Monday, January 2, 2017

स्वर्गीय हरिदेव मण्डलको संघर्षका कथाहरु

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
देशमा लोकतन्त्र प्राप्तिसँगसँगै गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको समेत प्रवाह नगर्ने एक समाजसेवी नेता हरिदेव मण्डलको ५ पुष २०७३ मा निधन भएको छ । उनको निधनले सिंगो देशले नै एक असल नेता गुमाउनु परेको छ । चारु मजुमदारको नक्सलवारी आन्दोलन र चेग्वाभाराको आन्दोलनबाट प्रभावित भई गणतन्त्रका लागि रामराजा प्रसाद सिंह र डा.लक्ष्मिनारायण झा (एल एन झा) सँगै विभिन्न संघर्षमा आफ्नो योगदान पुर्याउने एक बामपन्थी नेताको निधन भएको हो । २०३६ साल देखि रामराजा प्रसाद सिंह नेतृत्वको जनमोर्चाका संगठन विभाग प्रमुख र प्रवक्ता हुँदै नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रसम्म आवद्ध भएका मण्डलको संघर्ष उदाहरणिय रहेको छ । बर्गिय संघर्षको आन्दोलन होस वा किसानहरुको तथा सर्वहाराहरुको मुक्तिका लागि गरिएका आन्दोलन, समाजमा रहेका असमानता तथा विभेद र कुरितीहरु विरुद्धका आन्दोलनमा उनी सदैव अग्रसर थिए ।
मण्डलको जिवनी
२००७ साल भाद्र महिनामा बुवा महाविर मण्डल र आमा मलभोगिया देविको सन्तानका रुपमा जन्मिएका हरिदेव मण्डल दुई दाजु भाई र एक बहिनी थिए । सबैभन्दा जेठो मण्डल थिए भने त्यसपछि बहिनी चन्द्रकला मण्डल र भाई इन्द्रदेव मण्डल । धनुषाकै नगराईन स्थित माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका मण्डलको विवाह १८ बर्षकै उमेरमा भएको थियो । १२÷१४ बर्षको उमेरकी प्रेमकला देवीसँग उनको विहे भएको थियो । विहे भएको बेलामा उनकी श्रीमति पुर्ण रुपमा बालिका नै थिईन । मण्डलको ४ वटा सन्तानहरु छन् । जेठो छोरा प्रदिप कुमार मण्डल, सरोज कुमार मण्डल, छोरी पुनम कुमारी मण्डल र कान्छो छोरा संतोष कुमार मण्डल छन् ।
वर्गीय हरिदेव मण्डलको पार्थिव शरीरमा सामुहिक रुपमा दागवती दिने छोराछोरीहरु ।
मण्डलको निधन भएपछि समाजमा सधै देखि चल्दै आएको जेठो छोराले मात्र दागबत्ती दिने परम्परालाई भंग गर्दै ३ छोरा र एक छोरी गरी चारै जनाले सामुहिक रुपमा दागबत्ती दिएका छन् । यति मात्र होइन कर्मकाण्ड भनेको अन्धविश्वास हो भन्दै परिवर्तन स्वरुप कसैले पनि उतरी लगाएका छैनन् र कर्मकाण्ड पनि गरेका छैनन् ।
एसएलसी पास भए लगत्तै मण्डल कैलालीको टिकापुरमा गएर शिक्षक भई त्यहाँ पढाउन थाले । सरकारले विरगञ्जमा आयोजना गरेको १० महिने तालिममा उनी सहभागी भएका थिए । तालिममा उनको प्रदर्शन राम्रो रहेका कारण उनलाई आइएड पढनका लागि छनौट गरियो । विरगञ्जमा आईएड गरिसके पश्चात उनी काठमाण्डौको त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी भाषा साहित्य र राजनीति शास्त्रमा विए र बिएड उत्तीर्ण गरेका थिए । प्रावि शिक्षकको रुपमा नियूक्त भएका मण्डल धनुषाको नक्टाझिजमा प्रधानाध्यापकको रुपमा सरुवा भए । केही बर्ष पछि प्रअ कै रुपमा धनुषाको उमाप्रेमपुर गाविसको पर्वत्तामा उनको सरुवा भयो । उनी पर्वतामा रहेकै बेला धनुषामा हालको एमाले साविकको कम्यूनिष्ट कोओर्डिनेशन सेन्टर गठन भएको थियो । त्यतिबेला पर्वतामा नै रहेर एमालेका नेताहरु माधव कुमार नेपाल, इश्वर पोखरेल, केशव बराल, जस्ता नेताहरुले राजनीति गरेका थिए । मण्डल पनि तिनीहरुको संघर्षबाट प्रभावित भएका थिए । त्यही बेला पर्वतामा जमिन्दारहरु विरुद्ध किसान आन्दोलन भएको थियो । जमिन्दारहरुले किसानलाई शोषन गर्ने, उत्पीडन गर्ने गरेका थिए । किसानका छोरीहरु, चेलीबेटीहरु ती जमिन्दारबाट असुरक्षित हुन्थे । जमिन्दार अगाडी या उनको घर अगाडीबाट भएर किसानहरु आफ्नो चप्पल खोलेर खाली खुट्टा जानु पथर््यो । ज्याला मज्दुरीमा पनि अत्यधिक शोषन गरिन्थ्यो । रातो धोती लगाएर जमिन्दार सामु जान प्रतिबन्ध थियो । त्यसकारण हरिदेव मण्डलकै अगुवाईमा पर्वतामा चौधरी महतो, जिवछ दाहा, झपसी मण्डल लगायतको अगुवाईमा जमिन्दार उन्मुलन आन्दोलन भएको थियो । उक्त आन्दोलनमा झपसी मण्डलले सहादत प्राप्त गरेका थिए ।
पर्वता स्कुल प्रावि थियो । तर निमाविमा प्रस्तावित भएको थियो । विद्यालयका लागि आवश्यक पर्ने जग्गा खाली भएपनि पर्वता मठका महन्थले दिन मानिरहेको थिएन । विद्यालयको नाउँमा रहेको अरु जग्गाहरु बरु दोब्बरै भएपनि दिन तयार थिए विद्यालयका प्रअ मण्डल । विद्यालय अगाडीको जग्गा विद्यालयलाई दि एभने खेलकुद गर्नका लागि मैदान समेत हुने र भविष्यमा विद्यालयको प्रगतिको लागि राम्रो हुने भन्दै त्यो जग्गा विद्यालयलाई दिन प्रअ मण्डल महन्थलाई हारगुहार गरिरहेका थिए । तर, महन्थले दिन नमानेपछि स्थानीयबासीहरुको अगुवाईमा मण्डलले त्यो जग्गा विद्यालयको नाउँमा कब्जागर्न लगाए । कब्जा भएपछि प्रअ मण्डल र महन्थ बीच टसल बढ्यो । तत्कालिन सिडिओ र जिल्ला शिक्षा अधिकारीलाई बोलाएर त्यहाँ सभा आयोजना गरियो । क्यापचर गरिएको जग्गा अन्ततः विद्यालयलाई दिलाइयो । यति मात्र होइन गाउँमा रहेका विद्यालयको जग्गा पनि अतिक्रमण गरिएको थियो । मण्डलकै अगुवाईमा करिब २७÷२८ विघा अतिक्रमित जग्गा मुक्त गराई विद्यालयमा हस्तान्तरण गराईयो । त्यसपछि उनको मावि कुम्रौडामा सरुवा भयो । उनी अंग्रेजी विषयका मावि शिक्षक भईसकेका थिए । त्यहाँ पनि विद्यालय संचालक समितिका अध्यक्ष रघुविर मिश्रसँग पटक पटक उनको टसल हुन्थ्यो । सरस्वती पुजा हुँदा ब्राह्मण समुदायका विद्यार्थीलाई मात्र पूज ागर्न दिइन्थ्यो । अन्य समुदायका विद्यार्थी क्लास टपर भएपनि जाती समुदायको आधारमा पूज ागर्नबाट वञ्चित गरिन्थ्यो । त्यो परम्पराको विरोध गर्दै मण्डलले अन्य समुदायका विद्यार्थीले पनि सरस्वती पूजा गर्न पाउने बातावरण बनाए । वर्ण व्यवस्था माथि उनको ठुलो प्रहार थियो । त्यस्तै त्यहाँ शिक्षकहरुको अधिकारका लागि पनि उनले संघर्ष गरेका थिए ।
