Wednesday, January 27, 2016

मधेस आन्दोलन प्रति दिल्लीको बढ्दो चासो

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
शुक्रबार अपराहन मोरङको रंगेलीमा मधेसी मोर्चा र एमालेसम्बद्ध भ्रातृ संगठनको झडपमा तीन सर्वसाधारणको गोली लागेर मृत्यु भएपछि फेरि भारतको विदेश मन्त्रालयले मुख खोलेको छ । विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले शुक्रबार बिहान टवीट गर्दै ‘नेपालको मोरङ जिल्लामा तीन व्यक्तिको ज्यान गएकोमा गम्भीर सरोकार’ रहेको जनाएका छन् ।
     ‘राजनीतिक समस्यामा राजनीतिक समाधान आवश्यक हुन्छ,’ प्रवक्ताले पुरानै लवजमा भनेका छन् । झन्डै तीन साताअघि नेपाल सरकारले विशेष मन्त्रिपरिषद् बैठकमार्फत आन्दोलनरत मधेसी मोर्चाको प्रमुख माग सम्बोधन गर्ने निर्णय गरेपछि भारत सरकारले उक्त कदमको ‘तत्काल स्वागत’ गरेको थियो । त्यो स्वागतसँगै सर्वसाधारणमा अब चाँडै सहमति हुने र मधेसको माग पुरा हुने आशा पलाएपनि त्यसो हुन सकेको छैन । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र समानुपातिक समावेशी सहभागिता गर्न संविधान संशोधन गर्ने निर्णय भएपछि नयाँदिल्लीको स्वागत पाएर त्यसबेलै ‘धेरै कुरा मिलेको’ अनुमान गरिए पनि अझै स्थिति सहज बनिसकेको छैन ।
‘प्रतिबद्धताअनुसार संविधान संशोधन अझै किन भएन ? किन यो अन्योल बढेर गएको हो ?’ भारतीय प्रधानमन्त्री कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ पदाधिकारीबीचको पछिल्लो नेपाल मामिला बैठकमा चर्चा हुन थालेको छ, ‘सबै राजनीतिक दलका नेता र मधेसी मोर्चाका पदाधिकारीसमेत दिल्ली आएर सहमतिरसमझदारीको प्रतिबद्धता सुनाउँछन, तर काठमाडौंमा ठीक उल्टो स्थिति छ ।’ मधेस आन्दोलन चलिरहेकै बेला र राजनीतिक समझदारीका प्रयत्न जारी रहँदै मधेस मोर्चासम्बद्ध नेता राजेन्द्र महतो दिल्लीमा आएर तीन साता लामो स्वास्थ्य उपचार एवं राजनीतिक भेटघाट सकिनासाथै अर्का शीर्षस्थ नेता महन्थ ठाकुर अहिले दिल्लीमा छन् ।
     देब्रे घुँडाको सर्जरीका निम्ति मेदान्तमा आएर पनि फिजियोथेरापीमा सीमित भएका ठाकुर तत्कालै दिल्लीको राजनीतिक भेटघाटमा उत्सुक भएका छैनन् । ‘मधेसी सरोकारका बारेमा अब बुझ्नु र बुझाउनु केही बाँकी छैन भनेर म उपचारमै केन्द्रित छु,’ ठाकुरले शुक्रबार अपराहन भने ।
मधेसकेन्द्रित आन्दोलनको दिल्ली केन्द्रले बढी पक्षपोषण गरेको र सिंगो नेपालभन्दा मधेस मामिलामा बढी जोडिएको भन्दै आरोपित हुने अवस्था आएपछि भारत सरकारले एक महिनायता ‘सेफ(ल्यान्डिङ’ खोजिरहेको छनक आउन थालेको थियो । ‘तर, प्रतिबद्धता गरेअनुसार दुई महिनादेखि अडकिएर बसेको संविधान संशोधन प्रक्रिया किन अघि बढ्न सकेन ? कुरा कहाँनेर बिग्रिएको हो ?’ कूटनीतिक स्रोतका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालय र विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने पदाधिकारीलाई दोर्होयाउँदै सोध्ने गरेका छन् । बिहीबार राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयका सहसचिव जावेद अश्रफबीच साउथ ब्लकमा भएको कुराकानीमा पनि नेपाल मामिला सुल्झने दिशामा देखिएको अन्योलबारे प्रधानमन्त्री मोदीले राख्ने गरेको सरोकारका विषयमा चर्चा भएको थियो ।  यस बीचमा विदेश मन्त्रालयका अधिकारीहरूले परराष्टूमन्त्री कमल थापासहितका वरिष्ठ मन्त्रीले सहमति र समझदारीको भाषा बोल्नुको साटो ‘आन्दोलन गरेकै भरमा संविधान संशोधन हुने अवस्था नरहेको’ भन्दै प्रतिबद्धताविपरीत बोलिरहेकामा असन्तोष जनाएका छन् । मन्त्री थापा स्वयंले एक महिनाको अन्तरमा दुईपटक दिल्ली भ्रमणमा आएर मधेस समस्या सुल्झाउने पक्षमा जनाएका प्रतिबद्धताको स्मरण गर्नु जरुरी रहेको अधिकारीले बताएका छन् ।
संविधान संशोधन प्रक्रियामा सकारात्मक संकेत देखिएपछि विदेशमन्त्री सुष्मा स्वराजले पनि विदेश मन्त्रालयमा नेपाल मामिला जानकार भारतीय अधिकारी तथा केही पूर्वराजदूतहरूसँग पनि परामर्श अघि बढाएकी छिन् । दुईदेशीय सम्बन्धको पुनव्र्याख्या तथा सन्धि(सम्झौता पुनरावलोकनको अर्थमा गठन हुने विज्ञ समूहलाई सहयोग पुग्ने गरी परामर्श थालिएको स्रोतले बतायो । ‘पछिल्लो राजनीतिक विकासक्रम र द्विदेशीय असहज सम्बन्धका माझमा नेपाल मामिलामा विभिन्न तहमा छलफल सुरु भएको छ, तर यसको विषय खोलिहाल्ने बेला भएको छैन,’ नेपाल मामिलाका जानकार अशोककुमार मेहता भन्छन् । अर्को चरणमा नेपाली राजनीति र प्रबुद्ध कूटनीतिक समूहको राय बुझ्ने क्रममा रक्षा मामिला अध्ययन निकाय (आईडीएसए) ले यो साता भारतका लागि पूर्वराजदूत प्राध्यापक लोकराज बराललाई दिल्ली निम्त्याएर ‘आन्तरिक(बहस’ चलाएको थियो भने आफ्नै तहबाट राजनीतिक(लाइन बुझ्न कांग्रेस सांसद अमरेशकुमार सिंह दिल्लीमा व्यस्त छन् ।
नेपाल(भारत सम्बन्ध कुनै दीर्घकालीनभन्दा पनि अल्पकालीन क्रियारप्रतिक्रियाले बढी प्रभावित देखिने गरेको दृष्टान्त दुई देशका प्रधानमन्त्रीबीच तीन साताअघि भएको फोनवार्ताले छर्लंग देखाउँछ । ‘नाकाबन्दी नखुली भारत आउँदिनँ भनेर घोषणा गर्ने हाम्रा प्रधानमन्त्री ओली भारतीय समकक्षीसँग फोनवार्ता गर्नासाथै भारत भ्रमणको तत्काल तयारी थाल्न निर्देशन दिने अवस्थामा पुगेका थिए,’ अहिले दिल्ली यात्रामा रहेका एक नेपाली पूर्वराजदूतले भने, ‘त्यसपछि, प्रधानमन्त्री ओलीले सुरुमा भारत र त्यसपछि चीन भ्रमण गर्ने टुंगो भएको छ भनेर तत्कालै परराष्टूमन्त्री थापाले बोल्न भ्याएका थिए ।
     त्यस क्रममा दिल्ली दूतावासमा पनि प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको एजेन्डा केलाउने काम सुरु भइसकेको थियो । तर, अहिले मधेस मोर्चाको आन्दोलनमा फेरि सर्वसाधारण मारिन थालेपछि र वार्ताका चरण विफल हुँदै गएपछि ओलीको दिल्ली भ्रमण चर्चामै आउन छाडेको छ ।’ तर, द्वैदेशीय सम्बन्धको यो असहज र अप्ठयारो परिस्थिति सधै नरहने विश्वासमा राजदूत उपाध्याय अडिग छन् ।



२०७२ माघ १० गते आईतबार

No comments:

Post a Comment