Wednesday, August 30, 2017

जनकपुरमा सवारी करको नाउँमा ठेक्केदारको दादागिरी निर्धारित करभन्दा वढी कर असुल गरी ठगी गर्दै

निर्धारित शुल्क भन्दा वढी सवारी कर असुल गरेको भन्दै
एन प्यावसन धनुषाले जिल्ला प्रशासन कार्यालय धनुषालाई
दिएको उजुरी र वढी कर असुली नगर्न उपमहानगरपालिकाको
 कार्यालयले ठेक्केदारलाई दिएको निर्देशन सहितको पत्र ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिकामा मनमानी ढंगले सवारी कर असुल गरिएको छ । जनकपुर उपमहानगरपालिकाको कार्यालयले निर्धारण गरेको सवारी करको दर रेट भन्दा दुईगुणा सवारी कर ठेक्केदारले असुल गरेर ठगि गरिरहेका छन् । एक दिनमा मात्रै औषत ४ सय देखि ५ सय सवारी साधनहरुबाट दैनिक १० देखि १२ हजार रुपैयाँसम्म सवारी करको ठेक्का पाएका जनकपुर उपमहानगरपालिका वडा नं. ६ का ठेक्केदार सागर प्रसाद रायले असुली गरेर ठगि गरिरहेको पाइएको छ । मनमानी ढंगले कर असुल गरेपछि राष्टिूय निजी तथा आवासिय विद्यालय एशोसिएशन नेपालले ७ भदौ २०७४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई लिखित रुपमै उजुरी दिएका छन् । जनकपुर उपमहानगरपालिका अन्तरगत चल्ने निजी सवारी साधनहरु नगरपालिकाले लिने सवारी कर बार्षिक १२ सय रुपैयाँ तोकेकोमा ठेक्केदारले रु. १५ सय भन्दा कम नलिने भन्दै बाझावाज हुने अवस्था तयार पारेको उजुरीमा बताइएको छ । दैनिक पटके सवारी कर रु. १० तोकेकोमा रु. २० भन्दा कम नलिने भन्दै ठेक्केदारले सडकमा खटाएका कर्मचारीहरुले गाडी डूाईभरसँग हुलहुज्जत गरिरहेको भन्दै एनप्यावसन धनुषाका सचिव अवधेश तिवारीले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिन बाध्य भए । निर्धारण गरिएको दरभन्दा वढी रकम ठेक्केदारले असुल गरिरहेको भनेर जनकपुर उपमहानगरपालिकाको कार्यालयका कर शाखालाई जानकारी गराउँदा पनि उपमहानगरपालिकाको कार्यालय मौन रहेको कारण समस्या समाधान यथासिघ्र गर्नका लागि एनप्यावसनले लिखित रुपमै लेटर प्याडमा धनुषाका प्रजिअ चापागाईसँग उजुरी दर्ता गराएका थिए । त्यस पछि के कसो हो भनेर जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाको कार्यालयलाई सोधी खोजी गर्दा मात्र वढी रकम नअसुल्न जनकपुर उपमहानगरपालिकाले सम्बन्धित ठेक्केदारलाई निर्देशन दिएको छ । ७ भदौमा जनकपुर उपमहानगरपालिकाको कार्यालयले ठेक्केदार सागर प्रसाद रायलाई लिखित रुपमा सवारी कर निर्धारण गरिए बमोजिम मात्र कर असुल गर्न निर्देशन दिएको छ । वढी असुल गरिएको रकम नगदी रसिद हेरी अविलम्ब फिर्ता गर्न उपमहानगरपालिकाको कार्यालयले ठेक्केदार रायलाई निर्देशन दिएको छ ।
यसरी उपमहानगरपालिकाको कार्यालयले ठेक्केदारलाई निर्देशन दिएको भएपनि ठेक्केदारले सडकमा गुडाउने सवारी धनीहरुबाट मनमौजी रकम असुल गर्न छोडेको छैन । वढी रकम किन लिएको भनेर सोध्दा ठेक्केदारका मानिसहरु झै झगडा नै गर्न थालेपछि उपभोक्ताहरु वढी रकम तिर्न बाध्य छन् । गत आर्थिक बर्षमा जनकपुरका प्रकाश मिश्रले १८ लाख रुपैयाँमा सवारी करको ठेक्का लिएका थिए । तर, यस बर्ष सागर प्रसाद रायले ५२ लाख रुपैयाँमा ठेक्का लिएका कारण ठेक्काको रकम जसरी पनि असुल गरी मुनाफा कमाउने उद्देश्यले उपमहानगरपालिकाको कार्यालयले निर्धारण गरेको सवारी कर भन्दा वढी कर असुल गरिरहेको पाइएको छ । खास गरेर जनकपुरमा आउने भारतीय सवारी साधनबाट त झन् मनमौजी किसिमले निर्धारित दर रेट भन्दा ४÷५ गुणा वढी रकम असुल गर्ने गरिएको छ । यसरी उपभोक्ताहरु ठगिँदा पनि सम्बन्धित ठेक्केदारलाई भ्रष्टाचार गरेको भन्दै सम्बन्धित निकायले कारवाही गरेको छैन ।