कुम्हरौरा विद्यालयमा रहेकै बेला २०४२ साल तिर नेपाल जनवादी मोर्चाका रामराजा प्रसाद सिंह र संघीयता सहित गणतन्त्र पक्षधरका सामाजिक अभियन्ता डा.लक्ष्मिनारायण झासँग उनको सम्पर्क बढेको थियो । डा.लक्ष्मिनारायण झाको सपना प्रत्येक गाउँमा माध्यमिक विद्यालय हुनुपर्ने, प्रत्येक वार्डमा किसानहरुको खेतीका लागि सिचाईको व्यवस्था हुनुपर्ने जस्ता सामाजिक अभियानमा पनि मण्डलले भरपुर साथ दिएका थिए । सिंचाईका लागि उक्त अभियन्ताहरुले धनुषाको बहुअर्वा र अकौराको बीचमा सरहन्चिया नदिमा तटबन्ध निर्माण गरेर पैनी समेत खनेका थिए । तर, विभिन्न कारणले उक्त अभियान सफल हुन सकेन ।
२०४२ सालमा राजसंस्थाको विरोधमा रामराजा प्रसाद सिंहको नेपाल जनवादी मोर्चाले बम काण्ड गराएको थियो । २०४३ सालमा निर्वाचनको घोषणा गरिएको थियो । उक्त निर्वाचनको जनवादी मोर्चाले विरोध गरेको थियो । त्यसकारण ४२ सालमा काठमाण्डौ सहित  देशका विभिन्न ठाउँहरुमा बम विस्फोटन गराइएको थियो । नेपाल जनवादी मोर्चाले हतियार बन्द राजनीतिको सुरुवात पनि त्यहीबाट गरेको थियो । बम काण्डको आरोपमा डा. एलएन झा सहित विभिन्न व्यक्तिहरु पक्राउ परे । हालसम्म डा. झा लगायत कतिपयको अवस्था अज्ञात रहेको छ । बम काण्ड भएको बेला मण्डल जनवादी मोर्चाका संगठन विभाग प्रमुख तथा प्रवक्ता थिए । भैरहवा नाका तर्फबाट सुमन भनिने चन्द्रदेव ठाकुर पक्राउ परेपछि प्रहरीले जनवादी मोर्चाको संजाल पत्ता लगाई विभिन्न ठाउँमा रहेका मोर्चाका कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । काठमाण्डौको सुनधारा लजबाट प्रहरीले मण्डललाई पनि गिरफ्तार गरे । मण्डल पक्राउ परेको अवस्था धेरै दिनसम्म अज्ञात रहयो । धेरै दिन पछि उनलाई महाराजगञ्ज जेलमा राखियो । जेलमा मण्डललाई अत्यन्त अमानविय तरिकाले प्रहरीले शारिरीक तथा मानसिक यातना दिने गथर््यो ।  बालटिनमा खुर्सानीको धुलो सहितको पानीको मिश्रण राखेर मण्डललाई उल्टो झुन्डयाई त्यो खुर्सानी सहितको पानीमा टाउको डुवाउने गर्थे । यसरी डुवाउँदै तान्दै गर्दा बाल्टीको पानी सकिए पछि उनलाई भुईमा सुताएर पैतालामा लाठी लिएर पिट्ने गर्थे । उक्त यातनाबाट मण्डल कतिपय दिनसम्म बेहोस रहने गर्थे । कुटपिटबाट शरीरमा उनको घाउहरु हुन्थ्यो । खाल्डो खनि खाल्डोमा किरा सहितको पानी राखेर मण्डललाई घण्टौसम्म उभ्याएर किराबाट टोक्न लगाउँथ्यो । यातना कसरी दिइन्थ्यो भन्ने कतिपय कुरा लेख्न पनि सकिन्न ।
