Sunday, February 12, 2017

डिआईजी नवराज सिलवालले राजिनामा देलान त ?

प्रहरी डीआजीहरू क्रमशः सिलवाल, अर्याल, चन्द र भण्डारी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल प्रहरीको नयाँ नेतृत्व चयनको विषयमा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि आफ्नो अडानबाट पछि हट्दै डिआइजी जयबहादुर चन्दलाई आइजी बनाउन तयार भएका छन्। फागुन ३ गतेदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने प्रस्ताव तयार गर्न गृहमन्त्री निधिले गृहसचिवलाई निर्देशन दिएको गृह उच्च स्रोतले सेतोपाटीलाई बतायो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डिआइजी नवराज शिलवालको पक्षमा उभिदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हटेका हुन् ।
यसअघि नवराज सिलवाललाई आइजिपी नियुक्त गर्ने प्रस्ताव लिएर निधि अघिल्लो साता देउवा निवास पुगेका थिए । स्रोतका अनुसार देउवाले कुनै हालतमा सिलवाललाई नियुक्त नगर्न निधिलाई चेतावनी दिए। सिलवालको सट्टा चन्दलाई आइजिपी नियुक्त गर्न देउवाले अह्राए । निधिले मानेनन् । चन्दलाई नियुक्त नगर्ने हो भने गृहमन्त्रीबाटै राजीनामा दिन देउवाले भनेका थिए । देउवाको यो असहमतिपछि निधि उठेर हिँडेका थिए।त्यसपछि पनि निधि सिलवालकै पक्षमा उभिँदै आएका थिए । देउवाले यही माघ १९ गते बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा मुख्य नेताहरुको अनौपचारिक बैठकमा समेत उक्त विषय उठाएका थिए । बैठकमा देउवाले ’आइजिपी नियुक्तिमा गृहमन्त्रीले पार्टी सभापतिको निर्देशन मान्नुपर्ने’ कुरा राखेका थिए । निधि समेत उपस्थित उक्त बैठकमा कांग्रेस महामन्त्री सशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले देउवालाई साथ दिएका थिए । गृहमन्त्री निघि भने आफ्नो अडानबाट पछि हट्न मानेका थिएनन् । 
    गत बिहीबारको मन्त्रिपरिषद बैठकले आइजिपी नियुक्त गर्ने संकेत पाएपछि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर गृहमन्त्रीले नियुक्तिको प्रस्ताव ल्याए त्यसलाई अघि नबढाउन अनुरोध गरेका थिए । कांग्रेस र माओवादी केन्द्रबीच पहिल्यै नेपाल प्रहरीको आइजिपी कांग्रेसले र सशस्त्र प्रहरीको आइजिपी माओवादीले नियुक्त गर्ने सहमति भइसकेको छ। देउवाले आइजिपी नियुक्ति कांग्रेस पार्टीको निर्णयअनुसार हुनुपर्ने दाहाललाई बताएका थिए । दाहालले कांग्रेसभित्र सहमति नभई आइजिपी नियुक्ति अघि नबढाउने बचन देउवालाई दिएका थिए। स्रोतका अनुसार देउवाले दाहाललाई ’आवश्यक परे गृहमन्त्री फेर्ने, तर गृहमन्त्रीको प्रस्तावमा आइजिपी नियुक्त नगर्नू’ समेत भनेका थिए ।
कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच आइजिपीको विषयमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री दाहालले अन्य कांग्रेस नेताहरुलाई यो विवादको निकास निकाल्न सहयोग गरिदिन आग्रह गरेका थिए । ‘दुवै जनाले अयी नछाड्ने हो भने आइजिपीको तेस्रो वा चौथो दाबेदारलाई नियुक्त गर्न पनि प्रधानमन्त्रीले सुझाउनुभएको थियो,’ एक कांग्रेस नेताले भने। पछिल्लो समय दुई नेताबीच बढ्दै गएको तिक्ततालाई साँघूरो बनाउन सरकारमा रहेका देउवा पक्षमा मन्त्रीहरू बालकृष्ण खाँड र प्रकाशशरण महतलगायतका नेताहरूले दुबै नेताहरूको बिचमा समन्वयको काम गरेका थिए। पछिल्लो पटक बुधबार देउवा र निधिलाई सँगै राखेर महतहितका नेताहरू छलफलमा थिए ।
