Saturday, May 28, 2016

विरेन्द्र बजारको आन्दोलनमा तत्कालका लागि जनताका सामु झुके सरकार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
गणेशमान चारनाथ नगरपालिकाको कार्यालय तत्काल बिरेन्द्रबजारमै यथावत राख्ने संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीबाट निर्णय भएपछि स्थानीयबासीहरुले गरेको आन्दोलन पनि तत्कालका लागि स्थगित गरेको छ । नगरपालिका कार्यालय सार्न लागेको विरोधमा स्थानीयले अवरोध सृजना गरेको कारण तत्काल कार्यालय यथावत राख्न संघीय मामिला ताथ स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको नगरपालिका योजना तथा व्यवस्थापन शाखा कार्यालयले सो निर्णयको पत्र ११ जेष्ठ २०७३ मा मन्त्रालयका शाखा अधिकृत रुद्रलाल भुसालद्वारा हस्ताक्षरित पत्र गणेशमान चारनाथ नगरपालिका कार्यालयका कार्यकारी अधिकृतलाई पठाइएको हो । आवश्यक सहयोग र समन्वयका लागि जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला विकास समितिको कार्यालय धनुषालाई समेत उक्त पत्रको बोदार्थ गरिएको छ । उक्त पत्र प्राप्त भएसँगै स्थानीयबासीहरुले नगरपालिकाको कार्यालयमा लगाएको तालाबन्दी समेत खोलेका छन् । अब उक्त नगरपालिकाको कार्यालय सुचारु भएको छ ।
किन भयो आन्दोलन ?
सुशिल कोइराला नेतृत्वको सरकारमा १६ मंसिर २०७१ मा देशमा थप ६१ वटा नयाँ नगरपालिकाहरु घोषणा गरिएको थियो । त्यतिबेला संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह थिए । प्रकाशमान सिंह नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहका छोरा हुन । धनुषाको गोदारमा प्रकाशमान सिंहको हालसम्म पनि जग्गा जमिन कायम रहेको छ । त्यसैले उक्त घोषणासँगै उनले आफ्नो बुवा गणेशमान सिंहको नाउँमा विरेन्द्र बजारलाई केन्द्र मानि गणेशमान चारनाथ नगरपालिका घोषणा गरेका थिए ।
 तर, २०७२ असोज १ गतेको मन्त्री परिषदको निर्णयले गणेशमान चारनाथ नगरपालिकाको कार्यालयको केन्द्र साविकको विरेन्द्रबजारमा नराखी तीन किलो मिटर पूर्व गोदारमा सार्ने निर्णय गरेको थियो । उक्त  निर्णय कार्यान्वयन त्यसबेला किन हुन सकेन भने मधेस आन्दोलन जारी रहेको थियो । उक्त नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवका अनुसार बन्द फिर्र्ता भईसकेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सहितको उपस्थितिमा २ पुष २०७२ मा बैठक बसी मन्त्री परिषदको निर्णय सर्बोच्च अदालतबाट बदर गराउनका लागि २६ माघ सम्मको लागि म्याद दिइयो । उक्त बैठकबाट के पनि भनियो भने २६ माघसम्म मन्त्री परिषदको निर्णय बदर गराएन भने २७ माघबाट केन्द्र गोदार सारिने छ ।
    तर, उक्त नगरपालिकाको नगर परिषद माघ महिनामा सम्पन्न नभएकाले चैत्र ७ मा परिषद सम्पन्न भईसकेपछि ३१ बैशाखसम्ममा विकास निर्माणका लागि योजनाहरु सम्झौता भएपछि मन्त्री परिषदको निर्णय लागु गर्दा राम्रो हुने भनेर कार्यकारी अधिकृत यादवले गरेको अनुरोधलाई प्रमुख जिल्ला अधिकारीले मानेका थिए । त्यसपछि ३ जेष्ठ २०७३ मा केन्द्र सारिने भनेर १ जेष्ठ २०७३ मा सुचना टाँस गरेपछि विरेन्द्र बजारका स्थानीयबासीहरु आन्दोलित हुँदै सोही दिन देखि तालाबन्दी गरी मन्त्री परिषद निर्णयको विरोध गर्दै आएका थिए ।
गएको जेठ १ गते नगरपालिका प्रमुख लक्ष्मेश्वर यादवले नगरपालिका कार्यालय सार्ने सूचना टाँस गरेपछि बिरेन्द्रबाजरका स्थानीयबासिन्दाहरु आदोलित भएका थिए । कार्यालय सार्ने विरुद्ध बिरेन्द्रबाजरबासीले जेठ २ गते कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्दै निर्णय फिर्ता लिन निरन्तर रिलेअनशन , राजमार्ग एक घण्टा चक्का जाम , सिटी जुलुस , झारु जुलुस लागयत विभिन्न दवावमुलक आन्दोलनको कार्यक्रम गर्दै आएका थिए ।
कार्यालय तत्काल बिरेन्द्रबाजरमा यथावत रहने पत्र आएपछि स्थानीयहरुले संघर्षको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको नगरपालिका बचाउँ संघर्ष समितिका संयोजक दिपेश यादवले जानकारी दिएका छन् । अहिलेको लागि विवाद अन्त्य भएपनि भावि दिनका लागि पूर्ण विवाद भने अन्त्य भएको छैन । तत्काल यथावत कार्यालय राख्ने निर्णय आएपछि बिरेन्द्रबाजारबासीहरु खुसी भएका छन् ।

२०७३ जेष्ठ १६ गते आईतबार

No comments:

Post a Comment