Monday, August 29, 2016

वढी महसुल बाँकी रहेका ग्राहकहरुको विजुलीको लाइन काट्दै जनकपुर प्राधिकरण

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

नेपाल विद्युत प्राधिकरण वितरण शाखा कार्यालय जनकपुरले विजुली उपभोग गर्ने तर महसुल नतिर्ने ग्राहकहरुको विजुलीको लाइन काट्ने अभियान चलाएको छ । धेरै महसुल बाँकी बक्यौता राखेका ग्राहकहरुको विजुलीको कनेक्शन नै काट्न सुरु गरेको अभियानलाई प्राधिकरणले निरन्तर अगाडी वढाउने बताएको छ ।
६ भदौ २०७३ मा प्राधिकरणका खटिएको कर्मचारीहरुको टोलीले सडक डिभिजन कार्यालय, जनकपुर नगरपालिका कार्यालयको अतिथि सदन, लक्ष्मण मन्दिर, राम जानकी विवाह मण्डप, म्याक प्लास्टिक उद्योग जनकपुर, जानकी मन्दिर र जनकपुर अञ्चल अस्पतालको विद्युत लाइन काटेको थियो । नगरपालिकाको अतिथि सदनको ४ लाख २२ हजार ४ सय ९७ रुपैयाँ, सडक डिभिजन कार्यालयको २ लाख ६९ हजार ४ सय रुपैयाँ, लक्ष्मण मन्दिरको ३ लाख ७२ हजार ७ सय ३ रुपैयाँ, राम जानकी विवाह मण्डपको ७ लाख १५ हजार ३ सय १३ रुपैयाँ, जिवनाथ चौधरी संचालक रहेका म्याक प्लास्टिक उद्योग जनकपुरको ५ लाख ७३ हजार ३ सय ४६ रुपैयाँ, जानकी मन्दिरको ५८ लाख र जनकपुर अञ्चल अस्पतालको ६ लाख ९० हजार रुपैयाँ विद्युत महसुल बाँकी बक्यौता रहेको र १ महिना अगाडी नै विजुली महसुल नबुझाए कुनै पनि समयमा काटिने भन्ने सूचना दिएपनि अटेर गरेकाले तिनीहरुको विद्युतको लाइन काटिएको प्राधिकरण वितरण केन्द्र जनकपुरका प्रमुख जितेन्द्र झाले बताएका छन् । उनका अनुसार सम्बेदनशिल ठाउँहरु जस्तै सरकारी कार्यालय, अस्पताल, मन्दिर, संचारगृहहरुमा यस अघि नै ७ दिन भित्रमा महसुल नबुझाए आठौं दिनमा लाइन काटिने पत्र नै पत्राचार गरिएको थियो ।
विद्युतको लाइन काटिएपछि जनकपुर अञ्चल अस्पतालले २५ लाख रुपैयाँ महसुल बुझाएका थिए । त्यसपछि अस्पतालको लाइन पुनः जडान गरिएको थियो । त्यसैगरी जानकी मन्दिरको पनि विजुली जडान गरिएको छ । जानकी मन्दिरले महसुल नै नबुझाएर पनि लाइन किन जडान गरिएको हो भन्ने सवालमा वितरण केन्द्रका प्रमुख झा भन्छन,“जिल्ला प्रशासन कार्यालय धनुषाको प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको कार्यकक्षमा जानकी मन्दिरका महन्थ र म समेत भई बसेको संयूक्त बैठकबाट विद्युतको महसुल जानकी मन्दिरले कसरी बुझाउने भन्ने बारे ठोस निर्णय हुने र सोही निर्णय बमोजिम कारवाही हुने अघोषित निर्णय भएकाले लाइन जडान गरिएको हो । जानकी मन्दिरले गुठी संस्थानको रैकरको कर बापत करोडौं रुपैयाँ गुठी संस्थान माथि बाँकी रहेको हुनाले गुठीले रकम दिए तत्कालै महसुल बुझाउने भनेर निवेदन दिएपछि बैठक बसेको थियो । गुठी संस्थानका प्रमुख जिल्ला भन्दा बाहिर रहेकाले ठोस निर्णय निस्कन सकेन ।” विगत ३३ महिना देखिको विद्युत महसुल जानकी मन्दिरले बाँकी राखेको छ । जानकी मन्दिरको लाइन जडान गरिएपनि सोही मन्दिरको मातहतमा रहेको रामजानकी विवाह मण्डप र लक्ष्मण मन्दिरको लाइन जडान गरिएको छैन ।
त्यसैगरी ७ भदौमा प्राधिकरणबाट खटेको कर्मचारीहरुको टोलीले ६ लाख ३९ हजार बाँकी रहेको जनकपुर नर्सिङ क्याम्पस, २ लाख ४२ हजार बाँकी रहेको समाज उत्थान क्लब सामुदायिक संस्था सुगा निकास, ८ लाख ५० हजार बाँकी रहेको दुर्गा यूवा क्लव हंशपुर मलहनियाको पनि विद्युत लाइन काटेको छ । लाइन काटेकाहरु मध्ये दुर्गा यूवा क्लवले ४ लाख रुपैयाँ विद्युत महसुल तिरेपछि पुनः लाइन जडान गरिएको छ ।
