Monday, January 2, 2017

अन्तरबार्ता ः म यो देशको धर्ती पुत्र हुँ, परिमार्जन सहितको संशोधन विना कुनै पनि चुनाव हुन दिन्नौं ः राजेन्द्र महतो

सदभावना पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले आफु भारतीय नागरिक नभई यो देशको धर्तीपुत्र रहेको भन्दै व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक परिमार्जन सहित संशोधन हुँदैन भने यो देशमा कुनै पनि चुनाव सम्भव नहुने बताएका छन् । सदभावना अध्यक्ष महतोसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागील विभिन्न समसामायिक विषयहरु बारे गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।

संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष १८ गते खबरदारी विरोध जुलुस गर्ने निर्णय गरेको छ । त्यो विरोध किन गर्न लागिएको हो ?
फेरी बैइमानी सुरु भयो । मधेसी जनताले आन्दोलन मार्फत जे माग गरेका थिए त्यो भईरहेको छैन । संविधान संशोधन गरी मधेसी जनतालाई अधिकार दिलाउनका निम्ति व्यवस्थापिका संसदमा संशोधन विधेयक दर्ता भयो । तर, उक्त विधेयक पास गराउनुको सट्टा विधेयकलाई लावारिस छोडेर चुनावको कुरा आउँदैछ । त्यसकारण हामीले खबरदारी विरोध मधेसका सम्पुर्ण जिल्लाका सदरमुकामहरुमा पुष १८ गते आयोजन गरी सरकार र प्रतिपक्षलाई के खबरदारी गर्न चाहन्छौ भने संशोधन विना कुनै पनि निर्वाचन यो देशमा सम्भव छैन ।
कस्तो संशोधन खोज्नु भएको हो ?
परिमार्जन सहितको संशोधन । अहिले प्रस्तुत गरिएको संशोधन विधेयकमा मधेसका थुप्रै सवालहरु बाँकी छन् । सिमांकन, नागरिकता, भाषा लगायत थुपै्र मुद्दाहरुमा परिमार्जनको आवश्यकता छ ।
तर खास चाही तपाईहरुले सिमाङ्कनमा नै परिमार्जन खोजेको हो त ?
सिमाङ्कनको सवाल मुख्य सवाल हो नै । पहिले मधेसका ८ वटा जिल्लाहरु प्रदेश नं. २ मा दिइयो तर मधेसको १९ जिल्लाहरु मध्ये ११ वटा जिल्लाहरु गायव गरियो । अहिले संशोधन विधेयकबाट ५ नम्बर प्रदेशमा ६ वटा जिल्लाहरु नवलपरासी देखि बर्दियासम्म दिने कुरा गरेको छ । तर, बाँकी ५जिल्लाहरु झापा, मोरंग,सुन्सरी, कञ्चनपुर र कैलाली जुन कि मधेस थरुहटको भुभाग हो त्यसलाई दिइएको छैन । ती ५ जिल्लालाई विवादित भनि आयोगद्वारा समाधान गर्ने भनिएको छ । तर त्यो समाधान कसरी गर्ने भन्ने बाटो खोलिएको छैन । पाण्डवहरुले ५ गाउँ माग्दा कौरवले नदिएपछि महाभारत भएझैं मधेसले आफ्नो जिल्ला मागिरहँदा नदिइए यहाँ पनि महाभारत हुन्छ ।
अभि नहि तो कभि नहि, अव कि बार आरपार जस्ता नाराहरु तपाईले मधेस आन्दोलनताका दिनु भएको थियो । के त्यो नाराहरु विर्सनु भएको छ ?
होइन, मैले विर्सेको छैन । नेताले विर्सेपनि जनताको मुद्दा सहितको नारा कहिल्यै पनि विर्सन्न, जनताले । त्यसैले त संविधान संशोधनमा अहिले बैइमानी भईरहेको कारण हामीहरुले पुष १८ गते देखि आन्दोलन गरेर सरकारलाई प्रष्ट रुपमा बताईरहेका छौ कि संशोधन विना कुनै पनि निर्वाचन हुँदैन ।
नेकपा एमाले त संविधान संशोधन विधेयकको विरोधमा आन्दोलन नै गरिरहेको छ । संसद पनि अवरुद्ध गरिरहेको छ । पहाडबाट तराईलाई छुट्याउनु हुँदैन भनिरहेको छ । यस्तो अवस्थामा संशोधन कसरी पारित हुन्छ ?
