Tuesday, February 28, 2017

जनकपुरमा फस्टाएको ‘तस्कर राज’

अजय अनुरागी
जनकपुरधाम............
खुल्ला सिमानाको फाईदा उठाउँदै जनकपुर लगायत सिमावर्ती नाकाहरु मार्फत दैनिक लाखौं रुपैयाँको मालसामान अवैध रुपले तस्करी हुँदै आएको छ । भन्सार कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा नै धनुषा जिल्लामा दिनहुँ राजश्व छलेर सामानहरु तस्करी भईरहेका छन् । लामो समय देखि नेपाल रेल्वे बन्द भएपछि रेल्वे मार्फत हुने तस्करी अब साईकल, मोटरसाईकल, जिप कार, पिकअप भान देखि टूक सम्म हुन थालेको छ । टायर तथा बैलगाडा मार्फत पनि तस्करी हुने गरेको छ । एक दिनमा मात्रै ४० देखि ५० लाख रुपैयाँसम्मको मालसामानहरु धनुषामा भित्रिने गर्छ । तस्करहरुले राजश्व नै नकाटी प्रहरी, भन्सारका कर्मचारी र सशस्त्र प्रहरीलाई मिलाएर मालसामानहरु भित्रियाउने गर्छन् । तिनीहरुको मिलेमतोबारे तस्करहरु पनि बताउने गर्छन् । एक तस्करका अनुसार ती सबै जनालाई नमिलाउने हो भने मालसामान भित्रियाउन सकिन्न् । बाटोमा पर्ने प्रहरी चौकीहरुलाई महिनाबारी दिनुपर्छ । खासगरेर सबैभन्दा वढी रकम सिमावर्ती क्षेत्रमा रहेका चौकीहरुलाई दिनुपर्दछ, नाम नबताउने सर्तमा उक्त तस्करले द एक्सक्लुसिभलाई बताए ।
जनकपुर भन्सार कार्यालयको प्रमुखमा जो सुकै आउन, जिल्ला प्रहरी कार्यालय धनुषा र सशस्त्र प्रहरी कार्यालय धनुषाको प्रमुखमा जुन सुकै व्यक्ति आएपनि केही नामुद तस्करहरुको तस्करी दिनरात चलिरहन्छन् । धनुषामा सबैभन्दा तस्करीका रुपमा कुख्यात भएका केही व्यापारीहरु छन्, जसको धन्दा जुनसुकै मौसममा पनि चलिरहन्छन् । प्रहरी प्रशासन देखि भन्सारका कर्मचारी सबैलाई मिलाएरै तिनीहरुले आफ्नो अवैध तस्करको धन्दा चलाईरहेका हुन्छन् । गफार मियाँ, सुरेश साह, सोहन जालान, विरु झा, गब्बर, गणेश साह यस क्षेत्रका नामुद तस्कर व्यापारी हुन । महिलामा बैतुल्लाह र समतुल्लाह दुई दिदी बहिनी कुख्यात तस्कर हुन । राजश्व छलेर यिनीहरुको मालसामानहरु भारतबाट नेपाल प्रवेश गर्दछन् । कतिपय व्यापारीहरुको भनाई अनुसार यी तस्करहरुको सेटिङ्ग भनेको तल देखि माथिल्लो निकायसम्म रहेको हुन्छ ।
राजश्व छल्ने अर्को कायदा भनेको केही मालसामानहरुको राजश्व बुझाएर प्रज्ञापन पत्र बनाउने र त्यही प्रज्ञापन पत्रको आधारमा राजश्व भन्दा कैयौं  गुणा बढीको मालसामानहरु भित्रियाईन्छ । एक पटक प्रज्ञापन पत्र बनाएर पटक पटक मालसामान ल्याउने यिनीहरुको तस्करको तरिका रहेको व्यापारीहरुको भनाई छ ।