निर्धारित शुल्क भन्दा वढी सवारी कर असुल गरेको भन्दै असुलेको रकम फिर्ता गर्न उपमहानगरपालिकाको कार्यालयले
ठेक्केदारलाई दिएको निर्देशन सहितको पत्र ।
आर्थिक बर्ष २०७४÷०७५ का लागि उपमहानगरपालिकाको कार्यालयले १ लाख रुपैयाँ धरौटी सहित न्युनतम २० लाख रुपैयाँ सवारी करको निर्धारण गरी टेन्डर आह्वान गरेको थियो । २२ जनाले टेन्डर भरेकोमा सबैभन्दा वढी सागर प्रसाद रायले ५१ लाख ९७ हजार ७ सय ७७ रुपैयाँ कबोल गरेपछि उपमहानगरपालिकाको कार्यालयले ठेक्का दिएको थियो । कबोल अंकको आधा रकम नगद जम्मा गर्नुपर्ने र आधा रकम बंैक ग्यारेन्टी दिए मात्र ठेक्काको चलन पुर्जी दिनुपर्ने व्यवस्था रहेपनि उपमहानगरपालिकाको कार्यालयले ४ लाख रुपैयाँ मात्र नगद लिएर ठेक्का सम्झौता गरेको थियो । अझ् बैंक ग्यारेन्टी बापतको रकम समेत नबुझाएको अवस्थामा उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदी, इन्जिनियर विरेन्द्र कुमार यादव, लेखापाल दिनेश चौधरी, नासु सुनिल कुमार निधिले मोटो रकमको चलखेलमा गैरकानुनी तरिकाले अस्थायी चलन पुर्जी दिएको विरोधमा जनकपुर उपमहानगरपालिका ९ का प्रकाश मिश्रले उपमहानगरपालिकाको कार्यालय, कार्यालय प्रमुख र ठेक्केदार विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा नै दर्ता गरेका छन् । ठेक्काको निर्धारित रकम र वैंक ग्यारेन्टी नबुझाई बसेको अवस्थामा उपमहानगरपालिकाले ३० अषाढ २०७४ मा पहिलो किस्ताको रकम जम्मा गर्न अन्तिम तागेदा गर्दा समेत नियमानुसार पहिलो किस्ताको रकम जम्मा नगरेको अवस्थामा नियमानुसार सम्झौता नगरेमा ठेक्का तोडी अर्को बन्दोवस्त गर्ने जानकारी गराएपछि मात्र ६ लाख रुपैयाँ उपमहानगरपालिकाको कार्यालयमा ठेक्केदार सागर प्रसाद रायले जम्मा गरेको थियो ।
ठेक्केदारले जनकपुर उपमहानगरपालिकाको रामानन्द चौक, बसविट्टी, कुर्था, कवडगाह चौक, क्याम्पस चौक, कपिलेश्वर, पुल चौक, पिडारी चौक, मुजेलिया, बेंगा शिवपुर लगायत विभिन्न ११ वटा नाकाहरुमा सवारी कर असुल गरिरहेको छ ।
एक दिनमा ठेक्केदारले अवैधानिक तरिकाले १० देखि १२ हजार रुपैयाँ असुली गरिरहेको अवस्थामा महिनामा ३ देखि साढे ३ लाख रुपैयाँ सम्म वढी रकम असुल गरिरहेका ठेक्केदार रायले १ बर्षमा ३६ देखि ४१ लाख रुपैयाँसम्म अवैध असुली गर्ने छन् । त्यसकारण सडकमा गुण्डागर्दीको भरमा अवैध रकम असुल गर्ने ठेक्केदारलाई कानुनी कारवाही गरी ठगि मुद्दाको अन्तरगत कारवाही गर्नुपर्ने र ठेक्केदारको ठेक्का सम्झौता रद्द गर्नुपर्ने ठाउँमा जनकपुर उपमहानगरपालिकाको कार्यालयले वढी लिएको रकम फिर्ता गरिदिनु भनेर भनेकोमा एन प्यावसनले त रकम फिर्ता पाउलान । तर सडकमा सयौं गाडीबाट मनमौजी सवारी कर तिर्न बाध्य उपभोक्ताहरु निवेदन दिन त जाने छैनन् । त्यसकारण उपमहानगरपालिकाले ठेक्केदारलाई कारवाही नगर्नुु पछाडीको मुख्य कारण ठेक्केदारबाट आर्थिक प्रलोभनमा उपमहानगरपालिकाका कर्मचारीहरु परेको प्रष्ट देखिएको नगरवासीको गुनासो रहेको छ ।

२०७४ भाद्र ११ गते आईतबार

No comments:

Post a Comment