एमाले त सँधै मधेस विरोधी पार्टी हो । अहिले उसले संघीयताको विरोधमा काम गरिरहेको छ । ५ नम्बर प्रदेशमा मधेस थरुहटलाई संशोधन विधेयकमा दिईसकेको ५जिल्ला पनि फिर्ता लिने कुरा गरिरहेको छ । यो त एकात्मक सोच हो । हिजो पनि तराई, पहाड र हिमाललाई मिलाएर यो देशमा एकात्मक शासन गरेकै हो । फेरी पनि त्यस्तै एकात्मक शासन लादन खोजेको छ एमालेले । यदि संसद अवरुद्ध गरी असंसदीय गतिविधि जारी नै राख्यो, संशोधन विधेयकलाई पारित गराएन भने मधेसमा पनि मधेसी जनताले एमाले मुक्त मधेसको अभियान चलाएर मधेसबाट एमालेलाई सफाया गर्न सक्छ ।
तर त्यो आन्दोलनमा एमालेसँगसँगै कांग्रेस र माओवादीका नेताहरु पनि लागेका छन् नि ?
हो, त्यसैले हामीलाई तीनवटै दलहरु प्रति शंका छ । संशोधन विधेयक ल्याउने कांग्रेस र माओवादी प्रति पनि शंका छ । त्यसैले हामीले सरकारलाई पनि खबरदार गरिरहेका छौं ।
त्यसो भए तपाईहरुले सरकारलाई दिएको समर्थन फिर्ता किन लिईरहनु भएको छैन ?
कांग्रेस र माओवादीले प्रस्तावलाई फिर्ता लिएको छैन । संशोधन विधेयकको प्रस्तावलाई इन्कार गरेको छैन । हामीहरुलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले के भनिरहेका छन् भने हाम्रा केही नेताहरु फेस सेभिङका लागि वा पब्लिक कन्जम्पशनका लागि आन्दोलनमा लागेपनि चुनाव हुँदा पार्टीको लाईनमै मतदान गर्नेछन् । तर त्यसको लागि एमालेले संसदमा छलफल त हुनदिनु पर्यो नि । एमाले अहिले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र प्रदर्शन गरिरहेको छ । त्यसैले मतदानमा कांग्रेस र माओवादीको पनि परीक्षण हुन बाँकी छ । यदि कांग्रेस र माओवादी पनि एमाले जस्तै भयो भने तिनीहरु विरुद्ध पनि आन्दोलन गरिने छ । समर्थन फिर्ता लिइने छ । विगतमा पनि ती ३ दल विरुद्ध हामीले लडेकै हो ।
के सरकार परिमार्जनका लागि तयार भएको छ ?
हो, प्रधानमन्त्री प्रचण्ड र देउवा जीले हामीहरुलाई भनिरहनु भएको छ कि तपाईहरुले खोजेको जस्तो परिमार्जन संशोधन विधेयकमा हुन्छ ।
तपाईहरुले विदेशीको इशारामा संविधान संशोधन गरिरहनु भएको छ, विदेशीबाट परिचालित र आयातित संशोधन विधेयक रहेकाले यो विधेयक राष्टू घाती हो भनेर एमालेले आरोप लगाईरहेको छ नि ?