चालु आर्थिक बर्ष २०७३÷०७४ को साउन देखि माघसम्म कुल ७ महिनामा भन्सारको कर्मचारी गस्ती, सशस्त्र प्रहरी, नेपाल प्रहरी आदिले पक्राउ गरेको मालसामानहरुको विवरणले नै पनि तिनीहरु अवैध तस्करीलाई नियन्त्रण गर्न नचाहेको प्रष्ट हुन्छ । कुल ७ महिनामा ७५ पटक मालसामानहरु पक्राउ गरी भन्सार कार्यालयमा दाखिला गराइएको छ । ५८ लाख ३३ हजार १ सय ९० रुपैयाँ बराबरको मालसामान पक्राउ गरी प्रहरी तथा भन्सार कर्मचारीले अवैध तस्करीलाई नियन्त्रण गरेको भनेर आफ्नो कोटा पुराउन खोजेको जस्तो देखिन्छ । चालु आर्थिक बर्षमा माघ मसान्तसम्मको विवरण अनुसार भन्सार कर्मचारीबाट १५ लाख १३ हजार ७ सय ७५ मुल्य बराबरको २२ थान मुद्दा दर्ता गरिएको छ । त्यसैगरी भन्सार कार्यालयमै रहेका सशस्त्र प्रहरी भन्सार राजश्वको गस्तीबाट ३ लाख ९८ हजार ३ सय ८५ रुपैयाँ मुल्य बराबरको मालसामानहरु पक्राउ गरी कुल १४ थान मुद्दा दर्ता गराइएको छ । त्यसैगरी जिल्ला भरी रहेका सशस्त्र प्रहरीका अन्य विभिन्न निकायहरुबाट १६ लाख ८४ हजार ८ सय ३ रुपैयाँ बराबरको मालसामानहरु पक्राउ गरी २९ थान मुद्दा चलाइएको छ । नेपाल प्रहरीको विभिन्न निकायहरुबाट सबैभन्दा कम १० थान मुद्दा चलाइएको छ जसको प्रतिवेदन मुल्य २२ लाख ३६ हजार २ सय २७ रुपैयाँ रहेको छ ।
 चालु आर्थिक बर्षको साउन महिनामा कुल ९ थान मुद्दा दर्ता गरिएको छ । ३ साउन २०७३ मा १८ हजार मुल्य बराबरको २ सय बेवारिसे कुर्ती सशस्त्र प्रहरी भन्सारको गस्तीबाट पक्राउ गरिएको थियो । ५ साउनमा ठाढीझिझाको सशस्त्र प्रहरी बोर्डर आउटपोस्टबाट खटेको गस्ती टोलीले १२ हजार मुल्य बराबरको ९५ लिटर तेल र ५० किलो ग्राम चिनी पक्राउ गरेको थियो । ७ साउनमा सशस्त्र प्रहरीको भन्सार गस्तीले १६ हजार ८ सय मुल्य बराबरको ४२ पिस सुत्तीको सर्ट बरामद गरेको थियो । ९ साउनमा सशस्त्र प्रहरी धनुषाले ४० हजार ८ सय ८० रुपैयाँ बराबरको खाने तेल, विस्कुट, दालमोट जस्ता सामानहरु बरामद गरेको थियो । ९ साउनमै धनुषाधामको सशस्त्र प्रहरीले १ लाख मुल्य पर्ने बेवारिसे १ थान बा ५८ प ९१७० नम्बरको मोटरसाईकल बरामद गरेको थियो । १३ साउनमा फुलगामाको सशस्त्र प्रहरीले १९ हजार १ सय ७५ रुपैयाँ मुल्य बराबरको सक्कर, घ्यू बरामद गरेको थियो । २१ साउनमा महिनाथपुरको सशस्त्र प्रहरीले ३ हजार २ सय रुपैयाँ मुल्य बराबरको ८ बोरा यूरिया रसायनिक मल बरामद गरेको थियो । २५ साउनमा धनुषाको सशस्त्र प्रहरीले ७ हजार २ सय रुपैयाँ मुल्य बराबरको ८ बोरा यूरिया र ४ बोरा डिएपी रसायनिक मल बरामद गरेको थियो । त्यसैगरी २७ साउनमा महिनाथपुरको सशस्त्र प्रहरीले ३ हजार ८ सय ९६ मुल्य बराबरको सामानहरु बरामद गरेको थियो ।
एक महिनामा यसरी विभिन्न ठाउँबाट नामको लागि सशस्त्र प्रहरी होस वा अन्य सुरक्षा निकाय, अबैध मालसामानलाई पक्राउ गरेको देखिन्छ । रोचक कुरा के हो भने ती सबै मालसामानहरु पक्राउ पर्दा सुरक्षा निकायले बेवारिसे अवस्थामा बरामद गरेको भनेर भन्ने गर्छन् । तस्करी गर्ने तस्करलाई कहिल्यै पनि पक्राउ गर्दैनन् । किनभने ती क्षेत्रमा लागेका तस्करहरुकै भनाई अनुसार प्रहरीले बेला बेलामा आफ्नो दाम बढाउन वा माथिबाट कडाई भएको अवस्थामा ड्यूटी गरेको देखाउनका लागि पनि वा मालसामानहरु बेलाबखतमा पक्राउ गरेर आफ्नो ड्यूटी गरेको भनेर देखाउनका निम्ति पनि सुरक्षाकर्मीहरुले मालसामान पक्राउ गर्ने गर्छन् ।
