Tuesday, May 2, 2017

सिरियल किलर बुढाथोकीको कथा

महोत्तरीमा थुनामा रहेका प्रेम भन्ने मानबहादुर बुढाथोकी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबिले २० बर्ष देखि फरार रहेको सिरियल किलर प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई पक्राउ गरेका थिए । दर्जनौं महिलाहरुको बलात्कार गरी हत्या गर्ने सिरियल किलरका रुपमा अभियूक्त भई फरार रहेको बुढाथोकीलाई भारतको दिल्लीबाट पक्राउ गरी २०७३ सालको अषाढको पहिलो सातामा काठमाण्डौमा सार्वजनिक गरिएको थियो । तत्कालिन सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले एकान्तमा अशक्त, अपांग र एक्लो महिला देख्नासाथ बलात्कार गर्ने र पहिचान हुने सम्भावना भए हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत दावी गरेका थिए ।
पत्रकार सम्मेलनमा त्यतिबेला सिलवालले भनेका थिए, ‘हाल खुलेका ६ घटनाबाहेक स्वयं मानबहादुरले नै अन्य ३२ घटनामा आफ्नो संलग्नता रहेको प्रारम्भिक बयान दिएका छन् । हामीले देशभरका पुराना घटनाका दोषी खोज्ने क्रममा बुढाथोकी पक्राउ परेका हुन, केही घटना खुलेका छन्, थप अनुसन्धानका लागि महोत्तरी प्रहरीमा बुझाएका छांै ।’ पूर्वी तराईका जिल्लामा २०५२ र २०५३ सालमा विभिन्न मितिमा भएका एकै प्रकृतिका अपराध र अपराध गर्ने शैलीका आधारमा अनुसन्धान गर्दा मानबहादुरको नाम आएको थियो । प्रेम भन्ने मानबहादुर बुढाथोकी नेपालकै सबैभन्दा कु्रर अपराधी हुन् । महिलाहरुलाई बलात्कार गर्ने, बलात्कार गरिसकेपछि घाँटी थिची हत्या गर्ने र हत्या गरिसकेपछि लाशलाई पनि बलात्कार गर्ने बुढाथोकी नेपालको जघन्य अपराधमा सबैभन्दा कु्रर अपराधी रहेको दावी गर्दै २० बर्ष देखि फरार रहेको बुढाथोकीलाई भारतबाट पक्राउ गरेर ल्याएको व्यूरो प्रमुख सिलवालले बताएका थिए ।
कारागार कार्यालय जलेश्वर ।

बुढाथोकी पक्राउ परेपछि सिआईबीले जारी गरेको प्रेस विज्ञप्तीमा तथा नेपाल प्रहरीको आधिकारिक फेसबुक वालमा समेत नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले २० बर्ष देखि फरार रहेको बलात्कार गरि हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरेको उल्लेख छ । यी लगायत अन्य ३२ बटा सोहि प्रकृतीबाट जबर्जस्ती करणीका घटनाहरु घटाई फरार रहेको भनी निजले स्वीकार गरेकोले सो सम्बन्धमा यस केन्द्रीय अनुसन्धान व्यूरोले थप अनुसन्धान गर्दै रहेको सिआईबिद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
महोत्तरी बर्दीबास गा.बि.स.१ बस्ने बर्ष २० की शारीरिक रुपमा असक्त महिला गाईबस्तु चराउन भनी घरदेखी नजिकैको जंगलमा गएकोमा साँझ सम्म पनि घर नफर्केकोले खोजतलाश गरिएको थियो ।  भोलीपल्ट महोत्तरी, माईस्थान गा.बि.स.(३ स्थित महेन्द्र राजमार्ग देखि दक्षिण सागरनाथ वन बिकास परीयोजनाको जंगलमा जबरजस्ती करणी गरी उनको धागोले बुनेको पछ्यौराले घाँटी बाँधी मारेको अबस्थामा फेला परेको थियो । उक्त घटना अनुसन्धानको क्रममा प्रेम भन्ने मान बहादुर बुढाथोकी संलग्न रहेको भन्ने खुल्न आएको सिआईबिले दावी गरेको थियो ।