मधेसीलाई त एमालेले भारतीय भनेकै हो । २५ बर्ष देखि संघीयताको कुरा गर्ने सदभावना पार्टीका नेता गजेन्द्र बाबुलाई पनि भारतीय, विखण्डनवादी भने । एक प्रदेश माग्दा पनि विखण्डनवादी, अहिले दुई प्रदेश माग्दा पनि विखण्डनवादी भनिरहन्छन् । मधेसी जनताले आफ्नो भुभागमा अधिकार सम्पन्न प्रदेश खोजेर अहिले आफ्नै शासन र प्रशासन खोजेको छ । यो देश भित्रै । तर, अहिले यदि मधेस प्रदेश नदिने हो भने, मधेसी जनताले अधिकार सम्पन्न दुई प्रदेश नपाउने हो भने एमालेले मधेसीलाई विखण्डन तिर धकेलिरहेको छ भनेर बुझ्नु पर्छ । प्रदेश नभए मान्छेले के गर्छ । त्यसैले एमाले अहिले देशलाई विखण्डन गर्न चाहन्छ ।
जलेश्वर तथा टिकापुर सहित विभिन्न जिल्लामा लगाइएका मुद्दा र कैदीबन्दीहरुको मुद्दा फिर्ताका सवालमा तपाईहरुले के गरिरहनु भएको छ ?
अदालतमा नचलेको मुद्दाहरु मध्ये अधिकांश फिर्ता भईसकेका छन् । तर, अदालतमा रहेका मुद्दाहरु फिर्ताका लागि महान्यायाधीवक्ताको कार्यालयले तयारी गरिरहेको छ । सर्बोच्च अदालतबाट अनुमति लिएर ती फाईलहरुलाई क्याविनेटमा लगेर मुद्दा फिर्ता गर्ने प्रक्रिया अगाडी वढेको छ ।
मधेस आन्दोलनताका संविधान सभा र व्यवस्थापिका संसदबाट तपाईहरुले अर्थात तपाईका पार्टीका सभासद र सांसदहरुले राजीनामा गरेका थिए । तर, तपाईहरु फेरी सत्ता र भत्ताका लागि किन फिर्ता हुनुभयो ?
हो, राजीनामा हामीले गरेका थियौं । जब संविधान सभामा जवरजस्ती संविधान बनाउन लागिएको थियो तब हामीलाई के लाग्यो भने अब यहाँ हाम्रो ठाउँ छैन । हाम्रो ठाउँ भनेको अब सडक हो । हामी राजीनामा गरेर सडक संघर्षमा आयौं । तर, हाम्रो राजीनामा सभामुख सुभाष नेम्वाङले स्वीकार गरिदिएनन । त्यो उनको बैइमानी हो । र, संविधान सभा विघटन भएपछि जब हाम्रो राजीनामा नै स्वीकृत भएन, हाम्रो सांसद पद रहिरह्यो । र हामी व्यवस्थापिका संसदमा जानु पर्यो ।
आन्दोलनताका त तपाईले आफ्नो पार्टी कार्यालय काठमाण्डौबाट हटाएर मधेसमा ल्याउनु भयो । मधेसलाई अधिकार प्राप्त नभएसम्म केन्द्रिय कार्यालय अब मधेसमै रहन्छ भन्दै काठमाण्डौमा सम्पर्क कार्यालय राख्नु भयो । तर, अहिले मधेसले के पाईहालेको छ र, तपाईहरु पार्टी कार्यालय काठमाण्डौ लग्नुभयो ?
हाम्रो पार्टीको मान्यता के हो भने जहाँ आन्दोलन हुन्छ त्यहाँ पार्टीको केन्द्रिय कार्यालय हुनुपर्छ । मधेस आन्दोलन हुँदा हाम्रो कार्यालय मधेसमा आयो । तर, आन्दोलन मधेसबाट काठमाण्डौ सिफ्ट भएपछि पार्टी कार्यालय पनि सिफ्ट गर्नुपर्यो । अब फेरी आन्दोलन हुन्छ भने पार्टी कार्यालय मधेसमा सिफ्ट हुन्छ ।
काठमाण्डौसँग नाता तोडेर वा भनौ तत्कालिन प्रधानमन्त्री केप ीओली सँग माग पुरा नभएसम्म नबोल्ने वा अब काठमाण्डौ नजाने भनेर तपाईले उदघोष गर्नु भएको थियो । तर, विराटनगरमा ओली सरकारको प्रहरीले तपाईलाई कुटेर घाईते बनाएपछि दिल्लीबाट उपचार गरेर मधेस फर्किनुपर्नेमा तपाई त सिधा बालुवाटार पुगी प्रधानमन्त्री ओलीसँग चिया खान पुग्नु भयो । किन ?