भन्सार कार्यालयका कार्यालय प्रमुख हेमचन्द्र शर्माका अनुसार मासिक रुपमा ८५ लाख देखि ८७ लाख रुपैयाँसम्म राजश्व असुल भईरहेको छ । गत माघमा सबैभन्दा वढी १ करोड २ लाख रुपैयाँ बराबरको राजश्व असुल भएको हो । त्यो किन भने धनुषामा तस्करी बढ्दै गएको भनेर समाचार प्रकाशन भएपछि भन्सार प्रमुख शर्माले गरेको कडाईको नतिजा हो । यसबाट पनि के पुष्टि हुन्छ भने भन्सार कार्यालयले चाहेको बेला राजश्वलाई बढाउन सकिन्छ ।
तस्करीलाई बढावा दिने पक्षमा आफु कहिल्यै नरहेको र तस्करलाई मद्दत गर्ने कर्मचारीहरु मध्ये ३ जना कर्मचारीहरुलाई कारवाही स्वरुप आफुले हटाईसकेको भन्दै भन्सार प्रमुख शर्मा भन्छन,“ तस्करहरुबाट मोटो रकम आफुले लिईरहेको आरोप निराधार हो । हो, तस्करी पुर्ण रुपमा नियन्त्रण हुन सकेको छैन । राजश्व छलेर अहिले पनि तस्करी भईरहेको कुरा म स्वीकार गर्दछु । त्यसलाई नियन्त्रण गर्ने प्रयास जारी छ ।” कार्तिक महिना देखि आफुले जनकपुर भन्सारको जिम्मेवारी सम्हालेपछि तस्करीमा कडाई गरेको शर्माले बताईरहे पनि स्रोतका अनुसार ठूला व्यापारीसँग सेटिङ मिलाएर भन्सार प्रमुख शर्माले लाखौँ कुम्ल्याउने गरेको हो । सेटिङ मिलेपछि अहिले धनुषाका विभिन्न नाकाबाट व्यवस्थित रूपमै तस्करी हुने गरेको छ ।
सेटिङ्गमा लिलामी
पक्राउ गरी दाखिला गरेका सामानहरुको लिलामी गर्दा पनि भन्सार प्रमुख शर्मा सँग सेटिङ्ग मिलाएर तस्करहरुले कम मुल्यमा सामानहरु लिने गरेको तस्करमै संलग्न व्यापारीहरुको आरोप रहेको छ । चालु आर्थिक बर्षको माघ महिना सम्ममा कुल ५७ वटा मुद्दाको निर्णय गरेर २६ लाख ८७ हजार ५ सय २७ मुल्य बराबरको मालसामानहरु लिलाम गरिएको छ । भन्सार कर्मचारी गस्तीबाट पक्राउ गरी दाखिला गरिएका २३ थान मुद्दाको ८ लाख ३४ हजार ६ सय ३० रुपैयाँ, सशस्त्र प्रहरी भन्सार राजश्व गस्तीबाट कुल ११ थान मुद्दाको १ लाख ५२ हजार ९ सय ५० रुपैयाँ, सशस्त्र प्रहरीका विभिन्न अन्य निकायहरुबाट पक्राउ गरिएका १९ थान मुद्दाको ४ लाख ८ हजार २ सय ६७ रुपैयाँ र नेपाल प्रहरीको विभिन्न निकायहरुबाट पक्राउ गरिएका कुल ४ थान मुद्दाको ४ लाख ५६ हजार ५ सय रुपैयाँका मालसामानहरु लिलाम गरिएको छ ।
