Monday, August 29, 2016

एकै दिनमा जनकपुर अञ्चलमा ११८ वटा बाटोहरुको अस्थायी परमिट


जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय र कार्यालय प्रमुख रामकाजी खनाल ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल यातायात व्यवस्थापन समितिले जनकपुर अञ्चल भरीका ६ वटा जिल्लाहरुका लागि छोटो तथा लामो दुरीको लागि रोड परमिट कायम गर्नुका साथै भाडा दर समेत निर्धारण गरेको छ । सडकको अवस्था अत्यन्तै जिर्ण रहेको भएपनि सडक कार्यालयका प्रतिनिधिहरुसँग सल्लाह नै नलिई अस्थायी रुपमा यात्रु वाहक सवारी साधन संचालन गर्नका लागि यातायात व्यवस्थापन समिति जनकपुरले एकै दिनमा धनुषा, महोत्तरी, सर्लाही, दोलखा, रामेछाप र सिन्धुली गरी ६ जिल्लाका कुल १ सय १८ वटा बाटोहरुमा इजाजत दिएको छ ।
८ भदौ २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकबाट उक्त निर्णय लिइएको हो । उक्त बैठकमा धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशी, यातायात व्यवसायीका तर्फबाट प्रतिनिधि मनोज चौधरी, यातायात मजदुरका तर्फबाट प्रतिनिधि राम नरेश सिंह, यातायात व्यवस्था कार्यालयका प्रमुख रामकाजी खनाल लगायतका सदस्यहरु तथा आमन्त्रित सदस्यका रुपमा अञ्चल प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाह, सशस्त्र प्रहरी उपरीक्षक उत्तम थनेत, नागरिक समाजका तर्फबाट प्रतिनिधि अमरचन्द्र अनिल, टूाफिक प्रहरी प्रमुख ज्ञानकुमार महतो र यातायात कार्यालयका नासु राम स्वार्थ महतो उपस्थित थिए ।
उक्त बैठकबाट धनुषा र महोत्तरी जिल्लाका लागि कुल २४ वटा बाटोहरुमा यात्रु बाहक दिवा सेवाका सवारी साधनलाई मात्र अस्थायी बाटो तथा भाडा कायम गरी बाटो इजाजत दिने र सो कुराको जानकारी यातायात व्यवस्था विभागमा पठाउने यस अघि नै ६ भदौमा गरिएको निर्णयलाई लागु गरिएको थियो ।
सिन्धुलीमा १२ वटा, सर्लाहीमा ११ वटा, दोलखामा ३६ वटा र रामेछापमा ३५  वटा अस्थायी बाटोको रुट कायम गरिएको जनकपुर अञ्चल यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख रामकाजी खनालले बताएका छन् । उनका अनुसार पहिले देखि नै ती बाटोहरुमा सवारी साधनहरु चलिरहेको र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले समेत रुट कायम गरी भाडा समेत निर्धारण गरिदिन पटक पटक अनुरोध गरिरहेको आधारमा निर्णय गरिएको हो ।
पहिले देखि नै ती बाटोहरुमा यात्रु बाहक सवारी साधन चलिरहेको, दुर्घटना भए विमाको रकम समेत नपाउने, कारवाहीमा समेत पर्ने कुरा राष्टिूय स्तरमा नै उठेपछि प्रत्येक जिल्लाका प्रजिअहरुले रुट परमिट दिनु पर्यो, नयाँ बाटो मागेको होइन पहिले देखि नै चलिरहेको बाटोको मात्र रुट कायम गरिदिन भनेपछि यातायात व्यवस्था समितिले अस्थायी अर्थात कम्तिमा पनि ६ महिनाको लागि रुट परमिट दिइएको खनालले बताएका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १५४ अनुसार जुन जिल्लामा यातायात व्यवस्था कार्यालय रहन्छन् त्यहाँका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने यातायात व्यवस्था समितिले रुट परमिट कायम गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी यातायात व्यवस्था विभाग एवम कार्यालयहरुबाट सम्पन्न गरिने कार्यहरुको कार्यविधि निर्देशिका २०६० अनुसार, विभागबाट स्थायी रुपमा बाटो तथा भाडा कायम नभएका नयाँ बाटोहरुमा बाटो इजाजत पत्र दिनुपरेमा सम्बन्धित सडक कार्यालयको परामर्श लिई यातायात व्यवस्थापन समितिबाट अस्थायी बाटो तथा भाडा कायम गराई बाटो इजाजत पत्र दिन सकिने छ, यसरी दिइएको बाटो इजाजत पत्रको जानकारी विभागमा समेत दिनुपर्ने छ भनेर प्रष्ट रुपमा व्यवस्था गरिएकोले ती रुटहरुमा परमिट कायम भएको खनालले बताएका छन् । सम्बन्धित सडक कार्यालयबाट परामर्श लिनुपर्ने व्यवस्था हुँदा हुँदै किन परामर्श नलिईएको भन्ने सवालमा आवश्यक नभएको खनालले जवाफ दिए ।
भाडा दर निर्धारणको सवालमा पहाडी जिल्लाहरु दोलखा, रामेछाप र सिन्धुलीका लागि २५ किलोमिटर भित्र रु. २.५० प्रति व्यक्ति प्रति किलोमिटर, २५ किलोमिटर देखि २५० किलोमिटरका लागि रु.२ प्रति व्यक्ति प्रति किलोमिटर निर्धारण गरिएको हो । त्यसैगरी तराईका जिल्लाहरु धनुषा, महोत्तरी र सर्लाहीका लागि २५ किलोमिटर भित्र रु. २.२५ प्रति व्यक्ति प्रति किलोमिटर, २५ किलोमिटर देखि २५० किलोमिटरका लागि रु.१.८३ प्रति व्यक्ति प्रति किलोमिटर निर्धारण गरिएको हो ।
२५÷३० बर्ष पछि जनकपुर अञ्चलमा अस्थायी रुट परमिट कायम गरिएको हो । यातायात प्रमुख खनाल १० भदौ २०७३ मा अवकाश प्राप्त गरेका छन् । जाँदा जाँदै उनले गरेको उक्त निर्णयलाई जानकारहरु अर्थपुर्ण रुपमा लिएका छन् ।