१५ पुष २०५५ मा बुढाथोकी यस कारागारमा थुनामा रहेको 
अभिलेखबाट देखिएपनि हाल यस कार्यालयमा थुनामा नरहेको
 र निज थुनाबाट छुट्कारा भएको कार्यालय अभिलेख फेला पार्न 
नसकिएको भन्दै ६ जेष्ठ २०७३ मा कारागार कार्यालय काठमाण्डौ 
जगन्नाथ देवलले इलाका प्रहरी कार्यालय बर्दिवासलाई लेखेको पत्र ।
२०५२साल फागुन २४ गते धनुषाको बेंगाडाबर गा.बि.स. बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा सांझ ७ बजे तिर, माईति घर बाट आउदै गरेकी स्थानिय एक महिलालाई जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरेको बुढाथोकी माथि अभियोग लगाइएको थियो ।
२०५२ साल चैत्र २३ गते अन्दाजी ३ र ४ बजे तिर धनुषा जिल्लाको ढल्केवर देखि उत्तर तर्फ दमार जंगलबाट ढल्केवर जाने गोरेटो नजिकै निलो चोली, बुट्टा भएको कुर्था र कलेजी रङको सल लगाएको बाख्रा लिएर आएकी १७ बर्षीया स्थानिय एक किशोरिलाई करणी गर्ने मनसायले समातेर जंगल तर्फ लैजादै गर्दा मानिस बोलेको जस्तो लागी करणी गर्न नसकी घांटी थिची हत्या गरेकोमा चैत्र २६ गते मात्र शव फेला पारी आवश्यक कानूनी प्रक्रिया पुरा गरिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।
२०५३ साल जेष्ठ ६ गते दिउसो अन्दाजी ४ बजेको समयमा धनुषा जिल्लाको ढल्केवर देखि पूर्व तर्फ रहेको जंगलमा बाख्रा चराएर आउँदै गरेको, कालो रङको हाफ ब्लाउज, गुलावी पहेलो रङको साडी र दुवै हातमा चांदीको बाला, नाकमा फुली लगाएकी, बर्ष ६१ की स्थानिय महिलालाई गोरेटो देखि पश्चिम तर्फ घिसार्दै लगि घांटी थिची मारे पछि सेतो रङको गम्छाले घांटी बांधी छाडी दिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।
२०५३ साल असार महिनाको अन्ततिर शनिबारको दिन महोत्तरी जिल्लाको बर्दिबासबाट पश्चिम तर्फ बनपाले अफिस निर जंगलमा पात टिप्न लागेकी २५ र २६ बर्षकी दुई जना महिलालाई जबरजस्ती समातेर लगी जंगलमा भएको ढुगांमा टाउको ठोक्काउँदा कन्चटबाट रगत बगेर हलचल गर्न छाडेपछि त्यही ठाउमा छाडी भागेको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।
१० अषाढ २०५४ मा बुढाथोकीलाई सर्बस्व सहित 
जन्मकैद गरेको धनुषा जिल्ला अदालतको फैसला ।
२०५३ साल श्रावण महिना अन्दाजी २० र २१ गते विहान ११ बजे धनुषा जिल्लाको लालगढ बजार तर्फ रहेको जंगल हँुदै च्यान डांडा तल रहेको सयपत्री खोलामा एक्लै बाख्रा चराईरहेकी हातमा हसिया, छेउमा चप्पल र सालको पात समेत राखेर बसेकी साडी र चोलो लगाएकी महिलालाई घास काट्न भनी हसिया मागी लिई खोला किनार तिर फालिदिई निज महिलालाई घांटी थिची खोलाको बीचमा भएको ढिस्कोको दक्षिण तर्फ लगि जबरजस्ती करणी पश्चात घांटी थिची हत्या गरी निजको साथमा रहेको हरियो रङको गम्छाले घांटीमा २ फन्को बेरेर छाडी दिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।
