Sunday, June 12, 2016

बहेडाबेलाका तत्कालिन गाविस अध्यक्ष भोला यादवको हत्याको आरोपमा राम लक्षणलाई सफाई

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२५ जेष्ठ २०५९ मा धनुषा बहेडाबेला तत्कालिन गाविस अध्यक्ष तथा राष्टिूय प्रजातन्त्र पार्टी समर्थक ५५ बर्षिय भोला यादवको हत्या गरेको अभियोगमा राम लक्षण यादवलाई धनुषा जिल्ला अदालतले सफाई दिएको छ । धनुषा प्रहरीले राम लक्षणलाई पक्राउ गरी थुनछेक मुद्दाका लागि अदालतमा उपस्थित गराउँदा अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासले २७ जेष्ठ २०७३ मा उक्त मुद्दामा सफाई दिएको हो ।

भोला यादवको हत्यामा भएका कुराहरु
२५ जेष्ठ २०५९ मा राति सवा ९ बजेको समयमा भोला यादवलाई आफ्नै घर देखि अन्दाजी २० मिटर दक्षिणमा रहेको बाटोको छेउको खाली जमिन खरियानमा खाट माथि बसिरहेको अवस्थामा १०÷१२ जना व्यक्तिहरु आई गोली मारी भाग्दै गर्दाको अवस्थामा माओवाद जिन्दावाद जस्ता नाराहरु लगाउँदै भागेको भनि स्थानीय जनताले खबर गरेपछि इलाका प्रहरी कार्यालय फुलगामाबाट अन्दाजी साढे १० बजेको समयमा जिल्ला प्रहरीमा खबर भएपछि प्रहरी नायव उपरीक्षक माधव प्रसाद जोशी समेतको टोली घटना स्थलमा खटेको थियो । बारदात गर्ने अपराधिहरु गाउँ देखि उत्तर तर्फ भागी गएको भनिए बुझिएपछि अपराधिहरु खोजतलास गर्दा कोही पनि फेला नपरेको निजहरुको खोजतलास जारी रहेको, २६ गते विहान मृतक भोला यादवको लाश जाँच तथा घटना स्थल मुचुल्का समेतको कार्य पुरा गरी लाश पोस्टमार्टम गरी जनकपुर अञ्चल अस्पतालमा पुर्याई भन्दै २६ जेष्ठ २०५९ मा जिल्ला प्रहरी कार्यालयमा प्रहरी संचार गरेको देखिन्छ । २६ जेष्ठमै डिएसपी माधव प्रसाद जोशीले इलाका प्रहरी कार्यालय फुलगामाका प्रहरी नायव निरीक्षक तपेश्वर राय यादवलाई अपराधिहरु पत्ता लाग्यो लागेन, उक्त घटना वारदात सम्बन्धमा विस्तृत विवरणको लागि अबिलम्ब प्रतिवेदन निर्देशन गरिएको पाइन्छ । २७ जेष्ठमा प्रनानी तपेश्वर राय यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा पेश गरेको प्रतिवेदनमा बहेडाबेला गाविस वार्ड नम्बर ५ बस्ने तत्कालिन गाविस अध्यक्ष भोला यादव आफ्नो नावालक नाती समेत सँगै खाटमा बसेको समयमा १०÷१२ जना अज्ञात व्यक्तिहरु कोही लुङ्गी लगाएको कोही हाफ कट्टु समेत लगाएको अवस्थामा आई भोला यादवलाई गोली प्रहार गरी मारी पछि माओवादी जिन्दावादको नारा लगाउँदै उत्तर तर्फ भागी गएको बारदात हुँदा जेनरेटरको बत्ती बलिरहेको कारण गोली प्रहार गर्ने व्यक्तिहरुलाई गाउँका मानिसहरुले प्रष्ट रुपमा देखेको को कहाँका थिए भनि कोही कसैले कोही कसैलाई चिन्न नसकेको, के कुन कारणबाट उक्त घटना को कसले घटाएको भन्ने खुलन नसकेको, अपराधिहरुको पत्ता लगाउने एवम खोजतलास र अनुसन्धानको कार्य जारी रहेको उल्लेख गरेको पाइन्छ ।