हेर्नुस, यहाँ सरकारले के भनिरहेको थियो भने राजेन्द्र महतोका कारण मात्रै बार्ता भईरहेको छैन । सरकार र मोर्चा बीच बार्ता हुने क्रममा राजेन्द्र महतो नआएकै कारण बार्ता निस्कर्षमा पुग्न सकिरहेको छैन भनेर हल्ला फैलाइएको थियो । मलाई बदनाम गरिएको थियो । उपचारको बेलामा म दिल्लीको रहेको समय प्रधानमन्त्री ओलीले मलाई फोन गरेर तपाई यहाँ आएपछि सबै कुरा मिल्छ, तपाई जसरी पनि काठमाण्डौ आउनु पर्यो भनेर भनेपछि मात्रै गएको हुँ । तर, म गएपनि परिणाम त निस्केन । त्यसैले केपी ओलीलाई एक्सपोज गर्नका लागि म त्यहाँ जानु पर्यो । मलाई पहिले देखि थाहा थियो कि यो ओलीको नौटंकी हो । ३६ पटक वार्ता भयो तर ओलीले समाधान गरेनन् ।
तपाई भारतीय नागरिक हो भनेर भन्ने गरिन्छ । तपाई यो देशको बंशज नागरिक नभई विहारबाट आएर आन्दोलन उचालेको भनेर एमालेले पटक पटक आरोप लगाउने गरेको छ । साँच्चै के तपाई नेपाली नागरिक होइन ?
यो देशमा एमालेले पुरै मधेसियालाई भारतीय भन्छ । म मधेसीको नेता भएपछि मलाई उसले महाभारतीय देख्नु अन्यथा होइन । यदि म नेपालको नागरिक होइन भने सरकारले मेरो नागरिकताको सवालमा स्वेतपत्र जारी गर्नुपर्यो । रहयो कुरा मेरो नागरिकताको भने म यो देशको धर्ती पुत्र हो । मेरो नागरिकता जन्मसिद्ध नागरिक हो । मैले विगत १८ बर्ष देखि नागरिकता नपाएको मधेसीहरुको लागि लडाई लडिरहेको छु । त्यसैले मलाई उनीहरु भारतीय भन्छन् । अहिले पनि म बैवाहिक अंगिकृतहरुको नागरिकताको लागि लडिरहेको छु । १९ सालमा संविधान बनाउँदा अंगिकृत नागरिकलाई संवैधानिक पदमा जान रोक लगाइएन । ४७ सालको संविधानमा १० बर्ष पछि बैवाहिक अंगिकृतले र सोही प्रावधान अन्तरिम संविधानमा पनि संवैधानिक पदमा जान पाउने व्यवस्था गर्यो । के त्यो सबै संविधानहरु मधेसीले बनाएको हो ? त्यसैले तिनीहरु गल्ती आफै गर्छन र दोष सारा भारतलाई लगाउँछन् ।
तपाईले पटक पटक मन्त्री भएर अकुत सम्पति आर्जन गर्नु भएको छ भन्ने पनि आरोप लाग्छन् नि ?
त्यसो हो भने सरकारले आफ्नो संयन्त्रहरुलाई प्रयोग गरेर अनुसन्धान गरी मलाई जेल भित्र हाल्नु पर्यो नि । कसले रोकेको छ सरकारलाई ।
मधेसी मोर्चा भित्र पनि खटपट छ भन्छन् ?
पार्टीहरुको एक आपसमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । तर, सिंगो मधेसको एजेण्डामा मोर्चा एक मत छन् । एकतावद्ध भई संघर्ष गर्न तयार छन् ।
संसद तपाईहरुले कहिले छोड्ने हो ?
हामीले अहिले संसद छोड्ने निर्णय गरेका छैनौं । मोर्चाले अहिले त्यो सोचेको पनि छैन । मोर्चाको ध्यान के हो भने संशोधन विधेयक परिमार्जन सहित कसरी पुरा हुन्छ ।

२०७३ पौष १७ गते आईतबार

No comments:

Post a Comment