२०५३ साल असार ९गते महोत्तरी जिल्लाको बर्दिबास भन्दा पश्चिम तर्फ रहेको जंगलमा गुलाबी रङको फ्रक, निलो ब्लाउज लगाएकी, बर्ष २० की शारीरिक रुपमा असक्त महिलालाई घाटी थिची करणी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घांटी थिची मारी छाडेको थियो । शव अषाढ १० गते फेला पारिएको थियो । उक्त घटनामा पनि बुढाथोकीलाई सिआईबिले अभियूक्त बनाएको थियो ।
त्यसपछि सिआईबि व्यूरो प्रमुख सिलवालले घटनाहरुको थप अनुसन्धान तथा मुद्दा दर्ता गर्नका लागि ७ अषाढ २०७३ मा इलाका प्रहरी कार्यालय बर्दिवासलाई बुझाएको थियो ।
११ अषाढ २०५३ मा दिनको अन्दाजी १२ः३० बजेको समयमा महोत्तरी जिल्लाको बर्दिवास भन्दा पश्चिम तर्फ माईस्थान गाविस वडा नम्बर ३ अवस्थित जंगलमा एक जना अन्दाजी १७÷१८ बर्षकी लाटी केटीलाई घाँटी थिचि करनी गर्न लाग्दा मान्छे आउने डरले दुवै हातले घाँटी थिचि मारि छाडेको अभियोगमा बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बर्दिवासले महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराए । बुढाथोकी अहिले जवरजस्ती करनी तथा कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा पुर्पक्षमा थुनिएका छन् । महोत्तरी जिल्ला अदालत जलेश्वरका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासबाट गरिएको आदेशमा ८ अषाढ २०७३ मा मुद्दाको पुर्पक्षको लागि बुढाथोकीलाई जलेश्वर कारागारमा पठाइएको छ । उक्त मुद्दामा उच्च अदालत जनकपुरका न्यायाधीशद्वय मोहम्मद साविर हुसैन र ठाकुर प्रसाद शर्मा पौडेलको इजलासले ८ अषाढ २०७३ मा महोत्तरी जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गरेको छ ।
बुढाथोकी पहिले देखि नै कारागारमा
सिआईबिले यसरी २० बर्ष देखि फरार रहेका सिरियल किलर बुढाथोकीलाई पक्राउ गरेको दावी झुठो ठहरिएको छ । किनभने द एक्सक्लुसिभले गरेको खोजमा के पाइएको छ भने बुढाथोकी यस अघि पहिले नै बलात्कार तथा हत्या मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय पाईरहेका व्यक्ति हुन । सिआईबिले बुढाथोकीलाई सार्वजनिक गरिरहेको अवस्थामा पनि उनी कारागारमै हुनुपर्ने हो । खोज गर्दै जाँदा के पाइएको छ भने १० अषाढ २०५४ मा नै उनलाई सर्वस्व सहित जन्मकैदको सजाय धनुषा जिल्ला अदालतले दिईसकेको छ । फैसला भएको समय उनी थुनामै थिए । र, महोत्तरीको जलेश्वर कारागारमा थुनामा रहेका थिए ।