    त्यसको भोलिपल्ट बिहिबार बिहान देउवासँगको सहमति अनुसार कार्यालय पुगेलगत्तै गृहमन्त्री निधिले गृह सचिव लोकदर्शन रेग्मीलाई आइतबारको मन्त्रिपरिषद बैठकमा चन्दलाई बढुवा गर्ने प्रस्तावबारे तयारी गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो । वर्तमान आइजिपी उपेन्द्रकान्त अर्यालको पदावधि यही फागुन ३ गते सकिँदै छ । उनीसँगै सबै एआइजीहरुको पनि म्याद सकिने भएपछि बहालवाला चार डिआइजी सिलवाल, चन्द, प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजिपीका दाबेदार थिए। नेपाल प्रहरीको वरियता क्रममा डिआइजी नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, जयबहादुर चन्द तेस्रो र बमबहादुर भण्डारी चौथो नम्बरमा छन् ।
सशस्त्रको आइजीमा  श्रेष्ठ लगभग पक्का
यसैबीच सशस्त्र प्रहरीको नयाँ आइजीपीसमेत सरकारले आइतबार नै नियुक्त गर्ने तयारी गरेको छ ।  सशस्त्रको आइजीका लागि पहिलो बरियतामा रहेका डिआएजी सिंहबहादुर श्रेष्ठको नाम प्रधानमन्त्री पुष्पकमल दाहालले सिफारिस गर्ने भएका छन्। सशस्त्रमा एआइजीहरूमध्ये सिंहबहादुर श्रेष्ठ पहिलो, प्रेम शाही दोस्रो र प्रकाश ओझा तेस्रो वरियतामा छन् ।  यसअघि नै सत्तारूढ दल नेपाली कांग्रेस र माओवादीबीच सशस्त्रको आइजीमा माओवादीले निर्णय गर्ने जनपथ प्रहरीको आइजीमा नेपाली कांग्रेस सभापति देउवाले सिफारिस गर्ने सहमति गरेका थिए । सशस्त्रको आईजी पनि आगामी फागुन २ गतेबाट अवकाश पाउँदैछन् ।
आईजीपी बन्न नसके डीआइजी सिलवालले राजीनामा देलान् ?
नेपाल प्रहरीको २५ औं आइजीपी बन्ने खेल उत्कर्षमा पुगेको छ । पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई तीन नम्बरमा रहेका जयबहादुर चन्दले पछि पार्ने सम्भावना बढेको छ । र, यससँगै एउटा प्रश्न खडा भएको छ( तेस्रो बरियताका चन्दलाई आइजीपी बनेको खण्डमा पहिलो बरियताका डीआइजी नवराज सिलवालले एआइजीमै चित्त बुझाउलान् वा प्रहरी संगठनबाट राजीनामा देलान् ?
गृहमन्त्री कसरी युटर्न भए ?
सीआईबी प्रमुख डीआइजी नवराज सिलवाल गृहमन्त्री विमलेन्द्र निधीकै आडमा ३४ किलो सुनकाण्डको अनुसन्धानमा हौसिइरहेका थिए । सुन तस्करीमा संलग्न भन्सारका कर्मचारी हुँदै आफ्नै सहकर्मी एसएसपी श्याम खत्रीलाई हत्कडी लगाउने आँट पनि डीआईजी सिलवालले गृहमन्त्रीकै आड भरोसामा गरेका थिए । संसदीय समितिहरुमा सुनकाण्डको छानविन गर्न टोली बनाउनुपर्छ भन्दा पनि गृहमन्त्री निधीले सिलवाललाई नै भरोसा गरेर सीआईबी अनुसन्धानमा सक्षम रहेको जवाफ दिएका थिए । तर, यतिबेला आईजीपी नियुक्ति प्रकरणमा गृहमन्त्री निधी एकाएक चन्दको पक्षमा युटर्न भएपछि सिलवालका लागि आइजीपीको पद सकसपूर्ण बनेको छ । केही दिन अघिसम्म गृहमन्त्री निधी एक नम्बरमा रहेका सिलवाललाई नै आइजीपी बनाउनुपर्ने पक्षमा थिए । तर, कांग्रेस सभापति देउवाको चर्को दबावका कारण बिहीबारदेखि उनी एकाएक ‘युटर्न’ भएको खबरले डीआईजी सिलवाललाई तरंगित बनाएको छ । स्रोतका अनुसार बुधबार प्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवावीच आईजीपी नियुक्तिबारे कुराकानी भएको थियो । तर, प्रधानमन्त्री दाहाल र देउवावीचसहमति नजुट्दा बिहीबार आईजीपी बनाउने विषयले मन्त्रिपरिषदको बैठकमा प्रवेश पाएन ।
गृहमन्त्रालय निकट स्रोतका अनुसार बुधबार विमलेन्द्र निधी र शेरबहादुर देउवालाई मिलाउन यातायात मन्त्री रमेश लेखक सक्रिय भएका थिए । देउवा र निधीवीच चर्को विवाद भएको खबर सार्वजनिक भएपछि मन्त्री लेखक सुदुरपश्चिमका जयबहादुर चन्दलाई नै आइजीपी बनाउनुपर्छ भन्दै निधिलाई मनाउन सफल भएको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालयका एक डीआईजी भन्छन् ‘जयबहादुर चन्द त्यति नराम्रा मान्छे होइनन, तर उनले आफू संगठन हाँक्न सक्ने पात्रको रुपमा भन्दा पनि सुदुरपश्चिमको भएको र कांग्रेसनिकट भएको सन्देश बाहिर गएको छ, जुन संगठनको हितमा छैन र स्वयं चन्दको    हितमा पनि छैन ।’
विगतमा रोलक्रम मिच्दा के भयो ?
