Wednesday, September 13, 2017

निर्वाचनलाई लिएर भाईबहिनी बीच प्रतिस्पर्धा एक भाई चुनावको बहिष्कारमा अर्को भाई बहिनी अलग अलग पार्टीबाट प्रतिस्पर्धामा

सरोज मिश्र ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
असोज २ गते स्थानीय तहको निर्वाचन हुन गईरहेको छ । त्यसका लागि २१ भदौमा उम्मेदवारहरुले मनोनयन दर्ता समेत गराईसकेका छन् । उम्मेदवारहरु र राजनीतिक दलहरु चुनाव प्रचार प्रसारमा जुटिसकेका छन् । उम्मेदवारहरु कोठे बैठक देखि घर दैलो सम्मका कार्यक्रमहरु संचालन गर्न थालेका छन् । तर, निर्वाचनको रोचक पक्ष के देखिएको छ भने निर्वाचनमा दिएका उम्मेदवारीका कारण कतिपय परिवारका आ आफ्नै सदस्यहरु समेत विभाजन देखिएका छन् ।
जनकपुर उपमहानगरपालिका वडा नं.८ स्थित एक परिवारमा भाई बहिनीहरु बीच चुनावलाई लिएर तनाव उत्पन्न भएको छ । एकै परिवारका एक भाई निर्वाचन बहिष्कार भन्दै शान्तिपुर्ण आन्दोलनमा छन् भने अर्को भाई र बहिनी स्थानीय तहको निर्वाचनमा अलग अलग पार्टीबाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
मधेस अधिकार संघर्ष समिति (मास) गठन गरी मधेस आन्दोलनमा ऐक्यवद्ध भएका सरोज मिश्रको परिवारमा चुनावलाई लिएर भाई बहिनीहरुबीच दरार उत्पन्न भएको छ । संविधान संशोधन नभई हुन गईरहेको स्थानीय तहको चुनाव धोका हो भन्दै २१ असोजमा जनकपुरको जनक चौकमा निर्वाचनलाई बहिष्कार गरिरहेका सरोज मिश्रको आफ्नै दिदी पुनम मिश्र भने नेकपा एमालेको तर्फबाट जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गरिरहेका थिए । त्यसैगरी सरोज मिश्रकै आफ्नै सहोदर भाई अम्भोज मिश्र राष्टिूय जनता पार्टी (राजपा) नेपालबाट उपमहानगरपालिकाको वडा नं. ८ मा वडा सदस्यको लागि उम्मेदवारी मनोनयन दर्ता गरिरहेका थिए । यसरी हेर्ने हो भने एकै परिवारका दुई दाजु भाई र एक दिदी निर्वाचनलाई लिएर बाँडिएका छन् ।
अम्भोज मिश्र ।
वडा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरेका अम्भोज मिश्र भन्छन,“ राजपा नेपालले निर्वाचनमा भाग लिईसकेपछि आफुले उम्मेदवारी मनोनयन दर्ता गरेको हो । मधेस आन्दोलनको नेतृत् वगर्ने राजपाबाट उम्मेदवारी दिनु एउटा आन्दोलनकारीको हैसियतले जति गौरवको विषय छ, त्यति नै दिदी पुनमले एमालेबाट उपमेयरमा उम्मेदवारी दिनु मेरो लागि दुःखद हो ।” आफुले आफ्नो पार्टी राजपाको पक्षमा रहेका उपमेयर पदका लागि मनोनयन भएका उम्मेदवारलाई भोट दिने भन्दै भाई अम्भोज भन्छन,“ सबैको आआफ्नो स्वतन्त्रता हुन्छ । दिदी पुनमले एमालेबाट उपमेयरमा उम्मेदवारी दिएपनि उनको पक्षमा मैले वकालत गर्दिन । उनलाई भोट पनि दिन्न ।” अर्को तर्फ निर्वाचन बहिष्कार गरेका मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र भन्छन,“ मधेसको अधिकार सम्पन्न नहुन्जेलसम्म कुनै पनि राजनीतिक लाभको लागि निर्वाचनमा नलाग्ने मास गठन गर्दा नै संकल्पित भएका थियौं । यस्तो अवस्थामा अहिले भईरहेको चुनावमा परिवारबाटै एक जना भाई राजपाबाट वडा सदस्यमा र दिदी नेकपा एमालेबाट उपमेयर पदमा उठ्दा दुःख लागेको छ ।”
मधेस आन्दोलनमा स्थानीय स्तरबाट गैरराजनीतिकको संगठनको तर्फबाट प्रतिनिधित्व गरेका सरोज मिश्रलाई सबै भन्दा वढी दुःख के को लागेको छ भने जुन नेताहरुका आन्दोलनका क्रममा उनले पुतला दहन गरे, नेताहरुलाई कालो झण्डा देखाए, संविधान संशोधन विधेयकको विरुद्धमा मतदान गर्ने नेकपा एमालेकै तर्फबाट दिदी पुनम मिश्रले जनकपुर उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नु हो । चुनाव बहिष्कारको रणनीति अख्तियार गरेका भाई सरोज मिश्र भन्छन,“ मेरो भिनाजु नविन मिश्र नेकपा एमालेको शिक्षक संगठनको नेतृत्वमा रहेका कारण आफ्नो निहित अवसरको फाईदा उठाउनका लागि भिनाजुले दिदी पुनमलाई प्रयोग गरेका हुन । मेरो दिदी उम्मेदवारी मनोनयन दर्ता गर्नु अघिसम्म एमालेको कुनै पनि स्तरको कार्यकर्ता समेत थिईनन् ।”
पुनम मिश्र ।