त्यसो हो भने अब प्रश्न के उठ्छ भने उनी कारागारबाट फरार कहिले र कसरी भए ? के उनी जेल गएकै थिएनन् ? जेल जाँदा अदालतले दुईवटा अलग मुद्दामा सफाई पाईसकेपछि सर्वस्व सहित जन्मकैदको अर्को फैसलाको पत्र ढिलो पठाई उनलाई रिहा गर्न मद्दत गरेको हो ? जेल तोडेर फरार भएको हो ? अस्पतालमा उपचारका क्रममा लगिएको बेला फरार भएको हो ? एउटा जेलबाट अर्को जेल सिफ्ट गर्दा फरार भएको हो ?, जलेश्वर जेलबाट वा काठमाण्डौको कारागारबाट फरार भएको हो ? यी सबै प्रश्नहरुको जगमा नेपाल प्रहरीले अनुसन्धान किन पनि गर्नु जरुरी छ भने जेलमा पहिले देखि नै थुनमा रहेका  व्यक्ति फरार कसरी हुन सक्छ ? फरार यदि भएकै हो भने कहिले र कहाँबाट फरार भएको हो ? फरार हुँदा कसको गल्ती र जिम्मेवारी देखिन्छ, त्यस अनुरुप ती व्यक्तिलाई पनि कारवाही हुनुपर्ने हो वा होइन भन्ने कुरामा नेपाल प्रहरीले अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।
१४ मंसिर २०६१ मा कारागार शाखा काठमाण्डौले धनुषा जिल्ला अदालतलाई सुरुको फैसलाको 
नक्कल उपलब्ध गराईदिन बुढाथोकीले 
दिएको निवेदन सहितको पत्राचार ।
के उनले आफ्नो सजाय माफी मिनहा पाएका हुन ? यदि पाएकै हुन भने कम्तिमा पनि ५० प्रतिशत भन्दा वढी सजाय भुक्तान गरिसकेको हुनुपर्दछ र त्यसपछि जेल भित्र राम्रो आचरण भएमा मात्र कारागार व्यवस्थापन विभागले गरेको सिफारिस अनुसार राष्टू प्रमुखले माफी मिनहा गर्ने परम्परा छ । तर, उनले आधा भन्दा वढी सजाय प्राप्त गर्न पनि २०६४ साल गुजारिसकेको हुनुपर्दछ । त्यस्तो अवस्थामा उनलाई सिआईबिले २० बर्षदेखि फरार रहेको अभियूक्त भारतबाट पक्राउ परेको एका तर्फ  दावी गरिएको हुनाले ती कुरा हुन नसक्ने आधार देखिन्छ ।
यता महोत्तरीको जलेश्वर कारागार शाखाका जेलर सोभेन्द्र ठाकुरका अनुसार बुढाथोकी यस अघि सर्वस्व सहित जन्मकैद सजाय भुक्तान गर्न जलेश्वर कारागार आएको हो भन्ने कुरा देखिएपनि पछि उनलाई काठमाण्डौको कारागारमा सिफ्ट गरिएको हुनाले उनी कहिले कसरी फरार भए भन्न सकिँदैन ।
फेरी धनुषा जिल्ला अदालतको लगत हेर्दा बुढाथोकीले ८ मंसिर २०६१ मा कारागार शाखा जगन्नाथ देवल त्रिपुरेश्वर काठमाण्डौ अन्तरगत सेन्टरमा थुनामा रहेको बेला सुरु जिल्ला अदालतको फैसला र फैसला सँग सम्बन्धित कैदीपुर्जी र नक्कल उपलब्ध गराईदिन लेखेको निवेदन कारागार शाखा, काठमाण्डौ मार्फत धनुषा जिल्ला अदालतलाई १४ मंसिर २०६१ मा पठाएको पत्राचार भेटिन्छ । फेरी जवाफमा २ पुष २०६१ मा फैसलाको प्रतिलिपी धनुषा जिल्ला अदालतले कारागार शाखा काठमाण्डौलाई  पठाएको समेत पत्र भेटिन्छ । यसरी हेर्ने हो भने बुढाथोकी २०६१ मंसिर देखि पुषसम्म काठमाण्डौको कारागारमा कैदीबन्दीको रुपमा रहेको पाइन्छ ।
जलेश्वर कारागारमा अहिले अर्को मुद्दाको पुर्पक्षको रुपमा थुनामा रहेका बुढाथोकीसँग कारागारमा द एक्सक्लुसिभका सम्वाददाताले भेट गर्दा आफु कारागारबाट फरार नभई २०६१÷०६२ तिर आम माफि मिनहामा रिहा भएको बताएका छन् । रिहा भएपछि रोजगारीका लागि भारतको नयाँ दिल्ली स्थित नोएडामा काम गरेको बुढाथोकीले द एक्सक्लुसिभलाई बताए । बुढाथोकीले आम माफि मिनहामा रिहा भएको बताएपनि उनीसँग रिहा भएको कागज प्रमाण छैन । अर्को तर्फ कैदीले कैद सजाय मिनहा पाउनका लागि कम्तिमा पनि आधा सजाय त काटेकै हुनुपर्छ । २०५४ सालमा सर्बस्व सहित जन्मकैद पाएका व्यक्ति रिहा पाउन पनि २०६४ साल कटेकै हुनुपर्छ । तर बुढाथोकी २०६१÷०६२ साल तिर रिहा भएको बताईरहेका छन् ।