भन्सार प्रमुख शर्माले लिलाम गर्दा खेरी सेटिङ्ग मिलाएर धनुषाको तारापट्टी सिरसियाका नामुद तस्कर सुरेश साहलाई कम मुल्यमै लिलामी गर्ने गरेको व्यापारीहरुको आरोप रहेको छ । तर, उक्त सवाल गर्दा भन्सार प्रमुख शर्माले द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीलाई तपाई कहाँबाट परिचालित हुनुहुन्छ भन्ने कुरा मैले बुझे भनेर जवाफ दिएका थिए । पछि उनले के कुरा पनि स्वीकार गरे भने लिलाम गर्दा खेरी ३÷४ जना व्यापारीहरु मिलेर आईरहेका हुन्छन्, नाम मिलाउँदा पटक पटक फेरिएको हुन्छ, मैले के गर्ने । सुरेश साहलाई नै यदि पटक पटक लिलाम गरेर दिइएको छ भने त्यसलाई पनि म नियन्त्रण गर्ने प्रयास गर्छु । लिलामीमा त्यो व्यापारीहरुको मिलेमतोलाई तोड्न पनि अभियान चलाउछु ।
मुल भन्सार जनकपुर कार्यालय सँगसँगै छोटी भन्सार कार्यालयहरु जटही, भडरिया, महिनाथपुर, खजुरी महुवा, इनर्वा रहेका छन् । बैदेही भन्सार विगत ५÷७ बर्ष देखि बन्द छन् । ती नाकाहरु मार्फत तस्करहरुले खुलेआम रुपमा तस्करी गर्ने गर्छन् । यस कार्यमा केही सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इञ्चार्ज रहेका इन्स्पेक्टरहरू समेतको संलग्नता रहेको बुझिएको छ ।
स्रोतका अनुसार भन्सार प्रमुख शर्माले तस्करहरूसँग रकम असुल्न दुईजना कर्मचारी नै खटाएका थिए । जटही छोटी भन्सारमा कार्यरत जगदीश दासले जटहीदेखि धनौजीसम्मका व्यापारीहरूसँग सेटिङ मिलाएर पैसा कलेक्सन गर्ने जिम्मा पाएका थिए । यस्तै, धनौजीदेखि खजुरी, इनरुवासम्मको जिम्मेवारी भने मूल भन्सारमा कार्यरत सुब्बा रामेश्वर चौधरीलाई दिइएको थियो । भारतबाट आयात हुने एसबेस्डस, तेल, गुटखालगायतका कतिपय घरायसी सरसमान प्रतिबन्ध भए पनि हाल यिनै सरसमान बढी तस्करी हुने गरेको तिनले जानकारी दिए ।
दुहबी छोटी नाका वर्षौंदेखि भारतीय नागरिकलाई ठेक्का दिइएको छ । भारतबाट तस्करी गरी ल्याएका सरसमानका भन्सार वापतको रकम उनले नै असुल्ने गर्छन् । चिनी, दाल प्रतिबोरा बीस रुपैयाँ, खाने तेल प्रति टिन तीस रुपैयाँ, सागर दूध र सूर्ति जन्य पदार्थ प्रति कार्टुन पचास रुपैयाँका दरले असुल्ने गरिएको छ । भन्सारमा कार्यरत एक कर्मचारीका अनुसार धेरै पहिलादेखि केही भारतीय नागरिकले धकरियाका रूपमा काम गर्दै आएका छन् । त्यसरी संकलन गरिएको पैसा पनि बाँडफाँड हुने गरेको छ ।
प्रहरीको पनि मिलेमतो
तस्करीबाट दैनिक करिब दुई टूकभन्दा बढीको लत्ताकपडा, हार्डवेयर, सुर्ती, इलेक्टूोनिक्सलगायतका सरसमान नेपाल भित्रिने गरेको बताइन्छ । तर, नेपाल प्रहरी यसबारे अनभिज्ञता प्रकट गर्छन् । खुला सीमा भएका कारण घरायसी प्रयोगका लागि सीमा क्षेत्रका नेपाली नागरिकले सानातिना पोका लुकाएर भारतबाट ल्याउने गरेको हुन सक्ने भए पनि ठूलो परिमाणमा तस्करी भने नभएको प्रहरीको दावी छ । तर, सीमा क्षेत्रका स्थानीयहरू भने प्रहरीहरू समेत तस्करसँग मिलेकाले लाखौँ राजश्व नतिरी तस्करी भइरहेको दावी गर्छन् ।



२०७३ फाल्गुन १५ गते आईतबार

No comments:

Post a Comment