Saturday, May 28, 2016

नर्सिङ छात्राहरुसँग ५४ लाख ५९ हजार रुपैयाँको ठगि

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.का निर्देशक संजिव कुमार यादवले विभिन्न विद्यार्थीहरुबाट भर्ना शुल्क बापत लिएको ५४ लाख ५९ हजार रकम मध्ये ४७ लाख ५२ हजार ६ सय रुपैयाँ ठगि गरेका छन् । आर्थिक बर्ष २०७०÷०७१ का लागि प्रति विद्यार्थीहरुबाट डेढ लाख देखि साढे ३ लाख रुपैयाँ सम्म भर्ना शुल्क असुल गरेपनि असुल गरिएको रकम कलेजमा नपठाएपछि २६ जना विद्यार्थीहरुको पठन पाठन अवरोध भई भविष्य नै अन्धकारमय भएको थियो । नर्सिङ कलेजका छात्राहरु निता गौतमसँग रु. २ लाख ११ हजार ६ सय, संगिता गहतराम सँग रु. २ लाख ११ हजार ६ सय, इन्दु थापासँग रु. २ लाख ११ हजार ६ सय, पुजा विकसँग रु. १ लाख ५० हजार, मोना थापासँग रु. २ लाख ११ हजार ६ सय, अस्मिता कुनालसँग रु. १ लाख ५० हजार, बन्दना गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, सुपिता बरालसँग रु. १ लाख ५० हजार, गायत्री शर्मासँग रु. २ लाख ११ हजार ६ सय, कल्पणा गुरुङसँग रु. २ लाख ११ हजार ६ सय, रंजना राणासँग रु.२ लाख १६ हजार, समसिला सुनारसँग रु. २ लाख ११ हजार ६ सय, पुजा पुलामीसँग रु. २ लाख ११ हजार ६ सय, सुशिला पुजा मगरसँग रु. २ लाख ११ हजार ६ सय, फुलमाया दुरासँग रु. २ लाख १६ हजार, गौतमी थापासँग रु. २ लाख ११ हजार ६ सय, महारानी धामीसँग रु. १ लाख ५० हजार, गोमा आचार्यसँग रु. १ लाख ५ हजार, सुस्मिता खड्का सँग रु. २ लाख २५ हजार, दुर्गा तमाङसँग रु. ४ लाख १९ हजार, रिता कट्वालसँग रु. २ लाख २५ हजार, पपिता ढकालसँग रु. ४ लाख १९ हजार, संगिता गैहेसँग रु. १ लाख ६० हजार, पुनम मण्डलसँग रु. ३ लाख ९७ हजार, सपना महत्तसँग रु. १ लाख र सृजना कुमार गाउलेसँग रु. ५० हजार गरी कुल २६ जना छात्राहरुबाट आर्थिक बर्ष २०६६÷०६७ देखि २०६९÷०७० सम्मको शैक्षिक सत्रमा नर्सिङ पिसिएल कोर्ष अन्तरगत भर्ना गर्नका लागि रु. ५४ लाख ५९ हजार ६ सय रुपैयाँ आफुलाई कार्यकारी निर्देशक बताउने संजिव कुमार यादवले असुल गरेका थिए । असुल गरेको उक्त रकमको नक्कली बिल ती छात्राहरुलाई दिई उक्त रकम कलेजको बैंक खातामा जम्मा नगरी संजिव यादव फरार भएपछि मात्र आफुहरुलाई संजिव यादवले ठगि गरी रकम हिनामिना गर्दै फरार भएको छात्राहरुलाई महसुस भयो । त्यसपछि ती २६ सै जना छात्रा र उक्त कलेजका संचालक अध्यक्ष बारा अमान ३ कि गायत्री देवी थरुनीको जाहेरीले धनुषा बेंगा शिवपुर १ बस्ने साधुलाल यादवका छोरा बर्ष ३७ का डा.संजिव कुमार यादव विरुद्ध रकम ठगि गरेको भन्दै रकम असुल गरी क्षतिपुर्ती दिलाई दिन तथा ठगि गर्ने यादवलाई कानुनी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । त्यसपछि धनुषा प्रहरीले संजिव कुमार यादवलाई पक्राउ गरी २५ पुष २०७० मा मुद्दा दर्ता गरेको थियो । धनुषा जिल्ला अदालतका न्यायाधिश ऋषि बहादुर थापाले थुनछेक मुद्दामा ७ लाख रुपैयाँ धरौटीमा रिहा गरेका थिए । धनुषा जिल्ला अदालतको उक्त आदेश विरुद्ध संजिव कुमार यादवले पुनरावेदन अदालत जनकपुरमा मुद्दाको पुनरावलोकन गर्दा १९ अषाढ २०७१ मा पुनरावेदन अदालत जनकपुरका न्यायाधीशद्धय तेज बहादुर केसी र अनिता मानन्धर जोशीको संयूक्त इजलासबाट जिल्ला अदालतबाट गरिएको धरौटीमा थप १० लाख रुपैयाँ धरौटी लिने आदेश जारी गरिएको थियो । त्यसपछि संजिवले थप १० लाख रुपैयाँ धरौटी बुझाई रिहा भएका थिए ।