वितरण केन्द्र जनकपुरले दिएको जानकारी अनुसार कुल ३४ करोड रुपैयाँ विद्युत महसुल बाँकी बक्यौता रहेको छ । जसमध्ये सरकारी कार्यालयहरु माथि १ करोड ३ लाख, सडक बत्ती बापत १० करोड, सिंचाई बापत १० लाख, खानेपानी बापत २४ लाख, विभिन्न मन्दिरहरुमा ६० लाख, विभिन्न सामुदायिक संस्थाहरुमा ७२ लाख रकम बाँकी रहेको छ । त्यसैगरी गार्हस्थ तर्फ कुल १७ करोड ३१ लाख, कमर्शियल तर्फ कुल ५१ लाख ३२ हजार र उद्योगिकत र्फ ३ करोड ४२ लाख रुपैयाँ विद्युत महसुल बाँकी रहेको छ । सडक बत्ती बापतको रकम स्थानीय विकास मन्त्रालयले भुक्तानी गर्नुपर्ने हुन्छ । जनकपुर उपमहानगरपालिका सँगै २६ वटा गाविसहरुको सडक बत्ती अन्तरगतको विद्युत महसुल बाँकी छ ।
वितरण केन्द्रका प्रमुख झाका अनुसार विद्युत लाइन काटिने काम भनेको निरन्तर र नियमित प्रक्रिया भएकाले अहिले ठुलो रकम बाँकी रहेका ग्राहकहरुको लाइन काट्ने अभियान जारी रहने छ ।
जनकपुर विद्युत प्राधिकरणको अवस्था
जनकपुर वितरण केन्द्रले धनुषा जिल्लाको कुल ७० वटा गाविस, धनुषाधाम नगरपालिका र जनकपुर उपमहानगरपालिकालाई विद्युत प्रदान गर्दै आएको छ । जसमध्ये ५८ वटा गाविसहरुमा पुर्ण रुपले विद्युत प्रदान गरिएको छ भने ५ गाविसमा आंशिक रुपले दिइएको छ । अचम्म के छ भने धनुषाको लक्कर, पतनुका, इनर्वा लगायतका ५ वटा गाविसहरुमा हालसम्म पनि विद्युत आपुर्ति गरिएको छैन । अहिलेको एक्काइसौं सताव्दीमा पनि ती गाविसहरु विद्युतको उज्जयालोबाट बञ्चित भएका छन् भने परम्परागत रुपले टुकी र दियोकै भरमा उज्यालो पाइरहेका छन् ।
उक्त वितरण केन्द्रले ६५ हजार ८ सय ५० ग्राहस्थ ग्राहक, २ सय १५ विना ग्राहक, २ सय ३४ कर्मसियल ग्राहक र १ हजार १ सय ६ औद्योगिक ग्राहकसँगै अन्य ८ सय २७ गरी कुल ६८ हजार २ सय ३२ ग्राहक रहेका छन् । जसमध्ये पछिल्लो आर्थिक बर्ष २०७२÷०७३ मा १ हजार १ सय ३० ग्राहक नयाँ थपिएका छन् ।
कतिपय ग्राहकहरुले नियमित रुपमा भुक्तानी गरिरहेका छन् भने कतिपयले भुक्तानी नगरी बसिरहने प्रवृति पनि बढेको पाइन्छ । उक्त आर्थिक बर्षमा प्राधिकरणले बाँकी बक्यौता रकम धेरै भएर भुक्तानी नगरिरहेका कारण ४ सय ५ वटा ग्राहकको घरमा लाइन काटेको थियो । लाइन काटिएका ग्राहकहरुबाट ३ करोड ७ लाख ५२ हजार ७ सय ३४ रुपैयाँ असुल हुनुपर्नेमा ४२ लाख ९३ हजार रुपैयाँ संकलन गरिएको थियो । लाइन काटिएका ४ सय ५ जना ग्राहकहरु मध्ये १ सय ३१ जनाले रुपैयाँ बुझाएर पुनः लाइन जोडाएका थिए । त्यसैगरी लाइन काटेको ६ महिना पछि पनि ग्राहकले रकम भुक्तानी नगर्नेलाई कालोपाटी ग्राहकको सूचिमा राखेको छ । यसरी जम्मा ३ सय ६८ जना कालोपाटी संख्या रहेका ग्राहकहरुबाट प्राधिकरणले २ करोड ७७ लाख ४४ हजार रुपैयाँ असुल गर्नुपर्नेमा ५ वटा कालोपाटी ग्राहकले ८४ हजार २ सय ५२ रुपैयाँ बुझाएको पाइन्छ ।
चुहावट नियन्त्रण अभियान पनि सँगै
