Tuesday, June 27, 2017

५ नम्बर प्रदेश केन्द्रित आन्दोलन मधेसमा अशान्ति र अस्थिरताको संकेत


अजय अनुरागी
जनकपुरधाम............
नेपाल सरकारले प्रदेश नम्बर २ को आठ वटा जिल्लाहरुमा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने निर्णय गरेको छ । १४ अषाढका लागि निर्धारण गरिएको चुनावको मिति २ असोजमा सारिएको छ । त्यसैगरी राजपा नेपाललाई चुनावमा सहभागी हुनका लागि भन्दै अन्य प्रदेशहरुमा चुनावको मिति १४ अषाढ यथावत राखेपनि उम्मेदवारी मनोनयन दर्ता मिति २ अषाढबाट ४ अषाढमा सारिएको छ । तर राष्टिूय जनता पार्टी नेपाल एवम संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले संविधान संशोधन विना कुनै पनि प्रदेशमा हुने भनिएको स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताएको छ ।
सरकारलाई राजपा नेपालले चुनाव सार्ने नै हो भने २ नम्बरमा मात्र होइन ५ नम्बर प्रदेशमा पनि सार्नुस भनेर प्रस्ताव गरेको थियो । राजपा नेपालका महासचिव केशव झा भन्छन,“ बार्ताको क्रममा कुराकानी भईरहँदा सरकारले राजपा नेपाललाई चुनावमा सहभागी गराउन चाहन्छ भने ती दुई प्रदेशहरुमा चुनाव रोके पछि सहभागी हुन सक्ने बताइएको थियो ।” चुनाव हुने मिति सम्मको ग्यापमा कमसेकम जनसंख्याको आधारमा ती दुईवटा प्रदेशहरुमा स्थानीय तहको संख्या बढाउन सकिने, संविधान संशोधनको लागि प्रतिपक्षलाई समेत राखेर एउटा विश्वसनिय लिखित प्रतिबद्धता आउन सके, सहिद घोषणा, मुद्दा फिर्ता, कैदी बन्दी रिहाईका शर्तहरु पुरा गर्न पर्याप्त समय पनि मिल्न सक्ने हुनाले राजपा नेपालले ती दुई वटा प्रदेशहरुमा चुनाव रोक्न नेपाल सरकारलाई प्रस्ताव गरेको भएपनि सरकारले नमानेपछि राजपा नेपाल बाध्य भई आन्दोलनमा जानु परेको महासचिव झा भन्छन् ।
प्रदेश नम्बर २ को चुनाव सारिएपछि र अन्य प्रदेशहरुमा उम्मेदवारी मनोनयन दर्ता मिति दुई दिनको लागि बढाएपछि राजपा नेपाल चुनावमा सहभागी हुन सक्ने भन्ने कुरामा नेपाल सरकार विश्वस्त थियो ।  तर, २ अषाढमा राजपा नेपालका अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ती जारी गरी बन्द हडताल सहितको कार्यक्रमहरु नै सार्वजनिक गरेपछि मधेसमा फेरी तनाव बढ्ने निश्चित भएको छ । राजपा नेतृत्वको संघीय गठबन्धनको माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथावत रहेको र सरकारले संघीय गठबन्धन÷राजपा नेपालसँग गरेको सम्झौता विपरित एकतर्फी निर्णय गरी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गरिएको विज्ञप्तीमा उल्लेख छ । अषाढ १४ गतेसम्म आन्दोलनका घोषित कार्यक्रमहरुलाई जारी राख्दै अषाढ ३ गते मधेस ÷थरुहटका सबै जिल्लाहरुका सदरमुकामहरुमा लाठी जुलुस प्रदर्शन गर्ने र अषाढ ४ गते मधेस ÷थरुहटमा बन्द हडतालको कार्यक्रम राजपा नेपालले सार्वजनिक गरेको छ । निर्वाचन आयोगले अषाढ ४ गते अन्य प्रदेशहरुमा उम्मेदवारी मनोनयन दर्ताको मिति निर्धारण गरेको छ । सोही कार्यक्रमलाई लक्षित गरेर निर्वाचनको कार्यक्रम अन्तरगतको उम्मेदवारी मनोनयन दर्ता विथोल्ने लक्ष्य सहित राजपा नेपालले आम हड्तालको कार्यक्रम सार्वजनिक गरेको हो ।
५ नम्बर प्रदेश केन्द्रित आन्दोलन
राजपा नेपालका नेताहरु सोही लक्ष्य सहित काठमाण्डौबाट पश्चिम मधेसमा झरेका छन् ।खास गरेर प्रारम्भिक चरणमा ४ अषाढ देखि ५ नम्बर प्रदेशमा राजपा नेपालले अहिलेको आन्दोलनलाई ‘इपिसेन्टर’ बनाएको देखिन्छ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्षहरु राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव शिर्ष नेताहरु हृदयेष त्रिपाठी, सर्बेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल लगायतका नेताहरु पश्चिममा आन्दोलन चर्काउन हिँडेका छन् । राजपा नेपालका केन्द्रिय सहप्रवक्ता कृष्णा सिंहका अनुसार राजपा नेपालका ती नेताहरु पश्चिम मधेसका भैरहवा, नवलपरासी, कपिलबस्तु लगायतको जिल्लाहरुमा केन्द्रिकृत हुनेछन् । अध्यक्ष मण्डलका सदस्यहरुले विभिन्न जिल्लाहरुमा आन्दोलनको नेतृत्व गर्ने बताइएको छ ।
