Wednesday, August 23, 2017

वाढीको कहर ः महोत्तरीमा वाढी पीडितहरुलाई खान, लाउन र बस्न समस्या

अजय अनुरागी
जनकपुरधाम............
महोत्तरीको पिपरा गाउँपालिका ३ बनटोलवाका सिङ्गो दलित बस्ती नै वाढीका कारण विस्थापित हुनु परेको छ । अविरल बर्षाका कारण आएको वाढीले गर्दा पिपरा गाउँपालिका ३ का दास टोल (तत्मा) समुदाय र वडा नं. ४ का पासमान टोल (दुसाद टोल) का मात्रै सयौं घर परिवार अहिले घरवार विहिन भएका छन् ।
एक त आर्थिक रुपले त्यसै पनि विपन्न ती दलित बस्ती माथि प्रकृतिले पनि वाढीको रुपमा घर नै क्षतिग्रस्त बनाई सडकमा आउनु पर्ला भनेर सपनामा पनि कहिल्यै सोचेका थिएनन, पिपरा ३ का ५५ बर्षिय खट्टर दासले । पशु चौपाया सहित जनकपुर(जलेश्वर(भिठ्ठामोड सडकमा त्रिपाल झुण्ड्याई जसो तसो दिन र रात काट्न बाध्य ५३ बर्षिय विल्टु दास भन्छन,“ ३० साउन सोमबारको दिन विहान ३ बजे अचानक सिङ्गो बस्ती नै डुवानमा पर्यो । फुसको कच्ची घर भित्र पानी पस्न थाले पछि सिङ्गो वस्ती नै आतङ्कित भयो । अनि वाल बच्चा, आईमाई सबै चौपाया सहित सडकमा आयौं । र, बल्ल ज्यान जोगियो ।” पिपरा वनटोलवाका सोभित दास भन्छन,“ विहानको समय भएकाले सडकमा आए पनि सडकमा पनि ३ फिट पानी आए पछि सयौं मानिसहरुको ज्यान जोगाउन पुल नै कटान गर्नु पर्यो ।” हामीले आफ्नो ज्यान जोगाउन पुल छेउको सडक काटेर भत्कायौं, नत्र कसैको पनि ज्यान जोगिने थिएन ।
 विनोद दास भन्छन,“ संयोगले हाम्रो बस्तीमा कुनै पनि किसिमको मानवीय क्षति त भएन तर एक छाक खानको लागि पनि खाद्यान्न सामग्री बचाउन सकिएन ।” लत्ता कपडा , खाने सामग्रीहरु धान, चामल, गहुँ, दाल सबै वाढीले बगाएर लगे पछि ती दलित बस्तीका सयौं घर परिवारहरुलाई खान, पिउन, लाउन र सुत्न समेत समस्या भएको छ ।
यस अघि २०४४ साल तिर वाढी आएको थियो, तर यसरी घरवार विहिन नै हुनु परेको थिएन । ५५बर्षिय खट्टर दास भन्छन,“ खानेकुरा समेत वगे पछि अब के खाने, कसरी सबैले आआफ्नो परिवारलाई पाल्ने भन्ने चिन्ता वढेको छ ।” बर्षातको मौसममा यसरी सडकमा त्रिपालमुनि रात र दिन विताउनाले बच्चाहरु समेत विरामी पर्न थालेका छन् । राहतको नाममा राष्टिूय जनता पार्टी नेपालका स्थानीय नेता ब्रजेन्द्र मिश्रको पहलमा स्थानीयस्तरमा केही खाद्यान्न सामग्री वितरण गरिए पनि अब त्यो पनि सकिएकोले के खाने भन्ने चिन्ताले वाढी पीडितहरु ग्रस्त देखिएका छन् ।
२÷३ दिन पिपरा गाउँपालिकाका दुसाद टोलीका पासवान समुदायका वाढी पीडितहरुले उच्च मावि पिपरामा आश्रय लिएका थिए । कतिपय त वाढीको पानीले सडे, गलेको कुहिएको खाद्यान्न सामग्रीलाई चलाईरहेको पाइन्छ । माटोको भकारी (कोही) मा संग्रह गरेर राखिएको चामल, धान, गहुँ, दाल सबैमा पानी पसेर कुहिनुका साथै फुलेका अवस्थामा बर्ष भरीको खाद्यान्न सामग्री नष्ट भएका छन् ।
