Monday, September 26, 2016

मधेसी मोर्चाको ‘यूटर्न र प्रतिशोध’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय मधेसी गठबन्धन धनुषाले आफुले गरेको गल्ती स्वीकार गर्नुभन्दा संघीय गठबन्धन धनुषा तथा मधेसी मोर्चाले मधेस आन्दोलन बाहेकका व्यक्तिहरुको मुद्दा फिर्ता लिन कुनै पनि सिफारिस नगरेको बताएको छ । ४ असोज २०७३ मा मोर्चा आवद्ध संघीय गठबन्धन धनुषाका संयोजक विरेन्द्र यादवको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल धनुषाको कार्यालयमा बसेको बैठकबाट सामाजिक संजाल तथा विभिन्न संचार माध्यमद्वारा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध संघीय गठबन्धनका जिल्ला अध्यक्षहरुको हस्ताक्षरित निर्णयबाट विभिन्न अभियोगमा मुद्दा लागि थुनामा रहेका व्यक्तिहरुको बारेमा सिफारिस गरेको समाचार प्रति मधेसी मोर्चाको ध्यानाकर्षण भएको भन्दै उक्त समाचार भ्रामक रहेको ठहर गरेको छ । उक्त भ्रामक समाचारको मोर्चाले खण्डन गर्नुका साथै यस्ता घटनाहरुमा कुनै किसिमको संलग्नता नरहेको तथा कुनै व्यक्ति विषेशले यस्ता घटनाको सिफारिस गरी मोर्चालाई बदनाम गरेकाले त्यसको भत्र्सना समेत गरेको मोर्चा तथा गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उक्त विज्ञप्तीको आधारमा मोर्चाले राम विनोद यादव तथा चनरदिप यादव समेत गरी ८ जनाको मुद्दा फिर्ताका लागि हस्ताक्षर नगरेको तथा तत्कालिन संघीय मधेसी गठबन्धनका संयोजक देवकृष्ण मण्डलले मात्र सिफारिस गरी मधेसी मोर्चालाई बदनाम गराएको मोर्चा तथा गठबन्धनको बैठकको विज्ञप्तीले बताउँछ । तर, यसरी मोर्चाका नेताहरुले हस्ताक्षर नै नगरी तथा सिफारिस नै नगरेको अवस्थामा ती ८ जना व्यक्तिको मुद्दालाई फिर्ता लिन आफु खुशी एक्लौटी ढंगले किन सिफारिस गरेको हो तथा द एक्सक्लुसिभमा प्रकाशित समाचार के झुठो थियो त  भन्ने सवालमा तत्कालिन गठबन्धनका अध्यक्ष तथा राष्टिूय मधेस समाजवादी पार्टी धनुषाका अध्यक्ष समेत रहेका देवकृष्ण मण्डल भन्छन,“ द एक्सक्लुसिभमा प्रकाशित भएको समाचार सतप्रतिशत सहि हो । मोर्चाको बैठकमै त्यतिबेला तराई मधेस सदभावना पार्टीका अध्यक्ष विरेन्द्र यादव, फोरम गणतान्त्रिकका अध्यक्ष प्रमोद यादवले माइनुटमा हस्ताक्षर गरेको, पछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष शेषनारायण यादव, सदभावनाका अध्यक्ष संजय सिंहले पनि माइनुटमा सिफारिसका लागि हस्ताक्षर गरेको हो । तमलोपाका अध्यक्ष परमेश्वर साह काठमाण्डौमा भएका कारण म सँग फोनमा भएको कुराकानीमा परमेश्वरले पनि काठमाण्डौमै माइनुटमा हस्ताक्षर गरिदिने प्रतिबद्धता जनाएको थियो । माइनुटमा हस्ताक्षर गरी सिफारिस फिर्ता लिन भन्नेहरु  अहिले कसरी इन्कार गरिरहेका छन्, झुठो बोलिरहेका छन् र मलाई मात्र बलिको बोका बनाउन खोजिरहेका छन् त्यो थाहा भएन । माइनुटको हस्ताक्षर यदि गलत हो भने त्यसको छानविन होस । गल्ती ठहरिए मैले राजनीतिक रुपमा बेहोर्नुपर्ने सजाय मैले भोग्नेछु नत्र भने अहिले यूटर्न भईरहेका मोर्चाका नेताहरुले कारवाही भोग्न तयार हुनुपर्छ ।”
संघीय गठबन्धनका संयोजक विरेन्द्र कुमार यादवको अध्यक्षतामा ४ असोजमा बसेको उक्त बैठकमा देवकृष्ण मण्डल अनुपस्थित थिए भने फोरमका अध्यक्ष शेषनारायण यादव, तमलोपाका अध्यक्ष परमेश्वर साह,  सदभावनाका उपाध्यक्ष रामचन्द्र चौधरी, फोरम गणतान्त्रिकका अध्यक्ष प्रमोद कुमार यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष सतिश लाल दास, राष्टिूय मुस्लिम संघर्ष गठबन्धनका धनुषाका अध्यक्ष इजराइल अहमद रिजिबी समेत उपस्थित थिए ।
