Wednesday, February 1, 2017

ओझेलमा दुर्गानन्द झा स्मृति अस्पताल

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सहिद दुर्गानन्द झाको जन्म स्थल जटहीमा सहिद दुर्गानन्द झा स्मृति अस्पताल बनाउने नेपाल सरकारले घोषणा गरेपनि हालसम्म अस्पताल बन्न सकेको छैन । २०६६ साल चैत्र १३ गते नगराईन गाविसका गाविस सचिव जयनारायण ठाकुरको अध्यक्षतामा बसेको सर्वपक्षिय र सर्वदलिय बैठकबाट जटहीमा दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्ने निर्णय गरिएको थियो । प्रसुति सेवा सहितको १० शैयाको दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्नका लागि जग्गा दाता कृष्णकान्त पाठकले ११ कठ्ठा जग्गा प्रदान गर्ने निर्णय समेत भएको थियो । त्यसपछि नेपाल सरकारको स्वास्थ्य तथा मन्त्रालयका नीति योजना तथा अन्तर्राष्टिूय सहयोग महाशाखाले १३ फागुन २०६७ मा उक्त अस्पताल निर्माण गर्ने कार्यका लागि बार्षिक कार्यक्रममा समेत सहभागी गराईएको थियो । नेपाल सरकारको सचिव स्तरबाट १ फागुन २०६७ मा कार्यक्रम स्वीकृत गरी २०६८ मसान्त भित्र कार्यक्रम संचालन गरी त्यसको प्रगति विवरण मन्त्रालयमा पेश गर्न भनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शाखा अधिकृत राजेन्द्र ढुङ्गानाले परिपत्र पनि गरेको पाइन्छ ।
त्यसपछि ११ जेष्ठ २०६७ मा जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरलाई लोकतान्त्रिक आन्दोलनका यौद्धा दुर्गानन्द झाको स्मरणमा उहाँको जन्म स्थल जटही धनुषामा प्रसुति सेवा सहितको १० शैयाको दुर्गानन्द झा स्मृति अस्पताल स्थापना गर्नुपर्ने कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लेखि पठाएकोले उक्त अस्पताल निर्माणका लागि नगराईन गाविसको वडा नं. ८ क, कित्ता नम्बर १६८ को २ विघा १६ कठ्ठा जग्गा मध्ये ११ कठ्ठा जग्गा दुर्गानन्द झा स्मृति अस्पतालको लागि उपलब्ध गराएको  हुँदा सो को लागि नक्सा तथा लागन अनुमान तयार गरी उपलब्ध गराई पठाउन पत्राचार गरेको थियो । अनि  २३ चैत्र २०६७ मा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाले सहिद दुर्गानन्द झा स्मृति प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाण्डौलाई दुर्गानन्द झा स्मृति अस्पतालको लागत अनुमान तयार गरी प्राप्त नक्साको प्लिन्थ एरियाको आधारमा बजेट लागत अनुमान समेत पठाएको थियो । तत्कालिन डिभिजन प्रमुख चक्रबर्ती कण्ठले १० करोड ५४ लाख ५६ हजार ८ सय रुपैयाँ अस्पताल निर्माणमा लागत लाग्ने अनुमान सहितको रकम र नक्सा पठाएका थिए । ग्राउण्ड फ्लोर र फस्ट फ्लोर गरी नक्सा डिजाईन गरिएको थियो ।
प्राविधिक लागत अनुमान देखि नक्सा तयार गर्ने कार्य, जग्गा उपलब्ध गराईने कार्य समेत भईसक्दा पनि उनको नाउँमा अस्पताल बन्न सकिरहेको छैन ।
स्वास्थ्य मन्त्री थापाको प्रतिबद्धता
स्वास्थ्य मन्त्री गगन थापाले धनुषाको जटहीमा सहिद दुर्गानन्द झा प्रसुति निर्माण गृह आफ्नै कार्यकालमा बनाउने प्रतिवद्धता गरेका छन् । ६ पुष  २०७३ मा सहिद दुर्गानन्द झा प्रसुति गृह निर्माण स्थल निरीक्षण गर्ने क्रममा मन्त्री थापाले प्रतिवद्धता जनाएका छन् । प्रसुति गृह निर्माणका लागि जग्गा समेत छुट्याईसकेको भएपनि हालसम्म अस्पताल निर्माणका लागि कुनै पनि काम अगाडी नवढेको बेला स्वास्थ्य मन्त्री थापाले १५ दिन भित्रमा प्रक्रियागत औपचारिकता पुरा गरी आफ्नै मन्त्रीको कार्यकालमा उक्त अस्पताल निर्माण गर्ने पटक पटक प्रतिबद्धता दोहोरयाएका थिए । त्यतिबेला जटही पुगेका स्वास्थ्य मन्त्री गगन थापाले भनेका थिए,“ यो ठाउँ मैले हेरे । जनस्वास्थ्य कार्यालयको प्रमुखलाई लिएर आएको छु । मैले उहाँलाई तपाईहरुका बीच राखेर भन्दै छु कि १५ दिन भित्रमा यहाँ जति पनि कागजातहरु छन्, जति पनि विवरणहरु छन्, त्यो सबै विवरणहरु उहाँले मलाई स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउनु हुन्छ । त्यो विवरण मैले प्राप्त गर्ना साथै रातो कितावमा परेपनि नपरेपनि त्यो कुरा छोडदिनुस् । रातो कितावमा नछुटिएको भए त्यो छुट्याउने जिम्मा मेरो हो । तर उहाँले तत्काल मलाई कागजात उपलब्ध गराउन साथै तत्काल मैले त्यसलाई निर्माणको काममा लग्नका लागि मैले औपचारिकता पुरा गर्नुपर्ने छ । त्यसपछि सहिद दुर्गानन्द झाको नाउँमा यहाँ प्रसुति गृहको अस्पताल बनाउने जुन घोषणा गरिएको छ त्यो घोषणा मेरै पालामा अगाडी वढ्ने छ । त्यो हाम्रो जिम्मेवारी हो । यति पनि कर्तव्य पुरा गर्न सकिएन भने हामीले आफ्नो थुप्रै संस्थापक नेताहरु प्रतिको आदरभाव जनाउँदै गर्दा खेरी दुर्गानन्द झाको आफ्नै गाउँ ठाउँमा एउटा अस्पताल बनाउने जिम्मेवारी पनि यति बोलेर पुरा गर्न सकेनौं भने हाम्रो आफ्नै निम्ति पनि ठुलो लज्जा बोधको विषय हो । मेरो जिम्मेवारी मैले पुरा गर्छु । यो अस्पताल जसरी पनि बनाउनै पर्छ । र, यो मेरो आफ्नै कार्यकालमा बनाउछु ।” स्वास्थ्य मन्त्री गगन थापाले व्यक्त गरेको प्रतिबद्धताको दुई महिना वितिसक्दा पनि प्रक्रियाहरु अगाडी वढ्न सकेको छैन ।
आफु मन्त्री रहेको कार्यकालमै अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्री गगन थापाले ६ पुष २०७३ मा घोषणा गरेका थिए ।
२०७३ माघ १६ गते आईतबार

No comments:

Post a Comment