त्यतिबेलाको प्रशासनले मण्डलमाथि राज्यद्रोह, हातहतियार तथा खरखजाना लगायत १४ वटा मुद्दाहरु लगाएका थिए । एउटा मुद्दामा ११ बर्षसम्म सजाय गरी कुल १४ वटा मुद्दामा कुल १ सय ५४ बर्षको कैद सजाय निर्धारण गरिएको थियो । जेलमा मण्डल रहेका बेला मण्डललाई गलाउन तथा प्रलोभनमा पार्न तत्कालिन शासकले भरपुर प्रयास पनि गरेको थियो । एक पटक उनलाई राजा महेन्द्रको संदेश पुर्याउनका लागि नक्कली गोली काण्ड गराई एक जना कैदीलाई मण्डल रहेको जेलमा पठाइयो । उक्त कैदीले मण्डललाई भन्ने गर्थे कि राजा विरेन्द्रले तपाईलाई पञ्चायत स्वीकार गरे, रामराजा प्रसाद सिंहलाई समेत कन्भिन्स गर्न सके जेलबाट मुक्ति दिनुका साथै मोटो रकम समेत प्रदान गरिने छ । तर, उनी दरबारबाट पठाइएको उक्त नक्कली कैदीको रुपमा रहेका दुतको प्रस्ताव मण्डलले ठाडै अस्विकार गरिदिए । २०४७ साल पछि पञ्चायत व्यवस्थाको अन्त भई बहुदल स्थापना भयो । नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारले ती राजनीतिक मुद्दाहरुमा फसाइएका तथा कैदी बन्दीहरुलाई रिह ागर्ने तथा आम माफी दिने निर्णय गरेपछि मण्डल पनि जेलबाट रिहा भए । रिहा भएर आएपछि उनको शिक्षकको पद यथावत थियो । कुम्हरौडामा पुनः पद स्थापना भएपछि उनी शिक्षण पेशामा फर्किए । त्यसपछि जनकपुरको ज्ञानकुपमा उनको सरुवा भयो । संकटमोचन माविमा पनि उनी शिक्षक भएर काम गरेका छन् ।
माओवादीले गरेको सशस्त्र विद्रोहका क्रममा ज्ञानकुप विद्यालयबाट मण्डललाई नेपाली सेनाले माओवादीको आरोपमा पक्राउ गरेको थियो । २०६० साल तिर विजया दशमीको घटस्थापनाका दिन माओवादी विद्रोही रहेको आरोपमा सादा पोशाकमा गएका नेपाली सेनाले तपाईसँग कुनै कुरा गर्नुछ भन्दै गिरफ्तार गरेका थिए । सिन्धुलीको भिमान स्थित व्यारेकमा उनलाई गिरफ्तार गरी राखिएको थियो । ६३ दिन पछि उनी रिहा भएका थिए ।
२०५१ साल तिर रामराजा प्रसाद सिंहले नेपाल जनवादी मोर्चा नामक दललाई निर्वाचन आयोगमा दर्ता गराई आम चुनावमा मोर्चा लड्यो । जनकपुरबाट रामराजा प्रसाद सिंह चुनाव लडेका थिए । तर, चुनावमा रामराजा संगसँगै एउटा पनि सिट मोर्चा जित्न सकेन । २०५३ साल तिर मण्डल लगायत जनवादी मोर्चाका कार्यकर्ताहरु एमालेको विरगञ्ज महाधिवेशनबाट एमालेमा प्रवेश गरेका थिए । एमालेको भातृ संगठन किसान संघमा सचिवालय सदस्य, एमालेको शिक्षक संगठनमा धनुषा अध्यक्ष तथा केन्द्रिय सदस्य हुँदै नेकपा एमालेमा उनी धनुषा अध्यक्ष समेत भएका थिए ।
२०६४ साल चैत्र २८ गते संविधानसभाको प्रथम चुनावमा एमालेको तर्फबाट धनुषा क्षेत्र नं. ३ बाट चुनाव लडे पनि विमलेन्द्र निधिबाट पराजित भएका थिए । उनी निकटतम प्रतिद्वन्दी भई दोस्रो स्थानमा रहेका थिए । पछि एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेर संविधानसभाको दोस्रो चुनावमा पुनः लडेपनि सोही क्षेत्रबाट उनी पुनः पराजित भएका थिए ।

२०७३ पौष १७ गते आईतबार

No comments:

Post a Comment