Wednesday, September 13, 2017

धनुषामा चुनावी माहौल तात्दै बहुमत स्थानमा जित्ने सबै राजनीतिक दलहरुको दावी

राजपा नेपालका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकामा सबै राजनीतिक दलहरु तथा उम्मेदवारहरु चुनावी प्रचार प्रसारका क्रमलाई तिब्रता दिएका छन् । २४ भदौमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली तथा चुनाव चिन्ह प्रकाशित गरेपछि निर्वाचनको माहौल अत्यन्तै तातिएको छ । २१ भदौमा कुल ८ सय ५५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको थियो जसमध्ये २४ भदौसम्म आईपुग्दा कुल ८ सय १६ जना उम्मेदवारहरुले जनकपुर उपमहानगरपालिकाको विभिन्न पदहरुका लागि प्रतिस्पर्धा गरिरहेका छन् । दर्ता गरिएको मध्ये २६ जना उम्मेदवारहरुको उम्मेदवारी बदर गरिएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाए अनुसार ५ जना व्यक्तिले डब्बल उम्मेदवारी मनोनयन दर्ता गरेका थिए भने एक जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ताको रसिद काटेको भएपनि फारमसँगै लिएर गएका कारण मनोनयन खारेज गरिएको हो । ७ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने २ जना उम्मेदवारहरुको उम्मेदवारी माथि दावी विरोध भएपछि खारेज गरिएको छ ।
नेपाली कांग्रेसका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
जनकपुर उपमहानगरपालिकामा १६ जना पुरुष र ३ जना महिला गरी कुल १९ जना उम्मेदवारहरुले मेयर पदमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी उपमेयर पदका लागि ६ जना पुरुष र ९ जना महिला गरी कुल १५ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन् । २ सय २७ जना वडा अध्यक्षमा, ३ सय ५ जना सदस्यमा, १ सय ४० जना महिला सदस्यमा, १ सय १७ जना महिला सदस्यमा   प्रतिस्पर्धा  गरिरहेका छन् ।
नेकपा एमालेका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
मेयरमा प्रतिस्पर्धा
जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि नेपाली कांग्रेसबाट मनोजकुमार साह, राष्टूीय जनता पार्टी ( राजपा) नेपालबाट लालकिशोर साह, नेकपा एमालेबाट लक्ष्मीनारायण भगत, माओवादी केन्द्रबाट चन्द्रशेखर साह, राष्टूीय प्रजातन्त्र पार्टीबाट राजकुमारी साह, राष्टूीय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट रुपाकुमारी, नयाँ शक्तिबाट उमेश साह, नेपाल लोकतान्त्रिक फोरमबाट हँसराज नुनियार, संघीय समाजवादी फोरम नेपालबाट विष्णुदेव साह, नेपाली जनता दलबाट विवेक भारद्वाज, बहुजन शक्ति पार्टीबाट जीतेन्द्र दास, नेकपा मालेबाट बिमल साहले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट पनि मेयर पदमा दीपनारायण महतो, संजयकुमार ठाकुर, दिगम्बर साह, कामेश्वर पञ्जियार, तेजनारायण यादव, दीपेश साह, बलिराम मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
उपमेयरमा प्रतिस्पर्धा
नेकपा माओवादीका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
त्यसैगरी जनकपुर उपमहानगरपालिकामा उपमेयर पदका लागि नेकपा मालेबाट मोहम्मद कमाल, नेपाल परिवार दलबाट शीला देवी, राप्रपाबाट ईसुफ धोबी, नेपाली जनता दलबाट सीताकुमारी यादव, राप्रपा प्रजातान्त्रिकबाट सुवोध ठाकुर, नेकपा संयुक्तबाट गीताकुमारी साह, संघीय समाजवादी फोरमबाट रीताकुमारी यादव, राजपा नेपालबाट रीताकुमारी मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट पुनम चौधरी, माओवादी केन्द्रबाट अम्बिका कुमारी, नेपाली कांग्रेसबाट निलमदेवी कर्ण, नेकपा एमालेबाट पुनम कुमारी मिश्रले उम्मेदवारी दर्ता मनोनयन गरेका छन् ।
त्यसैगरी स्वतन्त्रबाट राकेश विक्रम साह, आभाष लाभ, श्रवणकुमार आचार्यले समेत उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।