मुद्दाको क्रममा २६ जना छात्राहरु मध्ये संगिता गैहे, पुनम मण्डल, सपना महत र सृजना कुमारी गाउलेले जाहेरी अनुसार अदालतमा आएर बक पत्र गर्न नसकेका कारण २९ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतका न्यायाधीश ऋषि अधिकारीको इजलासबाट प्रतिवादी संजिव कुमार यादवले उक्त कलेजका २२ जना छात्राहरुबाट विद्यार्थी भर्ना बापत लिएको कुल ५४ लाख ५९ हजार ६ सय रुपैयाँ असुल गरेपनि कलेजको बैंक खातामा जम्मा नगरी ठगि गरेको ठहर गरेको छ । धनुषा जिल्ला अदालतले ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरकोे रकम विद्यार्थीहरुलाई फिर्ता गर्न तथा त्यति नै रकम बराबरको विगो र २ बर्ष कैद सजाय ठहर गरेको छ । अहिले उनी अर्थात संजिव यादव फरार रहेका छन् ।
 नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि. र धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. बीच २०६४ साल जेष्ठ महिनामा भएको करारनामा अनुसार धनुषा नर्सिङ कलेजको संचालन सुरु देखि नै नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले गरेको थियो । कलेज संचालनका क्रममा विद्यार्थीहरुलाई धनुषा अस्पतालमा क्लिनिकल प्रायक्टिस गराए बापत बार्षिक २ लाख ७५ हजार रुपैयाँ धनुषा अस्पताललाई बुझाउने गरिएको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन शाखाले ३ अषाढ २०७० मा गरेको पत्राचार अनुसार धनुषा अस्पतालको संचालन नविकरण रोक्का हुन गएपछि हेल्थ साइन्स प्रा.लि.ले जनकपुर सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग क्लिनिकल प्रायक्टिसका लागि करार गरेको थियो । सो करार अनुसार सोही अस्पताल प्रयोग गर्दै निरन्तर नर्सिङ शैक्षिक कार्यक्रम अन्तरगत प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, स्तर निर्धारण महाशाखा र परीक्षा नियन्त्रण कार्यालयले ३ र ४ पुष २०७० मा लेखेको पत्र अनुसार शैक्षिक सत्र २०७०÷०७१ का लागि नयाँ विद्यार्थी÷परिक्षार्थी भर्ना आह्वान गरिएको थियो ।
धनुषा नर्सिङ कलेजको छुट्टै प्रवन्ध पत्र र नियमावली नभएको र उक्त नर्सिङ कार्यक्रम नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.ले संचालन गर्दा प्रारम्भिक समय देखि नै धनुषा नर्सिङ कलेजको प्रबन्ध निर्देशक दिपेन्द्र प्रसाद चौधरी, निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट किस्ट बैंक जनकपुरमा संयूक्त खाता खोलिएको थियो । ठिक त्यसैगरी धनुषा अस्पताल तथा अनुसन्धान केन्द्र प्रा.लि. स्टाफ नर्स पिसिएलको बैंक खाता निर्देशक संजिव कुमार यादव र प्रशासन प्रमुख विद्या प्रसाद चौधरीको नाउँबाट सिद्धार्थ बैंक जनकपुरमा संयुक्त रुपमा खाता खोली संचालन भईरहेको थियो । तर, निर्देशक संजिव कुमार यादवले कसैलाई थाहा नै नदिई गोप्य रुपमा बदनियत पुर्वक विद्यार्थीहरुबाट पैसा असुल गरी कलेजमा नबुझाई विद्यार्थीबाट ठगी रकम हिना मिना गरेपछि बैंक खाता संचालकबाट दिपेन्द्र प्रसाद चौधरी, विद्या प्रसाद चौधरीको नाउँ हटाई डा.रामबाबु रमन जैसवाल र संजिव कुमार यादवको संयुक्त दस्तखतबाट खाता संचालन गर्ने निर्णय गरी मनोमानी ढंग रकम हिनामिना गरी ठगी गरी कलेज संचालनमा बाधा र विद्यार्थीको भविष्यमा खेलवाड गरे पश्चात कलेज संचालन तथा व्यवस्थापन गर्न अध्यक्ष गायत्री देवी थरुणी र प्रवन्ध निर्देशन दिपेन्द्र प्रसाद चौधरीको संयुक्त दस्तखतमा नेपाल कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स प्रा.लि.को नाउँमा गलोबल आईएमई बैंक जनकपुरमा खाता खोली आर्थिक कारोवार गर्ने गरिएको छ ।


२०७३ जेष्ठ १६ गते आईतबार

No comments:

Post a Comment