२९ जेष्ठमा जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त घटनाको अनुसन्धान गर्नका लागि प्रहरी उपरीक्षक विश्व जवराले प्रहरी नायव उपरीक्षक माधव प्रसाद जोशीलाई अनुसन्धान अधिकृतको रुपमा तोकेको पाइन्छ । २९ जेष्ठ २०५९ मा  भोला यादवका छोरा अशोक कुमार यादवले जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी सहित जाहिर दरखास्त गराएको पाइन्छ । उक्त जाहेरीमा बहेडाबेला ५ लक्ष्मीपुर टोल बस्ने ४० बर्षिय रुदल यादव, राम सरोज यादव (कांग्रेस धनुषाका हालका सभापति तथा पुर्व सांसद), राम बाबु यादव, झपसी भन्ने जयनारायण सुडी,छोटे भन्ने रविन्द्र यादव, राम लक्षण यादव, छोटे यादव भन्ने छोटेन्द्र यादव, जुगेश्वर यादव, अंगद यादव, रामवृक्ष मण्डल सहितलाई विपक्षी बनाई जाहेरी दिएको पाइन्छ । राजनीतिक रुपमा राम सरोज यादव मुख्य रुपमा विपक्षी रहेको तथा राम सरोज यादव र रुदल यादवले आ आफ्नो हातमा लिएको थ्रिनटा जस्तो देखिने कटुवा बन्दुक तथा सिक्सर जस्तो देखिने पेस्तोलले मेरो पितालाई मुखमा छातीमा, पाखुरामा, पेटमा, तिघ्रामा लगायत अन्य भागमा गोली हान्न थाले, अन्य विपक्षीहरु त्यहाँ बसेका उपर ताकी ति बन्दुकहरु देखाई बसेको ठाउँबाट यताउती भाग्ने वा हल्ला गर्ने कोशिशमा ज्यान मारिदिने भनि धम्की दिएको उक्त जाहेरीमा उल्लेख छ । विपक्षीहरुको मुख्य रुपमा रहेको राजनीतिक प्रतिद्धन्दी तथा निजहरुसँग रहेको विभिन्न मुद्दा मामिलाका कारण संकटकाल र माओवादी आतंकबाट लाभ लिने उद्देश्यले मौका छोपी मेरो पितालाई गोली हानी हत्या गरेकोले विपक्षीहरुलाई पक्राउ गरी हदैसम्म दण्ड सजाय गरी पाऊ भनि मृतक भोला यादवका छोरा अशोक यादवले गरेको जाहेरीमा उल्लेख छ ।

५ अषाढ २०५९ मा जिल्ला प्रहरी कार्यालय धनुषाले केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशाला महाराजगञ्ज काठमाण्डौलाई घटना स्थलमा फेला परेको खोका कस्तो हतियारबाट फायर भएको खोका हो, उक्त गोली कस्तो हतियारमा लाग्ने गोलीको खोका हो, मृतकको शरीरबाट निकालिएको गोली तथा घटना स्थलमा निकालिएको खोका समेत एउटै हतियारमा लाग्ने गोलीको खोका तथा गोली हो वा होइन, मृतकको शरीरबाट निकालिएको गोली घटना स्थलमा फेलागरेको खोका बाटै फायर गरेको गोली हो वा होइन भनि परीक्षणका लागि पठाएको पाइन्छ । ७ साउन २०५९ मा केन्द्रिय प्रहरी बैज्ञानिक प्रयोगशालाले परीक्षण प्रतिवेदन पठाएको पाइन्छ ।  २४ माघ २०५९ मा उक्त घटनाका अभियूक्त धनुषा बहेडाबेलाका रुदल यादवलाई प्रहरीले पक्राउ गरेको पाइन्छ । २९ माघ २०५९ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायधिवक्ता राधा कृष्ण उप्रेती समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक मोहन कुमार शेर्पाले रुदल यादवसँग गरेको बयानमा रुदलले आफु घटनामा संलग्न नरहेको बयान गरेको पाइन्छ । महेन्द्रनगरमा पनि आफ्नो घर भएको र घटना भएका दिन गाउँका मानिसहरुले फोन गरेर जानकारी दिएको भनि बयान गरेको पाइन्छ । १ फागुन २०५९ मा राम सरोज यादव, रामबाबु यादव, रविन्द्र यादव, राम लक्षण यादव, छोटेन्द्र यादव, जुगेश्वर यादव र अंगद यादवलाई उक्त घटनाका अनुसन्धानका शिलशिलामा पक्राउ गरी दाखिला गर्न भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले इलाका प्रहरी कार्यालय फुलगामालाई निर्देशन दिएको पाइन्छ । त्यसैगरी जलेश्वर कारागारमा थुनामा रहेका झपसी भन्ने जयनारायण महतोलाई अनुसन्धानका लागि उपस्थित गराई दिन भन्दै धनुषा प्रहरीले जलेश्वर कारागारलाई पत्राचार गरेको पाइन्छ । घटना भएको दिन आफु महोत्तरी जिल्लाको आवर बदोहा भन्ने ठाउँमा रहेको र भोली पल्ट जनकपुर आउँदा गाउँका मानिसहरुले माओवादीहरुले भोला यादवलाई मारेको भनी गाउँका मानिसले जानकारी दिएको प्रहरी समक्ष उनले बयान गरेका छन् । मृतक भोला यादव र आफु पहिले एउटै पार्टीका मानिस भई भोला यादवसँग आफ्नो राम्रो सम्बन्ध रहेको पछि कांग्रेस पार्टीमा म आएँ र भोला यादव राप्रपामा बसेपनि कुनै किसिमको रिसइवी नरहेको भन्दै बयान गरेपछि झपसी यादवलाई ४ फागुन २०५९ मा कारागारमा फिर्ता पठाएको पाइन्छ ।

