Wednesday, August 23, 2017

नयाँ शक्ति परित्याग गरेका रामचन्द्र झा एमालेमा जाने हल्ला चलेपनि अन्ततः माओवादी केन्द्रमै फर्किने


माओवादी केन्द्रमा फर्किने विषयमा कुराकानी गर्दै नयाँ शक्ति परित्याग गरेका नेताहरु रामचन्द्र झा,
रामकुमार शर्मा र ब्रजकिशोर यादव । नेकपा माओवादी केन्द्रका
 अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको निजी निवासमा भएको
उक्त भेटघाटका क्रममा माओवादी नेताहरु मात्रिका यादव,
श्रवण बरबरिया, उर्मिला अर्याल र जनार्दन शर्मा
लगायतको उपस्थिति थियो ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नयाँ शक्ति पार्टीका सह संयोजक रामचन्द्र झा  पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्किने भएका छन् । झासँगै मधेसका प्रभावशाली नेता रामकुमार शर्मा र ब्रजकिशोर यादवले माओवादी पार्टी प्रवेश गर्ने निश्चित भएको छ । ३२ साउनमा जनकपुरमा आयोजना गरिने पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले नयाँ शक्ति परित्याग गरेका नेताहरु झा, शर्मा र यादवलाई पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ ।
प्रदेश नम्बर २ मा असोज २ गते हुने भनिएको स्थानीय तहको चुनावको अगाडी नयाँ शक्ति पार्टीका प्रदेश नम्बर २ का प्रभावशाली नेताहरुले नयाँ शक्ति छोडेर माओवादी केन्द्रमा प्रवेश गर्ने भएपछि प्रदेश नम्बर २ मा माओवादी केन्द्रको प्रभाव र बर्चस्व फेरी वढ्ने राजनीतिक वृतमा आँकलन गरिएको छ ।
किन छाडे नयाँ शक्ति ?
बैकल्पिक राजनीतिक शक्तिको रुपमा गठन गरिएको नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग पार्टी एकताको प्रक्रियालाई भंग गरेपछि नयाँ शक्ति पार्टीका सह संयोजक रामचन्द्र झाले  उक्त पार्टीसँग सम्बन्ध विच्छेद गरेका हुन । औपचारिक रुपमा पार्टीमा राजिनामा नदिएपनि पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई अब पार्टीमा नरहने कुराको जानकारी समेत झाले गराईसकेका थिए ।
२० महिनाको यात्रामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको विकल्पमा बैकल्पिक राजनीतिक शक्ति गठन गर्नका लागि माओवादी केन्द्रबाट परित्याग गर्दै डा.बाबुराम भट्टराईको संयोजकत्वमा थुप्रै नेताहरुले विद्रोह गरेका थिए । तर, पुरानो शक्तिहरुसँग प्रतिस्पर्धा गर्नका लागि पर्याप्त समय नभएको, दुई चरणको स्थानीय तहको निर्वाचनमा आशातित परिणाम समेत  हासिल नभएको अवस्थामा अन्य पार्टीहरुसँग एकता गरी ठुलो पार्टी बनाउने रणनीति अनुसार नै एजेण्डासँग निकट भएको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकताको निर्णय गरिएको थियो । बार्ता गर्नका लागि रामचन्द्र झालाई नयाँ शक्तिको तर्फबाट बार्ता समितिको संयोजक समेत बनाइएको थियो । तर, झा निजी भ्रमणका क्रममा यूरोपमा रहेकै बेला पार्टीले अचानक बार्ता प्रक्रिया भंग गरेपछि स्वदेश फर्किएका झाले अब उक्त पार्टीमा रहन नसक्ने बताएका छन् । झाका अनुसार पुरानो शक्तिहरुसँग प्रतिस्पर्धा गर्नका लागि संगठन बनाउन कम्तिमा पनि १० बर्ष लाग्ने हुनाले त्यति समयमा कुर्नु भन्दा आफ्नो पार्टीसँग विचार मिल्ने विभिन्न पार्टीहरुसँग ध्रुविकरण गरी प्रतिस्पर्धा योग्य बनाउने पार्टीको रणनीति थियो । सोही अनुसार संघीय समाजवादी फोरमसँग बार्ता गर्न प्राथमिकतामा राखिएको थियो । दुवै दलका कार्यदल बनाई एकताका लागि लामो सम्वाद भई राजनीतिक दस्तावेज, एजेण्डा लगायतमा सहमति भईसकेको थियो । निर्वाचन चिन्ह, झण्डामा सहमति जुटेको थियो । नाममा पनि दुई तिनवटा विकल्प प्रस्ताव गरिएको थियो । ३५ पानाको राजनीतिक दस्तावेज र १ सय २० पानाको विधान तयार गरिएको थियो । झा भन्छन,“ पछिल्लो १ महिनामा दुवै पार्टीका बार्ता समितिको कार्यदलले १४÷१५ वटा निरन्तर बैठक गरिनुका साथै आवासिय बैठकहरु समेत गरिएको थियो । तर, अचानक पार्टीका संयोजक भट्टराईले पार्टी एकता प्रक्रियालाई भंग गरिदिएपछि अब त्यो पार्टीमा रहने कुरा भएन ।”