अर्को तर्फ २९ बैशाख २०७३ मा इलाका प्रहरी कार्यालय बर्दिवासले केन्द्रिय कारागार काठमाण्डौलाई इमेल मार्फत प्रेम भन्ने मान बहादुर बुढाथोकी भएको कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय जलेश्वर थुनाबाट १४ पुष २०५५ मा पत्रसाथ केन्द्रिय कारागार काठमाण्डौ चलान भएको भन्ने कारागार कार्यालय जलेश्वर महोत्तरीबाट बुझिन आएको हुँदा निज प्रतिवादी बुढाथोकी ताहा कारागार थुनामा छ छैन ? छुटेको भए के कुन मितिमा के कहिले छुटेको हो सम्पुर्ण विवरण उपलब्ध गराईदिन  अनुरोध गरेको छ । त्यसपछि ६ जेष्ठ २०७३ मा कारागार व्यवस्थापन विभाग कारागार कार्यालय काठमाण्डौले बुढाथोकी रहेको कर्तव्य ज्यान मुद्दामा १५ पुष २०५५ मा यस कार्यालय अन्तरगतको कारागारमा थुनामा रहेको अभिलेखबाट देखिएको र हाल यस कार्यालयमा थुनामा रहेको नदेखिएको साथै निज थुनाबाट छुटकारा भएको कार्यालयको अभिलेख फेला पर्न नसकेको हुँदा छुट्काराको यकिन मिति पठाउन नसकिएको जवाफ दिएको छ । यसरी हेर्ने हो भने कारागार कार्यालय काठमाण्डौले पनि बुढाथोकी कारागारबाट कहिले छुटे भन्ने यकिन गर्न सकिएको छैन । यसरी हेर्ने हो भने बुढाथोकीको विगतको अनुसन्धान गर्नु आवश्यक छ ।
धनुषा जिल्ला अदालतको विगतको फैसला
घटना २०५३ साल तिरको हो । धनुषाको ढल्केवर र महोत्तरीको बर्दिवास वरपर रहेका गाउँका महिलाहरुको लाश एक एक महिनामा जंगलमा फेला पर्न थालेका थिए । केही समय देखि जंगलमा गएका गोठाला महिलाहरुको बलात्कार गरी हत्या गर्ने गरेको घटना बढ्न थालेका थिए । ती घटनाहरुकै सम्बन्धमा अपराधि पत्ता लगाउँदै जाने क्रममा धनुषा प्रहरीले १ असोज २०५३ मा ढल्केवर बजारमा फेकु श्रेष्ठको संगम होटेलमा काम गर्ने प्रेम भन्ने मानबहादुर बुढाथोकीलाई पक्राउ गरे ।
होटेल देखि ४ किलोमिटर उत्तर एकलेवर जंगलको छेउमा संदिग्ध अवस्थामा फेला पारी स्थानीय गाउँलेहरुको मद्दतले  बुढाथोकीलाई घेरा हाली पक्राउ गरी सोध्दा एक जना महिलालाई जवरजस्ती करणी गरी ज्यान मारेको कुरा तत्काल खुल्न आएको तत्कालिन प्रहरी नायव निरीक्षक इन्द्रबहादुर गुरुङ्गको प्रतिवेदनमा उल्लेख छ । जंगलमा प्रहरीले संदिग्ध अवस्थामा बुढाथोकीलाई देखेपछि उनी भाग्न थाले । प्रहरीले पख पख भनेपछि सो व्यक्तिको हिडाई अरु बढी हुन थाल्यो । त्यहाँ रहेका स्थानीयवासीहरु समेत भई बुढाथोकीलाइ घेरी प्रहरीले कता जान लागेको भनि सोधेपुछ गर्न थाल्यो । उसले छिनछिनमा कुरा बदली के के भन्न थाले, सोध्नै लाग्दा ६ जना आईमाईलाई करणी गरी मारेको खुलासा गरेपछि स्थानीयवासी र प्रहरी समेत आश्चर्य चकित भएका थिए ।