मधेस आन्दोलन भईरहँदा एक नीजि विद्यालयको शिक्षकको हैसियतले मधेस आन्दोलनमा ऐक्यवद्धता जनाईरहेकी दिदी पुनमलाई एमालेले पार्टीमा प्रवेश समेत नगराई एकाएक उपमेयरको टिकट दिनुले पनि भिनाजुले दिदीलाई राजनीतिक रुपमा प्रयोग गरेको हो भन्दै सरोज मिश्र भन्छन,“ सामाजिक रुपले समेत मलाई तनाव उत्पन्न भएको छ । एकातर्फ चुनाव बहिष्कारको आन्दोलन मैले गरिरहेको छु भने अर्को तर्फ मेरो भाई  र दिदी चुनावमा सहभागी भएका छन् । भाई राजपाबाट उम्मेदवारी दिएकाले त्यति अप्ठयारो नभएपनि दिदीका कारण ठुलै दवाव र तनाव आएको छ ।”
अर्को तर्फ नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी पुनम मिश्र भने आफ्नै विवेकले उम्मेदवारी दिएको बताउँछन् । ‘सबैको आआफ्नो स्वतन्त्रता हुन्छ , कसैले कसैलाई हस्तक्षेप गर्ने कुरा भएन । भाईहरुलाई जे लागेको छ , तिनीहरुले गरिरहेका छन्, मलाई जे लागेको छ, मैले पनि गरिरहेको छु, ।’ पुनम मिश्र भन्छन,“ भाईहरुले मलाई मतदान गर्ने हो वा होईन त्यो तिनीहरुको सोचाई हुन सक्छ । तर, म भने भाई अम्भोजलाई कुनै पनि हालतमा मतदान गर्न सक्दिन । म आफ्नो पार्टी एमालेकै उम्मेदवारलाई मतदान गर्नेछु । ” अर्को तर्फ भाई सरोजले निर्वाचन बहिष्कार गरिरहेको सन्दर्भमा दिदी पुनम भन्छन,“ राजपा त चुनावमा गईसक्यो । मेरो आफ्नै एउटा भाई राजपाबाट उम्मेदवारी दिएका छन् । भने त्यस्तो अवस्थामा चुनाव बहिष्कारको कुनै औचित्य छैन । दुई चार जनाले बहिष्कारको नारा दिएपनि त्यसले केही फरक पर्दैन ।” मेरो भाईहरुले केवल मधेसका कुरा गरिरहेका छन् तर मैले तराई, हिमाल, पहाड गरी देशकै हितको लागि नेकपा एमालेबाट उम्मेदवारी दिएको हो भन्दै पुनम भन्छन,“ यो निर्वाचनले गर्दा भाईहरुलाई जे जस्तो समस्या परेपनि वा भाईहरुले मलाई सहयोग गरे नगरेपनि जनताले भने पक्कै सहयोग गर्नेछन् ।”
२१ भदौमा मासको अगुवाईमा सरोज मिश्र लगायत यूवाहरु जनकपुरको जनक चौकमा चुनावको
 बहिष्कार भन्दै प्रदर्शन गर्दै ।
सरोज, अम्भोज र पुनम कृष्ण चन्द्र मिश्रका सन्तान हुन । मिश्र ती व्यक्ति हुन जसले २०६२÷०६३ को मधेस आन्दोलनमा  तत्कालिन मधेस जनअधिकार फोरम धनुषाको बरिष्ठ नेताको हैसियतमा मधेस आन्दोलनको नेतृत्व गरेका थिए ।  २०६५ साल तिर उनको निधन भएको थियो । जेठो छोरा सरोज २०७२ सालमा मधेस अधिकार संघर्ष समिति (मास) गठन गरेका थिए । मासको संयोजक भएर ४ साउन २०७२ मा जनकपुरमा संविधानको मस्यौदा लिएर जनताका बीच राय सुझाव संकलन गर्न आएका सांसदहरुको टोलीलाई मासकै नेतृत्वमा विरोध गरिएको थियो । मासकै अगुवाईमा गरिएको उक्त अवरोधका कारण जनकपुरमा राय सुझाव संकलन नगरिकनै काठमाण्डौबाट आएका सांसदहरु काठमाण्डौ फर्किएका थिए ।
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसमा आन्दोलन घोषणा गर्नुभन्दा पहिले जनकपुरमा मासले नै आन्दोलनको अगुवाई गरेको थियो । त्यसको नेतृत्व पनि सरोज मिश्रले नै गरेका थिए । त्यसपछि तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला, प्रधानमन्त्री पुष्प कमल दाहालको समेत जनकपुरको भ्रमण हुँदा भ्रमणका क्रममा मासको संयोजकको हैसियतले सरोज मिश्रले ती दुवै जना प्रधानमन्त्रीहरुलाई कालो झण्डा देखाएका थिए । संविधान जारी हुनु अघि र जारी भए पछिसम्म मधेसी मोर्चाद्वारा जनकपुरमा आन्दोलन गर्दा गैर राजनीतिक संगठनको तर्फबाट मासले पनि प्रतिनिधित्व गर्ने गरेको थियो ।
अहिले त्यो मासका संयोजक सरोज भने निर्वाचन बहिष्कारको पक्षमा शान्तिपुर्ण विरोध गरिरहेका छन् भने उनका भाई र दिदी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसले गर्दा सरोज, अम्भोज र पुनम तिनै भाईबहिनी बीच अहिले तनाव उत्पन्न भएको छ । सरोज मिश्र भन्छन,“ सगोलमै बस्दै आएका हामी दुई दाजु भाई बीच तनाव उत्पन्न भएको छ । दिदीसँगको पारिवारिक सम्बन्धमा समेत असर परेको छ ।”

२०७४ भाद्र २५ गते आईतबार

No comments:

Post a Comment