मधेसको सवालमा संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अत्यन्तै सकारात्मक थियो । किनभने समाजिक न्याय, संघीयता, धर्मनिरपेक्षता, उत्पीडन लगायत ५ ‘स’ को अवधारणा अनुसार फोरमसँगको एकता विकास, सुशासन, राष्टिूयता समेतको एजेण्डालाई बल पुग्नुका साथै देशको बास्तविक बैकल्पिक शक्ति समेत गठन हुने थियो । तर, संयोजक भट्टराईले केन्द्रिय परिषदको बैठक डाकेर बैठकबाट फोरमसँगको बार्ता प्रक्रिया भंग गरी काठमाण्डौका साझा पार्टी र विवेकशिल पार्टीसँग एकता गर्ने प्रस्ताव ल्याएपछि उक्त पार्टीमा बस्न आफुलाई उपयूक्त नभएकोले उक्त पार्टी परित्याग गर्नु बाहेक अन्य विकल्प थिएन । नयाँ शक्तिको गठन मात्र विकासको एजेण्डाका लागि भएको थिएन, सामाजिक न्याय महत्वपुर्ण एजेण्डा थियो । त्यसैको आधारमा पार्टीमा तीन क्लस्टरको प्रतिनिधित्व समानरुपले गराइएको थियो । यो देशमा खश आर्य, मधेसी र आदिवासी जनजाती गरी ३ क्लस्टर भएकाले पार्टीको सहसंयोजकमा तीनै क्लस्टरबाट एक एक जनालाई प्रतिनिधित्व गराई सामाजिक न्याय र समानुपातिक प्रतिनिधित्वको ठुलो उदाहरण नयाँ शक्तिले प्रस्तुत गरेको भएपनि अहिले आएर केन्द्रिय परिषदको बैठकबाट ती क्लस्टरको अवधारणालाई लत्याउँदै ५ जना सहसंयोजकहरु बनाइएको प्रति आपत्ती व्यक्त गर्दै झा भन्छन,“ अहिले मेरो अनुपस्थितिमै मलाई प्रथम सहसंयोजक, देवेन्द्र पौडेल, दुर्गा सोव, परशुराम तामाङ्ग र परशुराम खापुङ्गलाई सह संयोजक बनाइएको छ । ३ क्लस्टरको सिद्धान्त विपरित नेपाली भाषीको बाहुल्यता राख्ने गरी संगठनमा मधेसको प्रतिनिधित्व कमजोर पारिएको कारण पनि नयाँ शक्तिसँग जानु अब राजनीतिक रुपले नै मुस्किल भएको थियो ।”
दुई तहमा स्थानीय तहको चुनाव सम्पन्न भईसकेपछि अब असोज २ मा प्रदेश नम्बर २ मा तेस्रो तहको स्थानीय तहको चुनाव हुनु छ । त्यस्तो अवस्थामा अब कुन चुनाव चिन्ह लिएर चुनावमा पार्टी जाने भन्ने कुराको निधो नभएका कारण आफुहरुको राजनीतिक भविष्य समेत अप्ठ्यारोमा पर्ने हुनाले अगामी स्थानीय तहको निर्वाचन देखि प्रदेश र संघको निर्वाचन समेतलाई दृष्टिगत गर्दै नयाँ शक्ति छोड्नु परेको झाले बताए । आफ्नो राजनीतिक करियरलाई जोगाउनका लागि अब अन्य पार्टीहरुसँगको विकल्पका बारे कुरा भईरहेको बताएका छन् ।
एमालेमा जाने हल्ला भएपनि नेतृत्व अनिच्छुक
नयाँ शक्ति पार्टी छोडेर आफ्नो पुरानो पार्टी नेकपा एमालेमै फर्किन जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुबाट आफुलाई दवाव आएपनि एमाले नेतृत्व त्यसप्रति एमाले शिर्ष नेतृत्व इच्छुक थिएन । एमालेको तर्फबाट बार्ता गर्नका लागि महासचिव इश्वर पोखरेललाई जिम्मेवारी दिएको भएपनि उनी इच्छुक नदेखिएपछि उल्टै झाले पोखरेललाई मोवाईलमा एसएमएस गरी आफु एमालेमा आउन तयार रहेको तर त्यसको लागि राजनीतिक रुपले समस्या समाधान    गर्नूपर्ने भनेको बताएका थिए ।
