Wednesday, August 30, 2017

जनकपुरसँगै प्रदेश नं. २ मा तात्दै चुनावी माहौल

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा जाने घोषणा गरेसँगै जनकपुरमा स्थानीय तहको निर्वाचनका लागि चहलपहल वढेको छ । राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने प्रक्रियामा व्यस्त भएका छन् । प्रमुख राजनीतिक दलहरु देखि मधेस केन्द्रित राजनीतिक दलहरुले तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।  प्रदेश नम्बर २ मा हुने निर्वाचननै सबै राजनीतिक दलहरुको शक्तिशाली बन्ने दाउ रहेका कारण राजनीतिक दलहरुले आफ्नो पुरा ताकत लगाउन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्टिूय जनता पार्टी (राजपा) नेपाल, संघीय समाजवादी फोरम, राष्टिूय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक फोरम लगायतको दलहरु निर्वाचनमा केन्द्रित भएका छन् ।
उम्मेदवार चयन गर्दा सबै राजनीतिक दलहरुले जातिय बाहुल्यता, चुनावमा पैसा सबभन्दा वढी कसले खर्च गर्न सक्ने, नेताहरुको विश्वासपात्र र यस म्यानको रुपमा रहने व्यक्तिहरु नै उम्मेदवारको सिफारिसमा परिरहेको छ । खास गरेर जनकपुर उपमहानगरपालिकामा मेयर पदका उम्मेदवारको सम्भावित सूचिहरु प्रस्ताव भएपछि अन्तिम टुङ्गो लगाउँदा जातिगत संरचना, पैसाको खोला बगाउन सक्ने र नेताहरुको प्रिय पात्रको रुपमा रहेका व्यक्तिहरु नै प्राथमिकतामा पर्ने सम्भावना देखिएको छ ।
जनकपुर उपमहानगरपालिकाको मेयर पदमा कांग्रेस, राजपा, एमाले र माओवादीका उम्मेदवार बीच प्रतिस्पर्धा हुने देखिएपनि मुख्य रुपमा राजपा नेपाल र नेपाली कांग्रेसका उम्मेदवार बीच नै मुख्य प्रतिस्पर्धा हुने बताइएको छ । जनकपुरमा साहुजी समुदायको बाहुल्यता रहेका कारण मेयरको उम्मेदवार उठाउँदा प्रायः जसो राजनीतिक दलहरुले साहुजी समुदायबाट उठाउन चाहेका छन् । जस्तै राजपा नेपालले जनकपुरमा मेयर पदका लागि उठाउने उम्मेदवारहरु मध्ये लालकिशोर साह, शिवशंकर साह, परमेश्वर साह, अमर पजियार लगायतका रहेका छन् ।
लालकिशोर साह विगतमा नेपाली कांग्रेसको नेविसंघको राजनीति गर्दै जनकपुरको राराब क्याम्पसमा स्ववियू उपसभापति हुनुका साथै प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याई जेलनेल गएका व्यक्ति हुन । जनकपुरमा विगतमा उपमेयर समेत भईसकेका साह पछिल्लो मधेस आन्दोलन हुँदा २०६२÷०६३ मा नेपाली कांग्रेस परित्याग गरी सदभावनामा प्रवेश गरी मधेस केन्द्रित राजनीतिक आन्दोलनमा सहभागी भएका थिए । साह अहिले राजपा नेपालका प्रवक्ता हुनुका साथै परिपक्व नेताको रुपमा समेत स्थापित छन् । लालकिशोर साहलाई पछिल्लो संविधान सभाको निर्वाचनमा सदभावना पार्टीले समानुपातिक सांसदको रुपमा सिफारिस गरेको थियो । तर, धनुषाबाट माधवि रानी साहलाई सभाषद बनाइएको थियो ।
 त्यसैगरी शिवशंकर साहको राजनीतिक पहिचान स्थापित हुन सकेको छैन । उनी व्यापारी नेताका रुपमा जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष हुुनुका साथसाथै प्रदेश नम्बर २ का बाणिज्य संघका अध्यक्ष हुन । यूवा माझ उनी लोकप्रिय रहेपनि राजनीतिक अनुभवको उनीमा कमि देखिन्छ । परमेश्वर साह तमलोपा धनुषाका संयोजक भएर लामो समय मधेस आन्दोलनमा नेतृत्व गरेका थिए । राजपा गठन हुँदा राजपा नेपालका संयोजक भएका साह अहिले केन्द्रिय सदस्य भएपनि धनुषामा राजपा नेपालको संयोजकमा संजय सिंह चयन भएका छन् । परमेश्वर साह संविधान सभाको प्रथम र दोस्रो निर्वाचनमा तमलोपाबाट धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवारी दिएपनि पराजित भएका थिए । अमर पजियार जग्गा व्यवसायी हुन । उनी भर्खर मात्र राजपा नेपालमा प्रवेश गरेका हुन । जनकपुरमा मेयरको टिकट पाउने उद्देश्यले पजियार राजपामा प्रवेश गरेको बताइन्छ ।