उम्मेदवारी बदर
नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
सदस्य पदमा राजपा नेपालका घुरण मण्डल केवट, महिला सदस्य पदमा राप्रपा प्रजातान्त्रिकका महिला सदस्य पदमा मुनेश्वरी देवी, नयाँ शक्ति पार्टीको महिला सदस्यमा रेश्मा देवी, स्वतन्त्रबाट महिला सदस्यमा अजलिसा खातुन, राजपा नेपालबाट महिला सदस्यमा रेणु यादव, एमालेबाट सदस्यमा लक्ष्मण ठाकुर, नेपाली जनता दलबाट वडा अध्यक्षमा पप्पु कुमार मण्डल, एमालेबाट सदस्य पदमा सतेन्द्रमान तुलाधरको उम्मेदवारी मनोनय नबदर गरिएको छ । त्यसैगरी राजपा नेपालको महिला सदस्य पदमा ज्ञानी देवी मण्डल, एमालेको दलित महिला सदस्यमा मनि देवी खत्वे, नेपाल लोकतान्त्रिक फोरमको वडा अध्यक्ष पदमा अच्छेलाल यादव, राजपा नेपालको वडा अध्यक्षमा उर्मिला देवी महतोको उम्मेदवारी मनोनय नबदर गरिएको छ । त्यसैगरी राजपा नेपालको बडा अध्यक्ष पदमा सलामत साफी, स्वतन्त्रबाट सदस्यमा रामसागर पासमान, राप्रपाबाट सदस्यमा गर्भा पासमान, माओवादी केन्द्रबाट सदस्यमा अनवर साफी धोवीको उम्मेदवारी मनोनय नबदर गरिएको छ । नेपाली जनता दलबाट सदस्यमा राजेन्द्र चौधरी कलवार, माओवादी केन्द्रबाट सदस्यमा जुमन नदाफ, स्वतन्त्रबाट सदस्यमा सुरेश साह, राप्रपाबाट सदस्यमा रामचन्द्र यादव, संघीय समाजवादी फोरमबाट सदस्यमा महेन्द्र राय कुर्मी, राजपा नेपालबाट अम्भोज कुमार मिश्र, स्वतन्त्रबाट सदस्यमा गंगवा महरा र नेपाली कांग्रेसबाट महिला सदस्यमा गिता भण्डारीको उम्मेदवारी मनोनयन दर्ता बदर गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार मनोनयन पत्र जाँच गर्दा कतिपय उम्मेदवारहरुको आईडी नमिलेको, प्रस्ताव र समर्थकमा बसेको, अर्को उम्मेदवार भएको, सहि छाप नभएको तथा पार्टीहरुले आधिकारिक उम्मेदवार नरहेको भनेर पत्राचार गरेको आधारमा रित नपुगि जनकपुर उपमहानगरपालिकामा २६ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनय नबदर गरिएको हो ।
सबै दलको आआफ्नै दावी
संघीय समाजवादी फोरमका उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा ।
नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवका अनुसार सुरुमा कांग्रेसबाट धेरै ठाउँमा बागी उम्मेदवार उठेर परिस्थिति विग्रिएको भएपनि धेरै ठाउँमा सच्याइएको हुनाले धनुषामा रहेको १८ स्थानीय निकाय मध्ये अहिले १२ वटा निकायमा प्रमुख उपप्रमुख जितिरहेपनि निर्वाचन आउँदा सम्म १४ वटा स्थानीय निकायको प्रमुख उपप्रमुख पदमा नेपाली कांग्रेसले जित हात पार्ने छ ।
त्यसैगरी नेकपा एमालेका धनुषाका प्रवक्ता राजकुमार यादवले जिल्लाको अधिकांश स्थानीय तहमा प्रतिस्पर्धामा रहेको एमालेले पुर्ण बहुमत हासिल गर्ने दावी गरेका छन् । राजपा नेपालका धनुषा संयोजक संजय सिंहले भने धनुषाको १८ वटै स्थानीय निकायको प्रमुख उपप्रमुख पदमा जित हासिल गर्ने दावी गरेका छन् । नेकपा माओवादी केन्द्रका धनुषा अध्यक्ष झल्खु यादवले भने धनुषाको १८ तह मध्ये १२ स्थानीय तहको प्रमुख उपप्रमुख पदमा जित हासिल गर्ने दावी गरेका छन् । त्यसैगरी संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष चन्देश्वर महतोले १८ मध्ये १० देखि ११ वटा स्थानहरुमा जित हासिल गर्ने दावी गरेका छन् । नयाँ शक्ति धनुषाका कार्यबाहक अध्यक्ष महाशंकर ठाकुरले जनकपुर उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहित १२ स्थानमा जित हासिल गर्ने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमका धनुषा अध्यक्ष नरेश यादवले १८ मध्ये १० स्थानमा प्रमुख उपप्रमुख जित्ने दावी गरेका छन् ।


२०७४ भाद्र २५ गते आईतबार

No comments:

Post a Comment