 १२ फागुन २०५९ मा फरार रहेका अभियूक्तहरु हालसम्म फेला नपरेको तथा फेला पर्ना साथ उपस्थित गराउने भन्दै इलाका प्रहरी कार्यालय फुलगामालाई जिल्ला प्रहरी कार्यालयलाई जवाफ दिएको पाइन्छ । १८ फागुन २०५९ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायधिवक्ता शंकर बहादुर रायले राम सरोज यादव समेत गरी १० जना विरुद्ध मुद्दा दर्ता गराएको पाइन्छ । २० फागुन २०५९ मा धनुषा जिल्ला अदालतको न्यायाधीश नारायण प्रसाद दाहालको इजलासले प्रतिवादी जयनारायण महतो र रुदल यादवलाई थुनछेक मुद्दाको प्रयोजनमा मुद्दा पर्पक्षका लागि थुनामा राखिनु भनि आदेश गरेको पाइन्छ ।

१९ चैत्र २०५९ मा जयनारायण महतो र रुदल यादवले धनुषा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदन अदालत जनकपुरमा मुद्दा पुनरावलोकनका लागि निवेदन दर्ता गरेको पाइन्छ । यता ६ साउन २०६० मा राम सरोज यादव समेत ८ जनाको नाउँमा वारेन्ट सहितको म्यादी पुर्जी धनुषा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय धनुषालाई दिएको पाइन्छ । १२ साउन २०६० मा धनुषा प्रहरीले प्रतिवादी अंगद यादवलाई पक्राउ गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराएको पाइन्छ ।  १३ अषाढ २०६१ मा उक्त घटनाका फरार रहेका प्रतिवादीहरु मध्ये बहेडाबेला १ का ४० बर्षिय जुगेश्वर यादवलाई धनुषा प्रहरीले पक्राउ गरी धनुषा जिल्ला अदालतमा उपस्थिति गराएको पाइन्छ । १५ अषाढ २०६१ मा धनुषा जिल्ला अदालतका न्यायाधीश एकराज आचार्यको इजलाशबाट प्रतिवादी जुगेश्वर यादवलाई मुद्दा पुर्पक्षको लागि जलेश्वर कारागारमा थुनामा पठाईदिनु आदेश गरेको पाइन्छ ।