उपेन्द्रकान्त अर्यालभन्दा पहिले आईजीपी बनेका कुवेरसिंह रानाका पालामा पनि आईजीपी नियुक्तिमा यस्तै रस्साकस्सी चलेको थियो । एक नम्बरमा रहेका राना, दुई नम्बरमा रहेका नवराज ढकाल र तीन नम्बरमा रहेका भीष्म प्रसाईवीच टक्कर परेको थियो । त्यसबेला तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारले भीष्म प्रसाईलाई च्यापेपछि आईजीपी बनाउने खेल थप चोटिलो बन्दै गएको थियो । तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एक नम्बरमै रहेका रानालाई आईजीपी बनाउने अडान लिएपछि गच्छदारको घुर्की फेल खाएको थियो । त्यसबेला दुई नम्बरमा रहेका ढकालले आईजीपीको प्रतिस्पर्धामा देखिए पनि त्यतिधेरै लडाइँ गरेनन् र महानगरीय प्रहरीको नेतृत्व सम्हालेर अवकाश पाए ।
अहिले परिस्थिति लगभग उस्तै बनेको छ । प्रधानमन्त्री प्रचण्ड एक नम्बरमा रहेका नवराज सिलवालकै पक्षमा छन् भने केही दिन अघिसम्म सिलवालको पक्षमा रहेका विमलेन्द्र निधी एकाएक चन्दको पक्षमा गएका छन् । त्यसो त ०६६ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा नै एक नम्बरमा रहेका रविन्द्रप्रताप शाहलाई नबनाएर २ नम्बरका रमेश चन्द ठकुरीलाई आइजीपी बनाइएको थियो । तर, चन्दलाई अख्तियार लागेपछि शाह नै आइजीपी बने । त्यसअघि कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा पनि ०६३ सालमा एक नम्बरमा रहेका राजेन्द्रबहादुर सिंहलाई पाखा लगाउँदै ओमविक्रम राणालाई आईजीपी बनाइएको थियो । पछि राणा पनि रमेशचन्द ठकुरीसँगै सुडान काण्डमा मुछिए ।
यदि सिलवाल आईजीपी हुनबाट रोकिए भने उनले प्रहरी संगठन नै त्याग्न सक्ने कतिपयको अनुमान छ । तर, केहीले भने सिलवालले मुखैमा आएको एआइजी पद नछाड्ने अडकल काटिरहेका छन् । एसपीबाट एसएसपी हुँदादेखि एक नम्बरमा रहेका सिलवाललाई तीन नम्बरमा रहेका चन्दले सलाम ठोक्न लगाउने सम्भावना बढेको छ । अब यो खेलमा प्रधानमन्त्रीले पनि चन्दलाई नै आईजीपीको फुली लगाउने गृहको प्रस्तावलाई सदर गरे भने सिलवालले चन्दको मातहतमा बसेर काम गर्लान् नि पद त्याग्लान् ? यो धेरैको चासोको विषय बनेको छ । आफ्नै ब्याजी एसएसपी श्याम खत्रीलाई हिरासतमा राखेर सुन तस्कर खोजिरहेका नवराज सिलवाल यदि आईजीपी भएनन् भने ३४ किलो सुनकाण्डको अनुसन्धान कसले र कसरी अघि बढाउला ?  यो पनि प्रहरीभित्र अहिले जिज्ञासाको  विषय बनेको छ ।
वरिष्ठता मिचेर प्रहरी प्रमुख नियुक्त नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर
बरियताक्रम अनुसार नेपाल प्रहरीको आइजीपी नियुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता कपिलदेव भट्टले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिट दर्ता भइसकेको र आइतबार त्यसमाथि प्रारम्भिक सुनुवाई हुने सर्वोच्च अदालतका रजिष्टूार नृपध्वज निरौलाले लोकान्तरलाई जानकारी दिए । रिटमा वरिष्ठता, योग्यता र प्रचलित विधि प्रक्रिया मिचेर प्रहरी प्रमुख नियुक्त गर्न नहुने उल्लेख छ ।
सरकारले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडबलमा तेस्रो बरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा नियुक्ति गर्ने तयारी गरेको भनिएको बेला सर्वोच्चमा रिट परेको हो । सरकारले आइतवार क्याबिनेट बैठकबाट नयाँ आइजीपी नियुक्ति गर्ने तयारी गरेको समाचारहरु सार्वजनिक भएका छन् । अहिलेका आइजीपी उपेन्द्रकान्त अर्यालले २ गतेदेखि अवकास पाउने भएसँगै अब चार डीआइजीमध्येबाट एक जना आइजीपी हुनेछन् । नेपाल प्रहरीको डिआइजीमा पहिलो नम्बरमा नवराज सिलवाल, दोस्रो नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा चन्द र चौथो नम्बरमा बमबहादुर भण्डारी रहेका छन् । बरियताअनुसार एक नम्बरमा रहेका सिलवाललाई पाखा लगाएर तेस्रो बरियताका चन्दलाई देउवाको जोडबलमा आइजीपी बनाउने तयारी गरेको भनिएसँगै रिट परेको हो ।


२०७३ फाल्गुन ०१ गते आईतबार

No comments:

Post a Comment