राजपा नेपालले मधेसका अन्य जिल्लाहरुबाट समेत नेता तथा कार्यकर्ताहरुलाई ती क्षेत्रमा सकेसम्मको ताकत लगाई उम्मेदवारी मनोनयन दर्ता अवरोध गर्ने रणनीति साथ अघि वढेको छ । राजपा नेपालको उपाध्यक्ष बृषेश चन्द्र लालका अनुसार राजपा नेपालको नीति प्रष्ट छ कि संविधान संशोधन विना मधेसमा हुने कुनै पनि प्रदेशको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने हो । लाल भन्छन,‘ राजपा नेपालले सके अबरोध गरेर विथोल्ने नै हो, नसके बहिष्कार गरी चुनावको बैधतालाई चुनौती प्रदान गर्ने हो ।’
राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ विगत २ बर्ष देखि मधेस आन्दोलन चुनाव सार्नका लागि थिएन । संविधान संशोधन, सीमाङ्कन लगायतका पुरानै मागहरु थियो । अहिले ५ नम्बर प्रदेशमा आन्दोलन केन्द्रिकृत हुनुको मुख्य कारण पनि के हो भने सीमाङ्कनमा वढी समस्या पनि ५ नम्बर प्रदेशमै छ ।”
खण्डित मधेस
हिजोसम्म राजपा नेपाल तथा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले मधेसलाई पुर्वमा मेची देखि पश्चिममा महाकालीसम्मको २२ वटा जिल्लाहरुलाई मधेस भनेर भन्ने गर्दथे । तर, सरकारले प्रदेश नम्बर २ को निर्वाचन मात्र सार्नाले विवाद र आन्दोलन प्रदेश नम्बर २ मा मात्र रहेको आँकलन गरिनुले पनि राजपा नेपालले पुरै मधेसमा आन्दोलन र संघर्षको कार्यक्रमहरु जारी रहेको सन्देश दिने उद्देश्यले तत्काल ५ नम्बर प्रदेशमा आन्दोलन केन्द्रिकृत गरिएको राजपा नेपालका महासचिव केशव झा बताउँछन् । सुरु देखि नै पुर्वमा झापा, मोरंग, सुन्सरी र पश्चिममा कञ्चनपुर र कैलाली गरी ५ जिल्लामा विवाद देखिएको थियो । मधेसी मोर्चाले ती ५ जिल्लाहरु पनि मधेस प्रदेशमै रहनुपर्ने दावी गर्दै आएपनि ती प्रदेशहरु अन्य प्रदेशहरुमा गाभिएका छन् । खास गरेर प्रदेश नम्बर १ मा पुर्वका झापा, मोरंग र सुन्सरी जिल्लामा राजपा नेपालको आधार भन्दा पनि निर्वाचनमा सहभागी भएका संघीय समाजवादी फोरम नेपाल र लोकतान्त्रिक फोरमको पकड बलियो रहेको छ । त्यसैले त्यहाँ आन्दोलनमा उर्जा नष्ट गर्नूभन्दा पनि राजपा नेपालको आधार रहेको जिल्लाहरु भैरहवा, नबलपरासी र कपिलबस्तुका साथसाथै कञ्चनपुर र कैलालीमा पनि आन्दोलनको नेतृत् वगर्न राजपा नेपालका शिर्ष नेताहरुले कमाण्ड सम्हाल्न मधेस झरेको राजपाका महासचिव केशव झा बताउँछन् ।
राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार आन्दोलन त पुरै मधेस भरी नै छ । तर, राजपाले पनि के बुझिसकेको छ भने झापा, मोरंग, सुन्सरी, कञ्चनपुर र कैलालीमा राज्यले अब कुनै पनि किसिमको सीमाङ्कनमा हेरफेर गर्ने बाला छैन । अर्को तर्फ ५ नम्बर प्रदेशमा सीमाङ्कन हेरफेर गर्न विगतमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्र तयार देखिएकोले राजपाले ५ नम्बर प्रदेशलाई अहिले आन्दोलनको केन्द्र विन्दु बनाएको छ । विश्लेषक साह भन्छन,“ पछिल्लो संविधान सभाको निर्वाचनमा तराई मधेस लोकतान्त्रिक पार्टीले जितेको कुल ४ सिट मध्ये ३ सिट नवलपरासी, रुपन्देही र कपिलबस्तुबाट जितेकाले राजपा नेपालको त्यहाँ आधार पनि बनेको छ । त्यसैले त्यहाँ राजपा नेपालले अहिले आफ्नो पुरा ताकत लगाउन खोजेको देखिन्छ ।”
राजनीतिक विश्लेषक सिके लालका अनुसार राजनीतिक अर्थमा मेची देखि महाकालीसम्मको भुभाग मधेस हो भने चुरे देखि गंगाको मैदानसम्मको ढालु ठाउँलाई भौगोलिक रुपमा मधेस भनिएको छ जो कहिँ ७ देखि १५ किलोमिटर छ, कहिँ ५० किलोमिटर सम्म त कहिँ ८० किलोमिटर चौडाई सम्मको क्षेत्रफल हो । ऐतिहासिक रुपमा राप्ती पुर्व मेचीसम्म मिथिला सभ्यता र राप्ती पश्चिम महाकाली सम्म अबध सभ्यताको भुभाग मधेस हो । त्यसैगरी सांस्कृतिक अर्थमा भाषा र संस्कृति अपेक्षाकृत पहाडको तुलनामा सिमापारीसँग मिल्दो जुल्दो रहेको भुभाग मधेस हो । आर्थिक रुपमा कृषिमा आधारित राज्य सत्ताबाट विमुख भएका भुभाग नै मधेस हो । विश्लेषक लाल भन्छन,“ राजपा नेपालले अहिले गरिरहेको आन्दोलन समग्रतामा मधेसको पहिचान सँगसँगै अधिकार प्राप्तिका लागि आन्दोलन हो ।” राजपा नेपालले जे जति दावी गरिरहेको भएपनि राज्यले एक किसिमले प्रदेश नम्बर २ का ८ जिल्लाहरुलाई मात्र मधेसमा सीमित गरिदिएको मधेसमा रहेका नागरिकहरुको बुझाई रहेको छ
अब के हुने ?