राजपा नेपाल धनुषाका संयोजक संजय सिंहका अनुसार अहिले कुनै पनि व्यक्तिको नाम टुङ्गो लागेको छैन । पार्टीको सम्पुर्ण नेता, पदाधिकारी, जिल्ला स्थित केन्द्रिय सदस्य, भातृ संगठन समेतको वैठकबाट टुङ्गो लाग्ने सिंह बताउँछन् ।
नेपाली कांग्रेस मधेसमा ठुलो पार्टीको रुपमा स्थापित रहँदै आएको छ । खास गरेर धनुषा त कांग्रेसको गढ नै हो । यस्तो अवस्थामा नेपाली कांग्रेसले जनकपुर उपमहानगरपालिकामा मेयर तथा उपमेयर कुनै पनि हालतमा जित्नै पर्ने दाउका साथ अगाडी वढेको छ । विगतमा नेपाली कांग्रेसले जनकपुरको मेयरमा उठाएका आधिकारिक उम्मेदवार पराजित हुने र कांग्रेसको बागी उम्मेदवार नै निर्वाचित हुने परम्परा रहेकाले पनि विगतको परम्परा नदोहोरियोस उद्देश्यका साथ नेपाली कांग्रेस सचेत भएर निर्वाचनमा होमिएको छ । नेपाली कांग्रेसको मेयर पदका लागि दिगम्बर राय, किशोरी साह, प्रफुल्ल राज घिमिरे, कन्हैया लाल कर्ण, धिरेन्द्र मोहन झा, श्याम साह, श्रीराम साह र मनोज साहलाई सिफारिस गरिएको छ । त्यसैगरी उपमेयरमा निलम कर्ण, इन्दिरा चौधरी, सम्झना बर्मा र अनिता श्रीवास्तवलाई सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रफुल्ल राज घिमिरेले दिएको जानकारी अनुसार २४ वडाका वडा समितिको संरचना अनुसार कांग्रस कमिटिले सिफारिस गरेको नामलाई जनकपुर उपमहानगरपालिकाको नगर समिति र धनुषा क्षेत्र नं. ४ को क्षेत्रिय समितिले सिफारिस गरेको अनुसार ती नामावलीहरु धनुषाका कांग्रेस सभापति रामसरोज यादवलाई बुझाइएको छ । सिफारिस गरिएका ती नामहरु मध्ये अन्तिम टुङ्गो लगाउन कांग्रेस धनुषा सभापति यादव काठमाण्डौ पुगेका छन् । कांग्रेसको केन्द्रिय कमिटिले नाउँको टुङ्गो लगाउने बताइएको छ ।
धनुषामा उम्मेदवारको टुङ्गो लगाउन केन्द्रिय कमिटिलाई जिम्मा दिइएपनि कांग्रेसका नेता विमलेन्द्र निधिले रोजेको उम्मेदवार नै अन्तिम हुने बताइएको छ । जनकपुर उपमहानगरपालिकाको मेयर पदका लागि मनोज साहको नाम नै चयन हुने सम्भावना रहेको छ । विमलेन्द्र निधि कांग्रेस धनुषा सभापति रामसरोज यादवको सिफारिसलाई नै अनुमोदन गर्नेछन् । र, यादवको विश्वासपात्र उम्मेदवारको रुपमा मनोज साह नै रहेका छन् । त्यसैले मनोज साह नै कांग्रेसको जनकपुरमा मेयर पदको लागि उम्मेदवारको रुपमा चयन हुने सम्भावना प्रवल रहेको कांग्रेस धनुषाका नेताहरु बताउँछन् ।
मनोज साह कांग्रेसमा धेरै नै कनिष्ठ नेताको रुपमा रहेको, पहिचान समेत स्थापित नभएको, बरिष्ठ नेताहरुलाई माइनस गर्नुका कारण मनोज साहलाई कांग्रेसकै अधिकांश नेताहरुले रुचाएका छैनन् । कांग्रेस धनुषाका कतिपय नेताहरु फेरी पनि अन्तरघात गर्ने सम्भावना वढेको बताइन्छ । नेपाली कांग्रेसका एक जना नेताका अनुसार राजपा नेपालले उठाउने उम्मेदवारले पनि कांग्रेसले जित्ने वा नजित्ने निर्भर रहन्छ । राजपा नेपालले लालकिशोर साहलाई मेयरको रुपमा टिकट दिएमा साहले कांग्रेसको अर्को खेमा रामचन्द्र पौडेल पक्षका नेताहरुको समेत भोट पाउने सम्भावना रहन्छ । त्यस्तो अवस्थामा कांग्रेसको विमलेन्द्र निधि खेमाका उम्मेदवार मनोज साह हार्ने सम्भावना पनि आउन सक्छ । त्यसैले नेपाली कांग्रेसको चाहना के पनि हो भने राजपा नेपालले व्यापारी नेता शिवशंकर साहलाई टिकट दिए कांग्रेसले चुनाव जित्न सहज हुनेछ ।
