतको सुरक्षाको दायित्व नेपाल प्रहरीकै रहेका कारण नेपाल प्रहरीको भुमिका मुख्य रहेको एसएसपी चौधरी बताउँछन् । एकिकृत सुरक्षा योजना अनुसार निर्वाचनमा खटिएको सुरक्षाकर्मीहरुको लागि संयूक्त रुपमै सुरक्षा योजना निर्माण गरिएको हो ।
जिल्ला सुरक्षा समितिहरुको निर्णयहरुबाट विभिन्न जिल्लाहरुमा अतिसम्बेदनशिल, संवेदनशिल र सामान्य गरी तीन क्याटेगोरीमा मतदान केन्द्रहरुलाई बर्गीकरण गरिएको छ । सोही आधारमा सुरक्षाकर्मीहरुको जनशक्ति व्यवस्थापन, हातहतियार व्यवस्थापन, संचार साधन तथा सवारी साधनहरुको व्यवस्थापन गरिएको छ ।
जिल्लाहरुमा छुट्टै रिजर्व टोली, संघीय प्रहरी इकाईमा छुट्टै रिजर्व टोली राख्नुका साथसाथै जिल्लाहरुमा मोवाईल टोली खटाइएको छ । म्यादी प्रहरीको ठाउँमा विभिन्न जिल्लाहरुबाट थप मदत झिकाई नेपाल प्रहरीलाई परिचालन गरी जनशक्ति व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा २० जना सुरक्षाकर्मीहरुको टोली जिल्लामा रिजर्व राखिएको छ । त्यसैगरी नगरपालिकाहरुमा ७÷७ जनाको ३ वटा र गाउँ पालिकामा २ वटा मोवाईल टोली खटाइएको छ । धनुषामा मात्रै ४८ वटा, महोत्तरीमा ४० वटा र सर्लाहीमा ५१ वटा गरी ३ जिल्लाका लागि कुल १ सय ३९ वटा मोवाईल टोली खटाइएको छ । केन्द्रिय योजना अनुसार कतिपय सवारी साधनहरु व्यवस्थापन गरिएको छ भने मोवाईल टोलीका लागि सवारी साधनहरु भाडामा समेत लिइएको छ ।
असोज २ गते दुई नम्वर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनाव हुँदैछ । यहाँबाट ६६२७ प्रतिनीधि निर्वा्चित हुनेछन् । यहाँ मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् । चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् । २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।
धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् । महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् । सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् । रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदानस्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् ।
बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदानस्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् । सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता छन् । सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।
नेपाल र भारतसँगको खुला सीमा रहेका प्रदेश नं. २ को आठ वटै जिल्लाहरुमा उम्मेदवार तथा राजनीतिक दलहरुले भारतका अपराधिहरुलाई प्रयोग गर्न सक्ने सुरक्षा अधिकारीहरुले आंकलन गरेका छन् । विगतका चुनावहरुमा समेत दलहरुले भारतीय अपराधिहरुलाई प्रयोग गर्ने गरेको प्रवृति रहेका कारण स्थानीय तहको चुनावमा समेत दल वा उम्मेदवारहरुले त्यस्ता अपराधिहरुलाई प्रयोग गर्न सक्ने हुनाले सुरक्षा निकाय अत्यन्तै सचेत तथा सजग रहेको छ ।
संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक सुभाष चन्द्र चौधरी भन्छन,“ खुल्ला सीमा भएका कारण भारतका आपराधिक प्रवृतिका मानिसहरुले समेत नेपालमा प्रवेश गर्न सक्ने हुनाले तिनीहरुको प्रवेश रोक्नका निम्ति सीमा क्षेत्रमा सुरक्षा कडा बनाइएको छ । नेपाल प्रवेश गर्ने हरेक नाकाहरुमा मानिसहरुको स्क्रिनिङ्ग गरिएको छ ।” चुनाव हुनुभन्दा ७२ घण्टा अघि देखि नै नेपाल भारतको नाका सिज गरिने भएपनि त्यस अघि भारतीय अपराधिहरु नेपालमा प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले भारतसँगको सुरक्षा अधिकारीहरुसँगको काउन्टर पार्ट मिटिङ्गमा समन्वय गरिएको छ । एसएसपी चौधरी भन्छन,“ भारतमा पनि आपराधिक गतिविधि गर्ने व्यक्तिहरु माथि भारतीय सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् । त्यस्तो गतिविधि गर्ने व्यक्तिहरुलाई भारतमै नियन्त्रणमा लिईने भारतीय सुरक्षाकर्मीहरुले आश्वस्त पारेका छन् ।”
आन्तरिक असुरक्षा
सुरक्षाकर्मीहरुका अनुसार निर्वाचनका क्रममा देखिएको तेस्रो सुरक्षा चुनौति भनेको उम्मेदवारहरु बीच आ आफैमा हुन सक्ने झडप, द्वन्द्व तथा हिंसाका घटनाहरु । एसएसपी चौधरी भन्छन,“ निर्वाचनका क्रममा उम्मेदवारहरुलाई धाक धम्की, अपहरण गर्न सक्ने, भौतिक आक्रमण गर्न सक्ने, एक आपसमा झड्प हुन सक्ने सुरक्षा चुनौति छ । त्यसको लागि पनि सुरक्षा तयारी पर्याप्त गरिएको छ ।” कुनै पनि ठाउँमा एकै बखत एकै स्थानमा उम्मेदवारहरुको तथा राजनीतिक दलहरुको चुनावी सभा तथा कार्यक्रम हुन नदिने भनेर सम्बन्धित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी सुरक्षाकर्मीहरुलाई निर्देशन दिइएको छ । बाढीले गर्दा कतिपय ठाउँमा बाटो घाटो राम्रो सँग मर्मत नभएकोले मतदान केन्द्रसम्म निर्वाचन सामग्री ओसार पोसार गर्न चुनौति देखिएको छ ।




२०७४  आसिन ०१ गते  आईतवार

No comments:

Post a Comment