१४ अषाढमा नेपाल सरकारले तोकिएको प्रदेशहरु १,५ र ७ मा चुनाव गराउने तयारी गरेको छ । ४ अषाढमा उम्मेदवारी मनोनयन दर्तालाई विथोल्ने लक्ष्य सहित राजपा नेपाल ५ नम्बर प्रदेशमा आन्दोलनलाई केन्द्रिकृत गरेको छ । जसरी २ नम्बर प्रदेशमा आन्दोलन तेज भयो सरकार व्याक हुन बाध्य भयो । ठिक त्यसैगरी ५ नम्बर प्रदेशमा पनि आन्दोलन बलियो भयो भने सरकार व्याक पनि हुन सक्छ । निर्वाचनको मिति अगाडी सार्न पनि सकिन्छ । तर, राज्य त्यो मनस्थितिमा नदेखिएकाले त्यहाँ उत्पन्न हुने परिस्थितिले मधेसको दिशा र दशा निर्धारण हुने भन्दै राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन,“ राजपा नेपाल सामु दुई वटा विकल्प मात्र थियो । एजेण्डा जोगाउने कि कार्यकर्ता । संघीय समाजवादी फोरम कार्यकर्ता जोगाउन चुनावमा होमि एभने राजपा नेपाल एजेण्डालाई जिवित राख्न आन्दोलनमा गएको छ ।” राज्यको नीति यदि उदार भयो भने ५ नम्बर प्रदेशको निर्वाचन अगाडी सार्न पनि सकिन्छ । अर्को तर्फ राज्यले दमन गरेर र पेलेर जाने हो भने आन्दोलन झन सशक्त हुँदै मधेसमा ठुलो द्वन्द्व निम्तिने खतरा रहेको विश्लेषक साह आँकलन गर्छन् । प्रदेश नम्बर ५ मा दमन होस र सिङ्गो मधेसमै खास गरेर त्यसपछि २ नम्बर प्रदेशमा पनि २ असोज सम्म आन्दोलन चर्काउँदै लैजाने राजपा नेपालको भित्री रणनीति रहेको छ ।
विश्लेषक चन्द्रकिशोरका अनुसार राजपा नेपाल अहिले राज्यको चक्रव्यूहमा फसेको छ । आफ्नो माग र मुद्दालाई जीवित राख्नका लागि आन्दोलनमा होमिएपनि राजपा नेपालको हाल महाभारतमा अभिमन्यूको भएको जस्तै हुने त होइन भन्ने खतरा पनि रहेकाले राजपा नेपालले आक्रामक हुनु भन्दा पनि संयमित भई आन्दोलनलाई अगाडी बढाउनु पर्ने हुन्छ । महन्थ ठाकुरले मधेसी जनताले दिएको सहादत र त्यसबाट उठेका एजेण्डा तथा असंतुष्टिहरुलाई अगाडी वढाईरहेको अवस्थामा मध्य मार्गको स्पेस पनि खुला राख्नु आवश्यक रहेको भन्दै विश्लेषक चन्द्रकिशोर भन्छन,“ कतिपय पक्षहरु मधेसलाई दिर्घकालिन द्वन्द्वमा फसाउन चाहन्छन् । त्यस्तो परिस्थिति उत्पन्न हुन नदिन राजपा नेपालका नेतृत्वहरुले आन्दोलनसँगसँगै सचेतता अपनाउनु पनि जरुरी छ ।”




२०७४ आषाढ ०४ गते आईतबार

No comments:

Post a Comment