जबकी २२ भदौ २०७३ मा तत्कालिन गठबन्धनका अध्यक्ष मण्डलको अध्यक्षतामा बसेको वैठकमा राम विनोद यादवको मुद्दा फिर्ता सिफारिसका निर्णयमा गरिएको हस्ताक्षरमा संयोजक मण्डलका साथै फोरमका अध्यक्ष शेषनारायण यादव, तमसपाका अध्यक्ष विरेन्द्र यादव, फोरम गणतान्त्रिकका अध्यक्ष प्रमोृद यादव, नेसपाका अध्यक्ष सतिश कुमार लाल दास र मुस्लिम गठबन्धनका अध्यक्ष इजराईल अहमदको हस्ताक्षर छ । अब मोर्चाका अन्य नेताहरुले भनेझैं सिफारिस गरेको होइन वा मण्डलले भनेझैं सबैले हस्ताक्षर गरेको हो त्यसको छानविन भई दोषी जोकोही ठहरिने हो त्यसलाई सम्बन्धित पार्टीले कारवाही गर्नुपर्दछ र अध्यक्षको पदबाट तत्कालै बर्खास्त गर्नुपर्ने स्थानीय वासीहरुको माग रहेको छ । १६ भदौमा चनरदिप यादव, प्रमोद पुर्वे, जोगेन्द्र महतो कोइरी, कल्याणी देवी यादव सहित ७ जना र २२ भदौमा राम विनोद यादवको मुद्दा फिर्ता लिन गठबन्धनका अध्यक्ष मण्डलले केन्द्रिय गठबन्धनलाई सिफारिस गरेको थियो । यद्यपि उक्त सिफारिस केन्द्रिय गठबन्धनद्वारा अस्वीकृत गरिएको छ ।
जिल्ला स्तरका मधेसी मोर्चाका नेताले गल्ती गर्नु कुनै नौलो कुरा किन पनि होइन भने प्रथम मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको हत्याका अभियूक्त माओवादी कार्यकर्ता सियाराम ठाकुरको मुद्दा फिर्ता लिनका लागि तत्कालिन प्रचण्ड नेतृत्वको सरकारमा रहेका फोरम अध्यक्ष उपेन्द्र यादव, विजय गच्छदार लगायतका मधेस आन्दोलनका कमाण्डरहरुले नै मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको बैठकमा हस्ताक्षर गरेका थिए ।
प्रतिसोधका कारण अस्पतालमा तालाबन्दी
४ असोजमा धनुषाका मोर्चा तथा गठबन्धनका नेताहरुको बैठकले गरेको अर्को निर्णयमा के पनि भनिएको छ भने मधेस विरोधी संविधानको देशैभरी विरोध भईरहँदा जनकपुर अञ्चल अस्पतालमा अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा.गोराङ्ग मिश्रले आफ्नो कार्यकक्ष तथा कार्यालयमा संविधानको समर्थनमा स्वागत तथा दिपावली मनाएकोले निजको कार्यकक्षमा मोर्चाले तालाबन्दी गरेको तथा जबसम्म मधेसी सहिद र मधेसी जनतासँग माफी मागिँदैन तबसम्म तालाबन्दी जारी रहनेछ । मेसु मिश्रका अनुसार नेपाल सरकारको निर्देशन अनुसार असोज ३ गते संविधान जारी भएको दिन आप्mनो कार्यकक्षमा मैले आधा घण्टा जति मैनबत्ती बालेको हो । तर, मोर्चाका नेताहरुले जिल्ला विकास समिति धनुषाले अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको निहुँमा बन्द गरेको हो । ३ गते करिब पौने ८ बजे रातिको समयमा मोर्चाले मेसुको कार्यकक्षमा तालाबन्दी गरी ४ गतेको बैठकबाट माफी नमागुनजेलसम्म तालाबन्दी जारी रहने निर्णय गरेको थियो । मेसु मिश्रका अनुसार आफुले ताला तोड्ला भनेर ५ गतेसम्म पर्खेको भएपनि अस्पताल जस्तो अत्यन्त आकस्मिक सेवा भएकाले निर्णय गर्न फाइलहरु कार्यकक्षमा रहेकाले ६ गते प्रशासनलाई भनेर ताला तोडाएको हो ।
बाहिरबाट झट्ट हेर्दा अस्पतालका मेसुले दिपावली मनाएकै कारण मोर्चा तथा गठबन्धनले तालाबन्दी गरेर ठिक गर्यो भन्ने देखिएपनि धनुषामा थुप्रै सरकारी कार्यालयहरुले संविधान दिवसको अवसर भनेर नेपाल सरकारको निर्देशन अनुसार दिपावली मनाएको थियो । त्यसो हो भने मोर्चाले सबै सरकारी कार्यालयहरुको कार्यालय प्रमुखको कार्यकक्षमा गएर तालाबन्दी गर्नुपर्ने थियो । तर, त्यसो गरिएन । अस्पतालमै मेसुको कार्यकक्षमा किन तालाबन्दी गरियो भने संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवकी श्रीमति प्रेमा ढकाल जनकपुर अञ्चल अस्पतालमा अस्पताल व्यवस्थापन समितिको तर्फबाट करारमा स्टाफ नर्सको रुपमा नियूक्त कर्मचारी हुन । अस्पताल स्रोतका अनुसार यादवकी श्रीमति ढकालको लापरवाहीका कारणले गत महिना एक जना विरामीको मृत्यु भएको थियो । र, सोही लापरवाहीलाई लिएर मेसु मिश्रले ढकालको १५ दिनको तलब कारवाही स्वरुप काटेको थियो र आइन्दा अब यस्तो लापरवाही वा कुनै पनि किसिमको लापरवाही दोहोरियो भने जागिरबाटै बर्खास्त गरिदिने प्रष्ट रुपमा मेसु मिश्रले  चेतावनी दिएको थियो । अस्पतालका प्रायः जसो कर्मचारीहरुलाई के लागिरहेको छ भने फोरम अध्यक्ष शेषनारायण यादवकै पहलमा उनले आफ्नो प्रतिसोध लिन तथा मेसु माथि दवाव बनाउन र आफ्नो श्रीमतिलाई आइन्दा कुनै पनि किसिमको कारवाही नगराउनका लागि मेसुको कार्यकक्षमा तालाबन्दी गरिएको हो ।


२०७३ आश्विन ०९ गते आईतबार

No comments:

Post a Comment