यी त उदाहरण मात्र हुन । अहिले महोत्तरीमा यस्ता समस्या भोग्न हजारौं मानिसहरु बाध्य छन् । वाढी आएको ५ दिन वितिसक्दा पनि हालसम्म ती वाढी पीडितहरुको घरमा चुलो बल्न सकेको छैन । कतिपय व्यक्तिका घर पुर्ण रुपले क्षतिग्रस्त नभएपनि आंशिक रुपले क्षतिग्रस्त भएको छ । तर, त्यो घर कुन बेला भत्किने हो भन्ने डरले घरमा सुत्न सकिरहेका छैनन्, बाढी पीडितहरु ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले उपलब्ध गराएको जानकारी अनुसार ३१ साउन सम्ममा महोत्तरी जिल्लामा वाढीले गर्दा २ लाख जनसंख्या प्रभावित भएको छ । ४० हजार घर परिवार बाढीबाट पीडित भएका छन् भने ७ हजार ७ सय ६२ जना मानिसहरु बाढीका कारण विस्थापित हुन पुगेका छन् । ४ जना मानिसको बाढीका कारणले मृत्यु भएको छ भने महोत्तरी प्रहरी र नेपाली सेनाले वाढी बारे पहिले देखि गराएको अलर्टका कारण करिब ४ हजार मानिसहरुलाई उद्धार गर्न सकिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकिय अधिकृत हेम प्रसाद कार्की बताउँछन् । कार्कीका अनुसार महोत्तरी जिल्लाको ७० प्रतिशत भुभाग जलमग्न भएको छ भने ३ सय ४७ वटा घरहरु पुर्णरुपले क्षतिग्रस्त भएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका, लोहारपट्टी र भंगहा बाढीबाट अति प्रभावित छन् भने रामगोपालपुर, गौशाला, मटिहानी, पिपरा, एकडारा, महोत्तरी र बल्वा प्रभावित क्षेत्रहरु हुन । त्यसैगरी बर्दिवास, मनरा, सोनमा, सम्सी लगायतका गाउँहरु कम प्रभावित क्षेत्र हुन । जिल्लाको रातो, भंगहा, जंगहा, बाँके, विग्ही र गेरुका नदिहरुमा बाँध कटान भएपछि जिल्ला डुवानमा परेको हो ।
वाढीले घर पुर्णरुपले र आंशिक रुपले क्षतिग्रस्त बनाएपछि जिल्लाका विभिन्न गाउँहरुमा ३१ साउनसम्ममा १ हजार ४ सय ५८ जना विस्थापित बाढी पीडितहरु शिविरमा आश्रय लिईरहेको महोत्तरी प्रशासनको दावी छ । एकडारामा ९५ जना, लोहारपट्टीमा १२ सय जना, जलेश्वरको कन्या माविमा १ सय ७ जना, बर्दिवासमा २५ जना र पिपरामा ३१ जना आश्रय स्थलमा आश्रय लिईरहेको महोत्तरीका प्रशासकिय अधिकृत कार्की बताउँछन् ।
अहिले जिल्लामा बाढी पीडितहरुलाई खास गरेर बस्ने घर नभएपछि घरको र बाढीले खाने कुरा र कपडा सबै ध्वस्त भएपछि खाने कुराको आवश्यकता वढी देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायत बताउँछन् । उनका अनुसार राज्य र नीजि स्तरबाट समेत विभिन्न ठाउँमा केही राहत सामग्रीहरु पठाइएको भएपनि त्यो पर्याप्त नभएका कारण विभिन्न आश्रय स्थलमा बसिरहेका बाढी पीडितको खाने समस्या देखि लिएर महामारी समेत फैल्न सक्ने जस्ता खतराहरु रहेको छ । पीउनका लागि खानेपानी समेतको व्यवस्था नहुँदा वाढी पीडितहरुमा मानवीय समस्या देखिनुका साथै वाढी पीडितका साथसाथै बच्चाहरु विरामी पर्न थालेका छन् ।


२०७४ भाद्र ०४ गते आईतबार

No comments:

Post a Comment