एमाले खास गरेर मधेसको समस्या समाधान गर्नका लागि १६ आना सहमत नभएपनि आठै आना पनि सम्बोधन गरिदिएको भए एमालेमा फर्किन सजिलो हुन्थ्यो । तर, एमालेले सम्वाद नै नगरेपछि माओवादीमा फर्किन बाध्य भएको झाले बताए । भावनात्मक रुपले एमालेमा जान आफ्नो इच्छा किनपनि थियो भने एमालेमा रहेको ९० प्रतिशत कार्यकर्ता आफुले मिहिनत गरेर बनाएको हुँ । एजेण्डामै विभेद भएका कारण पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको हुनाले एमालेमा फर्किन कम्तिमा पनि संविधान संशोधन गर्न एमाले राजनीतिक रुपले सहमति हुनुपथर््यो । तर, त्यसको लागि एमाले तयार नभएका कारण एमालेमा फर्किन नसकिएको झाले बताए ।
यसकारण माओवादीमा फर्किए
संविधान जारी हुनुभन्दा अगाडी पार्टीको संसदीय दलको बैठकमा मधेसका नेताहरुसँग आफु डेलिगेशन गएको स्मरण गर्दै झा भन्छन,“संविधान जारी गर्न तोकेको समयलाई कम्तिमा पनि ८ दिनको लागि बढाईदिनका लागि आग्रह गरेका थियौं । तर, त्यो पनि नमानेपछि ठिकै छ नोट अफ डिसेन्ट लेखेर जाउँ भन्ने सहमति भयो । ८४ बुँदामा नोट अफ डिसेन्ट लेख्दै संविधान जारी गरिएको थियो । तर, संविधान जारी भएपछि उत्सव मनाउन, दिपावली मनाउन पार्टीले निर्णय गरेपछि माओवादी केन्द्र परित्याग गरेका थियौं ।” झाका अनुसार नेकपा एमालेले २०४७ सालको संविधानमा पनि आलोचनात्मक समर्थन गरेकै थियो । तर, दिपावली मनाइएको थिएन । यहाँ एकातर्फ माओवादी केन्द्रले आलोचनात्मक समर्थन गर्दै संविधान जारी गर्ने निर्णय गरेपछि दिपावली मनाउनु भनेको संविधान प्रतिको असहमतिलाई लत्याउनु सरह भएपछि मधेसका नेतृत्वहरु सँगै बाबुराम भट्टराईलाई अगुवाएर नयाँ शक्ति पार्टी गठन गरिएको थियो ।
तर अब नेकपा माओवादी केन्द्रले संविधान अधुरो छ, त्यसलाई संशोधन गर्नु आवश्यक छ, अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारको बेला संशोधन विधेयक समेत दर्ता गराउनुले पार्टी अब मधेसको पक्षमा राजनीतिक लाईन करेक्सन गरिसकेकाले पार्टीमा फर्किन सहज भएकोले माओवादी केन्द्रमा फर्किएको झाले बताएका छन् ।
राजनीतिक संगसँगै अराजनीतिक समस्या पनि समाधान
माओवादी केन्द्रमा जाँदा पार्टीले आफुलाई पोलिट व्युरोमा लगेपनि स्थाई कमिटिमा दुई मतले हराएको अबस्थामा त्यतिबेला प्रचण्ड पनि असंतुष्ट भएका थिए । अर्को तर्फ माओवादी केन्द्रमा केही प्रकट र केही अप्रकट, केही राजनीतिक र केही अराजनीतिक समस्या थिए । झा भन्छन,“ पद र अवसरमा कुनै समस्या थिएन । मधेस व्यूरो इन्चार्ज बनाइएकै थियो । पोलिट व्यूरोमा पुगिएकै थियो । तर, संविधान सभाको चुनावमा पार्टीमा मलाई टिकट दिइएपछि विद्रोह भयो । त्यो समस्या अब नदोहोरिने भएका कारण पनि माओवादी केन्द्रनै आफ्नो राजनीतिक करियरका लागि सशक्त विकल्प रहेकोले माओवादी केन्द्रमा फर्किएको हो ।”
दोस्रो संविधान सभाको चुनावमा धनुषाको क्षेत्र नं. १ बाट उम्मेदवारको लागि माओवादी केन्द्रले रामचन्द्र झालाई आधिकारिक रुपमा टिकट दिएपछि माओवादीका श्रवण बरबरिया पार्टीबाट विद्रोह गरी स्वतन्त्र रुपमा उठेका थिए । मात्रिका यादवले पनि श्रवण बरबरियालाई नै सघाएका थिए । तर अहिले पार्टी प्रवेश गराउनमा त्यतिबेलाका  प्रतिद्वन्द्वी मात्रिका यादव र श्रवण बरबरिया समेतको ठुलो भुमिका रहेकाले अब पार्टीमा कुनै समस्या नहुने भन्दै झा भन्छन,“प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा माओवादी केन्द्रलाई ठुलो शक्तिको रुपमा स्थापित गराउन कुनै समस्या नहुने बताएका छन् ।”

२०७४ श्रावण २९ गते आईतबार

No comments:

Post a Comment