अनि पक्राउ परेका बुढाथोकीलाई अभियूक्त बनाई विभिन्न ४ जना महिलाहरुलाई बलात्कार गरी हत्या गरेको भन्दै धनुषा प्रहरीले सरकारी वकिल कार्यालय मार्फत धनुषा जिल्ला अदालतमा अलग अलग ४ वटा मुद्दाहरु दर्ता गर्यो । प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको  साविती बयानको आधारमा मात्र कसुरदार ठहरयाउन नमिल्ने हुँदा अभियोग दावी बमोजिम प्रतिवादी प्रेम भन्ने मानबहादुर बुढाथोकीले जवरजस्ती करणी गरी मृतक दुई महिलाको ज्यान मारेको हुने तथ्य यूक्त सबुद प्रमाण नदेखिँदा अभियोग  दावी बमोजिम कर्तव्य गरी ज्यान मारेको ठहर्दैन, सफाई पाउने ठहर्छ भन्दै न्यायाधीश दिपक कुमार कार्कीको  इजलासले १० अषाढ २०५४ मा बुढाथोकीलाई सफाई दिएका थिए ।
तर, सोही इजलासले सोही दिन अर्को दुई मुद्दाहरुमा दुई जना महिलाको जवरजस्ती करणी गरी हत्या गरेको कसुरमा सर्बस्व सहित जन्मकैदको फैसला गरेको थियो । अधिकार प्राप्त अधिकारी र धनुषा जिल्ला अदालतमा समेत दुई जना महिलालाई मारेको हुँ भनि कसुर गरेमा सावित भई बयान गरेको, पोष्टमार्टम तथा लाश जाँच प्रवृति मुचुल्का समेतबाट ती महिलाहरुको हत्या गरेको, साक्षी समेत अदालतमा उपस्थित भई बक पत्र गरेको हुनाले बुढाथोकीले यी दुई महिलाको कर्तव्य गरी ज्यान मारेको ठहर्छ भन्दै बुढाथोकीलाई सर्बस्व सहित जन्मकैदको सजाय फैसला गरिएको थियो ।
फैसला हुनुभन्दा अघि प्रहरीलवा समेत २ असोज २०५३ देखि प्रतिवादी प्रहरी हिरासतमा रहि मुद्दा पुर्पक्षको लागि कारागार शाखा जलेश्वरमा थुनामा रहेको फैसलामा उल्लेख छ । यसरी हेर्ने हो भने बुढाथोकी २०७३ असोज १ गतेसम्म जेलमा रहनु पर्दछ ।
पछि सोही मुद्दामा २ भदौ २०५६ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय कृष्ण प्रसाद श्रेष्ठ र गोविन्द प्रसाद पराजुलीको संयुक्त इजलासले पनि धनुषा जिल्ला अदालतको फैसलालाई नै ठहर गरेको थियो । त्यसैगरी २९ साउन २०६० मा सर्बोच्च अदालतका न्यायाधीशद्वय गोपाल प्रसाद खत्री र बलिराम कुमारको संयूक्त इजलासले पनि जिल्ला अदालत र पुनरावेदन अदालतकै फैसलालाई नै ठहर गरेको थियो ।
के उनी मानसिक रोगी हुन त ?
धनुषा जिल्ला अदालतमै सुरुकै अवस्थामा प्रेम भन्ने मानवहादुर बुढाथोकीलाई अदालतमा उपस्थित गराउँदा प्रतिवादी बुढाथोकीका तर्फबाट बहस गरिरहेका तत्कालिन बैतनिक वकिल मुकेश कुमार कार्कीले प्रतिवादी मानसिक रोगी रहेको तर्क प्रस्तुत गरेका थिए । त्यसपछि अदालतका न्यायाधीश दिपक कुमार कार्कीले के ठहर गरे भने निज प्रतिवादीको मानसिक संतुलन ठिक नरहेको भन्ने कतै पनि उल्लेख भएको नदेखिँदा उक्त कुरासँग सहमत हुन सकिएन ।
हुन त जिल्ला अदालतले पनि मानसिक संतुलनको जाँच गराउने आदेश दिन सक्दथ्यो । तर, त्यो नगरिकन फैसला गरिएपनि पुनरावेदन अदालत जनकपुरले भने उनको मानसिक संतुलनका विषयमा सरकारी अस्पतालबाट जाँच गराएको पाइन्छ ।