प्रदेश नम्बर २ मा चुनावी घमाशान
असोज २ गते प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । प्रदेश नं २ का आठ जिल्लामा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह कायम भएका छन् । प्रदेश नम्बर २ को निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता रहेका छन् ।
६ हजार ६२७ जनप्रतिनिधि
स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट ७७(७७ प्रमुख र उपप्रमुख, ५९(५९ अध्यक्ष र उपाध्यक्ष, एक हजार २७१ वडाध्यक्ष तथा महिला, दलित र खुला गरी पाँच हजार ८४ वडा सदस्य निर्वा्चित हुनेछन् ।
निर्वाचनको परिणाममा कसले बाजी मार्ने भन्ने विषयमा चुनावी रणनीति बनाउन अहिले राजनीतिक दल अत्यन्तै व्यस्त छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा त्यस क्षेत्रका जिल्लामा यही भदौ ७ गतेदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचन अधिकृतको कार्यालय सोमबारदेखि खुल्नेछ ।
भदौ २१ मा मनोनयन दर्ता
निर्वाचनका लागि आयोगले भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तथा भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम बनाएको छ । नेपालको संविधानका केही अन्तरवस्तुप्रति विमति जनाउँदै आन्दोलन चलाउँदै आएको राष्टिूय जनता पार्टीले पनि आफ्नो सम्पूर्ण साधन, स्रोत र शक्ति अब स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरिसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकारले त्यस क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थालाई चुस्त तुल्याउन नेपाली सेनाको समेत संलग्नता रहने व्यवस्था मिलाएको छ ।
निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन अघिल्ला निर्वाचन जस्तै प्रदेश नं २ मा पनि प्रमुख राजनीति दलबीचमै चुनावी तालमेल हुन सक्ने संकेत देखिएको छ ।
मुलुकका प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका २८३ मा वैशाख ३१ तथा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा असार १४ गते भएको निर्वाचनबाट १७५ स्वतन्त्रसहित १४ राजनीतिक दलका २८ हजार ४२३ उम्मेदवार विजयी भएका थिए । तीमध्ये पुरुष १६ हजार ७९३ र महिला ११ हजार ६३० रहेको आयोगले जनाएको छ ।
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेपाली नेकपा (एमाले) का १२ हजार ८४८, नेपाली कांग्रेसका नौ हजार ७१९, नेकपा (माओवादी केन्द्र) का चार हजार ३१३, संघीय समाजवादी फोरम नेपालका ३८२, नेपाल लोकतान्त्रिक फोरमका २९५, राप्रपाका २५७, राष्टिूय जनमोर्चाका १८६, नेपाल मजदुर किसान पार्टीका ९९, नयाँ शक्ति पार्टीका ८८, बहुजन शक्ति पार्टीका ३७, राष्टिूय जनमुक्ति पार्टीका १२, संघीय लोकतान्त्रिक राष्टिूय मञ्चका सात, नेकपा (माले) का चार र नेपाल परिवार दलका एक उम्मेदवार विजयी भएका थिए ।


२०७४ भाद्र ११ गते आईतबार

No comments:

Post a Comment