साउन २०७२ देखि ३० अषाढ २०७३ सम्म जनकपुर वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि प्राधिकरणका कर्मचारी र सुरक्षा निकाय सहितको संयूक्त टोली नै गठन गरी जिल्लामा अनुगमन गरी कारवाही चलाएको पाइन्छ । आर्थिक बर्ष २०७२÷०७३ मा डाइरेक्ट हुकिङ गरी विद्युत चोरी गरिरहेको आरोपमा ३७ जनालाई कारवाही गरी मुल्याङ्कन गरिएको यूनिट अनुसार १ लाख ६४ हजार ९ सय १३ रुपैयाँ राजश्व असुल गरिएको छ । ती व्यक्तिहरु नेपाल विद्युत प्राधिकरणको ग्राहक नभई, मिटर जडान नगरी हुकिङ मार्फत विद्युत चोरी गरिरहेका थिए ।
त्यसैगरी प्राधिकरणको नियमित ग्राहक भएर पनि जानी जानी मिटर जलाई टेस्टरिड सिल नभएको तथा मिटरको टर्मिनल क्वाइन्टबाट डाइरेक्ट गरी फेला परेका ४६ जना ग्राहकहरुलाई उक्त टोलीले कारवाही गरी ३ लाख ५७ हजार २ सय २५ रुपैयाँ जरिवाना असुल गरिएको छ । प्राधिकरणका अनुसार ३ हजार ५ सय हुकिङ नियन्त्रण गरिनुका साथै कारवाहीमा परेकाहरुबाट कुल ७ लाख २७ हजार ९ सय ७८ रुपैयाँ राजश्व असुल गरिएको छ । चुहावट कारवाहीबाट उठ्नुपर्ने रकम ११ लाख मध्ये त्यति मात्र उठेको हो ।
विद्युत चुहावट नियन्त्रण फाँट इन्चार्ज जगदिश साहका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकासँग जोडिएका गाउँहरु लोहना, भोइल, बहुअर्वा, महुवा कपिलेश्वर, मानसिंहपट्टि मनहरपुर, बेलौनी, तारापट्टी सिरसिया, बघचौरा, कुर्था, बसविट्टी, कजरारमौल, फुलगामा, बसहिया, जटही, आदि गाउँहरुका साथ साथै जनकपुर उपमहानगरपालिकाको नगरभित्र पुल चौक, पिडारी चौक, मुसहरीटोल, रामानन्द चौक, जिरोमाइल एरिया, माछा बजार, कुवारामपुर आदि ठाउँहरुमा संयूक्त अनुगमन टोलीले विद्युत चोरी गरिरहेका व्यक्तिहरुलाई पक्राउ गरी कारवाही गरेको थियो । मान्छे पक्राउ परेपछि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेकै बेला जरिवाना तिर्न तिनका मान्छेहरु आउने गरेकोले एक दिन पनि तिनीहरुलाई थुनामा नराखिएको भन्दै वितरण केन्द्र जनकपुरको मुद्दा फाँटका इन्चार्ज जगदिश साह भन्छन, “ समातिएको मान्छेबाट न्यूनतम ३ हजार रुपैयाँ र बरामद भएको सामानको हकमा हर्ष पावर अनुसार यूनिटमा मुल्याङ्कन गरी जरिवाना असुल गरिएको हो ।”
पटक पटक फाँटबाट रिसिलिङ कार्यक्रम गर्दा त्यस अवधिमा बाकस टर्मिनल सिल काटी टर्मिनल प्वाइन्टबाट डाइरेक्ट गरी घरको लोड साइडमा जोडी विद्युत चोरी गरिरहेको, कतिपय व्यक्तिले प्राधिकरणबाट मिटर नलिइकन घरमा बाकस ठोकी बाकस लगाई सर्भिस केवल तारबाट लाइन सप्लाई गरी विद्युत चोरी गर्ने गरेको फेला परेको कर्मचारीहरु बताउँछन् । बाहिरबाट हेर्दा मान्छेले प्राधिकरणबाट मिटर लिएको जस्तो लाग्ने तर बास्तवमा भने प्राधिकरणबाट मिटर नलिई मान्छेलाई झुक्याउन आफै मिटर जडान गरेको पाइएको थियो । त्यसैगरी बाकस सिल गरी स्वीकृत क्षमता भन्दा वढी एमसिबी लगाई डिमाण्ड चुहावट गर्ने गरेको समेत रिसिलिङका क्रममा पाइएको जगदिश साह बताउँछन् । जस्तै, ५ एम्पियरको स्वीकृति लिएको अवस्थामा ८० रुपैयाँ न्यूनतम शुल्कमा २० यूनिट मिनहा, १५ एम्पियरमा न्यूनतम शुल्क ३ सय ६५ रुपैयाँ र ५० यूनिट मिनहा, ३० एम्पियरमा ७ सय ९५ रुपैयाँ न्यूनतम शुल्क र १ सय यूनिट मिनहा हुने गर्छ । तर, कतिपय व्यक्तिहरुले ५ एम्पियरको स्वीकृति लिएको भएपनि प्राधिकरणलाई जानकारी नै नदिई ३० एम्पियर सम्मको एमसिबी जडान गर्ने गरेको पाइएको छ ।

२०७३ भाद्र १२ गते आईतबार

No comments:

Post a Comment