प्रतिवादीका पक्षबाट बैतनिक वकिल मुकेश कुमार कार्कीले मेरो पक्षको मानसिक संतुलन ठिक नरहेको भनि जिकिर लिए पश्चात पुनरावेदन अदालत जनकपुरले प्रतिवादीको मानसिक रोग विशेषज्ञद्वारा जाँच गराई प्रतिवेदन आएपछि पेश गर्नुभन्ने आदेश गरेका थिए । आदेश पश्चात २४ अषाढ २०५६ मा मानसिक अस्पतालले कारागार शाखा काठमाण्डौलाई लेखेको पत्रमा निजको मानसिक स्थिति सामान्य देखिएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ ।
लामो समयसम्म कारागारमा थुनामा रहेका निज प्रतिवादीको एवनोर्मालिटी अथवा मानसिक असंतुलनका सम्बन्धमा सम्बन्धित कारागारबाट कुनै किसिमको सिकायत वा कैफियत नआउनु, घर परिवार भएका श्रीमति समेत साथ लिई बसेका र होटेलमा नोकरी गरिरहेको अवस्थामा यी प्रतिवादीको मानसिक असंतुलन रहे भएको भन्ने अन्य कुनै व्यवहार प्रमाणबाट नदेखिएको, मानसिक अस्पतालबाट समेत मानसिक स्थिति सामान्य देखिएको भनि लेखि आएको देखिएबाट समेत निज स्वस्थ्य र तन्दरुस्त अवस्थाकै देखिनाले त्यस्तो स्वस्थ मनस्थितिको प्रतिवादीले हाल परीक्षण गर्न पठाएको अवसरमा सिकायत गरेकै र उक्त अस्पतालको पत्रमा उल्लेख भएको भरमा अस्पतालमा भर्ना गरी थप परीक्षण गराई रहनुपर्ने समेत देखिएन भन्दै पुनरावेदन अदालत जनकपुरले उनलाई सर्बस्व सहित जन्मकैद ठहर गरेको थियो । सर्बोच्च अदालतले समेत सुरुकै अदालतको फैसलालाई सदर गरिरहेको बेला पनि बुढाथोकी कारागारमै थिए ।
को हुन बुढाथोकी ?
बारा, डुमरवाना गा. वि. स. ( ६, खोर गाँउ भिम बहादुर बुढाथोकीका छोरा हुन प्रेम भन्ने मानवहादुर बुढाथोकी । प्रेमको घर परिवारमा बुवा, आमा, दिदी, भाई, एक जना सँगै श्रीमति र उनको तर्फबाट एक(एक छोरा छोरीका साथै पहिले श्रीमतिको तर्फबाट समेत एक छोरा रहेका छन् । १ असोज २०५३ मा पहिलो पटक धनुषा प्रहरीको गिरफ्तमा पर्नुभन्दा करिब १०÷११ बर्ष पहिले मान बहादुर काठमाण्डौको बालाजु नागार्जुन स्थित नुवाकोट त्रिशुली बस्ने गोविन्द केसीको कटिङ उद्योगमा २ बर्ष काम गरेका थिए । काम गरिरहेकै अवधिमा मान बहादुरले एक जना राई केटीलाई श्रीमति बनाई एक महिना जति सँगै राखेर पछि छाडिदिए ।
    त्यसपछि लाजिम्पाट स्थित लव गारमेन्टमा करिब ७÷८ महिना जति काम गरेर छाडिदिएका थिए । फेरी सितापाइला स्थित एउटा राईस मिल्समा करिब ३÷४ महिना जति काम गरेर आफ्नो घर फर्किएका थिए । गाउँमै  खेतीपाती गरिरहेको अवस्थामा सोही गाउँका एक जना बनपाले की श्रीमतिलाई भगाई विवाह गरी श्रीमति बनाई उनी पक्राउ पर्नु अघिसम्म आफ्नै साथमा राखेका थिए ।
    घरमा झगडा भएपछि घरबाट भागेर रौतहटको चन्द्रनिगाहपुरमा आई सिन्दुर होटेलमा भाँडा माँझ्ने काम गरी बसिरहेका थिए । त्यहाँबाट श्रीमति र सासुलाई लिएर धनुषाको ढल्केवर स्थित संगम होटेलमा कामदारका रुपमा काम गरिरहेका बेला धनुषा र महोत्तरीका महिलाहरुलाई बलात्कार गरी हत्या गर्ने गरेका थिए ।


२०७४ बैशाख १७ गते आईतबार

No comments:

Post a Comment