 १८ मंसिर २०६१ मा पुनरावेदन अदालत जनकपुरले प्रतिवादी अंगद यादवलाई थुनामा राख्न भनि जिल्ला अदालतले गरेको आदेशलाई सदर गरेको पाइन्छ । ८ अषाढ २०६२ मा फरार रहेको प्रतिवादी मध्येका धनुषा बहेडाबेला छोटे भन्ने छोटेन्द्र यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गराइएकोमा ३० जेष्ठ २०६२ मा प्रतिवादीहरु राम सरोज यादव, राम बाबु यादव, छोटे भन्ने रविन्द्र यादव, राम लक्षण यादव, छोटे यादव भन्ने छोटेन्द्र यादव, विमल भन्ने रामवृक्ष यादव समेतले सुरु म्याद गुजारी हाजिर नभई फरार रहेको देखिँदा निजहरुको कानुन बमोजिम अंश रोक्का गरी नियमानुसार गरी पेश गर्नु भनि धनुषा जिल्ला अदालतले आदेश गरेको पाइन्छ । ९ अषाढ २०६२ मा छोटे यादव भन्ने छोटेन्द्र यादवलाई मुद्दा पुर्पक्षको क्रममा जलेश्वर कारागारमा थुनामा राख्नु भनि धनुषा जिल्ला अदालतले आदेश गरेको पाइन्छ । १७ भादौ २०६२ मा प्रतिवादीहरु मध्येका धनुषा बहेडाबेला ७ का राम सरोज यादव अदालतमा उपस्थित गराई पाउ भनि निवेदन दिएको पाइन्छ । अदालतमा राम सरोजले गरेको बयान कागजमा घटना बारदातका दिन आफु जनकपुर नगरपालिका वडा नम्बर १२ मा पार्टीको साथीहरु भेला भई वार्डको विषयमा छलफल गर्न साँझ ७ बजे गई मोहन साहकै घरमा खाना खाएर रातको साढे ९ बजे तिर आफ्नो घर जनकपुर नगरपालिका वडा नम्बर १२ मा आएको राम सरोज यादवले बयान दिएका छन् । घटना भएको दिन विहान घरमा खाएर त्यसपछि नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यालयमा दिनभरी बसी साँझ ५ बजे तिर पार्टी कार्यालयबाट घर गएको बयान गरेको पाइन्छ । राजनीतिक कारणले आफुलाई पोल गरी जाहेरी दिएको र उक्त जाहेरी झुठो रहेको बताउँदै मृतक भोला यादव राप्रपासँग सम्बन्धित भएपनि आफुहरु बीच कुनै रिसिभि नरहेको तथा कागज गर्ने मानिसहरु भोला यादवका मानिसहरु रहेकाले कागज गरेको हुन सक्ने राम सरोजले बयान गरेको पाइन्छ । राजनीतिक कार्यक्रममा वयस्त भएर समयको अभावले गर्दा हाजिर हुन नसकेको उनले बयान गरेको पाइन्छ । 

१७ भदौ २०६२ मा धनुषा जिल्ला अदालतले राम सरोज यादवलाई तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको पाइन्छ । ५ असोज २०६२ मा पुनरावेदन सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता नारायण प्रसाद श्रेष्ठले राम सरोज यादवलाई साधारण तारेखमा राख्ने गरी धनुषा जिल्ला अदालतद्वारा आदेश त्रुटिपुर्ण रहेको बदर गरी पाऊँ भन्दै पुनरावेदन अदालत जनकपुरमा निवेदन दर्ता गरेको पाइन्छ । १० चैत्र २०६२ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय प्रेम शर्मा र राजेन्द्र राज पन्तको संयूक्त इजलासले थुनछेक गर्दा जिल्ला अदालतबाट लिएका आधार प्रमाणहरुबाट प्रतिवादी राम सरोज यादवलाई तारेखमा राख्ने गरी गरिएको आदेशमा कुनै परिवर्तन गरिरहनु परेन भन्दै उक्त आदेशलाई नै सदर गरेको पाइन्छ । २० अषाढ २०६३ मा धनुषा जिल्ला अदालतका न्यायधीश भिम कुमार ओझाको इजलासले उक्त घटनाका प्रतिवादीहरु उपरको दावी वादी पक्षले ठोस एवम सवुत प्रमाणद्वारा शंकारहित तवरले पुष्टि गर्न नसकेको अवस्थामा यी प्रतिवादीहरु रुदल यादव, झपसी भन्ने जयनारायण महतो, रामसरोज यादव , छोटे यादव भन्ने छोटेन्द्र यादव, जुगेश्वर यादव र अंगद यादव समेतले आरोपित कसुरबाट सफाई पाउने ठहर छ, बादी नेपाल सरकारको अभियोगदावी पुग्न नसक्ने ठहर छ, सो ठहर्नाले अरु कुरामा तपसील बमोजिम फैसला गरेको पाइन्छ । त्यसैगरी फरार रहेका अन्य प्रतिवादीहरुको फरारी लगत राखि सो को जानकारी जिल्ला प्रहरी कार्यालय धनुषामा दिनु भनि फैसला गरेको पाइन्छ ।

त्यसैगरी ४ भदौ २०६५ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्वय प्रेम शर्मा र भोला प्रसाद खरेलको संयूक्त इजलासले प्रतिवादीहरुलाई आरोपित कसुरबाट सफाई दिने गरी धनुषा जिल्ला अदालतबाट भएको फैसलालाई नै सदर गरेको पाइन्छ ।

२०७३ जेष्ठ ३० गते आईतबार

No comments:

Post a Comment