धनुषा, महोत्तरी र सर्लाही जिल्लाका लागि निर्धारण गरिएको रुटहरु
१. जनकपुर–सरावे–महिनाथपुर–सघारा
२. जनकपुर–सरावे– खजुरी
३. जनकपुर– ढल्केवर–विरेन्द्र बजार–सबैला–भटिहन
४. जनकपुर–पुलचौक–यदुकुहा
५. जनकपुर–पुलचौक–पर्साही
६. जनकपुर–भिठ्ठामोड–सम्सी–खैरबन्नी–रौजा
७. जनकपुर–भमरपुरा–बलवा
८. जनकपुर– सिंग्याही–लोहारपट्टी
९. जनकपुर–सितापुर–भंगहा–कार्तिक कुवर
१०. सुन्दरपुर–फुलकाहा– जनकपुर
११. कान्तिबजार–मगरथाना–खैरबन्नी–जनकपुर
१२ सुन्दरपुर– बर्दिवास– जलेश्वर
१३. जनकपुर– बाँके– संग्रामपुर
१४. लोहना–भररिया–जनकपुर
१५ जनकपुर–विजलपुरा
१६ जनकपुर–जटही–तुल्सीयाही–फुलगामा
१७ जनकपुर–फुलजोर–बैलवास– मलंगवा
१८ जनकपुर– बर्दिवास–पशुपतिनगर
१९ जनकपुर –नयाँ रोड– सोल्टी– काँडेना–गडहिया–डुमरिया–बलरा छतौना
२० जनकपुर –बैलवास–नाढी– मलंगवा
२१ संग्रामपुर–मलंगवा
२२ जनकपुर–लहान–कल्याणपुर–बोघेवर्षाई
२३ जनकपुर–गौशाला–सम्सी
२४ जनकपुर–बाँके–श्रीनगर–हरकठवा–मलंगवा





२०७३ भाद्र १२ गते आईतबार

No comments:

Post a Comment